अत्तरिया : सुदूरकोे केन्द्र

राजा महेन्द्रका पालामा पूर्व–पश्चिम राजमार्गको रेखांकन सुरु हुँदाका बखत अत्तरिया चोकबाहेक चारैतिर वनजंगल थियो

वैशाख १२, २०८३

चित्रांग थापा

Attariya: The center of the remote

What you should know

धनगढी — तराईको कैलाली र कञ्चनपुरसहित ९ जिल्लाको केन्द्रमा रहेको अत्तरिया चौराहा हालका वर्षमा गुलजार हुँदै गएको छ । अत्तरिया सुदूरपश्चिम प्रदेशका पहाड र तराई जोड्ने प्रवेशद्वार हो । पहाडी भूभागसँगै तराईको भावर क्षेत्र छिचोल्दै मुलुकको चारै दिशामा आउजाउ गर्न पुगिने पहिलो बिसौनी पनि हो, अत्तरिया चौराहा ।

यति मात्र होइन कैलालीको सीमा–नाका गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी हुँदै भारत पस्ने मार्गस्थल चौराहा पनि हो । यहाँको चौराहा भएर कामको खोजीमा सुदूरका दुर्गम पहाडबाट झरेका युवा भारत पस्न गौरीफन्टा र गड्डाचौकीतिर जान लागेकाहरूको दिनहुँ लर्को देखिन्छ । अत्तरिया चौराहा भएर रोजगारीका लागि भारत पस्नेहरूमा केही वर्षयता कैलाली र कञ्चनपुरका थारू समुदायका युवा कामदार पनि थपिएका छन् ।

राजा महेन्द्रका पालामा पूर्व–पश्चिम राजमार्गको रेखांकन सुरु हुँदाका बखत अत्तरिया चोकबाहेक चारैतिर वनजंगल थियो । नजिकका पुराना बस्तीमा गेटा र मालाखेती मात्र थिए । पहाडबाट तराई झर्नेहरू पनि पुराना बस्तीका पैदलमार्ग छिलोल्दै कैलाली, कञ्चनपुर र भारततिर आउजाउ गर्थे । २० को दशकयता जब पूर्व–पश्चिम राजमार्गको निर्माणसँगै पहाडी भूभाग जोड्ने धनगढी–डडेलधुरा राजमार्ग निर्माण हुन थाल्यो, अत्तरिया चौराहा र आसपासका क्षेत्रमा पनि बस्ती बिस्तार हुन थालेको हो ।

Attariya: The center of the remote

‘चौराहाभन्दा दक्षिणतिरको पुरानो बस्ती गेटामा सानो बजार थियो, पश्चिम मालाखेतीमा मण्डी थियो,’ ११ वर्षको उमेरमा डोटीबाट अत्तरिया पुगेका रामचन्द्र अवस्थी (उमेरले ७२) भन्छन्, ‘पूर्व–पश्चिम राजमार्ग र धनगढी–डडेलधुरा राजमार्ग निर्माण सुरु भएपछि अत्तरियाले काँचुली फेरेको हो ।’ धनगढी–डडेलधुरा राजमार्ग बन्न त वर्षौं लाग्यो । २०२१ सालतिर धनगढीबाट अत्तरियाको सिरानमा रहेका गोदावरीसम्म सडक कटिङ हुन थालेपछि भने अत्तरियाको अवस्था बदलिन थालेको हो ।

बीसको दशकमा सडक निर्माण पनि सुरु भयो, पहाडमा प्राकृतिक विपद्ले भोकमरी पनि बढ्न थालेपछि सुदूरका पहाडी क्षेत्रबाट बसाइँ सर्ने क्रम सुरु भएको अवस्थी बताउँछन् । ‘सीमा क्षेत्रमा बस्ती विस्तार गर्ने योजनाअनुसार राजा महेन्द्रको हुकुम प्रमांगीबाट २०२३ सालमा अत्तरिया आसपासमा जंगल फँडानी भयो,’ उनले भने, ‘त्यसपछि पहाडबाट मान्छे तल झर्न थाले र यहाँका बस्ती फैरिन थाल्यो ।’ अत्तरियामा भने धनगढी–डडेलधुरा राजमार्ग निर्माणको काम अघि बढ्न थालेपछि नै बस्ती र बजार विस्तार हुन थालेको उनको भनाइ छ ।

अत्तरिया चौराहाबाट १५ किलोमिटर दक्षिण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी सहर धनगढी छ । अत्तरिया चौराहाको उत्तरतर्फ हिमालदेखि उच्च लेकाली भेगसँगै मध्यपहाडी क्षेत्रमा फैलिएका सुदूरपश्चिमका ७ पहाडी जिल्ला छन्— बाजुरा, बझाङ, दार्चुला, डोटी, डडेलधुरा, बैतडी र अछाम । यी सबै जिल्ला जोड्ने सुदूरपश्चिमको ‘लाइफ लाइन’ का रूपमा रहेको प्रमुख सडक खण्ड धनगढी–डडेलधुरा राजमार्ग हो ।

Attariya: The center of the remote

अहिलको अत्तरिया चौराहा रहेको क्षेत्र कुनै बखत मालाखेती गाउँपालिका र गेटा गाउँपालिका क्षेत्रमा पर्दथ्यो । पञ्चायतकालदेखि हालका वर्षसम्म आइपुग्दा विभिन्न कालखण्डमा सीमा र क्षेत्र परिवर्तन हुँदै गोदावरी नगरपालिका–१ र २ मा अत्तरिया चौराहा छ । २०३६ सालसम्म अत्तरियामा केही भारतीय मूलका व्यवसायीका २/४ वटा मात्र पक्की घर थिए । झन्डै ४०/५० वर्षको अवधिमा अत्तरिया आधुनिक सहरका रूपपमा विस्तार भइरहेको स्थानीय रामचन्द्र अवस्थी बताउँछन् । ‘चौराहाको उत्तरतर्फ चेत साहनीको चिया पसल र व्यवसायी जयराज मोहपालको पुरानो पक्की घर मलाई अझै पनि सम्झना छ,’ अवस्थीले भने, ‘अब अहिलेको चौराहा हेर्ने हो भने आकाश–पाताल जस्तो फरक भइसक्यो ।’

२०४३ देखि अत्तरियामा बसोबास गर्न थालेका व्यवसायी यज्ञराज जोशी सुरुमा अत्तरियामा केही फाटफुट टिनका छाप्रोमा रहेका किराना पसल मात्र रहेको जनाउँछन् । ‘अहिलेको चोक भएको ठाउँमा खाल्डो थियो, पानी जम्थ्यो, बजार नै थिएन भने पनि हुन्छ,’ उनले भने, ‘पूर्व–पश्चिम राजमार्गसँग जोडिएपछि अत्तरिया सुदूरपश्चिमको केन्द्र हुन थालेको हो ।’ पहाडबाट अत्तरिया झरेपछि जतासुकै जान सकिने भएपछि सवारी साधन र यात्रु पनि बढ्न थालेपछि यहाँ होटल–लजसँगै व्यापारिक गतिविधि बढ्दै गएको जोशीको भनाइ छ ।

विगतमा सम्साँझै सुनसान हुने अत्तरियामा हालका वर्षमा रौनक छ । राजा महेन्द्रको सालिक रहेको चौराहाको मुख्य चोकमा फर्फराउने राष्ट्रिय झन्डा, पानीको फोहोरा र हरियालीले चौराहाको आकर्षण बढाएको छ ।

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully