काठमाडौँ — नेपाली कांग्रेसको ललितपुर महानगरपालिका समितिले मेयर र उपमेयरको उम्मेदवार चयनका लागि नाम सिफारिस गरेको छ । महानगर कार्यसमितिले मेयरका लागि सात जना र उपमेयरका लागि ९ जनाको नाम सिफारिस गरेको हो । कांग्रेसको विधानअनुसार कुनै पदका लागि सर्वसम्मत नभए एक महिलासहित बढीमा तीन जनाको मात्रै नाम सिफारिस गर्ने भन्ने व्यवस्था छ ।
तर, आकांक्षीकाबीच सहमति नभएपछि महानगर कार्यसमितिले विधानको व्यवस्थाविपरीत हुने गरी आकांक्षी सबैको नाम सिफारिस गरेर पठाएको हो ।
मेयरका लागि महानगर कार्यसमितिका सभापति शुभानन धाख्वा, हालका मेयर चिरिबाबु महर्जन, हालका उपमेयर गीता सत्याल, नेताहरू प्रेमकृष्ण महर्जन, भरतलाल न्याछ्ओ, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएको छ ।
उपमेयरका लागि भने ९ जनाको नाम सिफारिस भएको छ । सबै महिला छन् । तर, नाम भने सार्वजनिक गरिएको छैन । पार्टीका महानगर सभापति धाख्वाले उम्मेदवार चयनका लागि पार्टीको निर्देशनबमोजिम आकांक्षीको नाम सिफारिस गरेको बताए ।
‘गठबन्धन गर्ने वा नगर्ने भनेर हामी छलफलमै छौँ । तर टुंगो लागेको छैन,’ उनले भने, ‘गठबन्धनको टुंगो नलागेका कारण अहिले उपमेयरका उम्मेदवारको नाम खुला गरिएको छैन ।’
कांग्रेसको विधानबमोजिम महानगरपालिकाको उम्मेदवार चयन केन्द्रीय संसदीय समितिले गर्छ । महानगर कार्यसमितिले स्थानीय अवस्था र आवश्यकताका आधारमा सिफारिस गरेपछि त्यसमा जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिले धारणा राखेर केन्द्रलाई पठाउनेछन् । त्यसपछि तल्ला तहको धारणाबमोजिम केन्द्रीय संसदीय समितिले उम्मेदवारको टुंगो लगाउने विधानको व्यवस्था छ ।
