बौद्ध कूटनीतिको सान्दर्भिकता

बौद्ध कूटनीतिले नेपाललाई केवल द्विपक्षीय सम्बन्धसम्म सीमित नराखी बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा पनि अर्थपूर्ण भूमिका निर्वाह गर्ने अवसर प्रदान गरेको छ ।

वैशाख १९, २०८३

फणीन्द्रकुमार न्यौपाने

The relevance of Buddhist diplomacy

बुद्ध दर्शन आजको जटिल, तीव्र र अस्थिर विश्वमा झन् प्रासंगिक हुँदै गएको छ । प्रविधिको तीव्र विकास, उपभोक्तावाद, मानसिक तनाव, युद्ध, वातावरणीय संकट र मानवीय मूल्यहरूको ह्रासबीच बुद्धका शिक्षाहरूले आजको मानवतालाई दिशानिर्देश गर्ने क्षमता राख्छन् । आजको सन्दर्भमा बुद्धको महिमाबारे कोसेलीले तयार पारेकाे विशेष प्याकेज।

काठमाडौँ — बौद्ध कूटनीति भनेको बौद्ध दर्शन, सांस्कृतिक सम्पदा र धार्मिक प्रतीकहरूलाई ‘सफ्ट पावर’ को माध्यमका रूपमा प्रयोग गरी अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने कूटनीतिक अभ्यास हो । यो दृष्टिकोण अहिंसा, करुणा, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वजस्ता बुद्धका मूल शिक्षाहरूमा आधारित छ । सैन्य बल वा आर्थिक दबाबको बाटो नअपनाई नैतिक प्रभाव र सांस्कृतिक आकर्षणमार्फत देश–देशबीच सद्भाव र विश्वास बढाउनु यसको मूल उद्देश्य हो । द्वन्द्व, ध्रुवीकरण र शक्ति प्रतिस्पर्धाले भरिएको आजको विश्वमा भारत, चीन, जापान, श्रीलंका र थाइल्यान्डजस्ता देशहरूले बौद्ध सम्पदा र तीर्थ पर्यटनमार्फत आफ्नो कूटनीतिक पहुँच विस्तार गरिरहेका छन् ।

यस सन्दर्भमा नेपालको स्थान अत्यन्तै विशिष्ट छ । नेपाल गौतम बुद्धको जन्मभूमि हो । लुम्बिनी बौद्ध धर्मका चार पवित्र तीर्थस्थलमध्ये एक हो, जससँग संसारभरका बौद्ध आस्थावानहरूको गहिरो भावनात्मक सम्बन्ध छ ।

नेपालसँग ठूलो सैन्य वा आर्थिक शक्ति छैन तर बुद्धको जन्मस्थल हुनु नै नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय पहिचान हो । लुम्बिनीको मोनास्टिक क्षेत्रमा ३० भन्दा बढी देशका विहारको उपस्थितिले यस स्थललाई अनौपचारिक बहुपक्षीय कूटनीतिक मञ्चका रूप दिएको छ । यसरी बौद्ध कूटनीति नेपालका लागि भौतिक शक्तिबिना नै अन्तर्राष्ट्रिय समुदायमा प्रभाव पार्ने सबैभन्दा मौलिक र दिगो माध्यम बनेको छ ।

छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धमा बौद्ध कूटनीति

बौद्ध कूटनीतिले नेपाललाई केवल द्विपक्षीय सम्बन्धसम्म सीमित नराखी बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा पनि अर्थपूर्ण भूमिका निर्वाह गर्ने अवसर प्रदान गरेको छ । नेपालका दुवै छिमेकी शक्तिहरू भारत र चीनसँगको सम्बन्धमा बौद्ध कूटनीतिले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ, यद्यपि दुवैसँगको सम्बन्धको स्वरूप र इतिहास फरक–फरक छ । भारतसँगको बौद्ध सम्बन्धको जग अत्यन्त गहिरो छ ।

बुद्धको जन्म लुम्बिनीमा भयो भने उनले ज्ञान प्राप्त गरेको बोधगया, पहिलो उपदेश दिएको सारनाथ र महापरिनिर्वाण प्राप्त गरेको कुशीनगर भारतमा पर्छन् । यसरी बुद्धको सम्पूर्ण जीवन यात्रा दुवै देशमा जोडिएको छ, जसले उनीहरूलाई एउटै आध्यात्मिक धागोले बाँधेको छ । यही साझा विरासतका कारण समयक्रमका केही मतभेद एवम् विवादका बेला पनि बौद्ध धर्मको साझा भावनाले दुई देशबीचको संवाद जीवित राखिरहेको छ ।

व्यावहारिक रूपमा सन् २०२२ को बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा धार्मिक पर्यटन, पूर्वाधार र जनसम्पर्कसम्बन्धी अनेक सम्झौता भए । भारतले लुम्बिनीमा पर्यावरणमैत्री ‘इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेज’ निर्माण गरिसकेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) बीचको शैक्षिक सहकार्य तथा लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरलाई एउटै बौद्ध सर्किटमा जोड्ने प्रयासले दुई देशबीचको जनसम्पर्क झन् गहिरो बन्दै गइरहेको छ ।

The relevance of Buddhist diplomacy

दक्षिण र दक्षिण–पूर्वी एसियाका अधिकांश मुलुक बौद्ध सभ्यता वा त्यसको प्रभावसँग जोडिएकाले बुद्ध धर्म नेपालका लागि साझा सांस्कृतिक पहिचान बनेको देखिन्छ ।चीनसँगको बौद्ध सम्बन्ध पनि डेढ हजार वर्षभन्दा पुरानो छ । पाँचौं शताब्दीमा नेपाली भिक्षु बुद्धभद्रले चीन पुगेर बौद्ध शास्त्र चिनियाँ भाषामा अनुवाद गरेका थिए । सातौं शताब्दीमा राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह भएपछि तिब्बतमा बौद्ध धर्मको जग बस्यो । तेह्रौं शताब्दीमा नेपाली कलाकार अरनिकोले बेइजिङमा सेतो स्तूप निर्माण गरी वास्तुकलामार्फत बौद्ध सन्देश फैलाए । आधुनिक समयमा पनि चीनले यही विरासतलाई ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्दै लुम्बिनीमा बौद्ध गुम्बा, ध्यान केन्द्र र पूर्वाधार निर्माणमा लगानी गरिरहेको छ ।

फाहियान र ह्वेनसाङ छात्रवृत्तिमार्फत नेपाली विद्यार्थीलाई चीनमा बौद्ध शिक्षाको अवसर दिइँदै आएको छ । बौद्ध कूटनीतिलाई ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ सँग जोडेर हिमालयपारको सम्पर्क विस्तार गर्ने रणनीतिक उद्देश्य पनि चीनले बोकेको देखिन्छ ।

यसरी दुवै छिमेकी शक्तिले बौद्ध कूटनीतिलाई आआफ्नो रणनीतिबमोजिम अघि बढाइरहेका छन् । नेपालका लागि यो अवसर पनि हो र चुनौती पनि । बौद्ध कूटनीतिले पर्यटन, शिक्षा र पूर्वाधारमा ठोस लाभ दिइरहेको छ र दुवै शक्तिसँग सम्बन्ध सन्तुलित बनाइरहेको छ ।

लुम्बिनी जस्तो पवित्र स्थल ठूला शक्तिहरूको प्रतिस्पर्धाको अखडा नबनोस् भन्ने विषयमा सतर्कता अपनाउनु उत्तिकै जरुरी पनि छ ।

बहुपक्षीयस्तरमा बौद्ध कूटनीति

बौद्ध कूटनीतिले नेपाललाई केवल द्विपक्षीय सम्बन्धसम्म सीमित नराखी बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा पनि अर्थपूर्ण भूमिका निर्वाह गर्ने अवसर प्रदान गरेको छ । दक्षिण र दक्षिण–पूर्वी एसियाका अधिकांश मुलुक बौद्ध सभ्यता वा त्यसको प्रभावसँग जोडिएकाले बुद्ध धर्म नेपालका लागि साझा सांस्कृतिक पहिचान बनेको देखिन्छ ।

The relevance of Buddhist diplomacy

हालका वर्षहरूमा लुम्बिनीलाई केवल धार्मिक तीर्थस्थलका रूपमा होइन, विश्व शान्ति र कूटनीतिक संवादको केन्द्रका रूपमा विकास गर्ने अवधारणाले चर्चा पाउन थालेको छ ।नेपाल सदस्य रहेको बिमस्टेक र सार्कजस्ता क्षेत्रीय संयन्त्रमा प्रायः राजनीतिक मतभेद र संरचनागत कमजोरीका कारण अपेक्षित प्रगति हुन सकेको छैन । यस्तो अवस्थामा बौद्ध कूटनीतिले औपचारिक कूटनीतिभन्दा फरक ‘ट्र्याक–२’ संवाद र सांस्कृतिक सहकार्यका माध्यमबाट विश्वास निर्माणमा सहयोग पुर्‍याइरहेको छ । अहिंसा, सहिष्णुता र संवादजस्ता बौद्ध मूल्यहरू यी क्षेत्रीय मञ्चहरूमा विवाद समाधान र सहकार्यको वैकल्पिक आधार बन्न सक्ने देखिन्छन् ।

नेपालले पछिल्ला वर्षहरूमा लुम्बिनी र काठमाडौंमा आयोजना गरेका अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र संवाद कार्यक्रमहरू यस दृष्टिले उल्लेखनीय छन् । ती कार्यक्रममा एसियाका विभिन्न देशका कूटनीतिज्ञ, विद्वान्, भिक्षु तथा धार्मिक अगुवा सहभागी हुँदै आएका छन् । कार्यक्रममा द्वन्द्व समाधान, शान्ति निर्माण, दिगो विकास र वातावरणीय नैतिकताजस्ता समसामयिक विश्वव्यापी मुद्दामा छलफल हुने गरेको छ । विशेषगरी वातावरणीय संकट र जलवायु परिवर्तनका सन्दर्भमा बौद्ध दर्शनमा आधारित प्रकृतिसँग सहअस्तित्व र करुणामूलक विकासको अवधारणा अन्तर्राष्ट्रिय तहमा चर्चाको विषय बन्दै गएको छ । यस्ता बहसमा नेपालले बुद्धको जन्मभूमिको नाताले नैतिक नेतृत्व प्रस्तुत गर्न सक्छ । बौद्ध कूटनीतिलाई राज्य नीतिसँग अझ व्यवस्थित रूपमा जोड्न सकियो भने नेपालले बहुपक्षीय कूटनीतिमा आकारभन्दा ठूलो भूमिका खेल्न सक्षम हुने सम्भावना प्रस्ट देखिन्छ ।

विश्व शान्ति र कूटनीतिक केन्द्रका रूपमा लुम्बिनी

हालका वर्षहरूमा लुम्बिनीलाई केवल धार्मिक तीर्थस्थलका रूपमा होइन, विश्व शान्ति र कूटनीतिक संवादको केन्द्रका रूपमा विकास गर्ने अवधारणाले चर्चा पाउन थालेको छ । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा हरेक वर्ष लाखौं विदेशी तीर्थयात्री आउने गरेका छन् । यही नैतिक महत्त्वलाई संस्थागत कूटनीतिक भूमिकामा रूपान्तरण गर्ने प्रयास तीव्र बन्दै गएको छ ।

The relevance of Buddhist diplomacy

लुम्बिनीमा आयोजना भइरहेका अन्तर्राष्ट्रिय सेमिनार, सम्मेलन र संवाद कार्यक्रमबाट जारी गरिएका घोषणाहरूमा बौद्ध दर्शनमा आधारित द्वन्द्व मध्यस्थता, कूटनीतिज्ञहरूका लागि ‘माइन्डफुलनेस’ र ध्यान तालिम तथा अन्तर्राष्ट्रियस्तरका बौद्ध शान्ति संस्थाहरू स्थापना गर्ने प्रस्तावहरू समेटिएका छन् । यस सन्दर्भमा लुम्बिनीमा ‘डिप्लोम्याट रिट्रिट’, शान्ति संवाद र बौद्ध नैतिकतामा आधारित प्रशिक्षण कार्यक्रमहरूको अवधारणा सञ्चालन भए विश्व कूटनीतिका लागि शान्ति एवम् संवाद उत्पादन गर्ने केन्द्र बन्ने सम्भावना देखिन्छ ।

लुम्बिनीबाट शान्ति अध्ययन, द्वन्द्व व्यवस्थापन, दिगो विकासलगायत बौद्ध कूटनीतिमा उच्चस्तरीय अध्ययन अनुसन्धान गरी वैश्विकस्तरमै हुने शान्ति प्रयासमा ठोस योगदन पुर्‍याउन आवश्यक छ । विदेशी कूटनीतिज्ञ र अनुसन्धानकर्ताहरूका लागि ध्यान र बौद्ध दर्शनमा आधारित छोटा कार्यक्रमहरू सञ्चालन गर्दै लुम्बिनीलाई ‘प्रतीकात्मक तीर्थस्थल’ मात्र नराखी विश्व शान्ति र ‘सफ्ट पावर’ कूटनीतिको जीवन्त केन्द्रमा रूपान्तरण गर्न सकिन्छ ।

चुनौती र रणनीतिक सीमितता

युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा हरेक वर्ष लाखौं विदेशी तीर्थयात्री आउने गरेका छन् । यही नैतिक महत्त्वलाई संस्थागत कूटनीतिक भूमिकामा रूपान्तरण गर्ने प्रयास तीव्र बन्दै गएको छ ।बौद्ध कूटनीति सम्भावनायुक्त भए पनि यसको प्रभावकारी प्रयोगमा केही गम्भीर चुनौती छन् । पहिलो, राज्यको सीमित लगानी र संस्थागत समन्वयको अभावले लुम्बिनीको पूर्वाधार, व्यवस्थापन र दीर्घकालीन योजना अपूरो देखिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन र कूटनीतिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न गुणस्तरीय यातायात, आवास र डिजिटल पूर्वाधार अझै पर्याप्त छैनन् ।

दोस्रो, ठूला शक्तिहरूले बौद्ध सम्पदालाई आफ्नो क्षेत्रीय प्रभाव विस्तारको माध्यम बनाउन खोजे लुम्बिनी जस्तो पवित्र स्थल शक्ति प्रतिस्पर्धाको प्रतीक बन्ने जोखिम रहन्छ । नेपालले स्पष्ट नीति र कूटनीतिक सन्तुलन कायम गर्न सकेन भने बौद्ध कूटनीति बाह्य शक्तिको एजेन्डामा सीमित हुन सक्छ । विद्वान् र नीति विश्लेषकहरूका अनुसार यी सबै चुनौतीको मूल कारण एकीकृत राष्ट्रिय रणनीतिको अभाव हो । बौद्ध कूटनीतिलाई पर्यटन, शिक्षा, संस्कृति र परराष्ट्र नीतिसँग समन्वय गरी अघि नबढाएसम्म नेपालले आफ्नो सबैभन्दा मूल्यवान सांस्कृतिक सम्पदामाथि नियन्त्रण गुमाउने जोखिम रहिरहन्छ ।

बौद्ध कूटनीति नेपालका लागि केवल सांस्कृतिक गर्वको विषय होइन, रणनीतिक महत्त्व बोकेको परराष्ट्र नीतिको प्रभावकारी साधन हो । सीमित सैन्य र आर्थिक क्षमता भएको नेपालका लागि बुद्धको जन्मभूमि हुनु नै सबैभन्दा बलियो अन्तर्राष्ट्रिय पहिचान र सभ्यतागत पुँजी हो । यही पुँजीले भारत र चीनजस्ता छिमेकी शक्तिहरूसँगको सम्बन्धलाई राजनीतिक तनावका बेलासमेत सांस्कृतिक र नैतिक आधारमा जीवित राख्छ र भू–राजनीतिक सन्तुलन कायम गर्न थप विकल्प दिन्छ ।

The relevance of Buddhist diplomacy

बहुपक्षीय मञ्चहरूमा पनि यसले नेपाललाई शान्ति निर्माण र दिगो विकासको नैतिक आवाजका रूपमा उभ्याउँछ । तर यो सम्भावनालाई साकार पार्न बौद्ध कूटनीतिलाई पर्यटन, शिक्षा, संस्कृति र परराष्ट्र नीतिसँग समन्वय गरी स्पष्ट राष्ट्रिय रणनीतिमा बाँध्नु अपरिहार्य छ ।

साथै, नेपालको मौलिक सांस्कृतिक सम्पदा ठूला शक्तिहरूको प्रतिस्पर्धाको औजार नबनोस् भन्ने सतर्कता पनि उत्तिकै जरुरी छ । योजनाबद्ध रूपमा अघि बढाइयो भने बुद्धका शान्तिवादी शिक्षामा आधारित यो कूटनीति नेपालका लागि विगतको गौरव मात्र नभई २१औं शताब्दीको भविष्यको सम्भावनाको ढोका पनि हो ।

फणीन्द्रकुमार न्यौपाने लुम्बिनी बौद्ध विश्वविद्यालयका सहप्राध्यापक हुन् ।

Link copied successfully