बुद्ध वचनको विस्तार

बुद्धको निर्वाणको ठीक सय वर्षपछि बुद्ध वचनलाई लिएर विवाद उठेको थियो । यस्तै अन्योलबीच वैशालीमा दोस्रो संगायना भयो । राजा अशोकको समयसम्ममा बौद्ध धर्ममा फरक सम्प्रदाय अस्तित्वमा आइसकेको थियो र बुद्ध वचनलाई फरक समूहले फरक व्याख्या गर्न थालेको थियो ।

वैशाख १९, २०८३

हिमेश

Expansion of Buddha's words

बुद्ध दर्शन आजको जटिल, तीव्र र अस्थिर विश्वमा झन् प्रासंगिक हुँदै गएको छ । प्रविधिको तीव्र विकास, उपभोक्तावाद, मानसिक तनाव, युद्ध, वातावरणीय संकट र मानवीय मूल्यहरूको ह्रासबीच बुद्धका शिक्षाहरूले आजको मानवतालाई दिशानिर्देश गर्ने क्षमता राख्छन् । आजको सन्दर्भमा बुद्धको महिमाबारे कोसेलीले तयार पारेकाे विशेष प्याकेज।

What you should know

काठमाडौँ — बौद्ध धर्मको इतिहासमा रुचि राख्नेका लागि गौतम बुद्धको जीवनी कौतुहलपूर्ण विषय हो । यसले जहिले पनि आकर्षित गरिरहेको हुन्छ । प्रश्न हुने गर्छ, उनको जीवनको स्रोत के हो त ?

बौद्ध साहित्यको अध्ययन गर्ने हो भने बुद्धको जीवनी थाहा पाउन पाँच स्रोत उपलब्ध छन् । ती हुन्– महावस्तु, ललितविस्तर, बुद्ध चरित, निदान कथा र अभिनिष्क्रमण सूत्र । महावस्तु महासंघिकको हो । लतिलविस्तर मिश्रित संस्कृतमा लेखिएको छ । बुद्ध चरित भने शुद्ध संस्कृतिमा काव्य शैलीमा छ । जातक त पालि भाषामै छ । अभिनिष्क्रिमण सूत्र धर्मगुप्तको भयो ।

महापरिनिर्वाण सुत्तमा बुद्धको अन्तिम यात्रा र अन्त्येष्टिको विवरण उल्लेख छ । यस्तै सुत्तनिपात, अपदान र महावंशका खण्डमा पनि बुद्ध जीवनी छोटकरीमा उल्लेख छ । बुद्ध धर्मको प्रचारका लागि ४५ वर्षसम्म गरेको कामको वर्णन जातक कथामा पाइन्छ । बुद्धका पाँच जीवनीमध्ये सबैभन्दा व्यवस्थित ढंगले उल्लेख भएको ललितविस्तरमा हो । महावस्तुमा फरक परम्पराअनुसार बुद्ध जीवनीका घटना उल्लेख गरिएका छन् । अभिनिष्क्रमण सूत्रको मूल ग्रन्थ भने अहिलेसम्म उपलब्ध छैन, त्यसको अनुवाद मात्रै छ ।

बुद्धको निर्वाणको ठीक सय वर्षपछि बुद्ध वचनलाई लिएर विवाद उठेको थियो । यस्तै अन्योलबीच वैशालीमा दोस्रो संगायना भयो । बुद्धको जन्म इसापूर्व ६२३ मा भएको थियो । उनका पिता शुद्धोदन थिए । उनी शाक्य गणतन्त्रका प्रमुख शासक थिए । बुद्धकी आमा महामाया कपिलवस्तुबाट माइती देवदह गइरहेकी थिइन् । लुम्बिनी वनमा सालका दुई रुखको बीचमा बुद्धको जन्म भयो । त्यसको सबैभन्दा ठूलो प्रमाण भन्नु नै अशोकले बुद्धको जन्म स्थान भनेर बनाएको स्मारक रहेको छ । जन्मपछि वृद्ध संन्यासी रहेका असित शुद्धोदनको महलमा आए । शिशुका सौभाग्यशाली लक्षण देखेर उनले भने, ‘संसारका उद्धारक आएका छन् ।’

बालकको नाम सिद्धार्थ गौतम राखिएको थियो । उनको जन्मको सात दिनपछि नै महामायाको मृत्यु भएको थियो । उनलाई कान्छी आमा महाप्रजापतिले हुर्काइन् । उनी महामायाकी बहिनी थिइन् । सिद्धार्थ गौतम सानो उमेरदेखि एकान्तप्रिय थिए । स्वभाव भने गम्भीर थियो । यशोधरासँग उनको विवाह भयो । यशोधराबाट एक छोरा पनि भयो । तिनको नाम राहुल राखियो । एक मध्यरात सिद्धार्थ गौतमले आफ्नी पत्नी र सुतिरहेका छोरालाई छाडेर जंगलतर्फ लागे ।

आफ्नो शाही पोसाक त्यागे र तलवारले आफ्ना लामा कपाल काटे । सबैभन्दा पहिले उनी गुरु आलार कालाममा गए । त्यसपछि अर्को गुरु उद्धकरामपुत्रकहाँ गए । उनीहरूले जति सिकाए, उनले सिके । अन्तमा बोधगया नजिकको सुरम्य प्रदेश गए । शरीरलाई यातना दिएर सिद्धार्थ गौतमले अनेक प्रकारको तपस्या गरे । तपस्याले केही पनि पाएनन् । छ वर्ष तपस्या गरेपछि उनी ३६ वर्षका भए र उनको मनमा सम्बोधि प्राप्त गर्ने भाव आएको थियो । दिउँसो उनले सुजाताले दिएको खीर खाए । साँझ कसैले एक मुठी सुक्खा घाँस दियो ।

Expansion of Buddha's words

पीपलको रुखमुनि जमेर बसे र पूर्ण ज्ञान प्राप्तिको प्रयास गरे । मारले उनलाई अवरोध पुर्‍याइरहे । त्यसै रात सिद्धार्थ गौतमले सम्बोधि ज्ञान प्राप्त गरे । बुद्ध भए । पछि बुद्धले दुई व्यापारी भेटे । उनीहरूको नाम तपस्स र भल्लिक थियो । उनीहरूले बुद्धलाई जौ र महको खाना दिए । यसरी उनीहरू बुद्धका पहिलो शिष्य भए । यात्रामा निस्कने क्रममा बुद्ध सारनाथ पुगे । त्यहाँ उनले धर्मचक्र प्रवर्तन गरे । त्यहाँ मध्यमार्गका पाँच शिष्यलाई उपदेश दिए । यस प्रकार संघको स्थापना भयो । पछि सारिपुत्र र मौद्गल्यायन पनि शिष्य बने ।

एक वर्षपछि शुद्धोदनले आफ्नो छोरालाई कपिलवस्तु बोलाए । अर्को दिन बुद्ध नगर घुमे र भिक्षा मागे । त्यसको तीन वर्षपछि शाक्य र कोलियबीच नदीको पानीलाई लिएर ठूलो विवाद भएको थियो । बुद्धले दुवै पक्षलाई मिलाए । लगत्तै शुद्धोदनको निधन भयो ।

राजा अशोकको समयसम्ममा बौद्ध धर्ममा फरक सम्प्रदाय अस्तित्वमा आइसकेको थियो र बुद्ध वचनलाई फरक समूहले फरक व्याख्या गर्न थालेको थियो । बुद्ध वचनमा एकरूपता ल्याउन नौ महिनासम्म भेला चल्यो । यससँगै त्रिपिटकको संकलन पूरा भयो ।गौतमी संघमा प्रवेश गरिन् र उनी पहिलो भिक्षुणी बनिन् । बुद्ध र उनका शिष्यले ठाउँ–ठाउँमा भ्रमण गरिरहे । बुद्ध ७२ वर्षको हुँदा अजातशत्रुले मगध राजा रहेका आफ्ना बुबा बिंबिसारको हत्या गरे । पछि देवदत्तले संघमा फुट ल्याउने प्रयास गरे तर सफल भएनन् ।

बुद्धको मृत्युको दुई वर्ष अगाडि संघले ठूलो दुर्भाग्य सामना गर्नुपर्‍यो । कोशल राजा प्रसेनजितको शाक्य रानीबाट छोरा थियो । उनको नाम विडुडभ थियो । अपमान गरिएका कारण उनले शाक्यहरूसँग बदला लिने प्रतिज्ञा गरे र पछि पूरा शाक्य जातिको आम हत्या गरे । असी वर्षको उमेरमा आइपुग्दा बुद्धलाई लाग्यो, अब उनको अन्त्य नजिक छ । बुद्धले आनन्दलाई यसको संकेत गरेका थिए । शाक्यहरूको आमहत्याको एक सातामा सारिपुत्र र मोद्गल्यायनको मृत्यु भयो । त्यति बेला बुद्ध पावामा थिए ।

चुन्दले दिएको खाना खाएपछि बुद्ध बिरामी परे । त्यसै स्थितिमा बुद्ध कुशीनगर पुगे । त्यहाँ सालका दुई वृक्षमुनि आनन्दलाई वस्त्र ओछ्याउन भने । सालका दुई रुखका बीचमा उनको जन्म भएको थियो । त्यस्तै स्थितिमा उनको निधन पनि भयो । यसरी वैशाख पूर्णिमाको रात बुद्धको महापरिनिर्वाण भयो । वैशाख पूर्णिमामै उनको जन्म भएको थियो । वैशाख पूर्णिमामै उनलाई सम्बोधि पनि प्राप्त भएको थियो । यो दिन तीन प्रकारले पवित्र दिवस मनाइन्छ । त्यसैले यो दिन बौद्ध धर्मका लागि विशेष रहेको छ ।

बुद्धको जीवनकालमै उनको निर्वाणपछि धर्म लोप हुनेछ भन्ने एकखाले आशंका थियो । बुद्धका खास शिष्य हुन्– महाकाश्यप । उनी जस्तै अरू अनुयायीलाई लागेको थियो, अब बुद्ध वचनलाई कसले सम्हाल्ने हो त ? यस्तोमा महाकाश्यपसँगै सबै प्रमुख भिक्षुहरूले एउटा ठूलो निर्णय गरे, संघको भेला बोलाउने । बौद्ध धर्मको इतिहासमा यस्ता केही खास–खास भेला बोलाइएको छ र यसैले बौद्ध धर्मको इतिहास तयार पार्न मद्दत गरेको छ । यी भेला बौद्ध साहित्यमा संगायना नामले चिनिन्छन् ।

बुद्धले बुद्धत्व प्राप्तिदेखि निर्वाणसम्म उपदेश थिए । उनले ती उपदेश शिष्यलाई मात्र दिएका थिएनन्, ती उपदेश आम सर्वसाधारणका लागि पनि थियो । उनले आफूले स्थापना गरेको संघको सञ्चालनका लागि फरक–फरक समयमा विभिन्न नियम पनि बनाए । बुद्धको जीवनकालमा उनका उपदेश मौखिक थिए । त्यसलाई लिखित राख्ने चलन भने बसेको थिएन । फेरि उनले ती सबै उपदेश एकै स्थानमा पनि दिएका थिएनन् । बुद्धका वचनमा दुविधा हुँदा उनी आफैंले समाधान पनि गर्थे । फेरि बुद्धले आफ्नो जीवनको अन्त्यतिर निर्वाणपछि धर्म र विनय नै प्रमुख हुने बताएका थिए ।

Expansion of Buddha's words

बुद्ध वचनको संग्रहका रूपमा बृहत् त्रिपिटक उपलब्ध छ । मौखिक रूपमा हजारौं वर्षदेखि प्रवाहित बौद्ध वचन त्रिपिटकमा प्रमाणित रूपमा संग्रह गरिएको छ । ती बौद्ध भेला बौद्ध धर्मको इतिहासमा सर्वाधिक महत्त्वपूर्ण छन् । ती भेला नबसेको भए बौद्ध धर्मको स्वरूप अहिलको जस्तो हुने थिएन । बौद्ध धर्मको इतिहासको अध्ययन सुरु भएको सन् १८०० यता मात्र हो । बौद्ध धर्मको इतिहासको प्रमुख स्रोत त्रिपिटक नै हो । पालि भाषाको त्रिपिटक सबैभन्दा प्रमाणित मानिन्छ । त्रिपिटकमा सूत्र पिटक, विनय पिटक र अभिधर्म पिटक छन् ।

बुद्धको निर्वाणपछि प्रथम संगायना आयोजना भएको थियो । त्यस भेलाका प्रमुख महाकाश्यप आफैं बने । स्थान राजगृह थियो । आनन्दसँगै भेलामा पाँच सय भिक्षुको सहभागिता थियो । त्यही भेलाले धर्म र विनय निश्चित भएको थियो । मौखिक परम्परामा रहेका बुद्ध वचनलाई सुरक्षित र चिरस्थायी राख्न पर्याप्त सतर्कता अपनाइएको थियो । पहिलो संगायनाबाट संकलित बुद्ध वचनलाई स–साना भागमा विभाजन गरिए । त्यसलाई मौखिक रूपमा सुरक्षित राख्ने जिम्मा फरक–फरक समूहलाई दिइयो ।

भिक्षुहरूले आफ्नो भागमा आएका धर्म र विनयका अंशलाई पाठ गर्न सुरु गरे । यहींबाट भाणक परम्परा सुरु भयो । यसरी बुद्ध वचन सुरक्षित रहन सुरु भयो । तर बुद्धको निर्वाणको ठीक सय वर्षपछि बुद्ध वचनलाई लिएर विवाद उठेको थियो । यस्तै अन्योलबीच वैशालीमा दोस्रो संगायना भयो । तेस्रो संगायना राजा अशोकको पालामा भएको थियो । अशोकको समयसम्ममा बौद्ध धर्ममा फरक सम्प्रदाय अस्तित्वमा आइसकेको थियो र बुद्ध वचनलाई फरक समूहले फरक व्याख्या गर्न थालेका थिए ।

यस्तोमा बुद्ध वचनमा एकरूपता आवश्यक थियो । यो भेला नौ महिनासम्म चलेको थियो र यससँगै त्रिपिटकको संकलन पूरा भयो । तेस्रो संगायनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष के भने यसको समाप्तिमा अशोकले बौद्ध धर्म प्रचारका लागि आफ्ना दूतहरू विभिन्न देशमा पठाए । यसरी बौद्ध धर्मको वास्तविक प्रचार पनि सुरु भएको थियो र यो बौद्ध धर्मको इतिहासमा महत्त्वपूर्ण अभियानका रूपमा रहेको छ । श्रीलंकामा त्रिपिटकलाई लिखित रूप दिइयो, जुन अहिलेसम्म हामीसँग सुरक्षित छ ।

बुद्ध महिमा

हिमेश

Link copied successfully