नयाँ पुस्ताले बिर्संदै पुरानो बटौली र खस्यौली, ट्राफिक चोक, मिलन चोक, चौराहा हुँदै भैरहवाको बुद्ध र देवकोटा चोकमा चमकधमक बढ्दो
What you should know
बुटवल — अहिलेको बुटवलका ट्राफिक चोक र मिलन चोक जस्तै नाम हुन्, पुरानो बटौलीका कदम चोक र निम चोक । वि.सं. १७६२/६३ ताका पाल्पाली राजा मणिमुकुन्द सेनले व्यापार जानेका कश्मीरका कसौधनहरूलाई ल्याएर बटौलीको कदम चोकमा राखेका थिए । तिनै कसौधनहरूले कदम चोकमा सुरु गराएको बटौलीको व्यापार बुटवलका विभिन्न स्थानमा चोक थप्दै निरन्तर विस्तारमा छ । इतिहास बोकेका कदम चेक र निम चोक भने अहिले सुस्ताएका छन् । पछि विस्तार भएका ट्राफिक चोक, मिलन चोक, चौराहा हुँदै भैरहवाको बुद्ध र देवकोटा चोकसम्मको चमकधमक बढ्दो छ ।
कसौधन थरका भारतीय व्यापारीले पुरानो बटौलीका दुई चोकमा छाप्रा बनाएर पहाडबाट आउने घिउ, अदुवा, बेसार, जडीबुटी, तरुल, सखरखण्ड, कोदो, मकैसहित गाँजा र चरेससमेत खरिद गर्थे । त्यसको सट्टा नुन, चिनी, काँचो कपडा बिक्री गर्थे । बटौलीका पुराना व्यापारी एवं जानकारहरूका अनुसार बटौलीमा मंसिर, पुस, माघ र फागुनमा थेगी नसक्नुको भीड हुन्थ्यो । फागुनदेखि गर्मी लाग्ने भएकाले मधेशमा ‘औल’ लाग्ने भन्दै पहाडका मान्छे तराई झर्न डराउँथे । चैतमा सुरु भएको गर्मी जेठसम्मै हुन्थ्यो । असार, साउन, भदौ र असोजमा पहाडमा खेती स्याहार्नुपर्थ्यो । खोला बढेर हिँड्न मुस्किल पर्थ्यो ।
आठ पुस्तादेखि पुरानो बटौलीको कदम चोकमा बस्दै आएका ८७ वर्षे सीताराम गौतमका अनुसार उनको पुर्खालाई चन्द्रशमशेरले ‘लालमोहरिया’ बनाएर घरमा जजमानी (पूजापाठ) गराउन दाङको देउखुरीबाट ल्याएका थिए । राजाहरूले आफ्ना सहयोगी र पूजापाठ गर्नेका लागि जग्गा दिएर लालमोहर लगाइदिने चलन थियो । सीतारामहरूको जजमानी अहिले पनि बटौली र बुटवलमा जारी छ ।
बाबु चुरामणिले................... सुनाएअनुसार उनीहरू आउँदा कदम चोकदेखि निम चोकसम्म ४/५ घर मात्र थिए । अहिले दुवै चोक घरले भरिएका छन् । निम चोकमा निमको रूख अहिले पनि छ । पहाडबाट नुन, तेल किन्न आएका मानिस त्यतिबेला पनि त्यही निम र कदम चोकमा रहेका रूखमुनि पाल टाँगेर रात बिताउँथे । गर्मीमा लाग्ने मच्छर धपाउन निमका पात बटारी बालेर बस्थे ।
यी दुई चोकमा छाप्रो बनाएर ल्हासाको सुन र नुनदेखि पहाडको घिउ र जडीबुटीको व्यापार हुन्थ्यो । पाल्पा, स्याङ्जा, गुल्मी, पर्वतबाट आउनेहरू नुवाकोटको डाँडो हुँदै कदम चोक झर्थे । टिनका भाँडामा बोकेर ल्याएको पहाडको घिउ छाप्रा बनाएर बसेका कसौधन र मारवाडीले किन्थे । सुका पैसामा दुई माना घिउ पाइन्थ्यो । एक टिनमा १० मानासम्म घिउ ल्याउँथे । दिनमा १ सय ५० जनासम्मको घिउको कारोबार निम चोक र कदम चोकमा हुन्थ्यो । ‘त्यसैले पनि निम चोक र कदम चोक बटौलीको मुख्य इतिहास हो,’ सिताराम भन्छन्, ‘अहिलेका पुस्ताले यस्ता सबै भुले, बुटवलका ट्राफिक र मिलन चोक मात्र सम्झिन थाले ।’ पुरानो बटौलीको पहिचान र इतिहास जोगाउन नगरपालिकाले पहल गर्नुपर्ने उनको सुझाव छ ।
इतिहासका अध्येता तथा बुटवल उपमहानगरपालिकाका पूर्वउपप्रमुख विमलबहादुर शाक्यका अनुसार डेढ सय वर्षअघिसम्म बटौलीको चहलपहल अर्कै थियो । पहाडबाट नुन, तेल किन्न आउनेहरूको भीड लाग्थ्यो । तिनाउको किनार ‘खस्यौली’ सुनसान थियो । नदी बग्न छाडेपछि बगर बन्यो । २०२० मा बुटवल–पाल्पा सडकको ट्र्याक खुल्यो । २०२२ मा बुटवल–नारायणगढ र बुटवल–कोहलपुर सडक निर्माण भयो । लगत्तै सिद्धार्थ राजमार्ग र पूर्वपश्चिम राजमार्गको निर्माण थालनी भयो । खस्यौलीतर्फको सडक आसपासमा घर ठडिन थाले । जग्गा किनेबच हुन थाल्यो । बटौली साँघुरो थियो । सट्टामा व्यापारीले फराकिलो ठाउँ खस्यौली रोज्न थाले ।
२०२८ सालमा तत्कालीन बुटवल खस्यौली नगर पञ्चायतलाई बटौलीबाट खस्यौली सारियो । सडक र स्थानीय निकायको कार्यालयका कारण खस्यौली फस्टाउन थाल्यो, बटौली सुक्दै गयो । खस्यौलीलाई बुटवल भनिन थालियो । त्यसपछि मुलुककै व्यापारिक केन्द्र बन्यो बुटवल । बुटवलको केन्द्रबाट पाल्पा, नेपालगन्ज, काठमाडौं र सुनौली जाने गाडी छुट्न थाले । सडक बनेपछि गाडीको संख्या बढ्दै गयो । २०३२ सालतिर अहिलेको ट्राफिक चोकको पूर्वउत्तरतर्फ बसपार्क बनाइएको थियो । त्यसैले पनि चारैतर्फ एकै स्थानबाट सवारी छुट्ने र आएका पनि त्यहीं रोकिने भएपछि त्यही स्थानलाई ट्राफिक चोक भन्न थालियो ।
ट्राफिक चोक २० वर्ष पहिलासम्म सवारीसाधनको पर्याप्त सुविधा, राजनीतिक दलका लागि आन्दोलनको चौतारो, व्यवसायीका लागि मानिसको बाक्लो भीड र फिल्म हेर्नेहरूका लागि हलका कारण पनि केन्द्रमा थियो । अहिले त्यसको स्वरूप केही बदलिएको छ । अहिले युवा पुस्तामा ट्राफिक चोक चिया चौतारो र साँझमा ‘कुकर कफी’ का लागि पनि चर्चामा छ ।
ट्राफिक चोकको छेवैमा चिया पसल र रेस्टुरेन्ट चलाइरहेका नरेश पाण्डेले ट्राफिक चोक नयाँ पुस्ताका लागि चिया, कफीको जंक्सनसँगै भेटभाटका लागि पनि चर्चामा रहेको बताए । ‘हामीले सुनेअनुसार यसको पनि पुरानो इतिहास छ,’ उनले भने, ‘पछिल्ला वर्षमा युवा पुस्ताको पनि रोजाइको केन्द्र भएपछि चिया पसल खोल्यौं ।’ साँझपख ट्राफिक चोकमा सिद्धार्थ राजमार्गछेउ ठेलामा पाक्ने ‘कुकर कफी’ ले पनि यो चोकले प्राथमिकता पाइरहेको उनले बताए ।
ट्राफिक चोकपछि मिलन चोक बन्यो । त्यसपछि चौराहा हुँदै विकास भएको बुटवल बजार अहिले तिलोत्तमा नगरपालिकाको मणिग्राम चोक हुँदै भैरहवाको देवकोटा चोकसम्म जोडिएको छ । पूर्वउपप्रमुख ७६ वर्षीय विमलबहादुर शाक्यका अनुसार २०३६ सालपछि बुटवलमा पहाडबाट बसाइँ सर्नेको ताँती नै लागेको थियो । व्यापार तथा सुखी जीवनयापनका लागि बुटवल झर्नेहरू बाक्लिँदै गएपछि बुटवल तीव्र गतिमा उछालिँदै गयो । ट्राफिक चोक र बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) क्षेत्रतिर बस्ती बढ्यो । हाटबजार चल्न थाल्यो । बिस्तारै नेपालगन्ज रोड, हस्पिटल लाइन, मिलन चोक, चौराहासम्म बस्ती बाक्लियो ।
२०४६ सालसम्ममा सुक्खानगर, दीपनगर, देवीनगर, कालिकानगरसम्म बस्ती विकास भयो । २०६२/६३ को जनआन्दोलनपछि योगीकुटी, जानकीनगर, शंकरनगर, मणिग्राम, भलवारी हुँदै बस्ती भैरहवासम्म पुगेको थियो । तीव्र बस्ती विकास भइरहेका बुटवल, तिलोत्तमा र भैरहवाको सिद्धार्थ नगर जोडेर महानगर बनाउने गरी अहिले छलफल चलिरहेका छन् ।
००
तस्बिर क्याप्सन ः
१. बुटवल उपमहानगरपालिका–२ को पुरानो बटौलीका बीचमा रहेको निम चोकको निमको रूख । डेढ सय वर्ष पुरानो निम चोकको १ सय मिटर उत्तरतर्फ कदम चोक छ । तस्बिर ः घनश्याम गौतम/कान्तिपुर
२. बुटवलको ट्राफिक चोक । यो चोक सवारीसाधनको सुविधादेखि कुकर कफी र चिया पसलका लागि चर्चित छ । तस्बिर ः घनश्याम गौतम/कान्तिपुर
