वीरेन्द्रनगरको वैभव

पूर्वराजा वीरेन्द्र शाह युवराज छँदै सुर्खेत पुगे र त्यहाँको भूगोल देखेर प्रभावित भए, राजा भएपछि नगरको गुरुयोजना बनाउन लगाए, उनको योगदानलाई सम्मान गर्दै स्थानीयले चोकको नाम दिए– वीरेन्द्र चोक

वैशाख १२, २०८३

कृष्णप्रसाद गौतम

The splendor of Birendranagar

What you should know

सुर्खेत — सुर्खेतको सदरमुकाम गोठीकाँडाबाट उपत्यकामा झरेपछि कटकुवा, गोठीकाडा र जर्बुटा गाउँ पञ्चायतका केही भागलाई मिसाएर २०२३ सालमा वीरेन्द्रनगर नगर पञ्चायत बनाइयो । सबैभन्दा पहिले बस्ती बस्यो गणेश मन्दिरनजिकै । त्यसको पूर्वतिर स्थानीय बासिन्दाले छलफल गर्ने, किनमेल गर्ने, विद्यार्थीले पढ्ने र जमघट हुने थलो बन्यो– वीरेन्द्र चोक ।

चोकको नाम पूर्वराजा वीरेन्द्र शाहका नामबाट राखिएको हो । स्थानीय इतिहासबारे जानकार ध्रुवकुमार श्रेष्ठका अनुसार वीरेन्द्र युवराज छँदै पटकपटक सुर्खेत आएका थिए । ‘उनी यहाँ आउँदा स्थानीयसँग कुराकानी गर्थे, उनी यहाँका मानिसको व्यवहार देखेर प्रभावित थिए,’ उनले सुनाए, ‘यहाँका मानिस पनि उनीसँग प्रभावित थिए, जसका कारण चोकको नामकरण गरे वीरेन्द्र चोक ।’

श्रेष्ठका अनुसार त्यसबेला यही चोकमै जात्रा र विभिन्न पर्व मनाइन्थे । तत्कालीन राजा वीरेन्द्रले सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याई वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाएका थिए । त्यहीअनुसार अहिले वीरेन्द्रनगरको विकास गरिएको हो । २०४४ सालमा राजारानी नै आएर चोकमा निर्मित सालिक अनावरण गरेका थिए । सालिक २०६२/६३ को जनआन्दोलनका बेला तोडफोड भयो ।

२०७४ सालमा वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोकमा संरचना पुनर्निर्माण गर्‍यो । तर सालिक राखिएन । चोकको बीचमा गमला राखियो । झन्डै १५ वर्षपछि १४ पुस २०७८ मा पूर्वराजा वीरेन्द्रको जन्मजयन्तीको अवसर पारेर स्थानीय युवाले सालिक पुनःस्थापना गराए । ‘नाम वीरेन्द्र चोक नै कायम गरिए पनि सालिक राख्ने–नराख्ने भन्नेबारे लामो विवाद भयो,’ वीरेन्द्रनगर नगरपालिकाका पूर्वप्रमुख देवकुमार सुवेदीले भने, ‘पछि आफ्नै लगानीमा युवाले सालिक पुनःस्थापना गरे ।’

स्थानीय दुर्गाप्रसाद सापकोटाका अनुसार तत्कालीन राजा वीरेन्द्रको मन पर्ने ठाउँ भएकाले उनले यहाँको गुरुयोजना निर्माण गर्न लगाएका थिए । ‘उनको योगदानलाई सम्मान गर्दै चोकको नामकरण गरेर सालिक राखिएको हो,’ उनले भने, ‘अहिले वीरेन्द्रनगरको मुटु नै वीरेन्द्र चोक मानिन्छ ।’

वीरेन्द्र चोकबाट चारवटा बाटा छुटिन्छन् । वीरेन्द्रनगरको सबैभन्दा व्यस्त हुने चोक यही हो । ‘प्रदेश अस्पतालदेखि ऐरी चोक, सरकारी कार्यालयहरू रहेको इत्राम, मुख्य बजार क्षेत्र सबैतिर यही चोकबाट गइन्छ,’ स्थानीय विजया शर्माले भनिन्, ‘विभिन्न मेलापर्व र राष्ट्रिय दिवसमा औपचारिक कार्यक्रम यही चोकबाट सुरु हुन्छ ।’

वीरेन्द्रनगर नगरपालिकामा २०२३ सालमा बसोबास सुरु भएको स्थानीय अगुवा ध्रुवकुमार श्रेष्ठले बताए । उनका अनुसार त्यसअघि नगरपालिकाको मैदानी भाग (उपत्यका क्षेत्रमा) औलो लाग्ने हुँदा स्थानीय बासिन्दा झन्डै २० किलोमिटर माथिको गढीमा बस्थे । ‘यहाँ औलो लाग्ने भएकाले खेतीपातीको काम सकेर सुत्न माथि जाने चलन थियो,’ उनले भने, ‘औलो उन्मूलन भएपछि बस्ती बस्न थालेको हो ।’ त्यसअघि उपत्यकामा फाट्टफुट्ट थारू र राजी समुदायको बसोबास थियो ।

२०३८ सालमा रत्न राजमार्ग निर्माण भएपछि वीरेन्द्रनगरनजिकै अर्को चोक बन्यो– मंगलगढी चोक । यो चोकबाट नेपालगन्ज, काठमाडौं, जुम्ला, दैलेख, कालीकोटलगायत जिल्लामा आउजाउ हुन्छ । ‘तत्कालीन मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम भएपछि मंगलगढी चोक पनि वीरेन्द्र चोकजस्तै व्यस्त बन्न थाल्यो,’ स्थानीय अगुवा गोविन्द केसीले भने ।

मंगलगढीमा अछामको मंगलसेनका राजा आएर बसेको इतिहास रहेकाले मंगलगढी नामकरण भएको श्रेष्ठ बताउँछन् । ‘मंगलसेनका राजाले शत्रुहरूसँग बच्न वरिपरि पानी भएको पोखरी मंगलगढीमै बनाएर बीचमा आफू बस्ने ठाउँ बनाएको इतिहास छ, त्यहाँ जलदुर्गा मन्दिर पनि छ,’ उनले भने, ‘त्यो मन्दिरमा दसैंको सप्तमीको दिन जमरा चढाएर र पूजा गरेपछि मात्र गोठीकाडामा पूजाआजा र टीकाटालो चल्थ्यो रे ।’ पछि मंगलसेनका राजाको सम्झनामा मंगलगढी चोक बनेको किंवदन्ती रहेको उनले बताए ।

मंगलगढी चोकनजिकै नेपाली सेनाको क्यारेकसमेत थियो । उनका अनुसार नेपाली सेनाको पृतना स्थापना भएपछि ब्यारेक नेवारे सरेको थियो । अहिले त्यही ठाउँमा नेपाली सेनाको महाविद्यालय छ ।

वीरेन्द्रनगर २०७४ मा कर्णाली प्रदेशको राजधानी बन्यो । त्यसपछि यो सहर पश्चिम नेपालकै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकीय केन्द्र बनेको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले बताए । उनका अनुसार २०२३ अघि चौहान चौर र चौघान चौर नामले चिनिने वीरेन्द्रनगरमा मूलपानी, एरी चोक, हटिया चोक, सिम्ताली चोक, गणेश चोकलगायत चोक बनेका छन् ।

‘चोकको अर्थ चारैतिर घरले घेरिएको र बीचमा पक्का गरी बनाइएको चारकुने जमिन वा आँगन भन्ने हुन्छ, त्यस्तै दुई वा सोभन्दा बढी बाटो काटिने ठाउँ वा मुख्य बजारको केन्द्र पनि चोक हो,’ उनले भने, ‘सहरीकरण बढ्दै जाँदा जमघट र औपचारिक कार्यक्रम हुने स्थान बदलिए ।’

वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल यहाँका चोकहरूले पहिचानसँगै विभिन्न इतिहास बोकेको बताउँछिन् । उनका अनुसार ती पहिचान नमेटिने गरी चोकहरूमा विभिन्न संरचना बनाउने र सुन्दर सहरका रूपमा विकास गर्न तयार पारिएको गुरुयोजना कार्यान्वयन भइरहेको छ । ‘मंगलगढीमा कर्णालीमै पहिलो आकाशेपुल बन्दै छ, वीरेन्द्र चोकमा पहिलोपल्ट ट्राफिक लाइट राखिएको छ,’ उनले भनिन्, ‘पानीका फोहोरा राख्ने, विभिन्न सालिक र मूर्ति स्थापना गर्ने, चोकहरूलाई चौडा र फराकिलो बनाउनेलगायत काम भइरहेका छन् ।’ उनका अनुसार विभिन्न चोकको सौन्दर्यीकरण गर्न यो वर्ष झन्डै ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully