कोलाहलको छायामा रामानन्द चोक

जनकपुरको रामानन्द चोकमा २०३३–३४ सालतिर पाँच पसल थिए— दुइटा किराना, दुइटा चिया र एउटा पान पसल । तर अहिले व्यावसायिक भीडले निसास्सिएको छ ।

वैशाख १२, २०८३

अजित तिवारी

Ramananda Chowk in the shadow of the noise

जनकपुर — दुई महिनाअघि जनकपुरको रामानन्द चोकमा ट्राफिक व्यवस्थापनका लागि काठमाडौंपछि पहिलो पटक रिफ्लेक्टिभ फेग्जिवल स्प्रिङ पोस्ट गाडियो । जता मन लाग्यो, त्यतै सवारीसाधान तेर्स्याउने र पार्किङ गरिँदा कुरूप बन्दै गएको रामानन्द चोकको ट्राफिक व्यवस्थापनका लागि गाडिएको पोस्टले त्यहाँको आकर्षण झन् बढाएको छ ।

अस्तव्यस्त बनेको रामानन्द चोकलाई व्यवस्थित गर्न गाडिएको पोस्टले त्यहाँ ट्राफिक व्यवस्थापनमा मात्र सहज भएको छैन, अहिले त सेल्फी प्वाइन्टसमेत बनेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख इन्सपेक्टर सूर्यबहादुर शाही बताउँछन् ।

जनकपुरको इतिहाससँग रामानन्द चोक नजोडिए पनि यसको न्वारान भने रामानन्दी वैष्णव सभ्यताबाट उत्पत्ति भएको हो । जनकपुरको रामानन्द चोक यहाँका प्रमुख चौरस्ता हो । जनकपुरलाई पूर्वपश्चिम राजमार्गमा जोड्ने भिठामोड–ढल्केवर सडक रामानन्द चोक छोएर जान्छ । प्रसिद्ध जानकी मन्दिर पुग्न वा जनकपुरबाट कुर्था हुँदै बाहिरिन पनि रामानन्द चोक पुग्नैपर्छ ।

अहिले रहेको रामानन्द चोक २०२५ सालअघि मन्दिर, कुटी, खेत र बगैंचा जस्तै थियो । ‘अग्निकुण्ड र दुलहादुलही मन्दिर पुरानो स्थान हो । रामानन्द चोक नाम त पछि जुर्‍यो,’ जनकपुरबारे जानकार रोशन जनकपुरीले भने, ‘सन्त, महन्तमा चेतना र प्रचार बढेपछि २०२५ देखि २०३० को हाराहारीमा रामानन्द चोकको नाम राखियो ।’ त्यतिबेला त्यो चोकमा केही थिएन, सीमावर्ती बजार भिठामोडलाई जनकपुर हुँदै ढल्केवर जोड्ने पातलो सडक थियो । अर्को कुर्था पुग्न सानो गोरेटो बाटो थियो । ‘यी दुई तर फरक दिशामा जाने बाटोका कारण रामानन्द चोक चौरास्ता बन्यो,’ जनकपुरीले भने, ‘त्यसक्रमसँगै रामानन्द चोकको विस्तार हुँदै गयो ।’

Ramananda Chowk in the shadow of the noise

२०३३–३४ सालतिर रामानन्द चोकमा मन्दिर र कुटी मात्र थियो । भारतबाट आउने धार्मिक पर्यटकका लागि जनकपुरमा त्यतिबेला न धर्मशाला न होटल नै थियो । भारतीय पर्यटक रामानन्द चोकनिर रहेका तिनै कुटी र मन्दिरमा बास बस्थे । ‘करिब सय वर्षअघि मेरा हजुरबा हरिप्रसाद सिंहले यही स्थानमा जग्गा लिएर कुटी बनाउनुभएको थियो,’ रामानन्द युवा क्लबका संस्थापक अध्यक्ष अमरचन्द्र अनिलले भने, ‘त्यति बेला जग्गा लिएर कुटी वा मन्दिर बनाउने चलन थियो । सडक बनेपछि धेरैको जग्गा बाटोमा पर्‍यो ।’

रामानन्द चोक बन्नुअघि त्यहाँ रहेका कुटी–मन्दिर कुनै स्थान, जात, समुदायका लागि तोकिएको थियो । जस्तो रतन भवन भारत, विहारको बेगुसरायका लागि, मधुवनी कुटी मधुवनीका लागि, बिहार कुण्ड, अग्नि कुण्डलगायतको हो ।

अनिलका अनुसार जनकपुरको रामानन्द चोकमा २०३३–३४ सालतिर पाँचवटा पसल मात्र थिए— दुइटा किराना, दुइटा चिया र एउटा पान पसल । अनिलकै अग्रसरतामा पछि त्यहाँ एउटा सैलुन पसल थपियो । रामानन्द चोकको सडकको दुवै छेउमा लहरै आँपका बोट थिए । ‘सडक बिस्तारका नाममा आँपको बोट काटिँदै गयो । घर बनाउने क्रममा कुटी–मन्दिरको जग्गा अतिक्रमण हुँदै गयो,’ अनिलले भने, ‘रामानन्द चोक यसरी नै बिस्तारै बाक्लिँदै गयो ।’

अनिल सम्झन्छन्, ‘त्यतिबेला जनकपुरमा चार प्रमुख चोक मात्र थिए– रामानन्द चोक, खुकुरी चोक (हाल भानु चोक), देवी चोक र ब्रह्मपुरी । रामानन्द चोकनजिकै रहेको सरकारी अस्पतालमा त्यतिबेला जनकपुर चुरोट कारखानाले बिजुली सप्लाई गरिदिन्थ्यो । रामानन्द चोकमा भने सरकारी जेनेरेटरबाट दिनमा बिहान ११ देखि दिउँसो २ बजेसम्म र राति ८ देखि ११ बजेसम्म बिजुली सप्लाई हुन्थ्यो । ‘रातको अरू समय टुकी र लालटिनकै भर थियो,’ उनले भने ।

Ramananda Chowk in the shadow of the noise

२०३७ सालमा अनिलकै अगुवाइमा रामानन्द चोकमा बडी बिल्डिङ एन्ड वेटलिफ्टिङ क्लब स्थापना गरियो । क्लबमा आबद्ध करिब २० जना संकटमोटन मन्दिरको पछाडि रहेको खरले छाएको घरमा कसरत गर्थे । ‘राम आयलको एउटा कोठा भाडा लिएर क्लबको कार्यालय स्थापना गरियो,’ अनिल सम्झन्छन्, ‘पछि, त्यो घरलाई क्लबवाला घर नै भन्न थालियो ।’ उनका अनुसार २०३९–४० सालतिर क्लबको नाम फेरेर रामानन्द संस्कृति क्लब राखियो । २०४२ सालमा त्यसलाई रामानन्द युवा क्लब बनाइयो । २०६१ सालसम्म रामानन्द चोकमा मासु र मदिराका पसल थिएनन् ।

रामानन्द चोक जनकपुरको प्रमुख प्रवेश नाका जस्तै बनेपछि जानकी मन्दिरका महन्त रामतपेश्वर दासले त्यहाँ एसियाकै नमुना प्रवेशद्वार बनाउने र त्यसको शिरमा रामानन्द वैष्णवको प्रतीकात्मक प्रतिभा स्थापना गर्ने कामको अगुवाइ गरे । २०५९ सालको अन्त्यतिर रामानन्द चोकमा एसियाकै नमुना दाबी गरिएको प्रवेशद्वार बनाइयो । त्यसले झन् रामानन्द चोकको आकर्षण बढायो ।

रामानन्द चोक आन्दोलन र संघर्षको पनि साक्षी हो । २०६८ साल वैशाख १८ गते रामानन्द चोकमा मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै धर्नामा बसेको थियो । त्यही क्रममा रामानन्द चोकमा शक्तिशाली बम विस्फोट भयो । उक्त घटनामा पाँच जना आन्दोलनकारीको मृत्यु भयो भने ३२ जना घाइते भएका थिए । रामानन्द चोकमा भएको त्यो बम विस्फोटको घटनाले देश नै थर्कमान भएको थियो । त्यसउप्रान्त पनि रमानन्द चोक विभिन्न माग लिएर धर्ना, जुलुस, प्रदर्शन र आन्दोलनको थलो बनेकै छ ।

जनकपुरमा आधुनिक बसपार्क निर्माणाधीन छ । रामानन्द चोकमा भने बस बिसौनी पनि बनेको छ । दर्जनौं होटल, रेस्टुरेन्ट, आधुनिक पसल र बस बिसौनीले जनकपुरको रामानन्द चोक अहिले ठूलै कोलाहाल हुने स्थल बनेको छ ।

चोकका कथा

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully