काठमाडौँ — नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर वलायरले चुनावी तालमेल गर्दा कांग्रेसकै भरमा मात्रै नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई जिताउन नसकिने बताएका छन् । उनले गठबन्धन केन्द्रको सहमतिबमोजिम मतभारलाई हेरेर तालमेलका ढाँचा तयार हुनुपर्ने र त्यसआधारमा गठबन्धन भए शतप्रतिशत नतिजा आउने बताए ।
‘गठबन्धन नगर्ने भन्दा–भन्दै हामी गठबन्धन गर्ने भन्ने राष्ट्रिय आवश्यकतालाई महसुस गरेर अघि बढेका छौँ,’ सभापति बलायरले इकान्तिपुरसँग भने, ‘तर कांग्रेसलाई मात्रै टेकेर, कांग्रेसकै भरमा मात्रै माओवादी र समाजवादीले चुनाव जित्न, फाइदा उठाउन खोजे भने त्यो सम्भव छैन । कांग्रेसकै भरमा मात्रै जिताउन सकिदैँन ।’
उनले केन्द्रमा गठबन्धन गर्ने समझदारी बनेपनि स्थानीय तहमा अझैपनि गठबन्धन गर्न नहुने र गठबन्धन गर्दा पार्टीलाई क्षति हुने मत बलियो रहेको बताए । ‘कोही गठबन्धन गर्नै हुँदैन भनेका छन्, कोहीले गठबन्धन गर्ने भनेर तालमेल गर्ने निर्णय नै गरिसके,’ उनले भने, ‘प्रदेश तहमा हामी गठबन्धन दलबीच संयन्त्रको बैठकको तयारीमा छौँ, भोलिदेखि त्यसबारे छलफल हुन्छ ।’
उनले गक्षअनुसारको माग राखे सुदूरपश्चिमका सबै पालिकामा गठबन्धनको सम्भावना रहेको बताए । ‘जहाँ जसको मतभार जति छ, त्यहीअनुसारको सिट माग गर्नुभयो भने गठबन्धन सम्भव छ, नभए गठबन्धन गरेर कांग्रेस मास्ने, उहाँहरूलाई उकास्नुपर्ने आवश्यक छैन,’ उनले भने, ‘यदि त्यस्तो भयो भने एक्ला–एक्लै लड्नुपर्ने परिस्थिति आउन सक्छ ।’
