गठबन्धनभित्रका कुनै पनि जिल्लामा निर्णायक बैठक हुन सकेको छैन
धनगढी — पाँच दलीय गठबन्धनका साझेदार दलको केन्द्रीय तहमा स्थानीय निर्वाचनमा संयुक्त रूपमा जाने लिखितै सहमति गरे पनि गठबन्धनभित्रका प्रमुख दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको प्रदेश र जिल्ला तहका नेतृत्वबीच आन्तरिक दाउपेच देखिएको छ ।
कांग्रेस गठबन्धनरत दलहरूलाई सकेसम्म कम सिट दिने रणनीतिमा छ । माओवादी र एकीकृत समाजवादीले न्यायोचित वितरण हुनुपर्ने अडान लिइरहेका छन् । गठबन्धनभित्रका कुनै पनि जिल्लामा निर्णायक बैठक हुन सकेको छैन । बैठकको संयोजनको जिम्मेवारीमा रहेको कांग्रेसले टारिरहेको माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले आरोप लगाउन थालेका छन् ।
यता कांग्रेसका नेताहरू भने माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा धेरै भाग खोजिरहेको बताइरहेका छन् । यही कारण सुदूरपश्चिममा गठबन्धन नै अप्ठेरोतिर जान सक्ने सम्भावना रहेको एकीकृत समाजवादीका नेताहरूले आशंका गर्न थालेका छन् ।
सुदूरपश्चिममा सबैभन्दा धेरै पालिका रहेको कैलालीमा मात्रै नभई सबै जिल्लामा गठबन्धनभित्रका दलहरूबीच दाउपेच छ । कम्युनिस्टहरू विभाजित भएकाले एक्लै पनि धेरै ठाउँमा जित्न सकिने बुझाइमा कांग्रेस नेताहरू छन् । आफूहरू निर्णायक शक्तिका रूपमा रहेको दाबी गरिरहेका एकीकृत समाजवादी र माओवादीका नेताहरू भने सम्मानजनक वितरण हुनुपर्ने अडानमा छन् । यिनै फरकफरक धारणाले गठबन्धनभित्र जटिलता पैदा भइरहेको नेताहरूको बुझाई छ ।
‘यसअघि पाँच पटक जिल्लास्तरीय सञ्जालको बैठक बस्यौं । तर चिया खाने मात्रै काम भयो,’ एकीकृत समाजवादीका कैलाली अध्यक्ष भैरव रावल भन्छन्, ‘शनिबार निर्णायक बैठक छ । समझदारी भएन भने सम्मानजनक समझदारी नहुने हो भने अर्कालाई भोट हालेर जिताउनका लागि मात्रै गठबन्धनमा बसिरहँदैनौं ।’
नेताहरूका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीमा कांग्रेस सकभर दिनै नचाहने र दिएपछि थोरै दिने दाउमा छ । कैलालीमा एकीकृत समाजवादीले ४ वटा पालिकाको माग गरिरहेको छ । ‘गोदावरी, गौरीगंगा, घोडाघोडी नगर र चुरे गाउँपालिकामा हाम्रो दावी हो,’ एकीकृत समाजवादीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले भने, ‘सहमतिका क्रममा तलमाथि त गर्न सकिने नै भयो ।’ तर कांग्रेस यसमा हालसम्म तयार छैन ।
‘कैलालीमा २ वटा पालिका माओवादी केन्द्रले जितेको थियो । समाजवादीको एउटै पालिकामा पनि नेतृत्व छैन,’ कांग्रेस कैलालीका सचिव केशव मिश्र भन्छन्, ‘केन्द्रीय सर्कुलर पनि उहाँहरूले माग गरेअनुसार पर्दैन ।’ केन्द्रीय निर्णयले यसअघि जितेको सिटमा उसै दलको प्राथमिकता हुने भनेको छ । तर त्यस निर्णयको कार्यान्वयनमा पनि सुदूरपश्चिममा भने शुक्रबारसम्म खटपटै छ ।
अर्कोतिर माओवादी केन्द्र र कांग्रेसबीच भित्री रूपमा छुट्टै छलफल चलिरहेको समाजवादीका नेताहरूको भनाइ छ । ‘केही आशंकाहरू बढिरहेका छन्,’ प्रदेश स्तरीय कमिटीका वार्ता र सम्वादमा सहभागी एकीकृत समाजवादीका प्रदेश सचिव सुवेदीले भने, ‘आइतबारसम्म धेरै कुरा प्रस्ट भइहाल्छ ।’ उता एमाले भने गठबन्धनबीचको मनमुटावको फाइदा लिँदै बढीभन्दा बढी सिटमा जित हातपार्ने दाउमा देखिएको छ ।
यता एकीकृत समाजवादीका प्रदेश इन्चार्ज गरिमा शाहले गठबन्धनको निर्णयअनुसार फिर्ता लिनुपर्ने अवस्थामा फिर्ता लिन तयार हुने गरी आफ्नो दलले वडा तहदेखि नै उम्मेदवार छनोट प्रक्रिया सुरु गरको बताइन् । कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने गठबन्धन एकढिक्का भएर अघि बढ्ने बताए । सिट संख्यामा केही तानातान हुनु स्वाभाविकै भए पनि उनी माथिको निर्णय अक्षरसः कार्यान्वयन गर्ने बताउँछन् । ‘केन्द्रमा भएको निर्णयलाई निर्ममतापूर्वक कार्यान्वयन गर्छु, गराउँछु,’ सभापति बलायरले भने, ‘यतिबेलाको मुख्य लडाइँ एमालेसँग हो । कांग्रेसभित्र निर्णय नमान्नेलाई कारबाही गर्छौं ।’
कांग्रेसलाई आफ्नै दलभित्रका आकांक्षीहरूको व्यवस्थापनको झमेला छ । कतिपय नेताहरू गठबन्धनकै विरोधमा उत्रेको र कतिपय नेताहरूले भागबन्डाबाट गुमे वा आफूले टिकट नपाए कुनै हालतमा नमान्ने बताउन थालेपछि कांग्रेस नेतृत्व दोहोरो दबाबमा छ ।
