डोटी — नेकपा एमालेले डोटीका ५ पालिकामा अध्यक्ष पदका उम्मेदवारहरूको टुंगो लगाएको छ । स्थानीय तहको पार्टी कमिटीले जिल्लामा रहेका ९ पालिकामध्ये चारमा सर्वसम्मत र एक पालिकामा मतदान गरेर उम्मेदवार टुंग्याएको हो ।
जोरायल, सायल, आदर्श, बोगटान फुडसिल र केआईसिंहमा अध्यक्षको उम्मेदवारी टुंगो लागेको जिल्ला अध्यक्ष चक्र मल्लले बताए । जोरायल, सायल, बोगटान फुडसिल र केआईसिंहमा सर्वसम्मत भए पनि आदर्श गाउँपालिकामा मतदान भएको थियो । जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरा तथा सायल गाउँपालिकामा अध्यक्ष तेज डुम्रेल र उपाध्यक्ष बिष्ना सिंहलाई एमालेले पुनः टिकट दिने भएको छ । दुवै गाउँपालिकामा ०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो । ने
कपा माओवादीले निर्वाचन जितेको बोगटान फुडसिल गाउँपालिकामा एमालेले हस्त बुढालाई उम्मेदवार बनाउने भएको छ । यसअघि सो पालिकामा एमालेबाट लडेका टेक बम झिनो मतले निर्वाचन हारेका थिए ।
कांग्रेसले शतप्रतिशत जित हासिल गरेको केआईसिंह गाउँपालिकामा भने एमालेले तेज माझीलाई अध्यक्षमा उठाउने भएको छ । ०७४ को निर्वाचनमा एमालेले यज्ञराज जोशीलाई उम्मेदवार बनाएको थियो । उनी अहिले नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध छन् ।
त्यसैगरी पालिकामा एमालेले वर्चश्व जमाएको आदर्श गाउँपालिकामा भने मतदान प्रक्रियाबाट डम्मर ओलीलाई यस पटक टिकट दिएको छ । अध्यक्षका आकांक्षी तीन जनाबीच सहमति नहुँदा मतदान भएको थियो । जसमा ओलीले बढी मत पाएका थिए ।
अन्य पालिकामा भने सहमति हुन सकेको छैन । दिपायल सिलगढी नगरपालिकामा अहिलेकी नगरप्रमुख मञ्जु मलासी, पूर्वनगरप्रमुख पूर्णराज जोशी, पार्टी सचिव लक्ष्मण मलासी, नेकपा एमालेका सल्लाहकार समिति सदस्य सच्चिदानन्द जोशीले नगर प्रमुखका लागि आकांक्षा देखाएका छन् । त्यस्तै पूर्वीचौकी गाउँपालिकामा भरतबहादुर बोहरा, कृष्ण खड्का (केके), डम्बर सिंह डौडी, शिखर नगरपालिकामा राम ऐर र भीम बलायर आकांक्षी छन् ।
