४८ वर्षदेखि अधुरो लुम्बिनी विकास गुरुयोजना

जापानी वास्तुकलाविद् प्रो. केन्जो टाँगेले सन् १९७८ मा लुम्बिनी विकास गुरुयोजना बनाएका थिए, उनले ६ वर्ष लगाएर तयार गरेर दिएको गुरुयोजना तत्कालीन लुम्बिनी विकास समितिले १९७८ मा स्वीकृत गरी कार्यान्वयन थालेको थियो, तर उक्त गुरुयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन।

वैशाख १९, २०८३

मनोज पौडेल

Lumbini Development Master Plan Unfinished for 48 Years

बुद्ध दर्शन आजको जटिल, तीव्र र अस्थिर विश्वमा झन् प्रासंगिक हुँदै गएको छ । प्रविधिको तीव्र विकास, उपभोक्तावाद, मानसिक तनाव, युद्ध, वातावरणीय संकट र मानवीय मूल्यहरूको ह्रासबीच बुद्धका शिक्षाहरूले आजको मानवतालाई दिशानिर्देश गर्ने क्षमता राख्छन् । आजको सन्दर्भमा बुद्धको महिमाबारे कोसेलीले तयार पारेकाे विशेष प्याकेज।

What you should know

लुम्बिनी — नेपालीमा उखान छ, १२ वर्षमा खोला पनि फर्किन्छ । तर, लुम्बिनीलाई विश्वकै शान्तिको मुहान र अध्यात्मिक गन्तव्य बनाउन १७ वर्षमा पूरा गर्ने गरी थालिएको लुम्बिनी विकास गुरुयोजनाको काम ४८ वर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन ।

लुम्बिनीको पवित्रतामा रमाउने र आस्थाको केन्द्र बनाउन सक्ने वातावरण बनाउन विश्वविख्यात जापानी वास्तुकलाविद् प्रो. केन्जो टाँगेले सन् १९७८ मा लुम्बिनी विकास गुरुयोजना बनाएका थिए । उनले ६ वर्ष लगाएर तयार गरेर दिएको गुरुयोजना तत्कालीन लुम्बिनी विकास समितिले १९७८ मा स्वीकृत गरी कार्यान्वयन थालेको थियो । तर, उक्त गुरुयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन । टाँगेले सिंगापुर सहरका लागि बनाएको गुरुयोजनाअनुसार काम गरेर उक्त सहरले अहिले विश्वकै आकर्षण थपेको छ ।

सरकार, मन्त्री र लुम्बिनी विकास कोष नेतृत्व फेरिनासाथै गुरुयोजना पूरा गर्ने परम्परागत प्रतिबद्धता आउँछ । तर साढे ४ दशकभन्दा बढी भइसक्दा पनि पूरा हुन सकेको छैन । गुरुयोजनाका कुरा गर्दागर्दा कोष पदाधिकारी र कर्मचारी थाकिसके । राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिबद्धता भए पनि त्यसअनुसार काम हुन सकेको छैन ।

ऐन, नियम, विनियमको समस्या, चरम राजनीति र चार जना पदाधिकारी आआफ्नै तालले काम गर्दा समस्या हुँदा पनि गुरुयोजनालाई असर पुगिरहेको छ । स्रोत नहुँदा पनि गुरुयोजना पूरा हुन सकेको छैन । धेरै प्रयास र पहल गरेर गुरुयोजना पूरा गर्न १४ वैशाख २०७८ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पहलमा अर्थ मन्त्रालयले ७ अर्ब रकमको स्रोत सुनिश्चितता गरेको थियो ।

अन्तर्राष्ट्रिय ठेक्का लगाउने भनिए पनि तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) र योजना प्रबन्धक ई. सरोज भट्टराईले चलखेल गरेर नेपाली निर्माण व्यवसायी छनोट गरेर काम गराएका थिए । त्यसपछि अर्थ मन्त्रालयले पनि स्रोत सुनिश्चितता गरेको रकम दिन आलटाल गर्‍यो । बढीमा ३ वर्ष २०८० मै पूरा हुने गरी थालिएको गुरुयोजनाको काम अहिलेसम्म पूरा हुन सकेको छैन ।

कोषले गुरुयोजना पूरा गर्न भनेर पहिलो चरण २०७८ मा ३ अर्ब ६० करोड ९७ लाखको ठेक्का लगायो । तर, अर्थ मन्त्रालयबाट पूरै रकम भुक्तानी हुन सकेको छैन । उक्त ठेक्काको भुक्तानी दिन चालु आर्थिक वर्षमा ४१ करोड ९ लाख बजेट पठाइएको छ । तर लागेको ठेक्काको भुक्तानी दिन चालु आर्थिक वर्षको विनियोजित बजेटमा अझै ६० करोड अपुग रहेको कोषका लेखा अधिकृत भीम बस्नेतले जनाए । गुरुयोजना पूरा गर्न दोस्रो चरणको २ अर्ब ८९ करोड ९० लाखको ठेक्का सम्झौता दुई महिनाअघि गरिएको छ । तर अर्थले बजेट निकासा दिनेबारे निर्णय दिएकाले कार्यादेश दिन नसकेको उनको भनाइ छ ।

Lumbini Development Master Plan Unfinished for 48 Years

के–के काम भए ?

गुरुयोजनाअनुसार ८८ प्रतिशत बढी काम भएको कोषका सदस्य सचिव दीपक श्रेष्ठले बताए । गत मंसिरमा सुशीला कार्की सरकारबाट नियुक्त भएका उनले दोस्रो चरणको ठेक्काको काम लाग्न सके गुरुयोजनाका प्रायः काम सकिने जनाए । २०७७ मा तत्कालीन कोष सदस्यसचिव सानुराजा शाक्यले ८४ प्रतिशत काम भइसकेको दाबी गरेका थिए । ६ वर्षमा ४ प्रतिशत मात्र काम भयो । त्यही भएर कति काम पूरा भयो भन्ने वैज्ञानिक आधार छैन ।

‘जो हाकिम आउँछन्, उनले आआफ्नै ढंगले व्याख्या गर्छन् । स्वतन्त्र विज्ञबाट अध्यनन नगराउँदासम्म यति नै हो भनेर भन्न सक्न आधार छैन,’ लुम्बिनीका जानकार प्रह्लाद यादवले भने, ‘नभएर हावादारी गफ मात्र हुन्छ ।’ टाँगेले डिजाइन गरेका हरेक विषयमा बुद्धको दर्शन प्रतिविम्बित छ । शान्तिको झझल्को देखिन्छ । धेरैले बुझ्दैनन् तर गहिरिएर खोज अनुसन्धान गर्दा शान्तिको सामीप्यमा हराइन्छ ।

गुरुयोजनामा उल्लेख भएअनुसार पवित्र उद्यानको ल्यान्डस्केपिङ, केन्द्रीय नहर, सिम्बोलिक पेभेलियन, नर्थ र साउथ पोन्ड निर्माण भएका छन् । पवित्र उद्यान लुम्बिनीको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो । यो गुरुयोजनाको सबैभन्दा दक्षिणतर्फ पर्छ । यहाँ मायादेवी मन्दिर र अशोक स्तम्भ छ । त्यस्तै अशोककाल र पूर्व मौर्यकालका इँटका संरचना, बुद्धकालसम्मका इँटको बुट्टा, सांस्कृतिक अवयव र प्राचीन बौद्ध विहार भग्नावशेष छन् । गुरुयोजनाअनुसार ४ पोखरी, विश्व सम्पदास्थल वरिपरिका ८० वर्गमिटर र केही साना ठाउँमा हरियाली उद्यान बनाउने काम सम्पन्न भएका छन् । कर्मचारी आवास बनेका छन् ।

Lumbini Development Master Plan Unfinished for 48 Years

पवित्र उद्यान र नयाँ लुम्बिनी गाउँबीचमा अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र छ । यहाँ संसारकै सानो बौद्ध विश्व जगत् देखिन्छ । केन्द्रीय नहरको पूर्वतिर थेरबादी र पश्चिमतिर महायानीका सम्प्रदायका विहार गुम्बा छन् । पूर्वतिर श्रीलंका, म्यानमार, थाइल्यान्ड, कम्बोडियालगायतका मुलुकका विहार छन् । पश्चिमतिर चीन, सिंगापुर, जापान, कोरिया, फ्रान्स, जर्मनी, भियतनाम, क्यानडालगायत मुलुकका विहार निर्माण भएका छन् । लुम्बिनीका विहार, मन्दिर गुम्बा विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार बनेका छन् । अर्थात् मिनी बौद्ध बर्ल्ड हो । यहाँका मन्दिर विहार र गुम्बाका बनावट, कलाशैली उत्तिकै आकर्षक छन् । त्यहाँ छापिएका परम्परा, शैलीले सबै उमंगित र रोमाञ्चित हुन्छन् ।

कसरी बन्यो गुरुयोजना बनाउने काम ?

संयुक्त राष्ट्रसंघका महासचिव उथान्त लुम्बिनी भ्रमण गरेपछि निकै दुःखी भए । बौद्ध धर्मावलम्बी उनी सन् १९६७ अप्रिल २३ मा विश्वलाई शान्तिको सन्देश दिने लुम्बिनीको अवस्था देखेर भावविभोर र चिन्तित बने । विकास र पूर्वाधारको अभावमा उपेक्षित र जीर्ण बनेको देखेपछि उनमा केही गर्ने हुटहुटी चलेर गुरुयोजना बनेको कोषका वरिष्ठ निर्देशक तथा प्रवक्ता ज्ञानिन राईले बताए ।

लुम्बिनीबाट राजधानी काठमाडौं पुगेपछि तत्कालीन राजा महेन्द्रसँग लुम्बिनीको विकासका लागि प्रस्ताव गरे । राजाले प्र्रस्ताव स्विकारेपछि अमेरिका पुगेर उथान्तले निकै छलफल गरे । अर्को वर्ष उनले लुम्बिनीमा विशेषज्ञसहितको मिसन पाए । यूएनको अगुवाइमा यूएनडीपीबाट पर्यटन, बाटो र भूमिगत जलपरियोजनाका विज्ञ आए । त्यसपछि युनेस्को टोली पनि पाए ।

Lumbini Development Master Plan Unfinished for 48 Years

यूएनको विकास काम गर्ने र कन्जर्भेसनसम्बन्धी काम गर्ने दुवै टोलीले काम गरे । त्यसपछि काठमाडौंमा रहेका यूएनडीपीका आवासीय प्रतिनिधि वाई जे जेउरे र दुवै मिसनले टोलीले दिएका प्रतिवेदनका आधारमा उथान्तले यूएनको वार्षिक साधारणसभामै लुम्बिनीको विकासका लाागि विश्व समुदायलाई अपिल गरेको विषय ठूलो उपलब्धि रहेको वरिष्ठ निर्देशक राईले बताए । त्यसपछि यूएन मातहतमै लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समिति बनाइयो ।

सुरुमा नेपालसहित अफगानिस्तान, कम्बोडिया, भारत, इन्डोनेसिया, जापान, लाओस, मलेसिया, म्यानमार, पाकिस्तान, सिगापुर, श्रीलंका र थाइल्यान्ड १३ राष्ट्र सदस्य भए । पछि फेरि तीन राष्ट्र दक्षिण कोरिया, बंगलादेश र भुटान थपिएर समिति बन्यो । यसरी १६ राष्ट्र सम्मिलित सन् १९७० मा समिति गठन भयो । समिति बनेपछि उथान्तले विश्वकै उत्कृष्ट केन्जो टाँगेलाई बोलाएर गुरुयोजना बनाउन आग्रह गरेका थिए ।

१९७२ मा टाँगेलाई लुम्बिनीको गुरुयोजना बनाउन जिम्मेवारी दिइयो । त्यही वर्ष टाँगेसहितको टोली लुम्बिनी आएर हात्तीमा चढेर सर्भे गर्‍यो । १९७८ मा टाँगेले गुरुयोजनाको फाइनल डकुमेन्ट यूएनलाई बुझाए । त्यसपछि नेपाल सरकारले १९७८ देखि स्विकारेर कार्यान्वयन थालेको थियो । पहिलो चरणको काम १९८५ मा सक्ने र दोस्रो चरणको काम १९९५ मा सक्ने योजना रहे पनि अझ पूरा हुन सकेको छैन । टाँगेले नै हिरोसिमा पिस मेमोरियल पार्क र केन्याको राजधानी नैरोबी सहरको योजना बनाएका हुन् । जुन विश्वमा चर्चित छन् ।

Lumbini Development Master Plan Unfinished for 48 Years

के–के काम हुन बाँकी छन् ?

टाँगेको गुरुयोजना ३ क्षेत्रमा विभाजित छ । पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँ छन् । धेरै काम नयाँ लुम्बिनी गाउँमा बाँकी छ । अहिलेसम्म ४ सय २० जना अटाउने उत्थान्त अडिटोरियम हल निर्माण भएको छैन । दुईतले गोलो आकारका ठूल्ठूला ६ वटा भवन बनेका छैनन् ।

गुरुयोजना क्षेत्रभित्रबाट बग्ने हरहेवा नदीको व्यवस्थापन गर्ने काम बाँकी छन् । प्राथमिक उपचार केन्द्र, सोभिनियर सप पनि बनाइएका छैनन् । बस पार्क, हाईस्कुल र रेस्टुराँ पनि बनाइएको छैन । तीर्थयात्रीका लागि राति बसेर शान्ति पाठ र ध्यान गर्ने स्थल बनाइएको छैन । गुरुयोजना क्षेत्रभित्रबाट निस्कने फोहोर व्यवस्थापनको काम हुन सकेको छैन । वाटर टावर निर्माण तथा वितरण काम बाँकी छ ।

लुम्बिनीको आर्किटेक्चरल ब्युटी देखाउने कोलोनाडो स्थल बने पनि सञ्चालन हुन सकेको छैन । तीर्थयात्रीको सहयोगका लागि गुरुयोजनाभित्र रहेको होक्के, कासाई र श्रीलंकन पिलग्रिम्स होटल बनेका छन् । कालोपत्र बाटो र सर्भिस रोडका काम भइरहेका छन् । ढल निकास तथा विद्युतीकरणका काम पनि भइरहेका छन् । गुरुयोजना पूर्व–पश्चिम एक माइल बाई उत्तर–दक्षिण ३ वर्गमाइल क्षेत्रफलमा छ । एक हजार ५५ बिघा अर्थात् ७ सय ७० हेक्टरमा गुरुयोजना छ ।

Lumbini Development Master Plan Unfinished for 48 Years

किन पूरा हुन सकेन गुरुयोजना ?

तीव्र राजनीतिक हस्तक्षेप छ । गैरव्यावसायिक र अपरिपक्व व्यवस्थापकीय नेतृत्व आउँछ । लुम्बिनीका लागि काम गर्नेभन्दा आफ्नो स्वार्थका लागि यहाँ काम गर्ने प्रवृत्ति हाबी छ । ‘पञ्चायतकालीन धङधङी छुटेको छैन,’ प्रदेशसभा पूर्वसदस्य फकरुद्दिन खानले भने, ‘पञ्चायतकालमा राजा संरक्षक हुन्थे, अहिले प्रधानमन्त्री संरक्षक छन् । पर्यटनमन्त्री फेरेसँगै कर्मचारी नियुक्त हुन्छन् । सरकारैपिच्छे कोषमा नयाँ पदाधिकारी आउँछन् । कोषमा नयाँ उपाध्यक्ष र सचिव आएसँगै कर्मचारी भर्ती केन्द्र बन्छन् । संगठनात्मक संरचनाको अध्ययन नगरी कर्मचारी भर्ना गरिन्छ ।’

