रामग्राम : बुद्धको अस्तु र कोलिया गणराज्यको रहस्य

रामग्राम स्तूप, पण्डितपुर र देवदहलाई जोडेर एकीकृत बौद्ध सर्किट विकास गर्न सके संसारभरिका बौद्ध धर्मावलम्बी र सांस्कृतिक पर्यटक आकर्षित हुन सक्छन्, यसले स्थानीय आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ । होटल, होमस्टे, यातायात, गाइड सेवा, ध्यान र योग केन्द्रलगायतबाट रोजगारी सिर्जना हुने स्थानीयको आशा

वैशाख १९, २०८३

नवीन पौडेल

Ramagram: Buddha's relics and the secrets of the Koliya Republic

बुद्ध दर्शन आजको जटिल, तीव्र र अस्थिर विश्वमा झन् प्रासंगिक हुँदै गएको छ । प्रविधिको तीव्र विकास, उपभोक्तावाद, मानसिक तनाव, युद्ध, वातावरणीय संकट र मानवीय मूल्यहरूको ह्रासबीच बुद्धका शिक्षाहरूले आजको मानवतालाई दिशानिर्देश गर्ने क्षमता राख्छन् । आजको सन्दर्भमा बुद्धको महिमाबारे कोसेलीले तयार पारेकाे विशेष प्याकेज।

What you should know

परासी — भगवान् गौतम बुद्धसँग जोडिएका विश्वका प्रमुख बौद्ध तीर्थस्थलमध्ये पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनीमा अवस्थित रामग्राम स्तूप बौद्धमार्गीका लागि पवित्र मानिन्छ । यो एक मात्र यस्तो स्तूप हो, जसमा भगवान् बुद्धको महापरिनिर्वाणपछि प्राप्त अष्टधातु (अस्थी अवशेष) अझै पनि उत्खनन गरिएको छैन । सात स्तूपबाट अस्तु झिकेर विभिन्न स्थानमा राखिएको भए पनि रामग्रामको अस्तु नागहरूले रक्षा गरेको र उत्खनन गर्न नसकिएको किंवदन्ती छ ।

बुद्धकालीन इतिहासअनुसार महापरिनिर्वाणपछि बुद्धको दाहसंस्कार गरी प्राप्त अष्टधातुलाई आठ भागमा विभाजन गरिएको थियो । ती आठ ठाउँमा वैशाली, कपिलवस्तु, मगध (राजगृह), रामग्राम (कोलिया), अल्लकप्प, कुशीनगर, वेठदीप र पावा थिए । सम्राट् अशोकले ८४ हजार स्तूप निर्माण गर्ने अभियान चलाउँदा सात ठाउँका अस्तु उत्खनन गरेको भए पनि रामग्राममा भने उत्खनन गर्न सकेनन् । त्रिपिटकमा पनि रामग्राम स्तूपबारे उल्लेख गरिएकाले बौद्धमार्गीले एक पटक यो पवित्र भूमिको दर्शन गर्ने इच्छा राख्छन् ।

सन् १८९६ मा लुम्बिनी पत्ता लागेपछि पुरातत्त्वविद् डा. ह्वेले यस क्षेत्रको भ्रमण गर्दा उजैनीमा करिब ५० फिट अग्लो माटोको ठूलो ढिस्को देखेपछि स्तूप हुन सक्ने अनुमान गरेका थिए । समाजशास्त्री पूर्णचन्द्र मुखर्जीले नेपालको तराई क्षेत्रमा रामग्राम स्तूप हुनुपर्ने र खोजिनुपर्ने सुझाएको विभिन्न खोजमूलक सामग्रीमा उल्लेख छ । पछि भिक्षु शाक्यानन्द महास्थवीरले उजैनीमा रहेको माटोको ढिस्को नै हो भनेर निश्चित गरेका थिए । इतिहासकारहरूले अध्ययनका क्रममा सन् १९७४ मा पुरातत्त्व विभागका बाबुकृष्ण रिजालले चिनियाँ यात्रीहरूको भ्रमण वृत्तान्तका आधारमा यसलाई प्राचीन रामग्राम स्तूप नै हो भनेर ठोकुवा गरेको पाइन्छ ।

उत्खनन र वैज्ञानिक परीक्षणमा पनि रामग्राम र कोलिया गण राज्य पुष्टि

पुरातत्त्व विभागले पटक–पटक उत्खनन गरेको छ । सन् १९९७ देखि २००४ सम्मका उत्खनन र पछि २०२३ नोभेम्बरमा लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयको टोलीले उत्खनन गरेको थियो । उत्खननका क्रममा बौद्धकालीन पोखरीको भग्नावशेष र विहारको संरचना भेटिएको छ ।

पुरातत्त्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयको विज्ञ टोलीले स्तूपको उत्तरपश्चिम क्षेत्रमा १५ कात्तिकदेखि १५ मंसिर २०८० सम्म गरेको उत्खननमा पुरातात्त्विक वस्तु फेला पारेको हो । बौद्धकालीन समययको पोखरी र विहार भेटिएको र त्यसमा प्रयोग भएका सामान उत्खननमा भेटिएकाले रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न वैज्ञानिक आधार भेटिएको पुरातत्त्वविद् भाष्करराज ज्ञवालीले बताए ।

सन् २०१८ मा गरिएको जियोफिजिक्स सर्भेमा ठूलो विहार, पोखरीलगायत बुद्धकालीन सामग्री फेला परेपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउन उत्खनन गरिएको हो । तर सरकारले उत्खननका लागि पर्याप्त योजना र बजेट विनियोजन नगर्दा स्तूपको रहस्य र नयाँ तथ्य अझै पत्ता लगाउन बाँकी छ । रामग्राम स्तूपको विकास, खोज र अन्वेषणमा पर्याप्त चासो नदिएको भन्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव लुम्बिनी विकास कोषलाई यसतर्फ ध्यान दिन पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको बताउँछन् ।

आफ्नो स्थानीय तहभित्र पर्ने स्तूपमा आफैंले विनियोजन गरेको बजेट खर्च गर्न पनि कोषको अनुमति लिनुपर्ने बाध्यता रहेको भन्दै पुरातत्त्व विभागले स्तूप क्षेत्रको उत्खननलाई निरन्तरता दिनुपर्ने बताए । ‘लुम्बिनी विकास कोषले पर्याप्त ध्यान र योजना नल्याएपछि हामी आफैंले रामग्राम विकास कोष स्थापना गरेर काम गरिरहेका छौं,’ नगर प्रमुख यादवले भने, ‘लुम्बिनी विकास कोषले रामग्रामलाई स्वायत्त छाडेर काम गर्न दिनुपर्छ ।’

स्तूपको मुख्य कोर क्षेत्रमा भने अझै उत्खनन गरिएको छैन । कोर क्षेत्रमा उत्खनन गर्ने/नगर्ने भन्ने निश्चित छैन । स्तूपको रहस्य यसैमा अडिएको छ । स्तूप सन् १९९६ मा नै युनेस्कोको विश्व सम्पदा सूचीको टेन्टेटिभ लिस्ट (अस्थायी सूची) मा समावेश भए पनि राज्यले पर्याप्त पहल गर्न नसक्दा सूचीकृत हुन सकेको छैन । यस्तै रामग्रामसँग सम्बन्धित मावली घर पण्डितपुरमा बुद्धकालीन समयको वस्तु र संरचना फेला परेको छ । पुरातत्त्व विभागले गरेको उत्खननमा बुद्धकालीन सहरको संरचना फेला परेको हो ।

मंसिर २०८२ मा गरिएको उत्खननमा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्त्विक सामग्री फेला परेको हो । ‘यस अगाडि पनि हामीले यो क्षेत्रमा उत्खनन गर्दा बुद्धकालीन समयको सहरका संरचना फेला परेको पुरातत्त्व विभागको भनाइ छ । उत्खननमा पर्खालका अवशेष, प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहना र कुषाणकालीन तामाका सिक्का फेला परेका छन् ।

२०८१ मा भएको उत्खननमा चक्र आकारमा व्यवस्थित सहरको संरचना जमिनमुनि भेटिएको वस्तुलाई बेलायतमा लगेर परीक्षण गरिएको थियो । अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना ईशापूर्व छैटौं शताब्दीका भएको पुष्टि भएको पुरातत्त्व विभागले जनाएको छ । करिब ६० बिघामा फैलिएको पण्डितपुर क्षेत्रमा अहिले बस्ती तथा खेती छ । निजी जग्गा भएकाले यसलाई अधिग्रहण गर्नुपर्ने भए पनि बजेट अभावमा अधिग्रहण हुन सकेको छैन । फेला परेका पुरातात्त्विक बस्तुको संरक्षणका लागि जग्गा अधिग्रहण गरेर संरक्षण गर्ने योजना भए पनि बजेट अभाव रहेकाले केन्द्र सरकारले यसमा ध्यान दिनुपर्ने रामग्राम विकास कोषको भनाइ छ ।

Ramagram: Buddha's relics and the secrets of the Koliya Republicविकासको अवस्था र चुनौती
रामग्राम स्तूप र पण्डितपुरको विकासमा मुख्य चुनौती भनेको नै लुम्बिनीकेन्द्रित विकास योजना हो । हरेक वर्ष हजारौं विदेशी भक्तजन र पर्यटक आउने स्तूप वरपर बस्न मिल्ने संरचना, होटल र गतिलो शौचालयसमेत छैन । जसले गर्दा ध्यान र योग गर्न स्तूपमा आउने भिक्षु, पर्यटक चाहेर पनि यो पवित्र भूमिमा बस्न सक्दैनन् । फर्किएर लुम्बिनी नै जानुपर्ने बाध्यता छ । लुम्बिनी विकास कोषले ‘लुम्बिनी सर्किट’ अन्तर्गत रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बुद्धकालीन स्थलहरूको गुरुयोजना बनाएको छ । तर कार्यान्वयनमा चासो दिएको छैन । स्थानीयहरूका अनुसार विकास मुख्य रूपमा लुम्बिनीमै केन्द्रित छ, रामग्राम ओझेलमा परेको छ ।

लुम्बिनी विकास कोषले स्तूपको विकास निर्माणमा ध्यान नदिएको भन्दै रामग्राम नगरपालिकाले छुट्टै रामग्राम विकास कोष स्थापना गरेको छ । यसको अध्यक्ष नगर प्रमुख रहने व्यवस्था छ । यसले स्तूपको विकास निर्माण, संवर्द्धन र पर्यटकीय क्षेत्रको विकासमा काम गर्नेछ । लुम्बिनी विकास कोषले नै रामग्रामलाई ओझेलमा पारेको नागरिक अगुवा एवं संरक्षणकर्मी शम्भु उपाध्याय गुनासो गर्छन् । विश्व सम्पदा सूचीमा सूचीकृत हुने क्रममा रहेको क्षेत्रको विकासमा कोषले ध्यान नदिएको उनको आरोप छ ।

Ramagram: Buddha's relics and the secrets of the Koliya Republicलुम्बिनी जस्तै पर्यटकीय हब बन्न सक्ने प्रशस्त आधार भएको स्तूप क्षेत्रमा मुख्य समस्या भनेको पर्यटकका लागि आवास, यातायात, ध्यान केन्द्र र आधारभूत पूर्वाधारको कमी छ । उत्खनन भएका संरचना पनि संरक्षण नहुँदा पटक–पटक खनेर पुरिने अवस्था छ । पर्यटकहरूले संरक्षण र व्यवस्थापनको अभाव महसुस गरेका छन् ।

लुम्बिनी विकास कोषले भने पर्याप्त बजेट नहुँदा सोचेअनुसार काम गर्न नसकिएको बताउँदै आएको छ । विश्व बैंकको लगानीमा सुरु हुन लागेको ‘लुम्बिनी सर्किट’ अन्तर्गत बुद्धसँग सम्बन्धित स्थलहरूमा पूर्वाधार विकास तथा अन्य काम सुरु हुन लागेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । ‘हामीले पनि पुरातत्त्व विभागको निर्देशन र योजनाअनुसार भौतिक निर्माणको काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘रामग्राम स्तूपको विकासलाई पनि लुम्बिनी र अन्य बुद्धसँग सम्बन्धित स्थलहरूसँगै काम अगाडि बढाइनेछ । उत्खननका लागि पनि हामीले योजना बनाएका छौं ।’

रामग्राम स्तूप, पण्डितपुर र देवदहलाई जोडेर एकीकृत बौद्ध सर्किट विकास गर्न सकियो भने संसारभरिका बौद्ध धर्मावलम्बी र सांस्कृतिक पर्यटक आकर्षित हुन सक्छन् । यसले स्थानीय आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ- होटल, होमस्टे, यातायात, गाइड सेवा, ध्यान र योग केन्द्रलगायतबाट रोजगारी सिर्जना हुने स्थानीयको आशा छ ।

बुद्ध महिमा

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully