वरगाछी चोक : मजदुर आन्दोलनदेखि जेन–जी विद्रोहसम्म

विद्यार्थी आन्दोलन, मजदुर संघर्षदेखि हालैको ‘जेन–जी’ विद्रोहसम्म निरन्तर विरोध र प्रतिरोधको सार्वजनिक मञ्च बनिरहेको छ– वरगाछी । यो चोकबाट सत्तालाई प्रश्न गर्ने, अधिकार माग्ने र परिवर्तनको आवाज उठाउने परम्परा पनि जीवित छ ।

वैशाख १२, २०८३

पर्वत पोर्तेल

Baragachi Chowk: From labor movement to Gen-G rebellion

What you should know

विराटनगर — वरगाछीको कथा बुझ्नुपहिले विराटनगरको इतिहास बुझौं । आजको विराटनगर पहिले नेपालगन्ज र त्यसपछि चन्द्रगन्ज नामले चिनिन्थ्यो । पुरानो बस्ती ‘गोग्राहा घाट’ आसपास केन्द्रित थियो । डा. विजयप्रसाद मिश्रले ‘विराटनगरको बस्ती विकासको इतिहास’ नामक एक आलेखमा भाषाविद् बालकृष्ण पोखरेललाई उद्धृत गर्दै जनाएअनुसार, ‘गोग्राहा, नेपालगन्ज र चन्द्रगन्जभन्दा विराटनगर कान्छो नाम हो ।’

मोरङको सदरमुकाम रंगेलीबाट यहाँ सर्नुअघि गोग्राहा, खार्जी, पोखरिया, तीनपैनी, शंकरपुर, महुवा, गहेली, जहदा, बकरी र रानीजस्ता बस्तीहरू अस्तित्वमा थिए । त्यतिबेला मुख्य बसोबास दक्षिणतर्फ, विशेषतः रानी क्षेत्रमा केन्द्रित थियो भने उत्तरतर्फ घना जंगल थियो ।

औलोको प्रकोपका कारण यहाँ बसोबास गर्न मानिसहरू डराउँथे । पछि राणाशासनले खेती र बसोबासका लागि प्रोत्साहन गरेपछि थारू, राजवंशी, धिमाललगायत आदिवासी जनजाति, मारवाडी, नेवार, मधेशी मूलका व्यापारी तथा पहाडी समुदायको यहाँ बसोबास सुरु भयो ।

भारतको जोगवनीबाट उत्तर बग्ने कोशी राजमार्ग हुँदै यात्रा गर्ने जो–कोहीका लागि ‘वरगाछी’ नौलो नाम हैन । तर, यो एउटा चोक मात्रै नभएर इतिहास, पहिचान र परिवर्तनको जीवन्त कथा हो । आजको व्यस्त, कोलाहलपूर्ण र कंक्रिटले भरिएको वरगाछी चोक । झट्ट हेर्दा सायद विश्वास गर्न गाह्रो हुन्छ– कुनै समय यहाँ भीमकाय वरको रुख उभिएको थियो भन्ने कुरा । जसको छहारीमा विश्राम, विमर्श र सम्बन्धहरू हुर्किन्थे ।

राजमार्ग चौडा बन्नुअघि वरगाछी क्षेत्रको पहिचान त्यही भीमकाय वरवृक्षसँग गाँसिएको थियो । आदिवासी राजवंशी, थारूलगायत समुदायले त्यसलाई रुखका रूपमा होइन, ग्रामथानका रूपमा जोगाउँदै आएको कुरा ‘वरगाछी’ नामक साहित्यिक पत्रिकामा माधवप्रसाद अत्रीले एक लेखमा उल्लेख गरेका छन् । त्यो वरवृक्ष प्रकृतिको मात्रै प्रतीक थिएन, आस्था, संस्कार र सामुदायिक एकताको केन्द्र थियो । त्यही छहारीमा गाउँ–समाजको कचहरी बस्थ्यो । यात्रुहरू विश्राम गर्थे र स्थानीय जीवनका अनेक आयामहरू थकाइ मार्थे ।

तर, विकासका नाममा सडक विस्तार गरिँदा वर्षौं पुरानो त्यो वरवृक्ष मात्रै ढलेन, त्योसँग जोडिएका अनेक स्मृति, संस्कार र कैयौं पहिचानको महत्त्वपूर्ण पाटोहरू पनि ढले । रुख मासियो, चराहरूको बास मासियो । तर, नाम मेटिएन । मान्छेहरूको बोलीमा, सहरका नक्सामा, साइनबोर्डमा र सामूहिक स्मृतिमा ‘वरगाछी’ अझै जीवित छ । मात्रै छैन, त्यो बडेमानको वरवृक्ष ।

Baragachi Chowk: From labor movement to Gen-G rebellion

वरगाछी सडक वारपार गर्ने चोक मात्रै होइन, राजनीतिक र सामाजिक आन्दोलनहरूको साक्षी पनि हो । नेपालको लोकतान्त्रिक आन्दोलनका अनेक महत्त्वपूर्ण क्षणमा यो चोक केन्द्रमा रह्यो । २००७ सालको प्रजातान्त्रिक क्रान्तिदेखि २०४६ को जनआन्दोलन हुँदै २०६२/६३ को ऐतिहासिक आन्दोलनसम्म वरगाछी मसाल जुलुस, नारा र जनलहरले सधै गुञ्जायमान भइरह्यो । यो क्षेत्र नेपाली राजनीतिका प्रमुख हस्तीहरूको कर्मभूमि पनि बन्यो । मातृका, बीपी र गिरिजाप्रसाद कोइरालादेखि मनमोहन र भरतमोहन अधिकारीजस्ता दिग्गज नेताको राजनीतिक गतिविधि यसै भूगोलसँग जोडिएको थियो । ‘वरगाछी एउटा चोक मात्र थिएन, राजनीतिक चेतनाको उर्वर भूमि थियो,’ सामाजिक अभियन्ता टीकाराम खतिवडा भन्छन्, ‘जहाँबाट परिवर्तनका आवाजहरू उठ्थे र सत्तासम्म पुग्थे ।’

‘विमान विद्रोह’ नामक पुस्तकमा उल्लेख भएअनुसार, २०३० सालको चर्चित विमान अपहरण काण्डको योजना पनि यही आसपास तयार भएको मानिन्छ । पुस्तकमा वरगाछी र त्यसको सेरोफेरोको चर्चा गरिएको छ । दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलजस्ता पात्रहरू यस क्षेत्रसँग जोडिएका थिए, जसले वरगाछीलाई राष्ट्रिय राजनीतिक गतिविधिको केन्द्रका रूपमा स्थापित गरेको देखिन्छ ।

Baragachi Chowk: From labor movement to Gen-G rebellion

विद्यार्थी आन्दोलन, मजदुर संघर्षदेखि हालैको ‘जेन–जी’ विद्रोहसम्म वरगाछी निरन्तर विरोध र प्रतिरोधको सार्वजनिक मञ्च बन्दै आएको छ । यहाँबाट सत्तालाई प्रश्न गर्ने, अधिकार माग्ने र परिवर्तनको आवाज उठाउने परम्परा अझै पनि जीवित छ ।

वरगाछी चोक विराटनगरको आर्थिक गतिविधिको धमनी नै हो । उत्तरमा इटहरी–धरान, दक्षिणमा रानी भन्सार र जोगबनी, पूर्वमा पुष्पलाल चोक र पश्चिममा विमानस्थल जाने मार्गर् जोड्ने यो चोक सहरको ‘ट्रान्जिट हब’ जस्तै बनेको छ ।

यहाँका थोक तथा खुद्रा पसलहरूले सहरको अर्थतन्त्रलाई चलायमान बनाइरहेका छन् । बिहान सबेरैदेखि तरकारी बजार, किराना पसल, इलेक्ट्रोनिक्स र अटोमोबाइलका शोरुमहरूमा चहलपहल सुरु हुन्छ । साना चिया पसलदेखि ठूला होटलसम्मले सयौंलाई प्रत्यक्ष रोजगारी दिएका छन् । विराटनगरका पुराना बासिन्दा तथा अर्थशास्त्री डा. वेदराज आचार्य भन्छन्, ‘सहरको आर्थिक नाडी छाम्न चाहनुहुन्छ भने वरगाछीको व्यापारिक गतिविधि हेर्नुहोस् ।’ वास्तवमा, यहाँको भीडभाड, कारोबार र गतिशीलता विराटनगरको आर्थिक स्वास्थ्यको सूचकजस्तै देखिन्छ ।

वरगाछी सामाजिक जीवनको पनि धड्कन हो । बिहान ४ बजेदेखि नै जीवन चलायमान हुन्छ । कलेज जाने विद्यार्थी, मर्निङ वाक गर्ने मान्छेहरू, चिया पसलमा बसेर मोबाइल स्क्रोल गर्दै देशको राजनीति विश्लेषण गर्नेहरू । दिउँसो व्यापारिक गतिविधि चरममा पुग्छ भने साँझपख साना–ठूला रेस्टुरेन्टहरूमा रौनक सुरु हुन्छ । जेन–जी युवाको तात्तातो बहसले गुन्जिने क्याफेहरूले सहरको आधुनिक जीवनशैली, फेसन र संस्कृतिको प्रतिनिधित्व गर्छ । मारवाडी समुदायको व्यापारिक दक्षता, मधेशी र पहाडी समुदायको सहअस्तित्वले वरगाछीलाई सांस्कृतिक विविधताको उदाहरण बनाएको छ ।

Baragachi Chowk: From labor movement to Gen-G rebellion

विकाससँगै वरगाछीको स्वरूप परिवर्तन भएको छ । सडक फराकिला भएका छन्, भवनहरू अग्लिएका छन्, सवारी साधनको चाप अत्यधिक बढेको छ । तर, यही परिवर्तनसँगै केही मूल्यवान् कुरा हराउँदै गएको अनुभूति पुराना बासिन्दाहरूमा छ, त्यो हो पुरानो वरगाछी । स्थानीय बासिन्दा बुधलाल राजवंशी भन्छन्, ‘पहिलाको वरगाछी शीतलताको छहारी मात्र थिएन, हाम्रो ग्रामथान थियो । अहिले त वरको गाछी होइन, कंक्रिटको ढिस्को मात्र बाँकी छ ।’

विराटनगरको तापक्रम दिन प्रतिदिन बढ्दो छ । ४२ डिग्री सेल्सियसभन्दा माथि पुग्ने गर्मीमा पहिलेको जस्तो हरियाली र छहारीको अभाव झन् तीव्र रूपमा महसुस हुन्छ । कुनै समय हराभरा सडक किनार अहिले उजाडजस्ता देखिन्छन् । उजाड सडक किनारलाई हरियाली बनाउने अभियानमा जुटेका छन्, पारुल क्षेत्री । उनी र उनको समूह दैनिक बिरुवा रोप्ने र पानी हाल्ने काममा तल्लीन छन् । महानगरले गर्ने काम यो समूहले निःस्वार्थ रूपमा गरिरहेको छ । ‘अब पहिलाको झैं वरवृक्ष हुर्काउने अभियानमा हामी जुटेका छौं’, क्षेत्री भन्छन्, ‘पुरानो वरगाछी फर्काउने हाम्रो लक्ष्य छ ।’

वरगाछीको ऐतिहासिक वरवृक्ष मासिएपछि त्यसलाई नयाँ पहिचान दिन अनेक उपायहरू खोजिए । कांग्रेस नेता शेखर कोइरालाको पहलमा हजुरबा कृष्णप्रसाद कोइरालाको सालिक स्थापना पनि गरियो । तर, सडक दुर्घटनामा त्यो सालिक पनि भत्कियो । हाल त्यही स्थानमा एउटा सानो वरको बिरुवा हुर्किंदै छ । स्थानीयहरूमा आशा छ– एक दिन त्यो बिरुवा विशाल रुख बन्नेछ र फेरि वरगाछीलाई छहारी दिनेछ ।

विराटनगरका साहित्यकार सीमा आभासको अनुभवमा सहर विकास सडक चौडा पार्ने र अग्ला भवन ठड्याउने प्रक्रियामा सीमित हुनुहुँदैन । इतिहास, संस्कृति र प्रकृतिसँगको सम्बन्ध जोगाउनु पनि त्यत्तिकै आवश्यक छ । ‘वरगाछी जस्ता स्थानले सहरको आत्मा बोकेका थिए,’ आभास थप्छिन्, ‘त्यसलाई जोगाइराख्नु भनेको पहिचान बचाउनु हो ।’

चोकका कथा

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully