पालिका ११, दाबी १८

वैशाख ३, २०७९

हरिराम उप्रेती

गोरखा — २ नगर र ९ गाउँपालिका रहेको जिल्लामा तालमेलका लागि बनेको जिल्ला संयन्त्रको बैठकमा कांग्रेसले ८ पालिका दाबी गरेको छ । माओवादीले ६, जनता समाजवादी पार्टीले ३ र नेकपा एकीकृत समाजवादीले १ पालिका दाबी गरेका छन् । पालिका प्रमुख पदमा आ–आफ्नो अडानमा रहँदा संयन्त्रको बैठकमा पालिकाको बाँडफाँटको विषयले प्रवेश नपाएको सहभागी एक नेताले बताए ।

 बैठक पार्टीभित्र अलगअलग छलफल गरेर फेरि बस्ने समझदारीसाथ टुंगिएको जनता समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्टले बताए । ‘संख्यामा समझदारी भएपछि पालिका बाँडफाँट हुन्छ, छलफल जारी छ’ उनले भने । 

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले ९ पालिका प्रमुख जितेको हो । केन्द्रीय नीतिअनुसार तालमेल गर्दा पनि ९ पालिका दाबी रहने कांग्रेस जिल्ला सहसचिव लुमनाथ लामिछानेले बताए । ‘जसले जितेको छ त्यहाँ त्यही दलको हुने नीति नै छ, आ–आफ्नो सिट लिएर एमालेले जितेका वडामा भाग लगाऔँ,’ उनले भने । संयन्त्र बैठकमा भने कांग्रेसले ८ पालिकाको दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए । 

कांग्रेसकै समान हैसियतमा पालिका बाँडफाँट हुनुपर्ने माओवादी केन्द्रको अडान छ । ४ पालिका प्रमुख र जिल्ला समन्वय समितिको प्रमुख आफ्नो पार्टीले पाउनुपर्ने प्रस्ताव बैठकमा राखेको माओवादी केन्द्रका नेता लेखबहादुर थापाले बताए । कांग्रेसलाई ५ पालिका, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीलाई १/१ पालिका प्रमुख दिने गरी प्रस्ताव गरेको उनले बताए । ‘जनमत र विश्लेषणको आधारमा समन्वय समिति प्रमुखसहित चार पालिका माओवादी केन्द्रले दाबी गरेको हो,’ थापाले भने ।  

जनता समाजवादी पार्टीले तीनवटा पालिकाको दाबी गरेको छ । दाबी  स्वाभाविक रहको जसपका अध्यक्ष यानप्रसाद भट्टले बताए । ‘विभिन्न पार्टीसँग एकीकरणपछिको जनमत हेर्दा ३ पालिका दाबी गर्नु स्वाभाविक हो,’ भट्टले भने, ‘बैठकमा प्रस्ताव राखेका छौँ, दाबी छाडेका छैनौँ ।’

स्थानीय तह निर्वाचन २०७९

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully