पश्चिमा सेलेब्रिटी, जसले बौद्ध धर्मलाई जीवनशैली बनाए

पश्चिमा प्रचलनमा बौद्ध धर्मका ध्यान, सचेतनालगायत पक्षलाई अमेरिकी सेना, सिलिकन भ्यालीका ठूला कम्पनी, विश्वभरका व्यावसायिक प्रतिष्ठान र सर्वसाधारणले अँगाल्न थालेको देखिन्छ । यसरी हेर्दा बौद्ध धर्म, धर्म नभई जीवनशैली र संस्कृतिका रूपमा फैलिरहेको छ ।

वैशाख १९, २०८३

सजना बराल

Western celebrities who made Buddhism a lifestyle

बुद्ध दर्शन आजको जटिल, तीव्र र अस्थिर विश्वमा झन् प्रासंगिक हुँदै गएको छ । प्रविधिको तीव्र विकास, उपभोक्तावाद, मानसिक तनाव, युद्ध, वातावरणीय संकट र मानवीय मूल्यहरूको ह्रासबीच बुद्धका शिक्षाहरूले आजको मानवतालाई दिशानिर्देश गर्ने क्षमता राख्छन् । आजको सन्दर्भमा बुद्धको महिमाबारे कोसेलीले तयार पारेकाे विशेष प्याकेज।

What you should know

काठमाडौँ — लगभग १९ वर्षको उमेरमा सन् १९७४ मा गुरु खोज्दै भारत आइपुगेका एप्पलका संस्थापक स्टिभ जब्स ७ महिनापछि मुडुलो टाउको र गेरु रङको भ्याङ्ले सुरुवालमा अमेरिका फर्किएका थिए । भारतमा रहँदा मुख्यतया हिन्दु धार्मिक क्षेत्र डुलेका जब्स क्यालिफोर्निया फर्केपछि जापानी जेन गुरु कोबुन ओतोगावाको संगतमा जेन बौद्धिक अभ्यासतिर ढल्किए ।

त्यसपछि जीवनभर जेन बौद्धिक अभ्यासको प्रशंसक बनेका जब्सले एप्पलका कतिपय उत्पादन र कम्पनी चलाउने शैलीमा पनि बौद्धिक विचारधारा घुसाएका थिए । जब्सको जीवनी लेखक वाल्टर आइज्याकसनले आइपड र एप्पल स्टोरको आन्तरिक सजावटमा पनि जेन बौद्धिक धारणा झल्किने उल्लेख गरेका छन् । जब्सले सन् १९९९ देखि एप्पल कार्यालयमा ध्यान अभ्यास सुरु गरेका थिए । बौद्धिक विचारधारालाई धार्मिक र नैतिकताका रूपमा भन्दा पनि यसको सौन्दर्यशास्त्र (एस्थेटिक्स) लाई जब्सले बढी अपनाएको वाल्टरको धारणा छ ।

‘जेन बौद्ध धर्मबाट प्रेरित भएर उनले एप्पलका उत्पादनलाई अत्यन्तै सरल, मिनिमलिस्ट र अनौपचारिक शैलीका बनाए,’ अमेरिकन लामा भनेर चिनिने लामा सूर्यदासले हफपोस्टमा प्रकाशित ब्लगमा लेखेका छन्, ‘उनले एप्पलमा यस्तो इन्जिनियरिङ शैली अपनाए, जसमा अनावश्यक कुराहरूलाई हटाइन्थ्यो र डिजाइनमा सरलतालाई प्राथमिकता दिइन्थ्यो । जब्सका अनुसार ध्यानले उनलाई आफ्नो मनको गहिराइ बुझ्न र एकाग्र हुन मद्दत गर्थ्यो ।’

Western celebrities who made Buddhism a lifestyleपश्चिमा देशमा जन्मिएर पूर्वीय बौद्ध धर्मलाई धार्मिक वा वैचारिक रूपमै अभ्यासमा ल्याउनेहरू प्रशस्तै छन् । रेडियो कान्तिपुरले कुनै बेला प्रयोग गर्ने गरेको जिंगल ‘सिम्प्ली द बेस्ट’ जस्ता चर्चित गीतकी गायिका टिना टर्नरले सन् १९७३ मै बौद्धिक धार्मिक अभ्यास सिकेकी थिइन् । सन् २०२३ मा बित्नुअघिसम्म उनले त्यसलाई पूर्णरूपमा अँगालिन् । बौद्ध धर्मले आफ्नो जीवन बचाउन एकदमै ठूलो भूमिका खेलेको टिनाले सार्वजनिक रूपमै बताउने गरेकी थिइन् । उनले बौद्ध दर्शनको महत्त्वबारे सन् २०२० मा ‘ह्यापिनेस बिकम्स यू’ नामक पुस्तकसमेत लेखेकी थिइन् ।

टिनाको बौद्ध धर्म अभ्यास मन्त्रोच्चारण, ध्यान र अन्य दैनिक अभ्यासमा बढी केन्द्रित थियो । क्यानडामा जन्मेका चर्चित गीतकार लियोनार्ड कोहेन भने लस एन्जलसमा जेन बौद्धिक अभ्यास सिकेपछि पूर्णरूपमा त्यसतर्फ लागेका थिए । जापानी गुरु क्योजन रोशीबाट दीक्षा लिएका उनले सन् १९९४ मा ६० वर्षको उमेरमा पेसाबाट अवकाश लिएर सान ग्याब्रिएल पहाडमा गएर पूर्णरूपमा भिक्षु बनेका थिए । उनले आफ्नो बौद्ध नाम ‘जिकन’ राखेका थिए । सन् २०१४ मा आफ्ना गुरुको मृत्युसम्म उनी भिक्षुका रूपमा ध्यानकेन्द्रमा रहे ।

कोहेनसँग क्यालिफोर्नियाको माउन्ट बाल्डी जेन सेन्टरमा भएको आफ्नो अविस्मरणीय भेट र अन्तर्वार्ताको अनुभवबारे फिल्म निर्माता एनल क्याम्पबेलले बीबीसीमा स्मृति लेखेका छन् । आफूलाई जेन अभ्यास गर्ने यहुदीका रूपमा चिनाउने कोहेनका कविता, गीत र सार्वजनिक अभिव्यक्तिमा जेन बौद्ध परम्पराप्रतिको आकर्षण प्रस्ट देखिन्छ ।

पछिल्ला वर्षमा बौद्ध धर्मको अभिन्न अंगका रूपमा रहेका विपश्यना, आनापानसति, मेत्ता, समथालगायत अनेकौं ध्यान र योगका विषय संसारभर धर्मनिरपेक्ष र व्यावसायिक रूपमै प्रयोग हुने चलन बढ्दो छ । अनौठोचाहिँ, विश्वमा बौद्ध अनुयायीको संख्या पछिल्लो एक दशकमा २ प्रतिशतले घटिरहँदा ध्यान र श्वासप्रश्वासका विधिजस्ता बौद्ध धर्मका अभ्यास भने पुँजीवादी समाजमा एउटा वस्तुसरह प्रयोग हुने क्रम बढेको छ । यस विषयमा अमेरिकी प्राध्यापक एवं लेखक रोनाल्ड ई पर्सरले आलोचनात्मक विचार राख्दै आएका छन् ।

Western celebrities who made Buddhism a lifestyleसान फ्रान्सिस्को स्टेट युनिभर्सिटीका प्राध्यापक पर्सरको पुस्तक ‘म्याकमाइन्डफुलनेस’ मा बौद्धिक अवधारणाबाट लिइएका ‘माइन्डफुलनेस’ र विपश्यना जस्ता अभ्यासलाई कसरी त्यसको बिल्कुलै उल्टो प्रयोजनका लागि प्रयोग गर्न सुरु गरिएको छ भन्ने चर्चा गरिएको छ । दैनिक जीवनको दुःख र सन्तापबाट मुक्ति पाउन बुद्धले सुझाएको उपायलाई पश्चिमा समुदाय र सिलिकन भ्यालीले उत्पादकत्व बढाउन, कर्मचारीलाई घण्टौं काममा दलाउन र व्यावसायिक सफलताको सूत्रका रूपमा प्रयोग गर्न थालिएको पर्सरको सोच छ ।

यस्तो आलोचनाबीच पनि दोस्रो विश्वयुद्धयता परम्परागत एसियाली केन्द्रहरूभन्दा परका लेखक, कलाकार, नेता र सेलेब्रिटीहरूले आंशिक वा पूर्ण रूपमा बौद्ध धर्म वा यसका केही पक्षको अभ्यास गर्ने चलन बढिरहेको देखिन्छ । तथापि प्यु रिसर्च सेन्टरको सन् २०२५ को प्रतिवेदनअनुसार सन् २०१० मा विश्वभर बौद्ध धर्मावलम्बीको संख्या करिब ४९.९ करोड रहेकामा सन् २०२० सम्म आइपुग्दा यो घटेर करिब ४८.७ करोड भएको छ । चीन, जापान र थाइल्यान्ड जस्ता देशमा धेरैजसो बौद्ध धर्मावलम्बी रहेको र त्यहाँको जनसंख्या तीव्र रूपमा वृद्धि हुँदै गएकाले यो संख्या घटेको प्रतिवेदनमा उल्लेख छ ।

पश्चिमा देशहरूमा भने ‘धार्मिक रूपमा असम्बद्ध’ जनसंख्या बढिरहेको प्यु रिसर्च सेन्टरको तथ्यांकले देखाउँछ । अमेरिका र अस्ट्रेलियाका धेरै मानिसले ध्यान वा ‘माइन्डफुलनेस’ जस्ता बौद्ध धर्मका विधि अपनाउने गरे पनि तर तथ्यांकीय रूपमा उनीहरू आफूलाई कुनै खास धर्ममा भन्दा पनि ‘धार्मिक रूपमा असम्बद्ध’ वा ‘नन’ वर्गमा राख्ने गर्छन् ।

Western celebrities who made Buddhism a lifestyleपूर्णरूपमा बौद्ध धर्मावलम्बी नबने पनि बौद्ध धार्मिक आस्था र अभ्यासलाई पछ्याउँदै भारत र नेपालसम्मै आइपुगेका एक चर्चित व्यक्ति हुन्, हलिउड अभिनेता रिचर्ड गेर । आफू युवा छँदै ६ वर्षसम्म जेन बौद्धिक ग्रन्थ पढेर प्रभावित भएको उनले बताउने गरेका छन् । त्यसकै क्रममा नेपालको पोखरासम्म आएर तिब्बती शरणार्थी भेटेका थिए । गेरले भारतको धर्मशाला भ्रमण गरेको समाचार निरन्तरजसो आइरहन्छन् । बौद्ध धर्मप्रतिको आकर्षणकै कारण गेर दलाई लामाको मित्र बनेका छन् ।

सन् १९९३ मा ओस्कार पुरस्कार वितरण गर्ने क्रममा तिब्बती शरणार्थी र तिब्बतमा मानवअधिकारको अवस्थाबारे आवाज उठाएर गेर विवादितसमेत बनेका थिए । अहिलेसम्म पनि उनी बौद्ध धर्मप्रति आस्था राख्छ्न् । उनी ‘तिब्बत हाउस अमेरिका’ का संस्थापक पनि हुन् । सन् २०२४ मा दलाई लामासँग मिलेर उनले ‘विस्डम अफ ह्यापिनेस’ नामक वृत्तचित्र बनाएका थिए । बौद्ध धर्मसम्बन्धी यात्राकै क्रममा गत मार्चमा मात्र नेपाल आएर गेरले कपन गुम्बा पुगी दिवंगत लामा जोपा रिम्पोचेलाई श्रद्धाञ्जली दिएका थिए ।

सन् १९९७ मा अभिनेता स्टिभन सिगललाई पाल्युल लिङ स्कुलका प्रमुख पेनोर रिम्पोचेले ‘टुल्कु’ का रूपमा मान्यता दिएपछि हलिउड सेलेब्रिटी र बौद्ध अभ्यासको साइनो बाक्लिँदै गएको मानिन्छ । रिम्पोचेले सिगललाई १७ औं शताब्दीका प्रसिद्ध तिब्बती विद्वान् तथा गुरु चुङ्ड्राग दोर्जेको पुनर्जन्म भएको मान्दै आध्यात्मिक गुणहरूको परीक्षण र परम्परागत विधिअनुसार उनको पहिचान गरिएको वक्तव्य निकालेका थिए ।

दक्षिणी भारतस्थित नामड्रोलिङ मठमा लगभग १ हजार ५ सय व्यक्तिको अगाडि प्रदान गरिएको टुल्कु मान्यतासम्बन्धी घोषणाले बौद्ध संसारलाई विभाजित बनाएको थियो । त्यसयता आफ्नो पहिरनमा बौद्ध शैली अँगाल्ने सिगलले तिब्बती बौद्ध परम्परा पछ्याउँदै आएका छन् । सन् २०१६ यता अमेरिका र रुसको समेत नागरिक बनेर त्यतै बसोबास गर्दै आएका छन् । सन् २००४ मा काठमाडौंस्थित सेन्चेन गुम्बा आइपुगेका सिगलले विभिन्न समयमा नेपाल र भारतको भ्रमण गर्ने र यहाँको बौद्ध सम्पदाको संरक्षणमा सघाउने गरेको समाचारहरूमा उल्लेख छ । उगेन तेन्जिन जिग्मे लुन्द्रुपको अभिषेक समारोहमा सहभागी हुन सिगल बौद्ध आउँदा देवेन्द्र एम सिंहले एपीएफका लागि खिचेको तस्बिर इन्टरनेटमा अझै भेटिन्छ ।

Western celebrities who made Buddhism a lifestyleगौतम बुद्धको शिक्षा र त्यसअन्तर्गतका विभिन्न पक्षलाई मान्नेहरू पनि टन्नै छन् । आफूलाई ‘ज्यु–बु’ अर्थात् यहुदी र बौद्ध धर्मको मिश्रणको अनुयायी बताउने हास्य कलाकार तथा अभिनेत्री गोल्डी हनले अमेरिका, क्यानडा, बेलायतजस्ता देशमा माइन्डफुलनेस सिकाउने माइन्ड्युपी नामक संस्था नै स्थापना गरेकी छन् । यस्तै ‘पाइरेट्स अफ द क्यारेबियन’ जस्ता चर्चित सिनेमाका अभिनेता रहेका बेलायती कलाकार ओर्लान्डो ब्लुम १६ वर्षको हुँदादेखि नै निचिरेन बौद्धिक विचार पछ्याउँदै आएको बताउँछन् ।

विश्वका सबैभन्दा सफल गल्फ खेलाडीमध्ये एक टाइगर उड्स पनि आफ्नी थाई आमासँग बौद्ध धर्मको अभ्यास सिकेर सो आस्था बोकेका व्यक्तिका रूपमा गनिन्छन् । नेपालमा धेरैले पढ्ने लेखक युभल नोआ हरारी विपश्यना जस्ता बौद्ध धर्मका विभिन्न अभ्यासका अनुयायी हुन् । बेलाबखत बुद्धको सानो मूर्तिसमेत बोकेर हिँड्ने अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सार्वजनिक रूपमै बौद्ध धर्मका कतिपय पक्षको आफू प्रसंशक रहेको बताउने गरेका छन् । उनले तिब्बती धर्मगुरु दलाई लामालाई पटक–पटक भेटेका छन् ।

Western celebrities who made Buddhism a lifestyle

बलिउड अभिनेता आयुष्मान खुराना, अभिनेत्री तिस्का चोपडा, हंसिका मोटवानी र डेनी डेन्जोङ्पासम्मले आंशिक रूपमा आफूले बौद्ध धर्म दर्शनका कतिपय पक्ष आत्मसात् गरेको बताउने गरेका छन् । आमीर खान त विपश्यनाको अभ्यास गर्न नेपालसम्म आएर पनि पूरा नगरी फर्किएका थिए ।

मेटा संस्थापक मार्क जकरबर्गकी पत्नी प्रिस्चिला चान पनि घोषित रूपमै बौद्ध धर्मकी अनुयायी हुन् । पश्चिमा प्रचलनमा बौद्ध धर्मका ध्यान, सचेतनालगायत पक्षलाई अमेरिकी सेना, सिलिकन भ्यालीका ठूला कम्पनी, विश्वभरका व्यावसायिक प्रतिष्ठान र सर्वसाधारणले अँगाल्न थालेको देखिन्छ । यसरी हेर्दा बौद्ध धर्म, धर्म नभई जीवनशैली र संस्कृतिका रूपमा फैलिइरहेको छ ।यसरी हेर्दा बौद्ध धर्म धर्म नभई जीवनशैली ‘पप संस्कृति’ का रूपमा फैलिइरहेको छ ।– एजेन्सीको सहयोगमा

बुद्ध महिमा

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully