रत्नपार्क : आन्दोलनको मुकाम

काठमाडौंको मुख्य ट्रान्जिट–प्वाइन्ट रत्नपार्क आफ्नो किनारमा आवतजावत गर्ने हजारौं मान्छेको सुख–दुःखका कथा सुनिबस्छ

वैशाख १२, २०८३

दीपक सापकोटा

Ratna Park: The center of the movement

What you should know

काठमाडौँ — समय बहनुसँगै रत्नपार्कले पनि आफ्नो स्वरूप, महत्त्व र चिनारी बदलेको छ । अहिलेको रत्नपार्क काठमाडौंको व्यस्त जीवनबीच हरियोपरियो र भव्य पार्क हो, जहाँ फराकिला चौर खोज्दै सानो घरमा निसासिएका नानीहरू उछलकुद गरिरहेको दृश्य देखिन्छ । मानिसहरू यहाँ व्यायाम गरिरहेका वा रूखको छायामुनि मोबाइलमा व्यस्त हुन्छन् । यो वसन्त याममा नीलो आकाशमुनि फुलेका बैजनी रङका ब्राजिली रैथाने फूल जाकारान्डाले रत्नपार्क अद्भुत प्रतीत हुन्छ ।

रानीपोखरी र टुँडिखेल नजिकैको यो पार्क बालबालिका खेल्ने मैदान हेतु निर्माण गरिएको थियो । तर, बिस्तारै रैथाने र बाहिरियाको आराम, घुमफिर अनि ‘ब्रेक’ को थलोमा फेरियो ।

असलमा रत्नपार्क एउटा केन्द्र थियो, जहाँ देशैभरबाट जम्मा भएका मानिसहरू आ–आफ्ना कथा–व्यथा सुन्थे, सुनाउँथे । भुइँमान्छे वा विरक्तिएका वा निराश युवा हुन्थे ती, यो यहाँ दिनैभर झुम्मिबस्थे– धूलैधूलोले कुरूप पारेका बोटबिरुवा वा रूखले घेरिएर ।

Ratna Park: The center of the movement

रानीपोखरी र टुँडिखेल नजिकैको यो पार्क बालबालिका खेल्ने मैदान हेतु निर्माण गरिएको थियो । तर, बिस्तारै रैथाने र बाहिरियाको आराम, घुमफिर अनि ‘ब्रेक’ को थलोमा फेरियो ।समयले मैलो बनायो, तर रत्नपार्कले आफूलाई नामेट हुन दिएन । काठमाडौंको मुख्य ट्रान्जिट–प्वाइन्ट रत्नपार्क आफ्नो किनारमा आवतजावत गर्ने हजारौं मान्छेको सुख–दुःखका कथा सुनिबस्छ ।

लोकतान्त्रिक आन्दोलनपछि राजसंस्थासँग सम्बन्धित थुप्रै ‘लोकेसन’ का नाम फेरिए, तर ज्ञानेन्द्रकी कान्छी आमाको नामबाट राखिएको रत्नपार्कको नाम फेरिएन । रत्नपार्कको निर्माण २०१८ सालदेखि सुरु भएर २०२१ मा सम्पन्न भएको थियो । रत्नपार्क छेउमै छन्– देशकै जेठा शैक्षिक र स्वास्थ्य संस्था– त्रिचन्द्र कलेज, दरबार हाईस्कुल, वीर अस्पताल । दुई ठूला मस्जिद (जामे र कश्मीरी तकिया), टुँडिखेल, घण्टाघर, रानीपोखरी र खुलामञ्च रत्नपार्कनेरै छन् ।

०००

रत्नपार्कसँगै जोडिएको स्वतन्त्र ‘स्पेस’ हो– खुलामञ्च । यो लोकतान्त्रिक आन्दोलन र थुप्रै आन्दोलनको साक्षी हो ।

हालै मात्र सर्वसाधारणका लागि यहाँको ताला खोलियो, तर यो मञ्चले खुला हुन अनेक संघर्षका अनेकन् कुइनेटो पार गर्नुपर्‍यो । व्यस्त सडकबीचको यो खुला घाँसे मैदान जनताको सपना र संघर्षको जीवित मञ्च हो । यहीँका खुला आकाशमुनि उभिएर मानिसले इतिहास रचेका छन् ।

Ratna Park: The center of the movement

थुप्रै नेता खुलामञ्चबाटै भूमिगत राजनीति त्यागेर खुला भएका छन् । बीपी कोइरालादेखि मदन भण्डारीसम्मले खुलामञ्चमा जनतालाई आफ्ना कथा सुनाएका छन् । जनआन्दोलन २०४६ र ०६२/०६३ मा खुलामञ्चमै नेताहरूले सत्ताइतर विचार व्यक्त गरेका थिए । खुलामञ्च पञ्चायतदेखि नै जनताको विचार राख्ने थलो बनेको थियो ।

इतिहासकारहरू खुलामञ्चलाई टुँडिखेलकै एक भाग मान्छन्, जुन पछि खण्डित भयो– रत्नपार्कको निर्माणपछि । रत्नपार्क बन्यो, तर टुँडिखेल टुक्रियो । दक्षिणको भाग नेपाली सेनाले आफ्नो मातहतमा संरक्षण गर्‍यो र शाही सेना मञ्च बनायो । उत्तरको ‘स्पेस’ गोलो मञ्च बन्यो, जसलाई ‘खुलामञ्च’ नामले पुकारियो । सेनाको अधीनमै भए पनि खुलामञ्चमा सर्वसाधारणलाई प्रवेश खुला थियो । कालान्तरमा यो सामान्यजनलाई बन्द गरियो ।

Ratna Park: The center of the movement

असलमा खुलामञ्चको सौन्दर्य यसको खुलापनमै छ । यो खुला चौर सहरको सास फेर्ने लोकेसन हो । कामना गरौं– खुलामञ्च सधैं खुला रहोस् ।

०००

जनआन्दोलनमा रत्नपार्ककै सडकमा धर्ना बस्थे, नारा उराल्थे, पुलिससँग जुध्थे ठुल्ठूला नेताहरू । ज्ञानेन्द्रविरुद्ध जनआन्दोलनको गर्जन–थलो यही रत्नपार्क थियो । त्यसैले यो हो– जनआन्दोलनको घाइते भूमि ।फेरि रत्नपार्ककै कथामा फर्कौं । यो यस्तो चोक हो, जसले पूरै मुलुक जोडेको छ– फरक विचार बोकेका मानिसदेखि दैनिक गुजारा गर्ने अनेकन् व्यवसायी यहीँ भेटिन्छन् । जस्तो एक दशकअघिसम्म पनि एउटा कचौराको सङ्लो पानीमा दर्जनौं घडी डुबाएर पेटीमा घडी–ग्राहक कुरिरहेका व्यापारी भेटिन्थे । वा भेटिन्थे– कपीवाला फिल्मका सीडी–डीभीडीदेखि शृंगारयुक्त विलासिताका उपभोग्य सामानसम्म बेच्नेहरू ।

अनलाइनको चमकधमक दुनियाँ सुरु हुनुअघि ‘एक्सक्लुसिभ’ समाचार बेच्न हेडलाइन भट्याइरहेको सन्ध्याकालीन अखबारको हकर यहीँ भेटिन्थे । सुपर ग्लु, पर्स, मोजा इत्यादि बिक्री गर्न रत्नपार्क–किनारमा हिँडिरहेको बालक यो विशाल सहर हेरेर अत्यास मान्थ्यो । खरबुजा र काँक्राको चिरा थालमा राखेर ‘खानुहुन्छ ?’ भन्ने सपनाहरूले भरिएका युवा रत्नपार्ककै गारोमा आड लागिरहेका हुन्थे । अनेकन् रङको एउटै कोलाज थियो– रत्नपार्क ।

जनआन्दोलनमा रत्नपार्ककै सडकमा धर्ना बस्थे, नारा उराल्थे, पुलिससँग जुध्थे ठुल्ठूला नेताहरू । ज्ञानेन्द्रविरुद्ध जनआन्दोलनको गर्जन–थलो यही रत्नपार्क थियो । त्यसैले यो हो– जनआन्दोलनको घाइते भूमि ।

रूखमुनि उभिएर या बारमा अडेस लगाएर गफिने समूह यहाँ खुब हुन्थे । मानौं रत्नपार्क थियो– एक ‘स्पिकर्स कर्नर’ । राजनीतिक बहस गरिरहेका मान्छेको झुन्ड रत्नपार्कमा सधैंको स्थायी दृश्य थियो । तर, रत्नपार्कले सायद कुनै नयाँ विचारको आविष्कार गरेन । राजधानीबाहिरबाट आएका धेरै युवा, विद्यार्थी र बेरोजगारका लागि यो थियो– एक आराम गर्ने चौतारो ।

Ratna Park: The center of the movement

माओवादी द्वन्द्वको उत्कर्षका बेला दिउँसो घाममा ‘मुकुन्दे’ रूखमाथि चढेर माइकबिनै राजनीतिक भाषण गर्थे । भाषण सुन्ने युवाको सायद स्थायी समूह उनलाई सुनिरहेकै हुन्थ्यो । मुकुन्दे आफैंलाई राष्ट्रपति, मन्त्री वा प्रधानमन्त्री घोषणा गरिरहेका हुन्थे । पार्कको कुनामा दुनियाँबाट लुकेको भ्रममा मुनामदनहरू प्रेमालापमा मग्न–मग्न हुन्थे ।

बस–माइक्रो–टेम्पुको लहर, मान्छेको सागर ! यही त हो रत्नपार्कको असली मुहार । अनेकौं रुटहरूको अन्तिम बिसौनी हो– रत्नपार्क । र, सहरका अन्यत्र लोकेसन पुग्ने सुरुवात बिन्दु पनि । रत्नपार्कमा युगौंदेखि मान्छे बस चढिरहेका छन्, झरिरहेका छन्, कहीँबाट आइरहेका छन्, यहाँबाट कहीँ पुगिरहेका छन् ।

Ratna Park: The center of the movement

अब रत्नपार्क पूरै फेरिएको छ । पार्कभित्र पस्न टिकट खरिद गर्नुपर्छ । त्यो थोत्रो, मैलो, धूले पार्क अब चिटिक्क परेको छ, हरियोपरियो भएको छ । रत्नपार्कले अब आफ्नो अनुहार बदलेको छ । दिउँसो पार्कभित्र खेलिरहेका नानीबाबु र साँझ यसकै किनारमा कपडा, चस्मा, घडीदेखि अनेक सामान बेचिरहेका मानिसको चहलपहलले रत्नपार्क अझै गुलजार छ ।

तर, रत्नपार्क पूरै चम्किलो र सफा भएको छैन । वीर अस्पतालछेउकै बसपार्कका कारण धूलो र अव्यवस्थित छँदै छ– रत्नपार्क । एकपटक शंखधर उद्यान नामकरण गरिएको यो पार्कले इतिहास र स्मृति दुवैको कथा भन्छ । सहरको मध्यमा यति ठूलो र खुला ‘स्पेस’ हुनुले सहरलाई सुन्दर र सानदार बनाउँछ । अब रत्नपार्क जीवित छ– नानीबाबुको हाँसोमा ।

चोकका कथा

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully