‘कानुनी रुपमा बाध्य पदमा बाहेक मुख्य पदमा उठाउन नखोज्ने प्रवृत्ति दलहरुमा’
चितवन — कांग्रेसको भरतपुर महानगर समितिले आइतबार र सोमबार महानगर प्रमुख–उपप्रमुखमा उम्मेदवार हुन चाहनेले नाम लेखाउन आह्वान गर्यो । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जना आकांक्षी देखिए । जसमध्ये प्रमुखमा जम्मा ३ जना र उपप्रमुखमा ७ जना महिलाले मात्रै नाम टिपाए ।
भरतपुर महानगरमा महिला मतदाताको संख्या पुरुषको भन्दा धेरै छ । तर, नेतृत्व दाबी गर्नेमा पुरुष नै अगाडि छन् । निर्वाचन आयोगका अनुसार भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाता छन् । महिला मतदाताको संख्या ९६ हजार ८ सय ६७ र पुरुषको संख्या ८८ हजार ८ सय ८४ छ । अन्य मतदाता १ जना छन् ।
मतदाता संख्यामा अगाडि रहे पनि महानगरको नेतृत्व लिने दौडमा पुरुषको जति महिलाको उपस्थिति देखिँदैन । जिल्लाभरकै अवस्था पनि यस्तै छ । ७ स्थानीय तह रहेको चितवनमा भरतपुरसहित रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा पुरुषभन्दा बढी महिला मतदाता छन् । राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा मात्रै पुरुष मतदाताको संख्या धेरै छ । जिल्लाको कुल मतदाता संख्या ३ लाख ९७ हजार ६ सय ८५ हो । जसमा महिला मतदाता २ लाख ४ हजार ६ सय ६६ र पुरुष मतादता १ लाख ९३ हजार १८ रहेका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा ३ स्थानीय तह प्रमुखमा महिला विजयी भएका थिए । इच्छाकामनामा कांग्रेसकी उम्मेदवार गीता गुरुङ, राप्तीमा एमालेकी उम्मेदवार प्रभा बराल र भरतपुरमा माओवादीकी उम्मेदवार रेनु दाहाल विजयी भएका थिए । राप्ती प्रमुख बराल आफू नेतृत्वमा दोहोरिने मनस्थितिमा नरहेको बताइन् । भरतपुरमा दाहाल फेरि दोहोरिने चर्चा छ । तर, गठबन्धनका दलबीच सहमति भने जुटिसकेको छैन । भरतपुरमा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । अन्य स्थानीय तहमा आकांक्षीको नाम संकलन गर्न दलहरू क्रियाशील छन् । जसमा महिला आकांक्षी र टिकट पाउनेको संख्याबारे अहिल्यै यकिन भइसकेको छैन ।
वडाध्यक्षमा पनि महिलाहरूको इच्छा खासै देखिने गरेको छैन । कुल ९८ वडा रहेको चितवनमा अघिल्लो निर्वाचनमा ३ महिला मात्रै वडाध्यक्ष बनेका थिए । उम्मेदवार नै कम भएका कारण जितेर आउने महिला कम भएका हुन् । ‘महिलाले चाहना राखे पनि उम्मेदवार नै बन्ने सम्भावना कम छ । किनकि निर्णय लिने ठाउँमा अझै पनि महिला कम छन्,’ महिला अधिकारकर्मी मीना खरेलले भनिन् । यो पटक उनले भरतपुर प्रमुखमा उम्मेदवारी दिने चाहना राखेर कांग्रेसको भरतपुर कमिटीमा आकांक्षीका रूपमा नाम दर्ता गराएकी छन् । ‘महिला मतदाता धेरै छन् । महिलाका मुद्दाहरू स्थानीय तहले समेट्न आवश्यक छ । महिलाका मात्रै नभएर समग्रमा नागरिकलाई सेवा दिने सोच राखेर योजना बनाए सबैका मुद्दा समेटिने छन्,’ उनले भनिन् ।
स्थानीय तहले बाटोघाटो र पूर्वाधार निर्माणलाई जोड दिँदै आएका छन् । ‘तर, चितवनमा २० दिनभित्र ४ छात्रा विद्यालयभित्रै यौन दुर्व्यवहारको सिकार भए । यस्ता मुद्दालाई निराकरण गर्नेतर्फ पालिकाको ध्यान जानुपर्ने हो तर त्यसो हुन सकेको छैन,’ उनले भनिन् । कानुनी रूपमा बाध्य पारिएका पदमा बाहेक महिलालाई मुख्य पदमा उठाउन नखोजिने प्रवृत्ति रहेको उनले सुनाइन् । ‘चुनाव खर्चिलो भयो, महिलाले खर्च गर्न सक्दैनन् भन्ने सोच छ होला या खर्च गर्नुपर्छ नउठौं भन्ने महिलालाई लाग्दो हो तर अब यसरी नबसौं,’ उनले अपिल गरिन् ।
एमाले चितवनकी निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य पार्वती रावल पनि खर्चका कारण झस्कने अवस्था बढेको बताउँछिन् । ‘हामीले महिलालाई प्रमुख र वडाध्यक्षहरूमा आउन प्रोत्साहन नै गरेका छौं । नतिजा भने सोचेजस्तो छैन,’ उनले भनिन् । माओवादी वाग्मती प्रदेश कमिटीकी कोषाध्यक्ष संगीता भट्टराई आफ्नो पार्टीको नीति महिलालाई नेतृत्वमा आउन प्रोत्साहित गर्नु रहेको बताउँछिन् । ‘तर सोचे जस्तो त छैन, किनकि महिलालाई अगाडि बढाउनुपर्छ भन्ने सोच आएको र योजना बन्न थालेकै धेरै भएको छैन,’ उनले भनिन् ।
साहित्यकार एवं अधिवक्ता सरिता तिवारी मतदाता संख्या जसरी नेतृत्वमा महिला आउने वातावरण बनाउन दलहरू लाग्नुपर्ने बताउँछिन् । ‘प्रमुख, उपप्रमुख मात्रै होइन, वडाध्यक्षमा पनि महिलालाई उठाउनुपर्छ । महिलाका विशिष्ट मुद्दाहरू सम्बोधन हुनुपर्छ । यसबारे दलहरूले मतदाता, विज्ञहरूसँग बसेर छलफल गर्न आवश्यक छ,’ उनले सुझाइन् । महिनावारी र प्रजनन स्वास्थ्यसँग जोडिएका विषयमा महिला नेतृत्वले प्रभावकारी काम गर्न सक्ने उनको बुझाइ छ ।
