जब नारायणीमा पुल बन्यो, आए बस र ट्रकहरू । तिनै बस र ट्रक चढेर आए मान्छे । ठाउँले नाम पायो पुलचोक । के दिन के रात, एकैनासको चहलपहल हुन्थ्यो । तत्कालीन माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा पुगेर संकटकाल लागेर राति गाडी चल्न छाडे । त्यसपछि पुलचोक सुस्तायो । शान्ति प्रक्रियापछि पुरानै लयमा फर्कन त सकेन तर पुलचोकले पुरानो पहिचान कायमै राखेको छ ।
What you should know
चितवन — नारायणगढको पुलचोक दिन–रात जाग्थ्यो । के दिन के रात, एकैनासको चहलपहल हुन्थ्यो । तत्कालीन माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा पुग्दै गर्दा मंसिर २०५८ मा संकटकाल लाग्यो । राति गाडी चल्न छाडे । त्यसपछि सुस्ताएको पुलचोकले शान्ति स्थापनापछि पुरानै लयमा नफर्के पनि आफ्नो पुरानो पहिचानलाई कायम राख्न भने सकेको छ ।
‘बुटवल, भालुबाङ, दाङ, प्यूठान जाने गाडी आउने बेला भयो । यात्रु आउनुहोला । गाडी आएपछि आ–आफ्नो सिटमा गएर बस्नुहोला,’ संकटकालअघि पुलचोकमा टिकट काउन्टरको माइकमा गुञ्जन्थ्यो । यस्तो आवाजले वरपरका यात्रुलाई सजग गराउँथ्यो । साँझ ८–९ बजेतिर आउने यो आवाज डेढ किलोमिटर पर बेलचोक क्षेत्रका घरहरूसम्म सुनिन्थ्यो ।
राजनीतिक परिवर्तनपछि शान्ति कायम भएर फेरि चहल पहल सुरु भयो । तर त्यस्तो आवाज अचेल सुनिँदैन । तर अहिले पनि पुलचोकमा उभिए कोही आएर सोधिहाल्छन्, ‘काठमाडौं जाने हो ?’ कोही पूर्व जाने गाडी यता, कोही पश्चिम जाने यता भनेर बटुवालाई अनुरोध गरिरहेका हुन्छन् ।
नारायणगढबाट पूर्व, पश्चिम या काठमाडौं, पोखरा पुर्याउने र उताकालाई यहाँसम्म ल्याएर ओराल्ने बानी पुलचोकलाई परेको छ । दायाँ, बायाँ र पूर्वपश्चिमबाट आएका गाडी रोकिन्छ, मान्छे ओर्लन्छन् । बस रोकिँदा ‘सवारी’ पाउने आशामा पहिले तीनपाङ्ग्रे रिक्सा पुग्थे, अहिले तीनपाङ्ग्रे अटो रिक्सा झुम्मिन्छन् । पानीको बोत्तल, चना, केराउका पोका बोकेकाहरू उसै गरी लम्कन्छन् ।
पुलचोकको दिन यस्तै व्यस्ततामा बित्छ । साँझ पर्दा सुस्ताउँदै गए पनि झमक्क रातमा यहाँको चहलपहल कम हुन्छ तर ठप्पै हुँदैन । पुलचोकको व्यस्तता यात्रुबससँग जोडिएको छ । बसको रफ्तारसँगै यहाँको दैनिकी अगाडि बढ्छ । गोरखा भच्चेक मूल थलो भएकी मञ्जु गुरुङ भालेको डाकोसँग होइन, बसको समय तालिका ख्याल गरेर जाग्छिन् । उनी बिहान ५ बज्नुअघि पुलचोक पुग्छिन् ।
दुईवटा ठूला थर्मस, एउटामा दूध र अर्कोमा कालो चिया, झोलामा चिनी र कागती अनि कागजका कपहरू हुन्छन् । जाँदा दुई हातमा यी सामान गह्रुङ्गो गरी समाएकी हुन्छिन् । दुई–अढाई घण्टापछि फर्कंदा हलुङ्गो हुन्छ । चार वर्षयता उनको दैनिकी यसरी बित्दै आएको छ । ‘जाडो याममा अलि धेरै चिया बिक्छ । गर्मीमा ६०/७० कप,’ उनले सुनाइन् ।
चिया खानेहरू बसमा चढ्ने, उत्रने र बसमै बसेका यात्रु, चालक, सहचालक हुन्छन् । सबेरै थर्मसमा चिया लिएर पुलचोक पुग्नेमा मञ्जु जस्ता पाँच–सात जना छन्, जसमा प्रायः महिला नै छन् ।
जगमाया भण्डारीले पुलचोकमा चिया नै बेच्न सुरु गरेको दशकौं भयो । श्रीमान् चन्द्रकान्त भण्डारी र जगमाया मिलेर पुलचोकमा चलाएको ‘गुल्मेली चिया पसल’ धेरैको चिया खाने जंक्सन हो । यहाँ बिहान सबेरै चिया खानेहरूको जमघट लाग्छ । उनको चिया पसल झमक्क साँझ परेपछि बन्द हुन्छ ।
जगमायाले २०३९ सालबाट चिया बेच्न सुरु गरेको हो । गाडीको चाप, त्यसमाथि रात्रिबसको चाप हुने भएका कारण २०४२ सालपछि जगमाया दिउँसो ३ बजे चिया पकाउन सुरु गर्थिन् । त्यसपछि रातभर चिया बेच्दै छ्याङ्ग उज्यालो हुन्थ्यो । बिहान ९–१० बजेपछि सुत्न घरतिर लाग्थिन् ।
जगमायाले कहिले सानो टेबल अगाडि राखेर त कहिले ठेलामा चिया बेच्दै आइन् । जब संकटकाल लाग्यो अनि रातको व्यापार सम्भव भएन । त्यसपछि उनले पुलचोकमै सानो कोठा भाडामा लिएर बिहान सबेरैदेखि चिया बेच्दै आएकी छन् ।
तर पुलचोक पहिल्यैदेखि यस्तो थियो त ? पुलचोक आडमै २२ साउन २०१९ मा जन्मिएकी लक्ष्मी खनाल पोखरेलको कथाले बेग्लै चित्र देखाउँछ । त्यस ठाउँमा लक्ष्मीका बुबाको डेढ बिघा जमिन थियो । मकै, तोरी, आलु राम्रै फल्थ्यो । थोरै तल पश्चिमतिर शवहरूको अन्तिम संस्कार हुने घाट थियो । एक दिन लक्ष्मीका बुबाले एउटा दृश्य देखे, जसले उनी झस्किए । ‘हाम्रो घरनजिकै चौतारो छ । त्यही चौतारामा एउटा लास राखिएको रहेछ । गर्भवतीको लास भएका कारण त्यहीं चिरफार गरेर बच्चा निकालेर जलाउने योजना रहेछ,’ लक्ष्मीले सुनाइन् ।
शव चिरफार गरेको लक्ष्मी र उनका दाइले गालामा हात राखेर नियालिरहेको उनका बुबाले देखेछन् । ‘त्यसपछि यो बस्ने उपयुक्त ठाउँ होइन रहेछ भन्ने ठान्नुभयो र हामीलाई क्षेत्रपुर सार्नुभयो,’ लक्ष्मीले सुनाइन् । क्षेत्रपुरबाट पछि उनीहरू बेलचोक सरे । अहिले क्षेत्रपुर र बेलचोकभन्दा पुलचोक व्यस्त सहर भयो ।
आखिर पुलचोक यसरी व्यस्त कसरी भयो ? यसको एउटै उत्तर छ, जब नारायणीमा पुल बन्यो । त्यसपछि यस ठाउँले ‘पुलचोक’ नाम पायो । अनि पुलचोकमा आए बस र ट्रकहरू । यिनै बस र ट्रक चढेर आए मान्छे । महेन्द्रलाल प्रधानका बुबा र काकाले २०१५ सालतिरै पुलचोक वरपर १६ बिघा जग्गा किनेका थिए । मूल थलो तनहुँ बन्दीपुर भए पनि कपडाको व्यापार थियो उनीहरूको ।
पसल बन्दीपुरमा भए पनि सामान लिन नारायणगढ हुँदै माडी पार गरी ठोरीबाट छिरेर भारत बिहारको नगरकटियागन्ज पुग्नुपर्थ्यो । बन्दीपुरका व्यपारीहरूले त्यहाँबाट ल्याएको सामान नारायणगढमा नै राख्ने, पोका बनाउने गरिन्थ्यो । भविष्य राम्रो देखेर नै होला, प्रधानका बुबा र काकाले नारायणगढमा जग्गा जोडे, जुन अहिलेको बजार र पुलचोक क्षेत्रमा पर्छ ।
काठमाडौंबाट विद्यालय तहको पढाइ र भारतको मुम्बईबाट उच्च शिक्षा पूरा गरेका महेन्द्रलाल प्रधानले पिता पुर्खाको पेसा व्यवसायलाई नै निरन्तरता दिए । सुरुमा कपडा, खाद्यान्नको व्यापार चलाए । तर जब नारायणीमा पुल तयार भयो, उनले नयाँ काममा हात हाले । पुल आडमै पेट्रोल पम्प खोलेर इन्धन बेच्न सुरु गरे । २०४२ सालमा खुलेको पम्पले सुरुवात दिनमा हजार लिटर इन्धन बिक्री गर्थ्यो ।
‘दैनिक ४५ हजार लिटरसम्म डिजेल, पेट्रोल बिक्री गर्यौं । अहिले केही कमी आएको छ । हाम्रो पम्प देशभरमै धेरै इन्धन बिक्री हुने पम्पमध्येमा पर्छ,’ प्रधानले भने ।
माडीका गोपीमान श्रेष्ठले पुलचोकमा सानो घुम्ती पसलमा पत्रिका पसल सुरु गरेका थिए । २०३८ सालमा उनी दिनमा २०/२५ वटा पत्रिका बेच्थे । २०३८ सालमा बन्न सुरु गरेको पुल २०४२ सालमा तयार भयो । त्यसपछि बुटवल–नारायणगढ जोडियो । नारायणगढ–मुग्लिन सडकले काठमाडौं र पोखरालाई नारायणगढसँग जोड्यो । त्यहीबेला दरबारको विरोध गरेर निस्कने पत्रिकाहरू आउन थाले ।
‘त्यसपछि मेरो पसलमा पत्रिका पढ्न आउनेको भीड लाग्न थाल्यो । सूर्यबहादुर थापाले भूमिगत गिरोह भनेर दरबारियाको विरोध सुरु गरे । यसबारे लेख्ने पत्रिकाको बिक्री ह्वात्तै बढ्यो । ०४२ सालपछि साप्ताहिक पत्रिका नै २५ सय–तीन हजार प्रति बिक्री हुन थाल्यो,’ श्रेष्ठले सुनाए । उनका अनुसार सशस्त्र संघर्षको बेला तत्कालीन माओवादीको पक्षमा लेख्ने पत्रिकाहरू चार–पाँच हजार प्रति बिक्री हुन्थे ।
पत्रिका मात्रै बेच्ने गोपीमान श्रेष्ठको पसल सूचना र खबरको तिर्खा मेट्ने उपयुक्त चौतारी थियो । काठमाडौंबाट निस्कने हरेक पत्रिका यहाँ पाइन्थ्यो । पत्रिकाको व्यपार खस्कँदै गएपछि श्रेष्ठले पसल बन्द गरे । ‘घर व्यवहार राम्रै चलेको थियो । तर पत्रिका मात्रै बेचेर भाडा तिर्न नसक्ने भइयो । महिनाको डेढ सय रुपैयाँ बहालबाट पसल सुरु गरेको थिएँ, बहाल १० हजार रुपैयाँ पुगेपछि ०६६ सालदेखि छाडें,’ उनले भने ।
गोपीमानको पत्रिका पसल मात्रै होइन, अहिले पुलचोक क्षेत्रबाट धेरै कुरा हराए । पहिले मकै, तोरी छर्ने खेतमा अहिले घरैघर छन् । पहिलेजस्तो यात्रुको भीडभाड हुने खाजा र खाना पसल छैनन् ।
चितवनमा व्यवस्थित बस्ती विकासका लागि सरकारले नै २०१३ सालमा राप्तीदून विकास परियोजना सुरु गरेको हो । राजमार्ग नबन्दासम्म नारायणगढ क्षेत्रमा बाक्लो बसोबास थिएन । जब राजमार्ग धमाधम बन्न थाले, बजार भरिन सुरु भयो । तर पुल बनेर तयार नहुँदासम्म पनि हालको पुलचोक क्षेत्र खाली जस्तै थियो । पुलचोकदेखि लगभग एक किलोमिटर पूर्वको लीलाचोक गुल्जार थियो ।
पुल नबन्दा नाउबाट मान्छे ओहोरदोहोर गर्थे । गाडीलाई ‘फेरी’ र ठूला डुङ्गामा राखेर नारायणी तार्ने गरिन्थ्यो । यसरी डुङ्गा तर्न जाने ठाउँ थियो लीलाचोक । अहिले सहिद चोक भनिने पुरानो संगम चोक पनि गुल्जार थियो । तर पछि अस्तित्वमा आएको पुलचोकमा धेरैको पाइला पर्यो । पछिल्लो समय काठमाडौं जाने, आउने वैकल्पिक राजमार्गहरू बने । भरतपुरमा पनि बाइपास सडक छ ।
तत्कालिन नारायणगढ उद्योग वाणिज्य संघमा दुई पटक नेतृत्व गरेका र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि भएका महेन्द्रलाल प्रधान पुलचोक अब ज्यादा फैलिने अवस्थामा नरहेको बताउँछन् । ‘संकटकाल लागेपछि रात्रिबसको चाप घट्दै गयो । नत्र रात्रिबसका कारण बिहान, बेलुका नै व्यापार हुने ठाउँ थियो यो पुलचोक । दिउँसो त त्यसै व्यस्त हुने नै भयो । खाना, खाजाका टहरा होटल अगाडि बस रोकिन्थे । फलफूल उस्तै बिक्री हुन्थ्यो,’ २०२५ सालमा नारायणगढ पुलचोकमै जन्मिएका सेवन पन्तले भने ।
सेवनकै हजुरबुबा खड्गबहादुर पन्तका नाममा थियो हालको पुलचोकदेखि लगभग पूरै नारायणगढ ओगटेको १६ बिघा जग्गा । राणाकालमै खरदार रहेका खड्गबहादुरले २०१५ सालमा त्यो जग्गा बेचेका थिए । तर अंशियारको हक लाग्ने भन्दै मुद्दा पर्यो, जुन मुद्दाको न्यायिक निरूपण दशकौंअघि भए पनि कार्यान्वयनमा जाँदा विवादरहित भएन । त्यो विवाद अझै सकिएको छैन । लामै समय टहरा नै टहराले भरिएको पुलचोक क्षेत्र जब पन्त परिवारको जग्गाको मुद्दाको विषयले किनारा पाउन थाल्यो, त्यसपछि ढलान भएका घरहरू बन्न थाले ।
पुल बनेसँगै पुलचोकमा गाडी रोक्न त सुरु भयो तर डेढ–दुई किलोमिटर पर पोखरा बसपार्क तयार थियो । पछि ६० को दशकको सुरुवातमा भरतपुरको केन्द्रीय बसपार्क सञ्चालनमा आउन थाल्यो । पञ्चायतकाल होस् या अन्य समय, पुलचोकमा बस रोक्न नदिन ठूलो प्रयास भयो भन्छन् स्थानीय व्यवसायी रामकुमार श्रेष्ठ । तर मान्छेलाई पुलचोक आएरै गाडी चढ्ने बानी लागेको छ । त्यही बानीले पुलचोकलाई आजसम्म जीवन्त राखेको छ ।