अहिले कोष अनावश्यक कर्मचारीको भारले थिलथिलो बनेको खानले बताए । ‘काम पारदर्शी र गुणस्तरीय छैन,’ खानले भने, ‘मैले कोषले गर्ने कामको सार्वजनिक लेखापरीक्षण गर्नु भन्दाभन्दै थाकिसके । स्थानीय जनप्रतिनिधिलाई कोषले गन्दैन । सर्वसाधारणप्रति जवाफदेही बन्ने टाढाको कुरा हो ।’

कोषले मनलाग्दी तरिकाले काम गरेको स्थानीय अर्जुन कुर्मीले आरोप लगाए । ‘अब कोषमा नयाँ सरकारले लगाम लगाउन जरुरी भइसकेको छ,’ उनले भने, ‘सीमित व्यक्तिका कारण बदनाम हुँदै गएको छ ।’ स्थानीयसँग सहकार्य र सहयोग गर्नुभन्दा कोष सुनेको नसुनै गर्ने गरेको लुम्बिनी होटल संघ अध्यक्ष लीलामणि शर्माले बताए ।

Lumbini Development Master Plan Unfinished for 48 Years

बुद्ध जन्मिएको ठाउँमा बौद्ध शिक्षाविपरीतका गतिविधि पनि भइरहेका छन् । नक्कली टिकट बिक्री हुन्छ । कडा सुरक्षा हुँदाहुँदै मायादेवी मन्दिरमा अनधिकृत वस्तु गडिन्छन् । प्रभावमा गुरुयोजनाविपरीत संरचना निर्माण भएका छन् । नेपालीलाई पनि मन्दिर प्रवेशमा शुल्क लिइन्छ । कसैलाई कारबाही हुँदैन । सरकारैपिच्छे विकास कोषका पदाधिकारी फेरिन्छन् । पदाधिकारी बन्न आर्थिक चलखेल हुन्छ । त्यही चलखेलको प्रत्यक्ष मारमा गुरुयोजना परेको छ ।

शान्तिभूमिमा आन्दोलन र द्वन्द्व अत्यधिक भयो । यसले लुम्बिनीको गरिमा र महिमा ओझेलमा पर्दै गएको छ । ‘लुम्बिनीलाई राजनीति गर्ने अखडा बनाउनु नै गलत काम हो,’ भिक्षु महासंघ पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘राजनीतिबाट मुक्त नहुँदासम्म यसको विकास हुन सक्दैन ।’

बुद्धले शिष्यलाई भनेका थिए, ‘जीवनमा एक पटक म जन्मेको, बुद्धत्व प्राप्त गरेको, पहिलो पटक धर्मचक्र प्रवर्द्धन गरेको र महापरिनिर्माण भएको ठाउँ अवश्य पुग्नू । त्यति पनि नसके जन्मेको स्थान लुम्बिनी पुग्नू ।’ यस्तो महत्त्वपूर्ण ठाउँ ओझेलमा परेको देख्दा निकै चिन्ता लाग्ने गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरीबजिरले बताए ।

कोषको आफ्नै स्रोत नभए पनि लगनशीलता र इमानदारी देखाउन सके जति पनि सहयोग जुटाउन सकिन्छ । तर लोभलालचले गर्दा समस्या भइरहेको सिरीबजिरको भनाइ छ । २०७१/७२ बाट सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपछि बजेट भने प्रभावकारी रूपमा दिन सकेको छैन ।

बुद्ध महिमा

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully