भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको छ घण्टाघर, जो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो ।
What you should know
धरान — पूर्वी नेपालको सुन्दर सहरका रूपमा परिचित, पहाड र तराईको संगममा बसेको एक जीवन्त सहर हो, धरान । कुनै पनि सहरलाई नजिकबाट बुझ्न कुनै नक्सा, तथ्यांक वा सरकारी दस्ताबेज मात्र पर्याप्त हुँदैन । सहरलाई नजिकबाट महसुस गर्न, त्यहाँका चोकहरूमा उभिनुपर्छ । र, धरानको हकमा, भानु चोक त्यस्तो एक स्थान हो, जहाँ उभिँदा सहर आफैं बोल्न थाल्छ ।
भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको घण्टाघरलाई बाहिरबाट हेर्दा एउटा साधारण संरचना जस्तो देखिए पनि, वास्तवमा यो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो । घण्टाघरको छेउमा उभिँदा यात्रुहरूले समय मात्र होइन, आफ्नो यात्राको अर्थ पनि महसुस गर्छन् । कोही यहाँबाट नयाँ गन्तव्यतर्फ अघि बढिरहेका हुन्छन्, त कोही पुराना सम्झनाहरू बोकेर फर्किरहेका हुन्छन् ।
धरानको मुख्य बजार भानु चोक अर्थतन्त्रको मुख्य मेरुदण्ड मात्र नभई धरान पुग्ने प्रायः यात्रुका लागि एउटा ‘ट्रान्जिसन पोइन्ट’ पनि हो । पूर्वी पहाडतर्फ लाग्नेहरूका लागि यहाँबाट उकालो सुरु हुन्छ भने पहाडबाट ओरालो झर्नेहरूका लागि यही चोक तराईको प्रवेशद्वार बन्ने गरेको छ । यो धरानका बासिन्दाहरूका लागि मात्र होइन, बाहिरबाट आउने यात्रुहरूका लागि पनि पहिलो भेट हुने स्थान हो ।
भानु चोक जनआवाजको केन्द्र पनि हो । यहाँ राजनीतिज्ञ मात्र होइन, आमनागरिकले पनि आफ्ना विचार, माग र असन्तुष्टि सार्वजनिक गर्ने गर्छन् । यो चोक सूचनाको आदानप्रदान हुने स्थल मात्र नभई अन्यायविरुद्ध आवाज उठाउने साझा मञ्च पनि हो ।
बिहानदेखि बेलुकासम्म यहाँ मानिसहरूको बाक्लो आवतजावत हुन्छ । साना ठेला पसलदेखि आधुनिक शोरुमसम्म, सबै प्रकारका व्यापारिक गतिविधि यहाँ सञ्चालनमा छन् । कपडा, इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, होटल तथा रेस्टुराँहरू सबै एकै ठाउँमा पाइने भएकाले यो चोक स्थानीय तथा बाह्य ग्राहकको पहिलो रोजाइ बनेको छ । व्यापारीहरूका लागि यो स्थान अवसरको केन्द्र हो भने उपभोक्ताका लागि सुविधा र विविधताको केन्द्र बनेको छ ।
‘यहाँ बस्दा सारा देशको खबर थाहा हुन्छ,’ स्थानीय ६५ वर्षीय खगेन्द्र भण्डारी सुनाउँछन् । हरेक दैनिकी बिहानीको समय नै मर्निङ वाक गर्दै भानु चोकमा रोकिएर त्यहाँको चियाको चुस्कीसँगै उनको दिनको सुरुवात हुन्छ । उनी भन्छन्, ‘डिजिटल समयभन्दा अगाडि बिहान यहीँ मानिसहरूको भेला हुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘चिया गफ गर्दै पत्रपत्रिका पारखीको दैनिक पत्रपत्रिका पढ्ने भेन्युदेखि लिएर गफगाफ र भेटघाट गर्न भानु चोक नै मुख्य चोक थियो ।’
दिउँसो हुँदै जाँदा चोकको रूप फेरिन्छ । व्यापारिक गतिविधि तीव्र हुन्छ । घण्टाघरमा घुम्न आउने पर्यटकको चहलपहल, पसलमा ग्राहकको भीड, सवारीसाधनको चाप, त्यहाँको चौतारीमा भारी बिसाइरहेका मानिस र हतारमा हिँड्ने मानिसको लर्को यी सबै मिलेर भानु चोकले एउटा व्यस्त दृश्य देखाइरहेको हुन्छ ।
तर साँझ परेपछि भानु चोक फेरि रूपान्तरित हुन्छ । बत्तीहरूको उज्यालोमा सहर झन् जीवन्त देखिन्छ । साँझ भएपछि सुरु हुन्छ, रात्रिकालीन बजार । भानु चोक परिसरमा राखिने स्टल जहाँ सस्तो मूल्यमा पाइने स्वादिष्ट स्ट्रिट फुड र कपडा पसलका कारण मानिसहरूको भीड हुने गर्छ ।
भानु चोकको सबैभन्दा ठूलो विशेषता यसको समावेशी चरित्र हो । यहाँ सबै वर्गका मानिस भेटिन्छन् । यहाँ घुम्न आउने पर्यटक मात्र होइन, एक छाक टार्न संघर्ष गरिरहेका पात्र पनि भेटिने गर्छन् । उनीहरूमध्ये एक हुन् मीना परियार । उनको दैनिकी लुगा सिलाएर बित्छ । भन्छिन्, ‘दिनभर यहीँ बसिन्छ, यहीँको कमाइले जीविकोपार्जन भइरहेको छ ।’ उनका लागि यो चोक केवल काम गर्ने ठाउँ मात्र होइन, जीवन धान्ने आधार पनि हो ।
२०१० सालमा बेलायती गोर्खा भर्ती केन्द्र स्थापना भएपछि धरानले तीव्र विकासको गति समात्यो । त्यसपछि यहाँ जनसंख्या बढ्यो, व्यापार फस्टायो र पूर्वाधार विकास तीव्र भयो ।
यही परिवर्तनका क्रममा भानु चोक सहरको केन्द्रका रूपमा विकास भयो । जहाँ व्यापार, यातायात र सामाजिक जीवन एकै ठाउँमा केन्द्रित भए । चोकको नाम नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्मानमा राखिएको हो, जसले यस स्थानलाई सांस्कृतिक पहिचान पनि दिएको छ ।
हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको पाँच तलाको ७६.५ फिट अग्लो घण्टाघर केवल सरकारी योजना होइन । यो हङकङ र मकाउमा बसोबास गरिरहेका धराने आप्रवासी र धरानवासीको लगानीमा निर्माण भएको संरचना हो । २० पुस २०६२ देखि औपचारिक रूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो । र आज यो भानु चोक मुख्य आकर्षणको केन्द्र बनेको छ ।
यहाँ दिनको ५ हजारभन्दा बढी पर्यटक आउने गरेको स्थानीय अनुज भुजेलले बताए । एक दिनमा २८ हजार पर्यटकले घण्टाघर घुमेको रेकर्ड रहेको उनले जनाए । घण्टाघर छिरेको टिकट प्रतिव्यक्ति २० रुपैयाँ र घण्टाघर चढेको ३० रुपैयाँ छ । घण्टाघर परिसरमा ५ भदौ २०४५ को भूकम्पमा ज्यान गुमाएकाको स्मृतिमा भूकम्प स्मारक बनाइएको छ । भूकम्पले देशभर ठूलो जनधनको क्षति भएको थियो । त्यही बेला धरान नगर क्षेत्रका १ सय १६ जनाको मृत्यु भएको थियो । एक हजार पाँच सय जना घाइते भएका थिए । उनीहरूको सम्झनामा भूकम्प स्मारक बनाइएको हो ।
