धर्नेको फाँटदेखि हल्लनचोकसम्म

लेकसाइडको मध्यभागमा छ– हल्लनचोक । आज यो चोक सडकको चौराहा मात्रै होइन– पोखराको अर्थतन्त्र, स्मृति र संस्कृतिको एउटा जीवन्त प्रतीक हो ।

वैशाख १२, २०८३

दीपक परियार

From the protest site to the Hallan Chowk

What you should know

पोखरा — लेकसाइडको मुटुमा एउटा यस्तो चोक छ, जसको नाम सुन्दा धेरैलाई लाग्न सक्छ– यो कुनै विदेशी शब्दको अपभ्रंश हो । तर, फेवातालको किनारमा अवस्थित ‘हल्लनचोक’ को न्वारन कुनै भूगोलशास्त्री वा नगर योजनाकारले गरेका होइनन्, न त यो कुनै विदेशी पर्यटकको नामबाटै राखिएको हो । यो त एउटा दलित समुदायको बस्ती, एउटा परिवारको संघर्ष र मदिराको झोकमा ‘हल्लिने’ एक पात्रको बिन्दास जीवनशैलीबाट जन्मिएको नाम हो ।

पोखराको लेकसाइडमा ‘हल्लनचोक’ भन्ने नाम सुन्नेबित्तिकै एउटा चहलपहलको तस्बिर आँखा अगाडि आउँछ– पर्यटकको भीड, रेस्टुराँबाट बाहिर निस्किने परिकारको बासना, फेवातालमाथि उड्दै गरेका रंगीन प्याराग्लाइडिङ र साँझ परेपछि फेवाको पानीमा पौडी खेल्ने रंगीन बत्तीहरू ।

जहाँ विदेशी लवज र नेपाली आतिथ्यको संगम हुन्छ । त्यही लेकसाइडको मध्यभागमा छ– हल्लनचोक । आज यो चोक सडकको चौराहा मात्रै होइन, पोखराको अर्थतन्त्र, स्मृति र संस्कृतिको एउटा जीवन्त प्रतीक हो । तर, यो चोकको जगभित्र एउटा यस्तो कथा पुरिएको छ, जुन यहाँका गगनचुम्बी होटल र आधुनिक क्याफेहरूले सजिलै भन्दैनन् ।

यही चोकको कथा भन्न सक्ने मान्छेमध्ये एक हुन्– कालीबहादुर परियार । ६७ वर्षका कालीबहादुर लेकसाइडका पुराना होटल व्यवसायी हुन् । हल्लनचोकका मूल साक्षी, यो जग्गाका उत्तराधिकारी र यस नामका इतिहासका जीवन्त पाना । उनको परिवार यो जग्गाको मूल बासिन्दा हो र यो चोकको नाम पनि उनकै परिवारबाट जन्मिएको हो ।

बाटो खुल्यो, चोक जन्मियो

२०३४/३५ सालभन्दा अगाडि, जहाँ आज हल्लनचोक छ, त्यहाँ बाटो नै थिएन । थियो त केवल धानखेत, भैंसीको गोठ र एउटा चौतारो । कालीबहादुरका बाबु पतिराम परियारले ‘धरणी’ नामका एक व्यक्तिसँग १२ रोपनी जग्गा किनेका थिए । स्थानीयहरू त्यो ठाउँलाई ‘धरणेको फाँट’ भन्थे ।

From the protest site to the Hallan Chowk

त्यो बेलाको लेकसाइड अहिलेको जस्तो विलासी थिएन । फाँटमा एउटा पुरानो चौतारो थियो– ‘थपिनीको चौतारो’ । त्यहाँ थापा थरकी वृद्धाले घैँटामा पानी भरेर राखिदिन्थिन्, ताकि बाटो हिँड्ने बटुवाहरूले प्यास मेटाउन पाऊन् । आज ती चौतारा र घैँटाहरू आधुनिकताको भेलमा हराए तर तिनैका जगमा उभिएको छ आजको पर्यटकीय केन्द्र ।

वि.सं. २०१८ मा फेवाताल किनारमा सरकारले स्थानीयको खेत खरिद गरेर ताल विकास केन्द्र (हालको मत्स्य अनुसन्धान केन्द्र) खोल्यो । जलारी समुदायलाई तिहारी जाल हान्न सिकाउने, माछा पाल्न सिकाउने र तालबाट निकालिएका माछा बेच्ने काम केन्द्रले गर्थ्यो । त्यो केन्द्रसम्म पुग्ने गोरेटो बाटो मात्रै थियो ।

धर्नेको फाँटमा परियारसँगै केही पहारी र पौडेल थरका परिवारको खेत थियो । ७४ वर्षीय कृष्णराज पहारी लेकसाइडका अर्का पुराना बासिन्दा हुन् । उनका अनुसार, ड्यामसाइडको पर्यटन बाराहीचोक हुँदै पश्चिमतर्फ सर्दै थियो । बैदामतिरबाट गोरुगाढा चल्ने बाटो धर्नेको फाँटतिर पुग्दै थियो । ०३० सालमा पोखरा नगर योजना बनेपछि डिँहीको पाटनतिरबाट पनि कच्ची मोटर बाटो तालतिर अघि बढ्यो । त्यसरी दुईतिरबाट बाटो जोडिएपछि हालको चोक बन्यो ।

हल्लनचोकको नाम कसरी रह्यो भन्ने विषयमा धेरै भ्रम र किंवदन्ती छन् । कतिपयले विदेशी पर्यटक ‘हेलेन’ को नामबाट ‘हेलेन चोक’ हुँदै हल्लनचोक भएको तर्क गर्छन् । तर, यो तर्कलाई यहाँका रैथानेहरू सिधै खारेज गर्छन् । कालीबहादुर परियार दृढताका साथ भन्छन्, ‘हल्लनचोकको नाम मेरो जेठो दाइ तिलकबहादुरले गर्दा रहन गएको हो ।’

From the protest site to the Hallan Chowk

उनका जेठा दाइ तिलकबहादुर परियार अलि रंगीला स्वभावका थिए । जाँड–रक्सीको अलि बढी सोख– नाच्ने, गाउने र सधैं रमाउने । उनी प्रायः त्यही चोक (जहाँ अहिले हल्लनचोक छ) मा बसेर मदिराको झोकमा हल्लिरहन्थे । मान्छे ठट्टा गर्दै सोध्थे, ‘तिलक, तिमी त सधैं यहीं छौं त !’ उनी जवाफ दिन्थे, ‘हो, म त यहीं हल्लिरहन्छु ।’ कसैले उनलाई घर कहाँ हो भनेर सोध्दा ‘हल्लने चोक’ भन्थे ।

बिस्तारै स्थानीयले त्यो ठाउँलाई ‘हल्लने चोक’ भन्न थाले । कृष्णराज पहारी पनि यसैलाई पुष्टि गर्छन् । उनी भन्छन्, ‘तिलकका दाजुभाइ देखेर हामीले ठट्टा गर्दै हल्लनेचोक भन्न थाल्यौं । पछि त्यही नाम चर्चित भयो ।’ यसरी एक पात्रको जीवनशैली एउटा भूगोलको पहिचान बन्न पुग्यो ।

अर्को नाम ‘क्याम्पिङ चोक’

वि.सं. २०३७ सालतिर हल्लनचोकको एउटा भागलाई ‘क्याम्पिङ चोक’ भन्न थालियो । त्यसको पछाडि एउटा लामो कथा छ– सरकार, जग्गा, पर्यटन र परियार परिवारको बीचको जटिल सम्बन्धको ।

सन् १९६० को दशकमा युरोपेली पर्यटक पश्चिम एसियाको बाटो हुँदै बसमा पोखरा आइपुग्थे । बेलायत, जर्मनी, इटाली, फ्रान्सलगायत देशबाट इरान, अफगानिस्तान, पाकिस्तान हुँदै तीन–चार साता गाडी चलाएर पर्यटकहरू आउँथे । ती पर्यटक नेपाल ट्रस्टको जग्गा रहेको बाराहीचौरमा गाडी पार्क गरेर क्याम्पिङ गर्थे । रत्न मन्दिर अगाडि नै रहेको र राजाको सवारी हुने बेला गाडी राख्न नमिल्ने भएपछि हल्लनचोक नजिकैको फाँट खोजियो ।

पर्यटन मन्त्रालयले पर्यटन कार्यालय कास्की मातहतमा रहने गरी जग्गा अधिग्रहण गर्‍यो । सरकारले कालीबहादुरको परिवारको बाह्र रोपनी जग्गामध्ये दस रोपनी चालीस–पचास हजार रुपैयाँको दरले लियो । १८ रोपनीभन्दा बढी जग्गामा क्याम्पिङ चौर बन्यो । चौर बनेपछि हल्लनचोकबाट तालको किनारसम्म पुग्न कच्ची मोटरबाटो खुल्यो । ‘हाम्रो जग्गामा डोजर चलाउन पाइन्न भनेर विरोध गरेको थिएँ, मलाई जिल्ला प्रशासन कार्यालयले दिनभर लगेर थुन्यो, फर्केर आउँदा बाटो खुलिसकेछ,’ कालीबहादुरले सम्झिए ।

From the protest site to the Hallan Chowk

क्याम्पिङ चौरमा बाथरुम, शौचालय पनि बनाइयो । विदेशीका लागि सुविधासहितको क्याम्पिङ गर्ने सार्वजनिक स्थल बनाइयो । ‘क्याम्पिङ चोक’ नाम त्यहींबाट आयो । तर, यो नाम त्यति चर्चित भएन । ‘हल्लनचोक’ नाम मान्छेको जिब्रोमा सजिलोसँग बस्यो र यो नाम पर्यटनको विश्व मानचित्रमा स्थापित भयो ।

तर अहिले ? कालीबहादुर दुःखका साथ भन्छन्, ‘त्यो जग्गा बेवारिसे छ । न पार्किङ बन्यो राम्रोसँग, न क्याम्पिङ नै चल्यो । पर्यटन कार्यालयले हेरेको छैन, नगरपालिकाले हेरेको छैन । मुद्दा र विवादमा अलमलिएर राम्रो प्रयोग हुन पाएको छैन ।’

डेढ दशकअघि पर्यटन मन्त्रालयले उक्त जग्गा भाडामा लगाए पनि अख्तियारमा उजुरी परेपछि उच्च अदालत पोखराले भाडामा नलगाउन आदेश गर्‍यो । संघीयता स्थापनापछि प्रदेश सरकार मातहत आएको पर्यटन कार्यालय हाल एकीकृत सेवा कार्यालयमा गाभिएको छ । प्रदेश सरकार मातहतको उक्त जग्गा हाल अलपत्र छ ।

परियार बस्ती र सामाजिक क्रान्ति

हल्लनचोकको अर्को महत्त्वपूर्ण पाटो भनेको यहाँको परियार बस्ती हो । पोखराको वडा नम्बर ६ मा पर्ने यो क्षेत्रमा पुस्तौंदेखि दलित समुदायको बाक्लो बसोबास थियो । कालीबहादुरका अनुसार यहाँ विक्रम परियार, बुद्धिबहादुर, तर्कबहादुर, राजदल, जोबाने, हुर्काउली परियारका सन्तानहरू बस्थे ।

कालीबहादुरका हजुरबाको नाम जसकर्ण परियार थियो । बाबु पतिरामले सुनाउँदा भन्थे– हाम्रो पुर्खा पाउदुरबाट आएका हुन् । तर मालपोत कार्यालयमा पनि त्यो जग्गाको पुरानो लिखत भेटिँदैन । पुस्तौंदेखिको बसाइँको इतिहास तर कागजमा प्रमाण नभएको । यो कथा नेपालका धेरै दलित परिवारको साझा कथा हो ।

रोचक के छ भने, आजको बहुमूल्य लेकसाइडमा कुनै समय बाहुन–क्षेत्रीहरू बस्न डराउँथे । ‘धेरैले औलोको डर भन्छन् तर मेरो बुझाइमा मुख्य कारण छुवाछूत थियो,’ कालीबहादुर भन्छन्, ‘धेरै परियार, केही विश्वकर्मा र मिजारहरूको बस्ती भएकाले कथित माथिल्लो जातका मान्छेहरू अलि परै बस्थे ।’

तर, जब पोखरामा पर्यटनको ढोका खुल्यो, हल्लनचोकले एउटा मौन सामाजिक क्रान्तिको नेतृत्व गर्‍यो । विदेशी पर्यटकका लागि को दलित, को बाहुन, कुनै अर्थ थिएन । ‘सबैभन्दा ठूलो परिवर्तन छुवाछूतको अन्त्यमा आयो । पर्यटकहरू आएपछि व्यापार गर्नेले जात हेरेर सेवा दिन पाएनन् । जसले छुवाछूत मानिरह्यो, उसको व्यापारै चलेन,’ कालीबहादुर अनुभव सुनाउँछन्, ‘सेता विदेशीले दलितको हातको खाना खाएको र उनीहरूलाई सम्मान गरेको देखेपछि बिस्तारै बाहुन–क्षेत्रीहरूको सोच पनि बदलियो ।’

From the protest site to the Hallan Chowk

हल्लनचोकबाट बाराहीघाटसम्म पुग्ने बाटोको तल्लो भागमा परियार टोल थियो । त्यहाँ केही विश्वकर्मा र नेपाली जातिको घर पनि थियो तर बहुमत परियारकै थियो । हल्लनचोकमा क्याम्पिङ चौर बनेपछि परियार समुदायका युवाहरू गाइड बने, रेस्टुराँमा काम गर्न थाले र विदेशीसँग सिधै संवाद गर्न थाले । यसले उनीहरूमा आत्मसम्मान मात्र जगाएन, समाजको पुरातन संरचनालाई पनि भत्काइदियो । र, यही पर्यटनले एउटा ऐतिहासिक परिवर्तन ल्यायो । पर्यटक आएपछि व्यापारको तर्क सामाजिक भेदभावभन्दा बलियो भयो । जग्गाको मूल्य बढ्यो, होटल खुले, जीवनस्तर माथि उठ्यो । पछि गुरुङ, मगर, लाहुरे, बाहुन–क्षेत्री सबैले यहाँ जग्गा किन्न थाले ।

जग्गाको मोह र विस्थापनको पीडा

यो परिवर्तनको फाइदा सबैले उठाउन पाएनन् । लेकसाइड विकसित हुँदै जाँदा यहाँका रैथाने परियार परिवारहरू बिस्तारै अल्पमतमा परे । जग्गाको मूल्य बढेपछि धेरैले आर्थिक अभाव टार्न अथवा तराईमा खेती गर्ने सपना बुनेर पुर्ख्यौली थलो बेचे । ‘रेशम फिरिरी’ गीतका सर्जक बुद्धि परियार यहीं हल्लनचोकका हुन् । उनी पछि काठमाडौं विस्थापित भए ।

कालीबहादुर दुःखका साथ भन्छन्, ‘धेरै दाजुभाइले जग्गाको महत्त्व बुझेनन् । पैसाको मोहमा जग्गा बेचेर चितवन, बाँके र बर्दियातिर गए । कोही रक्सीको लतमा डुबे । आज उनीहरूका सन्तान फेरि पोखरा फर्किंदैछन् । तर उनीहरूको आफ्नो जग्गा छैन ।’

कृष्णराज पहारी पनि यही कुरा गर्छन्, ‘स्थानीय बासिन्दाहरू धेरै विस्थापित भए, जग्गा बेचेर कता–कता गए ।’ तर, कालीबहादुर आफैं भने यो प्रवाहविरुद्ध उभिए । तेह्र वर्षको उमेरदेखि क्याम्पिङमा आएका पर्यटकलाई सामान बेचेर व्यवसायमा लागेका उनले जग्गाको महत्त्व बुझेका थिए । जब अरूहरू बेचिरहेका थिए, उनी थप्दै थिए । उनी हल्लनचोकमा सन् १९८१ (वि.सं. २०३८) देखि होटल मुनाल सञ्चालन गरिरहेका छन् । उनको होटल फिस्टेल पछिको महँगो मध्यमा पर्थ्यो । आज लेकसाइडमा उनको ८ रोपनी जग्गा छ ।

उनको जीवनकथामा पर्यटनले ल्याएको सामाजिक खुलापनको एउटा प्रतीकात्मक घटना पनि छ । जर्मनीकी एक महिला उनको पसलमा जुत्ता किन्न आएकी थिइन् । त्यहींबाट सम्बन्ध जोडियो, बिहे भयो । ‘त्यो समय पर्यटनले ल्याएको सामाजिक खुलापनको उपज हो,’ उनी भन्छन् ।

चोक अझै बाँकी छ

आज हल्लनचोक फेरिएको छ । काँचुली फेरेको सर्पजस्तै । पुराना पुस्ताका परियार समुदायका केही मात्र बाँकी छन् । तिलकबहादुरका छोरा बुद्धिबहादुर परियार अहिले बिरामी छन् । बोल्न पनि गाह्रो छ । तिनको घर हल्लनचोकमै छ ।हल्लनचोक बनेपछि त्यहाँ चिया खाने, गफ गर्ने, राजनीतिक छलफल गर्ने ठाउँ बन्यो । खहरे, बाराहीघाट, बैदाम क्षेत्रका मान्छेहरू त्यहीं भेला हुन्थे । सराङकोट, कास्कीकोट, चापाकोट, भदौरे, पञ्चासेलगायत क्षेत्रबाट स्थानीय हल्लनचोक आउँथे । त्यहीबाट र्‍याली, जुलुस निकालिन्थ्यो । पृथ्वीचोकतिर, सहिदचोकतिर जान्थ्यो । वि.सं. २०४६ सालको जनआन्दोलनमा पनि त्यस क्षेत्रको केन्द्र हल्लनचोक बन्यो ।

सदानन्द श्रेष्ठ पनि यो चोकको सामाजिक भूमिका याद गर्छन् । ‘त्यतिबेला चोक–चोकमा चिया पसल र बेकरीहरू थिए । मान्छेहरू भेला भएर गफिने ठाउँ त्यही हुन्थ्यो,’ उनले सम्झिए । सदानन्द वि.सं. २०४९ मा चितवनबाट पोखरा आएका हुन् । परिवारसहित पोखरा आएका उनले पहिले हल्लनचोकमै चिया पसल चलाए, पछि फेवातालमा डुंगा चलाए । उनका अनुसार, वि.सं. २०५५ पछि मात्र लेकसाइडको विकासले साँच्चिकै गति लिएको हो ।

आज हल्लनचोक फेरिएको छ । काँचुली फेरेको सर्पजस्तै । पुराना पुस्ताका परियार समुदायका केही मात्र बाँकी छन् । तिलकबहादुरका छोरा बुद्धिबहादुर परियार अहिले बिरामी छन् । बोल्न पनि गाह्रो छ । तिनको घर हल्लनचोकमै छ ।

क्याम्पिङ चोकको जग्गा अझै बेवारिसे छ । पर्यटन कार्यालयको ध्यान छैन । नगरपालिकाले एउटा सार्वजनिक शौचालय मात्रै बनाइदिएको छ । ‘पर्यटकका लागि सोचेर लिइएको त्यो जग्गा साँच्चिकै पर्यटनका लागि काम लागोस्,’ कालीबहादुर भन्छन् ।

हल्लनचोक केवल एउटा पर्यटकीय गन्तव्य होइन– नेपाली समाजको रूपान्तरणको साक्षी हो । एउटा दलित बस्ती कसरी पर्यटकीय केन्द्रमा बदलियो र त्यसले कसरी जातीय विभेदको पर्खाल भत्कायो भन्ने कथा नै हल्लनचोकको असली पहिचान हो । तिलकबहादुर परियारले रक्सीको झोंकमा ‘हल्लिँदै’ राखेको यो नामले आज हजारौंको जीविकोपार्जन मात्र धानेको छैन, पोखराको एउटा विशिष्ट इतिहास पनि जीवितै राखेको छ ।

पोखराको लेकसाइडमा ‘हल्लनचोक’ भन्ने नाम सुन्नेबित्तिकै एउटा चहलपहलको तस्बिर आँखा अगाडि आउँछ । पर्यटकको भीड, रेस्टुराँबाट आउने परिकारको बासना, सुमधुर संगीत । तर, यो चोकको कथा केवल पर्यटनको कथा होइन, एउटा बस्तीको कथा हो, एउटा समुदायको संघर्षको कथा हो । र, छुवाछूतविरुद्धको मौन क्रान्तिको कथा हो ।

जब तपाईं अर्कोपल्ट हल्लनचोकमा उभिनुहुनेछ, सम्झनुहोला– यो चौरमुनि कतै ‘धर्नेको फाँट’ अझै सास फेर्दै छ र यहाँको हावामा अझै ती रैथाने परियारहरूको संघर्षको सुगन्ध बाँकी छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully