एक वडाध्यक्ष पद जित्न करोडौं खर्च गर्न र उस्तै परे मर्न, मार्न तम्सिने हजारौं पदलोलुपको समाजमा सिंहासन र राज्य त्यागेर ज्ञानको खोजीमा निस्केका बुद्धको जीवन त्यसै पनि आकर्षक लाग्छ । तर, बुद्धको असली आकर्षण उनको त्यागमा होइन, उनले प्राप्त गरेको ज्ञानमा छ । र, त्यस ज्ञानको आलोकमा हरेक मानिसमा उनकै अवस्थामा पुग्ने सम्भावना भएकामा उनीप्रति आकर्षण बढ्दै गएको छ ।
बुद्ध दर्शन आजको जटिल, तीव्र र अस्थिर विश्वमा झन् प्रासंगिक हुँदै गएको छ । प्रविधिको तीव्र विकास, उपभोक्तावाद, मानसिक तनाव, युद्ध, वातावरणीय संकट र मानवीय मूल्यहरूको ह्रासबीच बुद्धका शिक्षाहरूले आजको मानवतालाई दिशानिर्देश गर्ने क्षमता राख्छन् । आजको सन्दर्भमा बुद्धको महिमाबारे कोसेलीले तयार पारेकाे विशेष प्याकेज।
What you should know
काठमाडौँ — मानिसलाई तिनको ज्ञान, विवेक र सत्कर्मको महत्त्व दर्शाउने उपक्रममा बुद्धले एक पटक भनेका थिए, ‘फूलको बास्ना डाँडावारि, मान्छेको बास्ना डाँडापारि ।’ जतिसुकै सुन्दर र बास्नादार भए पनि त्यसको गन्ध हावाले ओसारेसम्म अलि पर मात्रै पुग्छ, तर मानिसको ज्ञान र सत्कर्मको प्रताप चारै दिशामा फैलिन्छ भन्नलाई यो भन्दा सूत्रात्मक र तीव्र अभिव्यक्ति बोकेको अर्को संक्षिप्त वाक्य छैन ।
फेरि, फूलको बास्ना त क्षणिक पनि छ, त्यो फूल हुञ्जेलसम्मका लागि हो । बुद्धत्वको बास्ना त अनन्त कालसम्म पनि हुँदो रहेछ । त्यसको उदाहरण बुद्ध स्वयं नै हुन् । पच्चीस सय वर्षअघि जन्मिएका सिद्धार्थ गौतमका समकालीन सामान्य मानिसको त के कुरा गर्नु, त्यसबेलाका सम्राट्हरूको पनि कुनै नामोनिसान अहिले छैन । बुद्धत्व पाएका शाक्यमुनि गौतमको प्रतापलाई भने कालको बादलले छेक्न सकेन । बरु उल्टै, जति समय बित्दै जान्छ, बुद्ध उति नै बढी सान्दर्भिक, सत्य, चहकि लो र अति जरुरी हुँदै छन् ।
आखिर किन त ? फूलको बास्ना डाँडावारि, मान्छेको बास्ना डाँडापारि भनेजस्तो, मानव चेतनाको उच्चतम फूल बुद्धत्व उनले प्राप्त गरे र दुःखलाई समूल नष्ट गर्न सकिने उपायहरू उनले लोकका सामु पस्किदिए । तब त, शक्तिको उन्मादले संसार विजय गर्छु भनेर नरहत्या गर्दै हिँडेका अशोकहरू पश्चातापको आगोमा जल्दा उनकै शरणमा परे र संसार जित्ने सच्चा बाटो त यो पो रहेछ भनेर विश्वभर बुद्ध दर्शनकै प्रचारमा लागे ।
हजार औंलाहरूको माला लगाएपछि मुक्त हुने मिथ्या दृष्टिका कारण बिनाअर्थ असंख्य हत्या गर्नमा उद्यत् अंगुलीमालहरूको निष्पट्ट अन्धकार जीवनले पनि शाक्यमुनि बुद्धकै ज्ञानको ज्योतिमा जीवनको साँचो बाटो भेट्यो ।
सभ्यताले काँचुली फेर्दै जाँदा अनेक धर्म, दर्शन र पन्थको जन्म भयो । मानव ज्ञान जति परिपक्व हुँदै गयो उति ती दर्शन र धर्ममा प्रश्न गर्न थालियो । कतिपय विश्वास र कर्मकाण्ड विज्ञानको कसीमा मिथ्या ठहरिन पुगे । बुद्ध भने विज्ञानको जति विकास हुँदै जान्छ, उति बढी सत्य प्रमाणित हुँदै गएका छन् । र, मानिस जति बढी दुःखी हुँदै गएका छन्, उति बढी उनको खोजी हुँदै गएको छ । आखिर के त्यस्तो कुरा छ बुद्धमा, जुन अरूमा छैन ? त्यो हो– आफ्नै अनुभवको कसीमा जाँच्न सकिने सत्य ।
दुःखबाट मुक्ति पाउनका लागि धार्मिक परम्पराहरूमा शरणागतिको आग्रह छ । कृष्ण भन्छन्– सर्व धर्मान् परित्यज्य, मामेकं शरणम् ब्रज (सबै धर्म त्यागेर मेरो शरणमा आऊ) । क्राइस्ट भन्छन्– ज्ञानको कुरा नगर, मात्र मलाई प्रेम गर, समर्पित होऊ, सेवा गर अनि मात्रै ईश्वरको राज्यमा प्रवेश पाऔला । मोहम्मद भन्छन्– एक मात्र अल्लाहको शरणा जाऊ ।
सबै गुरुले आफ्नो शरणमा आएपछि, श्रद्धा भएपछि र विश्वास गरेपछि सुख मिल्ने आश्वासन दिन्छन् । बुद्धचाहिँ कसैले भने पनि विश्वास नगर, आफ्नै विवेकलाई जगाऊ भन्दै उद्घोष गर्छन्– अप्प दिपो भव ।
आफैं उज्यालो नबनीकन सत्यको दर्शन हुन सक्दैन भन्ने उनको उक्ति कुनै उपदेश नभएर आफ्नै जीवन्त अनुभव थियो । कल्पित भगवान्ले वा आधुनिक सट्टे बजारका एजेन्टजस्ता ती कल्पित भगवान्का पुजारी र पण्डितको शरणमा परेर तिनमाथि श्रद्धा गरेपछि मात्रै दुःख हरण हुन्छ भन्दा त्यसले ठूलो पाखण्डको जन्म गरायो । धर्मका नाममा भएका शोषण र युद्धका अनगिन्ती कथाले विश्व इतिहासको पाना रक्तरञ्जित छ । बुद्ध भने यसमा सर्वथा पृथक् देखिएका छन् । आफू स्वयंले नजानीकन कसैको विश्वासमा पर्नुमा कुनै ज्ञान छैन भन्ने उनको देशनामा छलछामको कुनै ठाउँ छैन । उनको देशनाले मानिसलाई कसैको अनुयायी होइन, स्वतन्त्र खोजको एक महिमापूर्ण अन्वेषक बनाएको छ ।
एक वडाध्यक्ष पद जित्न करोडौं खर्च गर्न र उस्तै परे मर्न, मार्न तम्सिने हजारौं पदलोलुपको समाजमा सिंहासन र राज्य त्यागेर ज्ञानको खोजीमा निस्केका बुद्धको जीवन त्यसै पनि आकर्षक लाग्छ । तर, बुद्धको असली आकर्षण उनको त्यागमा होइन, उनले प्राप्त गरेको ज्ञानमा छ । र, त्यस ज्ञानको आलोकमा हरेक मानिसमा उनकै अवस्थामा पुग्ने सम्भावना भएकामा उनीप्रति आकर्षण बढ्दै गएको छ ।
बुद्ध भनेको कुनै मानिसको नाम होइन । यो चेतनाको एक परम अवस्था हो । सामान्य अवस्थामा मानिस दुःखमा छ । किनभने, उसको चेतन अवस्था अनेकन विचार, भावना र अनुभवका कारण मलिन छ । यस्तो दुःखपूर्ण अवस्थाको मानिसमा ज्ञानको आलोक हुँदैन । त्यसैले ऊ बुद्धु हो । यस अर्थमा हामी सबै बुद्धु हौं । सिद्धार्थ गौतम स्वयं बुद्धु थिए । तर जब उनले दुःखलाई समूल नष्ट गर्न सके र त्यसको उपाय जाने, उनमा ज्ञानको आलोक पूर्णतः प्रकाशित हुन पुग्यो, जुन हरेक मनुष्यको नैसर्गिक अवस्था हो । अनि उनी बुद्ध भए । र, उनले देखे– हरेक बुद्धु बुद्ध हुन सक्छ ।
सम्यक सम्बुद्धत्वको अवस्थामा उनले देखे– संसारमा दुःख छ, दुःखको कारण छ, दुःखबाट पर जाने बाटाहरू छन् र दुःखभन्दा पर पनि जीवन छ । बुद्धको पूरै दर्शन यी चार सत्यमा आधारित छ । यो चार सत्यलाई जीवनको सर्वाधिक श्रेष्ठ अर्थात् आर्य सत्य भन्ने गरिन्छ ।
जीवनमा दुःख छ भनेर बुझ्न कुनै दर्शन र विशिष्ट ज्ञान आवश्यक पर्दैन । मनुष्य मात्रै नभएर प्रत्येक प्राणीले पाइला पाइलामा झेल्नुपरेको केही छ भने त्यो दुःख नै हो । शरीर भएपछि दुःखसुखको अनुभव हुन्छ, त्यो स्वाभाविक रूपले सबै जीवले अनुभव गर्ने कुरा हो । जानीनजानी हाम्रो सारा चेष्टा दुःखलाई हटाउने र सुखलाई बढाउने ढंगले प्रेरित छ । यसो गर्दा हाम्रो जीवनमा एक किसिमको ढाँचा बन्न जान्छ । र, त्यो ढाँचाको केन्द्रमा हुन्छ तृष्णा । कहिल्यै तृप्त हुन नसक्ने यो तृष्णाको आगोले मानिसलाई कहिले क्षुब्ध, कहिले दुःखी, कहिले क्रोधित त कहिले निराश बनाउँछ । भ्रष्टाचारदेखि चोरीसम्म र हत्यादेखि आत्महत्यासम्मको कारण यही तृष्णा हो ।
दुःखको यो विराट आयोजक यो तृष्णा स्वयंको कारण के हो त ? बुद्ध देशनामा छ– त्यो अविद्या हो । अविद्याको अर्को नाम हो अज्ञान । मनुष्य मात्रै नभएर सारा प्राणी अज्ञानको यही अन्धकारले वेष्ठित अर्थात् ढाकिएका छन् । तर, त्यस अँध्यारोलाई अँध्यारो भनेर चिन्न सक्ने र उज्यालोको खोजी गर्न सक्ने चेत र सामर्थ्य मनुष्यमा मात्रै छ । त्यसैले, बुद्धले मनुष्यको जीवनलाई सर्वाधिक महत्त्वपूर्ण जीवन भनेका छन् । यही मनुष्यको शरीर धारणा गरेको जीवले मात्रै बुद्धत्व प्राप्त गर्ने अर्थात् दुःखलाई सधैंका लागि नष्ट गर्न सक्ने क्षमता राख्छ ।
यो अमूल्य मनुष्य चोलालाई मानिसले भने धनको आर्जन, पदको प्राप्ति र यौवनको रसस्वाद गर्नमै व्यतीत गरिरहेको छ । त्यो नपाउँदा वा त्यसको प्राप्तिले पनि शान्त नभएको मनलाई सम्हाल्न मानिस जुवातास, रसरंग, आमोदप्रमोद र भाङ–धतुरो, जाँड–रक्सीदेखि चरेस र खैरो हिरोइनसम्मको नशालु पदार्थको सेवी भएको छ । यतिले पनि मन शान्त नभएपछि ऊ तनाव, चिन्ता, बेचैनी, हैरानीका अनेकन अँध्यारो मानस गल्लीमा विचरण गर्न अभिशप्त छ । यही भावदशामा अनेकन अपराध र स्वयंलाई दुःख दिने किसिमका कुकृत्यको जन्म हुन पुग्छ । यहाँसम्म कि, कथित राष्ट्रप्रेमको जलपमा लडिने युद्धमा पनि कारण खोजी पस्यो भने यही हैरानी, बेचैनी र क्रोध भेटिन्छ ।
यो सबै अविद्याका कारण हुन पुगेको देखेपछि बुद्धले यसबाट उम्कने आठ श्रेष्ठ बाटा लोकले बुझ्न सक्ने गरी सरल रूपले देशना गरे । अर्या अष्टाङ्गिक मार्ग अर्थात् आठ अंग भएका ती बाटाहरू हुन्– सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजीव, सम्यक अभ्यास, सम्यक स्मृति र सम्यक समाधि ।
यी आठ सरल बाटालाई जसले जति अपनाउँछ, उसले दुःखबाट उति नै छुटकारा पाउँछ । यो सरल प्रयोग हामी आफ्नै जीवनमा पनि गरेर हेर्न सक्छौं । सबभन्दा पहिलो प्रस्थानबिन्दु हो दृष्टिकोण, जुन सम्यक अर्थात् ठीक हुनु जरुरी छ । दृष्टिकोण नै ठीक छैन भने त्यसपछिका दृष्टिहरू सबै नै बेठीक हुनु स्वाभाविक नै ठहर्छ । कालो चस्मा लगाएर हेर्दा संसार कालै देखिन्छ, हरियो चस्मा लगाएर हेर्दा हरियै । हामी संसारलाई हाम्रो अनुभवका आधारमा तय भएको दृष्टिकोणको नदेखिने चस्माले हेरिरहेका छौं र तदनुसारको दृश्य देखिरहेका छौं । फूलको आँखामा फूलै संसार भनेजस्तो हामी संसारको वास्तविकता थाहा नपाईकनै यसबारे एउटा धारणा बनाएर त्यस धारणा अनुकूलकै अवस्था, मानिस, व्यवस्था र परिणाम खोजिरहेका हुन्छौं । तर, सत्य कुनै धारणामा अट्ने वस्तु होइन । धारणाबाट अलग भएर यो जस्ताको तस्तै रूपमा आत्मसात् गर्नुपर्ने तत्त्व हो ।
जीवन र जगत् जस्तो छ, त्यसलाई त्यस्तै रूपमा हेर्नुलाई नै बुद्धले सम्यक दृष्टिकोण भनेका छन् । बुद्ध भन्छन्– हरेक अनित्य र अनात्म भनेर देख्न सक्नु नै सम्यक दृष्टिकोण हो । हामी सुखलाई नित्य राखिराख्न चाहन्छौं । आफूलाई प्रीतिकर लागेको वस्तु, समय र मानिस कहिल्यै नबदलिऊन् भन्ने कामना मनले गर्छ । तर, संसारका प्रत्येक भौतिक, अभौतिक वस्तु नाशवान, अनित्य र अल्प छन् । तिनमाथि नित्य पकड कदापि सम्भव छैन । यसरी नै जीवनको प्रत्येक अनुभवलाई जसले हेर्न र देख्न सक्छ, ऊ अनुकूलतामा रमाउने र प्रतिकूलतामा दुःखी हुने गर्दैन ।
संसारमा देखिएका सबै भौतिक, अभौतिक वस्तुको नित्य सत्ता छैन, अर्थात् ती शून्य छन् । हेर्दा ती देखिन्छन्, तर गहिरो गरी त्यसको मूल स्रोत खोज्दै गयो भने शून्य नै फेला पर्छ । जसरी रथ हेर्दा देखिन्छ तर ‘रथ’ भन्ने चिजलाई टुक्र्याउँदै गयो भने त्यसमा घोडा, चक्का, लगाम इत्यादि मात्रै फेला पर्छन् । फेरि ती प्रत्येक वस्तुको मूल स्रोत खोज्दै गयो भने चक्का काठमा, काठ रूखमा र रूख बीउमा भेटिन पुग्छ, बीउ फेरि पुरानो रूखमा भेटिन पुग्छ । र, यी प्रत्येक रूख, घोडा वा अरू कुनै पनि पदार्थचाहिँ हावा, पानी, माटो, प्रकाशको किरण इत्यादिको समुचित सम्मिलनका कारण विकसित हुन पुगेका तत्त्व हुन् । एउटा पदार्थ अरू धेरै पदार्थ वा कारणले अस्तित्वमा देखा पर्ने वा बिलाउने गर्छ, त्यो आफैंमा अविनाशी र नित्य भन्ने हुँदैन भनेर जान्नु नै जगत्को अनात्म पक्ष जान्नु हो । अर्थात् यही नै शून्यलाई जान्नु हो । यो नजान्दासम्म मानिस मोटो रूपमा संसारलाई समात्न पुग्छ र यसको भ्रान्त अवस्थाबाट पाइला पाइलामा छलछाममा पर्छ । अनि दुःखको अनुभवले उसलाई निसासिने बनाउँछ ।
आधुनिक विज्ञानको खोज ‘क्वान्टम फिजिक्स’ ले पनि पदार्थहरूको अन्तिम इकाइमा कुनै खँदिलो पदार्थ नभेटिएको, बरु तिनीहरू तरंगका रूपमा रहेको अनि एउटै पदार्थ कहिले अणु र कहिले तरंगका रूपमा देखापर्ने गरेको पत्ता लगाएको छ । यसले बुद्धको अनात्मवाद वा शून्यताको दर्शनलाई सटीक रूपमा पुष्टि गर्छ ।
हामी जीवनमा अनेकन संकल्प, योजना र विचार बोकेर अघि बढिरहेका हुन्छौं । तर ती सब अविद्या बढाउने खालका छन् भने त्यसबाट दुःख स्वतः जन्मिन्छ । अविद्या घटाउने खालका छन् भने त्यसले दुःखलाई नाश गर्दै लैजान्छ । त्यसैले बुद्धले सम्यक दृष्टिपछि अर्को महत्त्वपूर्ण बाटो सम्यक संकल्प हुनु जरुरी भएको देशना गरेका छन् । त्यस्तै, दुःखलाई हटाउन सम्यक वाणी अर्थात् आफू र अरू कसैलाई पनि दुःख नदिने ठीक बचन, सम्यक कर्म अर्थात् ठीक र उचित काम, सम्यक आजीव अर्थात् कसैको पनि कुभलो नहुने व्यवसाय वा रोजगारी वा व्यापार, सम्यक अभ्यास अर्थात् यी पाँचै कुराको पटक पटक प्रयोग, सम्यक स्मृति अर्थात् प्रत्येक क्षणमा होसपूर्ण रूपले जिउने काम र सम्यक समाधि अर्थात् कुनै पनि वस्तु, नशा वा व्यक्तिको सहाराबिना मनलाई शान्त बनाउने कामलाई बुद्धले दुःख मुक्तिका श्रेष्ठ बाटाहरू भनेका छन् ।
यही भन्नलाई उनले बुद्धत्व प्राप्त भएपछिका पूरै ४४ वर्ष मानिसका घरघर पुगेर झकझक्याए । यस उपक्रममा बुद्धका दसौं हजार अनुयायी त्यसै समयमा भए । बुद्ध दर्शन एउटा धर्मकै रूपमा स्थापना हुन पुग्यो र त्यसले एउटा समयमा पूरै विश्व प्रभावित हुन पुग्यो । हजार वर्षभित्र गोलार्द्धको हरेक कुनामा र सभ्यताका सबै तहमा बौद्ध दर्शनले कसरी प्रभाव पारेको थियो भन्नेबारे बेलायती इतिहासकार विलियम डालरिम्पलले हालै (सन् २०२४ मा) एक पुस्तक लेखेका छन्– ‘द गोल्डेन रोड : हाउ एन्सिन्ट इन्डिया ट्रान्सफर्म्ड द वर्ल्ड’ ।
भारतमा मुसलमान हमला भएपछि र इसाईहरूले संसार कब्जा गर्न थालेपछि हजार वर्षयता बौद्ध दर्शनको विश्वव्यापी प्रभाव खुम्चिँदै गयो । तर, ५० वर्षयता पश्चिमा मनोविज्ञान र विज्ञानले, खासगरी स्नायु विज्ञान र भौतिक विज्ञानले गरेको खोज अनि देखाएको तथ्यका कारण बुद्धलाई झन् बढी प्रगाढताका साथ खोज्न थालिएको छ ।
बुद्ध दर्शन आजको जटिल, तीव्र र अस्थिर विश्वमा झन् प्रासंगिक हुँदै गएको छ । प्रविधिको तीव्र विकास, उपभोक्तावाद, मानसिक तनाव, युद्ध, वातावरणीय संकट र मानवीय मूल्यहरूको ह्रासबीच बुद्धका शिक्षाहरूले आजको मानवतालाई दिशानिर्देश गर्ने क्षमता राख्छन् ।
अत्यधिक भोग र कठोर तपस्या दुवै चरम अवस्थाबाट टाढा रहन बुद्धले ‘मध्यमार्ग’ को देशना गरेका थिए । आजको संसार पनि यस्तै दुई ध्रुवमा विभाजित देखिन्छ । एकातिर अत्यधिक उपभोग, अर्कोतिर चरम त्याग वा अस्वीकार । मध्यमार्ग आजको जीवनशैलीका लागि सन्तुलनको सूत्र हो । काम र विश्राम, प्रविधि र प्रकृति, भौतिकता र आध्यात्मिकता । यी सबैबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता हो । बुद्धको मध्यमार्गले यही सन्तुलनको बाटो देखाउँछ ।
आज विश्वभर ‘माइन्डफुलनेस’ वैज्ञानिक रूपमा प्रमाणित अभ्यासका रूपमा स्थापित हुँदै गएको छ । यसको जरो बुद्धको सम्यक स्मृति वा सतीको अवधारणामा पाइन्छ । वर्तमान क्षणमा पूर्ण सजग भएर बाँच्ने कला नै ‘माइन्डफुलनेस’ हो । अहिलेका मनोवैज्ञानिकहरूले तनाव, चिन्ता र अवसाद कम गर्न ‘माइन्डफुलनेस’ लाई प्रभावकारी उपाय मानेका छन् । तर बुद्धका लागि यो केवल उपचार होइन, जीवन जिउने सम्पूर्ण दर्शन हो ।
आजको विश्व हिंसा, युद्ध, घृणा र विभाजनले भरिएको छ । विभिन्न देशबीच द्वन्द्व, धार्मिक कट्टरता, जातीय विभाजन सबैले मानवताको मूल मूल्यलाई चुनौती दिएका छन् । बुद्धले अहिंसा र करुणालाई जीवनको केन्द्रमा राखे । उनले भने, ‘जसरी आगोले आगो निभाउन सक्दैन, त्यसका लागि पानी नै चाहिन्छ, त्यसरी नै घृणाले घृणा कहिल्यै समाप्त हुँदैन, प्रेमले मात्र त्यो समाप्त हुन्छ ।’ यो सन्देश आजको विश्वका लागि अत्यन्तै आवश्यक छ ।
करुणा केवल भावनात्मक कुरा होइन । यो सामाजिक न्याय, मानवअधिकार र समावेशी समाज निर्माणको आधार पनि हो । त्यसैले, जति समय बित्दै जान्छ बुद्ध उति आधुनिक र सान्दर्भिक लाग्दै जान्छन् ।
