भोट हाल्न फर्किने बढ्दै

रोजगारीका लागि भारत पुगेकाहरु खेतीपाती र चुनावका लागि फर्किन थाले

वैशाख ३, २०७९

रुपा गहतराज

बाँके — चुनावको माहोल गाउँघरमा रमाइलो छ । चोक र चिया पसलमा कसलाई भोट हाल्ने र जिताउने भन्ने छलफल चल्दैछ । एकातिर किसानलाई गहुँ स्याहार्ने चटारो छ । बाली स्याहार्ने र भोट हाल्ने समय सँगसँगै परेपछि घरभन्दा टाढा रहेका परदेशी घर फर्किरहेका छन् ।

बाँकेको जमुनाहस्थित नाकामा अहिले घर फिर्नेको लर्को छ । आर्थिक स्थिति कमजोर भएर रोजगारीका लागि भारत पुगेकाहरू अहिले चुनावको मुखमा घर फर्कन थालेका हुन् । 

जमुनाहस्थित नाकामा शुक्रबार भेटिएका सुर्खेतका कमल रानाले बाली स्याहार्न र चुनावको माहोल हेर्न घर आइपुगेको बताए । पाँच वर्षदेखि विदेशी भूमिमा काम गर्दै आएका उनले नेताहरूले आफूजस्ता सर्वहाराका निम्ति केही नगरेको गुनासो गरे । ‘भोट हाल्छौं, चुनाव जित्छन् । त्यसपछि फेरि कहिल्यै नाकमुख देखाउँदैनन्,’ उनले भने, ‘जुन जोगी आए पनि उस्तै हुन् ।’ सुर्खेतका मानबहादुर नेपालीलाई खेतीपाती स्याहार्ने बेलामा चुनाव परेकामा खुसी छ ।

‘खेतीपाती हेर्नु पनि थियो । यसपटक भोट हाल्न पाइने भयो,’ उनले भने, ‘भोट हाल्ने हाम्रो अधिकार हो । आफ्नो अधिकार त जसै भए पनि प्रयोग गर्नै पर्छ ।’ कोभिडका बेला काम नभएर घरमै बसेका उनी यसपटक भारतको पन्जाब पुगेर आएका हुन् । ‘कमाउनु त के थियो, हातमुख जोर्नै ठिक्कै हुन्छ,’ उनले भने, ‘आफ्नै गाउँघरका दाजुभाइले जितेर त सहयोग गर्दैनन्, सरकारले के हेर्ला ?’

बाँकेका रामसिंह राना २० वर्षका भए । ६ महिनाअघि भारतको गडवाल पुगेका उनी नागरिकता बनाएपछि पहिलोपटक भोट हाल्दै छन् । घरमा कमाउने मान्छे नभएपछि परिवार पाल्न गडवाल पुगेको उनले सुनाए । ‘गरिबका दुःख गरिबसँगै हुन्छन् । नेताले केही गर्ने होइनन् । तर, देश नेताबिना चल्दैन,’ उनले भने, ‘एउटै गाउँका सयौं युवा रोजगारीका लागि भारत पुग्नुपरेको छ । गाउँमा रोजगारी नपाएपछि भारत जानु परेको हो ।’ 

अहिले जमुनाह नाकामा भारतबाट फर्किने नेपालीको भीड लागेको छ । खेतीपाती र चुनावलाई मध्यनजर गर्दै धेरै नेपाली फर्किरहेका हुन् । जमुनाह नाकास्थित इलाका प्रहरी चौकीका इन्चार्ज मीनबहादुर विष्टका अनुसार एक सातायता १० हजार नेपाली फर्किएका छन् । 

‘हिमाचल, उत्तराखण्ड, कालापहाड, सिमला, गडवालबाट फर्किने नेपालीको संख्या बढी छ,’ उनले भने, ‘दैनिक १ हजारभन्दा बढी नेपाली अहिले फर्किरहेका छन् ।’ फर्किनेमा लुम्बिनी प्रदेशका अतिरिक्त कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानका बढी छन् । 

नाकामा खोप 

भारतका विभिन्न सहरमा काम गरेर फर्किएका नेपालीलाई अहिले कोभिड–१९ विरुद्ध खोपको पहिलो, दोस्रो र तेस्रो मात्रा लगाउने काम भइरहेको जमुनाह हेल्थ डेक्सका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए । 

‘भारतबाट फर्किने नेपालीलाई सोधी सोधी खोप लगाउने काम गरिरहेका छौं,’ उनले भने, ‘कुनै पनि नेपाली खोपबाट वञ्चित नहून् भनेर सोधी सोधी खोप लगाउन थालेका हौं ।’ भारतमा पहिलो मात्रा लगाएका छन् भने दोस्रो मात्रा लगाइएको छ । कुनै पनि मात्रा नलगाएकालाई पहिलो मात्रा लगाइएको छ । दोस्रो मात्रा लगाएको तीन महिना कटेको छ भने त्यस्तालाई तेस्रो मात्रा दिइएको छ । चैत मसान्तसम्म नाकामा मात्र ३ हजार ३ सय ८६ जनाले खोप लगाएका छन् । 

जमुनाह हेल्थ डेक्सका ल्याब टेक्निसियन ज्ञवालीका अनुसार अहिलेसम्म नाकामा ७ हजार ९८ जनालाई सोधपुछ गरिएको छ भने ५ हजार ६ सय ३० जनाको कोरोना परीक्षण गरिएको छ । 

चैत महिनामा नेपालगन्ज नाका भएर आएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चैत २, १८, २४ र २७ गते गरिएको परीक्षणमा चार जनामा कोरोना पोजेटिभ देखिएको हो ।

स्थानीय तह निर्वाचन २०७९

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully