लेकसाइडको मध्यभागमा छ– हल्लनचोक । आज यो चोक सडकको चौराहा मात्रै होइन– पोखराको अर्थतन्त्र, स्मृति र संस्कृतिको एउटा जीवन्त प्रतीक हो ।
What you should know
पोखरा — लेकसाइडको मुटुमा एउटा यस्तो चोक छ, जसको नाम सुन्दा धेरैलाई लाग्न सक्छ– यो कुनै विदेशी शब्दको अपभ्रंश हो । तर, फेवातालको किनारमा अवस्थित ‘हल्लनचोक’ को न्वारन कुनै भूगोलशास्त्री वा नगर योजनाकारले गरेका होइनन्, न त यो कुनै विदेशी पर्यटकको नामबाटै राखिएको हो । यो त एउटा दलित समुदायको बस्ती, एउटा परिवारको संघर्ष र मदिराको झोकमा ‘हल्लिने’ एक पात्रको बिन्दास जीवनशैलीबाट जन्मिएको नाम हो ।
पोखराको लेकसाइडमा ‘हल्लनचोक’ भन्ने नाम सुन्नेबित्तिकै एउटा चहलपहलको तस्बिर आँखा अगाडि आउँछ– पर्यटकको भीड, रेस्टुराँबाट बाहिर निस्किने परिकारको बासना, फेवातालमाथि उड्दै गरेका रंगीन प्याराग्लाइडिङ र साँझ परेपछि फेवाको पानीमा पौडी खेल्ने रंगीन बत्तीहरू ।
जहाँ विदेशी लवज र नेपाली आतिथ्यको संगम हुन्छ । त्यही लेकसाइडको मध्यभागमा छ– हल्लनचोक । आज यो चोक सडकको चौराहा मात्रै होइन, पोखराको अर्थतन्त्र, स्मृति र संस्कृतिको एउटा जीवन्त प्रतीक हो । तर, यो चोकको जगभित्र एउटा यस्तो कथा पुरिएको छ, जुन यहाँका गगनचुम्बी होटल र आधुनिक क्याफेहरूले सजिलै भन्दैनन् ।
यही चोकको कथा भन्न सक्ने मान्छेमध्ये एक हुन्– कालीबहादुर परियार । ६७ वर्षका कालीबहादुर लेकसाइडका पुराना होटल व्यवसायी हुन् । हल्लनचोकका मूल साक्षी, यो जग्गाका उत्तराधिकारी र यस नामका इतिहासका जीवन्त पाना । उनको परिवार यो जग्गाको मूल बासिन्दा हो र यो चोकको नाम पनि उनकै परिवारबाट जन्मिएको हो ।
बाटो खुल्यो, चोक जन्मियो
२०३४/३५ सालभन्दा अगाडि, जहाँ आज हल्लनचोक छ, त्यहाँ बाटो नै थिएन । थियो त केवल धानखेत, भैंसीको गोठ र एउटा चौतारो । कालीबहादुरका बाबु पतिराम परियारले ‘धरणी’ नामका एक व्यक्तिसँग १२ रोपनी जग्गा किनेका थिए । स्थानीयहरू त्यो ठाउँलाई ‘धरणेको फाँट’ भन्थे ।
त्यो बेलाको लेकसाइड अहिलेको जस्तो विलासी थिएन । फाँटमा एउटा पुरानो चौतारो थियो– ‘थपिनीको चौतारो’ । त्यहाँ थापा थरकी वृद्धाले घैँटामा पानी भरेर राखिदिन्थिन्, ताकि बाटो हिँड्ने बटुवाहरूले प्यास मेटाउन पाऊन् । आज ती चौतारा र घैँटाहरू आधुनिकताको भेलमा हराए तर तिनैका जगमा उभिएको छ आजको पर्यटकीय केन्द्र ।
वि.सं. २०१८ मा फेवाताल किनारमा सरकारले स्थानीयको खेत खरिद गरेर ताल विकास केन्द्र (हालको मत्स्य अनुसन्धान केन्द्र) खोल्यो । जलारी समुदायलाई तिहारी जाल हान्न सिकाउने, माछा पाल्न सिकाउने र तालबाट निकालिएका माछा बेच्ने काम केन्द्रले गर्थ्यो । त्यो केन्द्रसम्म पुग्ने गोरेटो बाटो मात्रै थियो ।
धर्नेको फाँटमा परियारसँगै केही पहारी र पौडेल थरका परिवारको खेत थियो । ७४ वर्षीय कृष्णराज पहारी लेकसाइडका अर्का पुराना बासिन्दा हुन् । उनका अनुसार, ड्यामसाइडको पर्यटन बाराहीचोक हुँदै पश्चिमतर्फ सर्दै थियो । बैदामतिरबाट गोरुगाढा चल्ने बाटो धर्नेको फाँटतिर पुग्दै थियो । ०३० सालमा पोखरा नगर योजना बनेपछि डिँहीको पाटनतिरबाट पनि कच्ची मोटर बाटो तालतिर अघि बढ्यो । त्यसरी दुईतिरबाट बाटो जोडिएपछि हालको चोक बन्यो ।
हल्लनचोकको नाम कसरी रह्यो भन्ने विषयमा धेरै भ्रम र किंवदन्ती छन् । कतिपयले विदेशी पर्यटक ‘हेलेन’ को नामबाट ‘हेलेन चोक’ हुँदै हल्लनचोक भएको तर्क गर्छन् । तर, यो तर्कलाई यहाँका रैथानेहरू सिधै खारेज गर्छन् । कालीबहादुर परियार दृढताका साथ भन्छन्, ‘हल्लनचोकको नाम मेरो जेठो दाइ तिलकबहादुरले गर्दा रहन गएको हो ।’
उनका जेठा दाइ तिलकबहादुर परियार अलि रंगीला स्वभावका थिए । जाँड–रक्सीको अलि बढी सोख– नाच्ने, गाउने र सधैं रमाउने । उनी प्रायः त्यही चोक (जहाँ अहिले हल्लनचोक छ) मा बसेर मदिराको झोकमा हल्लिरहन्थे । मान्छे ठट्टा गर्दै सोध्थे, ‘तिलक, तिमी त सधैं यहीं छौं त !’ उनी जवाफ दिन्थे, ‘हो, म त यहीं हल्लिरहन्छु ।’ कसैले उनलाई घर कहाँ हो भनेर सोध्दा ‘हल्लने चोक’ भन्थे ।
बिस्तारै स्थानीयले त्यो ठाउँलाई ‘हल्लने चोक’ भन्न थाले । कृष्णराज पहारी पनि यसैलाई पुष्टि गर्छन् । उनी भन्छन्, ‘तिलकका दाजुभाइ देखेर हामीले ठट्टा गर्दै हल्लनेचोक भन्न थाल्यौं । पछि त्यही नाम चर्चित भयो ।’ यसरी एक पात्रको जीवनशैली एउटा भूगोलको पहिचान बन्न पुग्यो ।
अर्को नाम ‘क्याम्पिङ चोक’
वि.सं. २०३७ सालतिर हल्लनचोकको एउटा भागलाई ‘क्याम्पिङ चोक’ भन्न थालियो । त्यसको पछाडि एउटा लामो कथा छ– सरकार, जग्गा, पर्यटन र परियार परिवारको बीचको जटिल सम्बन्धको ।
सन् १९६० को दशकमा युरोपेली पर्यटक पश्चिम एसियाको बाटो हुँदै बसमा पोखरा आइपुग्थे । बेलायत, जर्मनी, इटाली, फ्रान्सलगायत देशबाट इरान, अफगानिस्तान, पाकिस्तान हुँदै तीन–चार साता गाडी चलाएर पर्यटकहरू आउँथे । ती पर्यटक नेपाल ट्रस्टको जग्गा रहेको बाराहीचौरमा गाडी पार्क गरेर क्याम्पिङ गर्थे । रत्न मन्दिर अगाडि नै रहेको र राजाको सवारी हुने बेला गाडी राख्न नमिल्ने भएपछि हल्लनचोक नजिकैको फाँट खोजियो ।
पर्यटन मन्त्रालयले पर्यटन कार्यालय कास्की मातहतमा रहने गरी जग्गा अधिग्रहण गर्यो । सरकारले कालीबहादुरको परिवारको बाह्र रोपनी जग्गामध्ये दस रोपनी चालीस–पचास हजार रुपैयाँको दरले लियो । १८ रोपनीभन्दा बढी जग्गामा क्याम्पिङ चौर बन्यो । चौर बनेपछि हल्लनचोकबाट तालको किनारसम्म पुग्न कच्ची मोटरबाटो खुल्यो । ‘हाम्रो जग्गामा डोजर चलाउन पाइन्न भनेर विरोध गरेको थिएँ, मलाई जिल्ला प्रशासन कार्यालयले दिनभर लगेर थुन्यो, फर्केर आउँदा बाटो खुलिसकेछ,’ कालीबहादुरले सम्झिए ।
क्याम्पिङ चौरमा बाथरुम, शौचालय पनि बनाइयो । विदेशीका लागि सुविधासहितको क्याम्पिङ गर्ने सार्वजनिक स्थल बनाइयो । ‘क्याम्पिङ चोक’ नाम त्यहींबाट आयो । तर, यो नाम त्यति चर्चित भएन । ‘हल्लनचोक’ नाम मान्छेको जिब्रोमा सजिलोसँग बस्यो र यो नाम पर्यटनको विश्व मानचित्रमा स्थापित भयो ।
तर अहिले ? कालीबहादुर दुःखका साथ भन्छन्, ‘त्यो जग्गा बेवारिसे छ । न पार्किङ बन्यो राम्रोसँग, न क्याम्पिङ नै चल्यो । पर्यटन कार्यालयले हेरेको छैन, नगरपालिकाले हेरेको छैन । मुद्दा र विवादमा अलमलिएर राम्रो प्रयोग हुन पाएको छैन ।’
डेढ दशकअघि पर्यटन मन्त्रालयले उक्त जग्गा भाडामा लगाए पनि अख्तियारमा उजुरी परेपछि उच्च अदालत पोखराले भाडामा नलगाउन आदेश गर्यो । संघीयता स्थापनापछि प्रदेश सरकार मातहत आएको पर्यटन कार्यालय हाल एकीकृत सेवा कार्यालयमा गाभिएको छ । प्रदेश सरकार मातहतको उक्त जग्गा हाल अलपत्र छ ।
परियार बस्ती र सामाजिक क्रान्ति
हल्लनचोकको अर्को महत्त्वपूर्ण पाटो भनेको यहाँको परियार बस्ती हो । पोखराको वडा नम्बर ६ मा पर्ने यो क्षेत्रमा पुस्तौंदेखि दलित समुदायको बाक्लो बसोबास थियो । कालीबहादुरका अनुसार यहाँ विक्रम परियार, बुद्धिबहादुर, तर्कबहादुर, राजदल, जोबाने, हुर्काउली परियारका सन्तानहरू बस्थे ।
कालीबहादुरका हजुरबाको नाम जसकर्ण परियार थियो । बाबु पतिरामले सुनाउँदा भन्थे– हाम्रो पुर्खा पाउदुरबाट आएका हुन् । तर मालपोत कार्यालयमा पनि त्यो जग्गाको पुरानो लिखत भेटिँदैन । पुस्तौंदेखिको बसाइँको इतिहास तर कागजमा प्रमाण नभएको । यो कथा नेपालका धेरै दलित परिवारको साझा कथा हो ।
रोचक के छ भने, आजको बहुमूल्य लेकसाइडमा कुनै समय बाहुन–क्षेत्रीहरू बस्न डराउँथे । ‘धेरैले औलोको डर भन्छन् तर मेरो बुझाइमा मुख्य कारण छुवाछूत थियो,’ कालीबहादुर भन्छन्, ‘धेरै परियार, केही विश्वकर्मा र मिजारहरूको बस्ती भएकाले कथित माथिल्लो जातका मान्छेहरू अलि परै बस्थे ।’
तर, जब पोखरामा पर्यटनको ढोका खुल्यो, हल्लनचोकले एउटा मौन सामाजिक क्रान्तिको नेतृत्व गर्यो । विदेशी पर्यटकका लागि को दलित, को बाहुन, कुनै अर्थ थिएन । ‘सबैभन्दा ठूलो परिवर्तन छुवाछूतको अन्त्यमा आयो । पर्यटकहरू आएपछि व्यापार गर्नेले जात हेरेर सेवा दिन पाएनन् । जसले छुवाछूत मानिरह्यो, उसको व्यापारै चलेन,’ कालीबहादुर अनुभव सुनाउँछन्, ‘सेता विदेशीले दलितको हातको खाना खाएको र उनीहरूलाई सम्मान गरेको देखेपछि बिस्तारै बाहुन–क्षेत्रीहरूको सोच पनि बदलियो ।’
हल्लनचोकबाट बाराहीघाटसम्म पुग्ने बाटोको तल्लो भागमा परियार टोल थियो । त्यहाँ केही विश्वकर्मा र नेपाली जातिको घर पनि थियो तर बहुमत परियारकै थियो । हल्लनचोकमा क्याम्पिङ चौर बनेपछि परियार समुदायका युवाहरू गाइड बने, रेस्टुराँमा काम गर्न थाले र विदेशीसँग सिधै संवाद गर्न थाले । यसले उनीहरूमा आत्मसम्मान मात्र जगाएन, समाजको पुरातन संरचनालाई पनि भत्काइदियो । र, यही पर्यटनले एउटा ऐतिहासिक परिवर्तन ल्यायो । पर्यटक आएपछि व्यापारको तर्क सामाजिक भेदभावभन्दा बलियो भयो । जग्गाको मूल्य बढ्यो, होटल खुले, जीवनस्तर माथि उठ्यो । पछि गुरुङ, मगर, लाहुरे, बाहुन–क्षेत्री सबैले यहाँ जग्गा किन्न थाले ।
जग्गाको मोह र विस्थापनको पीडा
यो परिवर्तनको फाइदा सबैले उठाउन पाएनन् । लेकसाइड विकसित हुँदै जाँदा यहाँका रैथाने परियार परिवारहरू बिस्तारै अल्पमतमा परे । जग्गाको मूल्य बढेपछि धेरैले आर्थिक अभाव टार्न अथवा तराईमा खेती गर्ने सपना बुनेर पुर्ख्यौली थलो बेचे । ‘रेशम फिरिरी’ गीतका सर्जक बुद्धि परियार यहीं हल्लनचोकका हुन् । उनी पछि काठमाडौं विस्थापित भए ।
कालीबहादुर दुःखका साथ भन्छन्, ‘धेरै दाजुभाइले जग्गाको महत्त्व बुझेनन् । पैसाको मोहमा जग्गा बेचेर चितवन, बाँके र बर्दियातिर गए । कोही रक्सीको लतमा डुबे । आज उनीहरूका सन्तान फेरि पोखरा फर्किंदैछन् । तर उनीहरूको आफ्नो जग्गा छैन ।’
कृष्णराज पहारी पनि यही कुरा गर्छन्, ‘स्थानीय बासिन्दाहरू धेरै विस्थापित भए, जग्गा बेचेर कता–कता गए ।’ तर, कालीबहादुर आफैं भने यो प्रवाहविरुद्ध उभिए । तेह्र वर्षको उमेरदेखि क्याम्पिङमा आएका पर्यटकलाई सामान बेचेर व्यवसायमा लागेका उनले जग्गाको महत्त्व बुझेका थिए । जब अरूहरू बेचिरहेका थिए, उनी थप्दै थिए । उनी हल्लनचोकमा सन् १९८१ (वि.सं. २०३८) देखि होटल मुनाल सञ्चालन गरिरहेका छन् । उनको होटल फिस्टेल पछिको महँगो मध्यमा पर्थ्यो । आज लेकसाइडमा उनको ८ रोपनी जग्गा छ ।
उनको जीवनकथामा पर्यटनले ल्याएको सामाजिक खुलापनको एउटा प्रतीकात्मक घटना पनि छ । जर्मनीकी एक महिला उनको पसलमा जुत्ता किन्न आएकी थिइन् । त्यहींबाट सम्बन्ध जोडियो, बिहे भयो । ‘त्यो समय पर्यटनले ल्याएको सामाजिक खुलापनको उपज हो,’ उनी भन्छन् ।
चोक अझै बाँकी छ
आज हल्लनचोक फेरिएको छ । काँचुली फेरेको सर्पजस्तै । पुराना पुस्ताका परियार समुदायका केही मात्र बाँकी छन् । तिलकबहादुरका छोरा बुद्धिबहादुर परियार अहिले बिरामी छन् । बोल्न पनि गाह्रो छ । तिनको घर हल्लनचोकमै छ ।हल्लनचोक बनेपछि त्यहाँ चिया खाने, गफ गर्ने, राजनीतिक छलफल गर्ने ठाउँ बन्यो । खहरे, बाराहीघाट, बैदाम क्षेत्रका मान्छेहरू त्यहीं भेला हुन्थे । सराङकोट, कास्कीकोट, चापाकोट, भदौरे, पञ्चासेलगायत क्षेत्रबाट स्थानीय हल्लनचोक आउँथे । त्यहीबाट र्याली, जुलुस निकालिन्थ्यो । पृथ्वीचोकतिर, सहिदचोकतिर जान्थ्यो । वि.सं. २०४६ सालको जनआन्दोलनमा पनि त्यस क्षेत्रको केन्द्र हल्लनचोक बन्यो ।
सदानन्द श्रेष्ठ पनि यो चोकको सामाजिक भूमिका याद गर्छन् । ‘त्यतिबेला चोक–चोकमा चिया पसल र बेकरीहरू थिए । मान्छेहरू भेला भएर गफिने ठाउँ त्यही हुन्थ्यो,’ उनले सम्झिए । सदानन्द वि.सं. २०४९ मा चितवनबाट पोखरा आएका हुन् । परिवारसहित पोखरा आएका उनले पहिले हल्लनचोकमै चिया पसल चलाए, पछि फेवातालमा डुंगा चलाए । उनका अनुसार, वि.सं. २०५५ पछि मात्र लेकसाइडको विकासले साँच्चिकै गति लिएको हो ।
आज हल्लनचोक फेरिएको छ । काँचुली फेरेको सर्पजस्तै । पुराना पुस्ताका परियार समुदायका केही मात्र बाँकी छन् । तिलकबहादुरका छोरा बुद्धिबहादुर परियार अहिले बिरामी छन् । बोल्न पनि गाह्रो छ । तिनको घर हल्लनचोकमै छ ।
क्याम्पिङ चोकको जग्गा अझै बेवारिसे छ । पर्यटन कार्यालयको ध्यान छैन । नगरपालिकाले एउटा सार्वजनिक शौचालय मात्रै बनाइदिएको छ । ‘पर्यटकका लागि सोचेर लिइएको त्यो जग्गा साँच्चिकै पर्यटनका लागि काम लागोस्,’ कालीबहादुर भन्छन् ।
हल्लनचोक केवल एउटा पर्यटकीय गन्तव्य होइन– नेपाली समाजको रूपान्तरणको साक्षी हो । एउटा दलित बस्ती कसरी पर्यटकीय केन्द्रमा बदलियो र त्यसले कसरी जातीय विभेदको पर्खाल भत्कायो भन्ने कथा नै हल्लनचोकको असली पहिचान हो । तिलकबहादुर परियारले रक्सीको झोंकमा ‘हल्लिँदै’ राखेको यो नामले आज हजारौंको जीविकोपार्जन मात्र धानेको छैन, पोखराको एउटा विशिष्ट इतिहास पनि जीवितै राखेको छ ।
पोखराको लेकसाइडमा ‘हल्लनचोक’ भन्ने नाम सुन्नेबित्तिकै एउटा चहलपहलको तस्बिर आँखा अगाडि आउँछ । पर्यटकको भीड, रेस्टुराँबाट आउने परिकारको बासना, सुमधुर संगीत । तर, यो चोकको कथा केवल पर्यटनको कथा होइन, एउटा बस्तीको कथा हो, एउटा समुदायको संघर्षको कथा हो । र, छुवाछूतविरुद्धको मौन क्रान्तिको कथा हो ।
जब तपाईं अर्कोपल्ट हल्लनचोकमा उभिनुहुनेछ, सम्झनुहोला– यो चौरमुनि कतै ‘धर्नेको फाँट’ अझै सास फेर्दै छ र यहाँको हावामा अझै ती रैथाने परियारहरूको संघर्षको सुगन्ध बाँकी छ ।
