वीरगन्ज घण्टाघर : सामाजिक नेटवर्किङको केन्द्र

घण्टाघर– समय बताउने घडी । वीरगन्जमा यो चोक सामाजिक नेटवर्किङको पारम्परिक केन्द्र हो । यहाँ सम्बन्ध बन्छ, भाँचिन्छ र फेरि जोडिन्छ ।

वैशाख १२, २०८३

चन्द्रकिशोर

Birgunj Clock Tower: A center for social networking

What you should know

काठमाडौँ — वीरगन्जको सामाजिक, राजनीतिक जीवन बुझ्न एक खुला पुस्तक हो– घण्टाघर । यो वीरगन्जको अनेकौं चोकमध्ये एक हो । जनजिब्रोमा घण्टाघर चोकको साटो केवल ‘घण्टाघर’ भनिन्छ । वीरगन्जको जीवनमा आधा शताब्दीदेखि यो स्थानले विशेष ठाउँ पाएको छ । बिहान चिया, अखबार चर्चा, दिउँसो ओत र बेलुकीको गफगाफले यो चोकलाई ‘इभ्री डे डेमोक्रेसी’ को रूप दिइरहेको छ । यो यस्तो जीवित मञ्च बन्न पुगेको छ, जहाँ रोजमर्राको जिन्दगी, सम्बन्धको बुनाइ र सामूहिक चेतना एकसाथ देखा परिरहेको हुन्छ ।

 बूढापाकाहरू सुनाउँथे– जतिखेर नेपाल गभर्नमेन्ट रेलवेको स्टेसन छेउमै थियो, त्यतिखेर काठमान्डू (तत्कालीन समयमा नेपाल भनिन्थ्यो) बाट फर्किएकाहरूबाट राजकाजका खबर सुन्न यहाँ ट्रेन आएका बखत जिज्ञासुहरूको घुइँचो लाग्थ्यो ।यो चोकमा वीरगन्जको असली कहानी सुन्न सकिन्छ । घण्टाघर यस सहरको ‘पब्लिक कान्सियन्स’ हो । यहाँ मान्छेहरू बिना निमन्त्रणा नै आउँछन, बिना अनुमति नै पर्खिन्छन् र बिना औपचारिकता बोल्छन् । वीरगन्जको सवालमा यो नै त्यो ठाउँ हो, जहाँ लोकतन्त्र सबैभन्दा मौलिक अवस्थामा झल्किन्छ । संसद्मा जुन आवाज संश्लेषित भएर गुन्जिन्छ, चोकमा बिना फिल्टर अभिव्यक्त हुँदै रहन्छ । बूढापाकाहरू सुनाउँथे– जतिखेर नेपाल गभर्नमेन्ट रेलवेको स्टेसन छेउमै थियो, त्यतिखेर काठमान्डू (तत्कालीन समयमा नेपाल भनिन्थ्यो) बाट फर्किएकाहरूबाट राजकाजका खबर सुन्न यहाँ ट्रेन आएका बखत जिज्ञासुहरूको घुइँचो लाग्थ्यो । अर्थात् घण्टाघर तीसको दशकमा ठडिनुअघिदेखि नै यो ठाउँमा चहल–पहल थियो ।

वीरगन्ज एक सीमानगर हो, नेपाल–भारतबीचको प्रमुख द्वार । यस्तोमा घण्टाघर चोक केवल सहरको केन्द्र होइन, सीमाको ढुकढुकी हो । घण्टाघरले भीडलाई नारामा बदलिँदै गरेको र नारालाई इतिहासमा बदलिँदै गरेको देखेको छ । यहाँ राज्यले निगरानी गर्छ, तर समाज आफ्नो स्वतन्त्रता बाँचिरहेको हुन्छ । यही त्यो द्वन्द्व हो, जसले यस चोकलाई विशेष बनाउँछ । यो त्यो जगहा हो, जहाँ आम मानिस अचानक ‘राजनीतिक इकाइ’ बन्न पुग्छ । घण्टाघर साक्षी छ– बेलाबखत यहाँ खडा हुनु भनेको एक राजनीतिक बयान बन्न पुग्छ ।

सामान्य दिनमा यो चोक राज्यको नियन्त्रणमा हुन्छ– ट्राफिक, पुलिस र नियम । तर, जसै असन्तोष बढ्छ यो स्थान जनताको कब्जामा पुग्छ । यो ‘अकुपेसन अफ स्पेस’ नै असली राजनीति हो । सत्ता यो चोकलाई नियन्त्रण गर्न चाहन्छ र जनता त्यसलाई ‘रिक्लेम’ गरिरहन्छ । घण्टाघर चोकमा हरेक दिन हजारौं मान्छे गुज्रिन्छन् । तिनका लागि यो केवल रास्ता हो, एक चौबाटो । तर, यसै बाटोमाथि इतिहासको कार्पेट ओछ्याइएको छ । यो चौबाटोका प्रत्येक बाटोको एक–एक कहानी छ, जसले पछिल्ला एक शताब्दीको वीरगन्जको बस्ती विस्तारबारे हाकाहाकी सुनाइरहेको हुन्छ ।

चोकलाई बुझ्नु, सहरबारे थाहा पाइराख्नु हो । र, सहरलाई बुझ्नु, समाज र सत्ताको साइनो बुझ्नु हो । घण्टाघर चोक हामीलाई सिकाउँछ– सहर कंक्रिट र इन्फ्रास्ट्रक्चर मात्रै होइन । यो त जीवित, सास लिँदै गरेको, संघर्ष गर्दै गरेको एक ‘अर्गेनिज्म’ हो । यो चोकमा व्याप्त अनौपचारिक अर्थतन्त्रले सहरको आर्थिक धड्कन छाम्न सकिन्छ । यो चोक वीरगन्जमा ग्रामीण क्षेत्रबाट विभिन्न कामविशेषले आउनेका लागि बिसौनी भएको छ । घण्टाघरको वास्तु आकर्षक त छँदै छ, छेवैमा सामाजिक न्यायका योध्दा रामजनम तिवारीको प्रतिमा स्थापित छ ।

यो चोक सुरुआतमा साँघुरो थियो, बिस्तारै फराकिलो गरिएको छ । जात्रा, जुलुस, सांस्कृतिक कार्यक्रमहरू या त यहीं हुन्छ या यहीं भएर अनिवार्य रूपमा गुज्रिन्छ । यो सहरको पहिचान (आइडेन्टिटी मार्कर) भएको छ । सहरका कतिपय घटनाको सामूहिक स्मृति–स्थलको छवि यसले बोकेको छ । यहाँ छवटा बाटोको संगम छ, जसले गर्दा यो सन्दर्भ पहिचान भएको छ– चोकभन्दा दाहिने लाग्नु, चोकमा पर्खिनु । दसैंमेला वा अन्य भीडभाडका कार्यक्रममा कोही अलपत्र परे भने पहिल्यै बताइएको हुन्छ– घण्टाघर चोकमा प्रतीक्षा गरिराख्नु ।

मधेश आन्दोलनका क्रममा यहाँ शहादत भयो, त्यसैले संघर्षरत पक्षका लागि घण्टाघर चोक तीर्थस्थल मानिएको छ । चोकको पश्चिमी उत्तरीछेउमा सहिदहरूको प्रतिमा राखिएको छ । घण्टाघर अब कतिपय सन्दर्भमा विरोधको मञ्च, राज्यसँग संघर्षको प्रतीक, पहिचानको अभिव्यक्तिको स्थानका रूपमा विकसित भएको छ । यो काठमान्डुको माइतीघर वा दिल्लीको जन्तर–मन्तर भएको छ । तर केवल धर्ना, जुलुस वा प्रदर्शन मात्रै गरिँदैन– रक्तदान कार्यक्रम, खोप शिविर, जनचेतना अभियान पनि सञ्चालन भइरहन्छ । सार्वजनिक संवादका लागि यो अघोषित केन्द्र भएको छ । त्यसैले यहाँ सुरक्षा प्रबन्ध र निगरानीका आयामहरू स्थापित गरिएको छ ।

घण्टाघरमा बिहानको जीवन एक प्रकारले सुरु हुन्छ । प्रातः भ्रमणका लागि सहरका विभिन्न कुनाबाट हिँड्दै आइपुग्नेका लागि एकछिन थकाइ मार्ने, चिया खाने, दूधका कारोबारीहरूको एक बिसौनी, अखबारहरूको चटारो, स्कुल–क्याम्पस जानेहरूको लस्कर, गाउँबाट कामको खोजीमा आइपुग्नेहरूको भेला जस्ता कुराले यहाँ विविध रङ उदाउँछ । यहाँको प्रत्येक बाटोको फरक विशेषता छ । र, यसले फरक गतिविधिका लागि चिनारी पाएको छ । जसरी कि दैनिक मजदुरी गर्नेहरू चोकको सीधा दक्षिणी बाटो किनारमा पर्खिन्छन्, जुत्ता–चप्पल मर्मत गर्नेहरू दक्षिणी–पूर्वी कुनातिर लहरै बसेका हुन्छन् । दिउँसो खासगरी ग्रामीण भेगबाट खरिददारी, उपचार गराउन, सरकारी सेवा लिन आउनेहरूको घुइँचो हुन्छ । र, फेरि बेलुका गजबको दिव्यता भेटिन्छ ।

बिजुलीको झिलमिलमा घण्टाघर अगाडि सेल्फी लिनेहरूको लाम हुन्छ । जो वीरगन्ज आउँछ ऊ एक पटक घण्टाघर पुग्न चाहन्छ नै । यहाँ समय र मौसमअनुसार फुटपाथमा खानेकुरा बिक्री भइरहन्छ ।

बिजुलीको झिलमिलमा घण्टाघर अगाडि सेल्फी लिनेहरूको लाम हुन्छ । जो वीरगन्ज आउँछ ऊ एक पटक घण्टाघर पुग्न चाहन्छ नै । यहाँ समय र मौसमअनुसार फुटपाथमा खानेकुरा बिक्री भइरहन्छ ।घण्टाघर परिसरमै सात सालका जनक्रान्तिका अमर सहिद थिरबम मल्लको प्रतिमा थियो, जो समय क्रममा एक आन्दोलनका क्रममा भत्काइयो । यो थिरबम मल्लको दोस्रो हत्या मानियो । त्यसउप्रान्त फेरि उनको पुनःस्थापना हुन सकिरहेको छैन । अब त दुई दशकको समय अन्तरालले त्यो प्रतिमा सहरको स्मृतिबाट पनि हराउन थालिएको छ ।

यहाँ बातचितको कुनै पाठ्यक्रम छैन, तर सहरबारे कतिपय नयाँ–पुराना सूचना यहीं भेटिन्छ । सरकारी कामकाजमा हुने सजिला–असजिला बहस यतैतिर पोखिन्छ । यहाँ परिचित–अपरिचित भेट्छन्, मनका कुरा साट्छन्, कतिपय बेला बहस गर्छन्, असहमत हुन्छन् । हाँस्य पनि छ, सामाजिक आलोचना पनि । सहअस्तित्वको जीवन्त प्रयोगशाला पो भइदिएको छ यो घण्टाघर चोक । अनि पो साहित्यमा वीरगन्जको यो प्रसिद्ध घण्टाघरले विभिन्न रंगका साथ चियाउँछ । चोकले सहरको संस्कृतिलाई संग्रहालयजस्तो बन्द राख्दैन, खुला रूपमा जीवित राखिरहेको छ ।

यो त्यो ठाउँ हो, जहाँ परम्परा र आधुनिकता, देहातीपन र सहरिया अन्दाज, विकास र अविकासको जम्काभेट हुन्छ । चोकले हामीलाई सिकाइरहेको हुन्छ– संस्कृति कुनै स्थिर चीज होइन, लगातार बदलिँदै गरेको प्रक्रिया हो ।

घण्टाघर– समय बताउने घडी । वीरगन्जमा यो चोक सामाजिक नेटवर्किङको पारम्परिक केन्द्र हो । यहाँ सम्बन्ध बन्छ, भाँचिन्छ र फेरि जोडिन्छ । यो चोक त्यो दुर्लभ जगह हो, जहाँ भिन्नभिन्न समूह एकअर्काका सम्पर्कमा आउँछन् । समाजको बनोट जाति, वर्ग, धर्म अनेक स्तरमा निर्मित छ– चोकले यी सबै विभाजनलाई एउटै स्थानमा ल्याइपुर्‍याउँछ ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully