मनमोहन अधिकारी : लोकप्रिय मात्र होइन, आमजनताको प्रधानमन्त्री

सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ, त्यो जिम्मेवारी बहन गरिरहेको प्रमाण जनताले देख्नुपर्छ र व्यवहारमा हेर्न पाउँनुपर्छ भन्ने कुरामा मनमोहन अधिकारीको सधैं जोड हुन्थ्यो

वैशाख ५, २०८३

रघु पन्त

Manmohan Adhikari: Not just popular, but also the people's Prime Minister

इतिहासकै शक्तिशाली जनमतसहित वालेन्द्र शाह प्रधानमन्त्री बनेको तीन साता पुगेको छ । प्रधानमन्त्रीका रूपमा उनको भूमिका कस्तो रहनेछ ? उनलाई इतिहासले कसरी सम्झिन्छ ? अहिल्यै आकलन गर्नु हतारो हुनेछ । नेपालको राजनीतिक इतिहासमा ४० जना प्रधानमन्त्री भइसकेका छन् । तीमध्ये कतिपयलाई निरन्तर सम्झना गरिन्छ । कतिपय भने गुमनाम जस्तै छन्, औपचारिक सन्दर्भभन्दा बाहेक चर्चा गरिँदैनन् । ‘कोसेली’ ले केही प्रधानमन्त्रीको कार्यकाल सम्झना गरेको छ । ‘कान्तिपुर’ को सम्पादकीय समूहले पदमा रहँदा निर्वाह गरेको भूमिका र सार्वजनिक विमर्शमा नाम आइरहने १२ पात्र छनोट गरेको छ । उनीहरूको पदावधिको चर्चा गर्दा नेपालको मूलभूत शासकीय प्रवृत्ति उजागर हुनेछ भन्ने हाम्रो विश्वास छ ।

What you should know

मनमोहन अधिकारीसँग पहिलोपल्ट कहिले भेट भयो, त्यो मिति मलाई अहिले सम्झना छैन । तर, पञ्चायतकालमा भएको त्यो पहिलो भेटपछि नै उहाँसँग मेरो सान्निध्यता बढ्दै गएको चाहिँ सम्झिन्छु ।

मलाई गर्व लाग्छ– आज पनि ती दिन सम्झँदा, जुनबेला मैले लेख्ने गरेका हरेक हप्ताका स्तम्भमा व्यक्त विचार नेपाली बौद्धिक क्षेत्र र सचेत पाठकबीच छलफलको विषय बन्थे । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीदेखि आमपाठकबीच चलेको चर्चा साथी–भाइले सुनाउँदा मलाई आनन्द लाग्थ्यो र मिहिनेत सफल भएको अनुभूति हुन्थ्यो ।

मनमोहन अधिकारीले भेट्न खोज्नुभएको छ, भेट्नुहोस् भनेर भन्ने व्यक्तिहरू हुनुहुन्थ्यो– कमल कोइराला र भरतमोहन अधिकारी । उहाँहरू दुवै मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको पार्टीका केन्द्रीय नेता हुनुहुन्थ्यो ।

म त्यसबेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा संगठित थिएँ र एउटा चर्चित साप्ताहिकको सम्पादक थिएँ ।

विभाजित वामपन्थी आन्दोलनले देशको राजनीतिमा निर्णायक र प्रभावकारी भूमिका खेल्न सक्दैन भन्ने मलाई लागिसकेको थियो । अनि वामपन्थी शक्ति र नेपाली कांग्रेस एक ठाउँमा उभिएर संघर्ष नगरेसम्म पञ्चायतलाई हराउन सकिँदैन भन्ने टुंगोमा नेकपा (माले) भित्रै रहेका हामी केही साथीहरू पुगिसकेका थियौं ।

तर, परिस्थिति फरक थियो । सीपी मैनालीलाई पार्टी नेतृत्वबाट हटाएको विषय र पार्टी स्वतन्त्रताको नारा ठीक कि राजनीतिक स्वतन्त्रताको नारा ठीक भन्ने विवादले गर्दा म, टंक कार्की र थुप्रै कार्यकर्ता साथीहरू त्यसबेला पार्टी नेतृत्वको कोपभाजनमा परेका थियौं ।

तर पनि हाम्रा लागि आफ्नो प्रिय पार्टी थियो । त्यसबेलाकै कुनै दिन पाटनको एउटा कोठामा मेरो मनमोहन अधिकारीसँग भेट भयो । उहाँलाई म ‘झापाली’ भएको थाहा रहेछ । त्यसबेला तत्कालीन नेकपा (माले) का समर्थकलाई ‘झापाली’ भन्ने गर्थे ।

पुष्पलालको मृत्यु भएको केही वर्ष बितिसकेको थियो । मनमोहन अधिकारीसँग भेट हुँदाको बखत उहाँले नेतृत्व गरेको पार्टी र सहाना प्रधानले नेतृत्व गरेको पार्टीबीच एकताका लागि छलफल चलिरहेको थियो ।

राष्ट्रिय राजनीतिदेखि अन्तर्राष्ट्रिय राजनीतिसम्मका विषयमा उहाँ र मबीच लामो कुराकानी भयो । त्यसपछि लगत्तै म र टंक कार्कीले उहाँसँग भेट गरेर लामो कुरा गर्‍यौं । सिद्धिलाल सिंह, सहाना प्रधान, कमल कोइराला, बलराम उपाध्याय, गोविन्द ज्ञवाली, रामसिंह रावल र वोर्णबहादुर कार्की लगायतसँग भेटघाट, छलफल हुन थाले । यही क्रममा मनमोहन अधिकारीसँग पनि भेटघाटको क्रम बढ्दै गयो ।

२०४६ सालको आन्दोलनको सफलता र बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गरेको समूहबीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो भने मनमोहन अधिकारी अध्यक्ष बन्नुभयो । त्यसपछि त उहाँसँगको भेटघाट र सान्निध्य झन् बढ्दै गयो । उहाँको मप्रतिको स्नेह र विश्वास बढ्दै गएको तथ्य उहाँको व्यवहारबाट म अनुभूत गर्थें ।

२०४८ सालको निर्वाचनपछि उहाँ प्रमुख प्रतिपक्षी दलको नेता चुनिनुभयो भने २०५१ सालको निर्वाचनपछि संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्नुभयो । उहाँले प्रधानमन्त्री बन्नासाथ मलाई आफ्नो प्रेस सल्लाहकार बनाउन चाहनुभएको थियो तर म त्यसबेला स्वयं निर्वाचित प्रतिनिधिसभा सदस्य भएकाले मैले त्यो प्रस्ताव स्विकारिनँ । पछि जब उहाँले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गर्नुभयो, म उहाँको सल्लाहकारमा नियुक्त भएँ ।

प्रधानमन्त्रीका रूपमा मनमोहन अधिकारीले कहिल्यै आफ्नो पदलाई सत्ताभोगका रूपमा प्रयोग गर्नुभएन । आफ्ना आफन्त कसैलाई पनि कुनै पदमा नियुक्त गर्न चाहनु भएन । शक्ति र सत्ताप्रति उहाँ तटस्थ वा एक प्रकारको निस्पृहजस्तो देखिनुहुन्थ्यो । पद र शक्तिले उहाँको बोली वा व्यवहारमा कहिल्यै अहंकार ल्याएन ।

उहाँको जीवनशैली अत्यन्त सरल थियो । लाउने कुरामा पनि उहाँ अत्यन्त साधारण हुनुहुन्थ्यो । व्यवहार पनि अत्यन्त सहज र नम्र थियो । भेट्न आएका सामान्य नागरिकदेखि ठूलाबडा सबैसँग उहाँको बोली नम्र र मिजासिलो हुन्थ्यो । कहिलेकाहीँ थोरै ठट्टा पनि गर्नुहुन्थ्यो ।

मन्त्रीहरूले राम्रो काम गरुन् भन्ने विषयमा उहाँको ध्यान हुन्थ्यो । प्रधानमन्त्री निवासमा एक्लै बोलाएर उहाँले पटक–पटक ‘सरकारबारे मानिसहरू के भन्छन् ?’ ‘बौद्धिक क्षेत्र के भनिरहेको छ’, ‘आमजनताको प्रतिक्रिया के कस्तो छ ?’ जस्ताको तस्तै सुनाउनूस् भन्नुहुन्थ्यो ।

‘वृद्धभत्ता, नौ ‘स’ र ‘आफ्नो गाउँ आफैं बनाउँ’ जस्ता कार्यक्रमले गर्दा त्यसबेला सरकारको लोकप्रियता अत्यन्त बढेको थियो । प्रधानमन्त्रीका रूपमा मनमोहन अधिकारीको लोकप्रियता निरन्तर उकालो लाग्दै थियो तर उहाँ भने पहिलेजस्तै शालीन, गम्भीर र जिम्मेवार देखिनुहुन्थ्यो ।

शक्तिमा रहेर शक्ति प्रयोग गर्न नचाहने दुर्लभ स्वभाव थियो मनमोहन अधिकारीको । पदमा रहेर पनि पदमा नरहेको जस्तो सरल र सहज व्यवहार थियो उहाँको । पदलाई शक्तिभन्दा पनि जिम्मेवारी र कर्तव्य मान्ने चिन्तन थियो उहाँको ।

उहाँको कार्यकालमा नै नेपालले सन् १९५० को सन्धि फेर्नुपर्ने प्रस्ताव अघि बढायो । प्रधानमन्त्रीका रूपमा आफ्नो भारत भ्रमणका बेला उहाँले तर्कपूर्ण ढंगले १९५० को सन्धिलाई नयाँ सन्धिले प्रतिस्थापन गर्ने विषयलाई प्रस्तुत गर्नुभयो । चीन भ्रमण गरेर नेपालको उचाइ र प्रभावलाई थप विस्तार मात्र गर्नुभएन, आफ्नो परराष्ट्र नीतिलाई सन्तुलित रूपमा अघि पनि बढाउनुभयो ।

सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ, त्यो जिम्मेवारी बहन गरिरहेको प्रमाण जनताले देख्नुपर्छ र व्यवहारमा हेर्न पाउनुपर्छ भन्ने कुरामा उहाँको सधैं जोड हुन्थ्यो । मनमोहन अधिकारी लोकप्रिय मात्र होइन, उहाँ आमजनताको प्रधानमन्त्री हुनुहुन्थ्यो ।

प्राज्ञिक र बौद्धिक व्यक्तिहरूलाई रुचाउने र उनीहरूका सुझाव ध्यानपूर्वक सुन्ने गर्नुहुन्थ्यो उहाँ । पत्रकार, प्राध्यापक, लेखक र कला एवं साहित्य क्षेत्रका व्यक्तित्वप्रति उहाँमा विशेष सम्मानको भाव रहेको पाइन्थ्यो ।

लोकतान्त्रिक चरित्र र व्यवहार उहाँको जीवनशैलीमा नै देखिन्थ्यो । आफ्नो विचार अरूले मान्नैपर्छ र म नै ठीक भन्ने प्रवृत्ति उहाँमा कहिल्यै देखिएन । बहुमतको कुरा आफूलाई ठीक नलाग्दा पनि उहाँ सहज रूपले स्विकारी दिनुहुन्थ्यो । ‘किन त्यसो गर्नुभएको ?’ भनेर सोध्दा सहज रूपले जवाफ दिनुहुन्थ्यो– ‘भनेको मान्दैनन्, व्यवहारमा काम बिग्रेपछि आफैं चाल पाउँछन् । व्यवहार र भोगाइबाटै नचेतीकन मान्दैनन् भने के गर्नु !’

उहाँको स्पष्ट मान्यता थियो– ‘चीन भौगोलिक रूपले जोडिए पनि त्यसका केही सीमा छन् । उसले गर्ने सहयोगको पनि सीमा छ । भारत भौगोलिक रूपले एकदमै नजिक र सहज छ तर ऊ नेपाल आफूले भनेजसरी चलोस् भन्ने चाहन्छ । जुन हाम्रो स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने अधिकारका विरुद्ध देखिन्छ । हामीलाई अघि बढ्न दुवैको सहयोग जरुरी छ । त्यसैले हामीले सन्तुलन गुमाउनु हुँदैन र आफ्नो अडान पनि छोड्नु हुँदैन । विकास निर्माण र हाम्रो आर्थिक क्षमता विस्तारका लागि दुवै देशसँग सहयोग लिनुपर्छ तर स्वतन्त्र ढंगले आफ्नो निर्णय हामी आफैंले गर्नुपर्छ । कसैको पनि दबाब र प्रभावमा हामी पर्नु हुँदैन ।’

अमेरिका र युरोपसँगको सम्बन्धलाई पनि महत्त्व दिनुपर्छ तर नेपालले आफ्नो अडान नछोडीकन, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई बलियो बनाउन र आफ्नो आर्थिक आधार एवं विकासलाई अघि बढाउन परराष्ट्र नीतिलाई समयानुकूल बनाउँदै जानुपर्छ भन्ने विचार थियो उहाँको ।

बहुदलीय प्रणाली कमजोर नहोस् भन्ने चाहना थियो उहाँको । संसदीय प्रणालीका मान्यता र आचरणलाई पालन गर्ने कुरामा पनि उहाँ सधैं जोड दिनुहुन्थ्यो । संसद्लाई असाध्य महत्त्व दिनुहुन्थ्यो ।

प्रधानमन्त्री हुँदा पनि उहाँ संसद्मा सकेसम्म नियमित हुन चाहनुहुन्थ्यो । प्रतिपक्षको नेता हुँदा त उहाँ नियमितजसो संसद्मा उपस्थिति जनाउनुहुन्थ्यो र प्रतिपक्षी दलको नेताको हैसियतले छलफलमा भाग लिने र सम्बोधन गर्ने गर्नुहुन्थ्यो ।

प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सल्लाहकारका रूपमा र प्रतिपक्षी दलको नेता हुँदा सांसदका रूपमा म उहाँको नजिकमा रहें ।

म बेलाबखत प्रतिपक्षी दलको नेताका रूपमा उहाँले बोल्नुपर्ने विषयमा नोट बनाएर दिने गर्थें । कतिपय विषयमा उहाँ आफैंले बोलाउनुहुन्थ्यो, छलफल गर्न ।

संसद्मा सक्रियतापूर्वक भाग लिन र विषयहरूमा अध्ययनसहित बोल्न सांसदहरूलाई प्रेरित गरिरहनुहुन्थ्यो । तर्कपूर्ण र प्रभावकारी ढंगले बोल्ने सांसदहरूलाई बोलाएर प्र्रशंसा गर्ने र उनीहरूलाई हौसला दिने गरेको म आफैंले पटक–पटक भोगेको र देखेको छु ।

मनमोहन अधिकारी संसद् प्रभावकारी होस्, त्यसले जनचासोका विषयमा ध्यान देओस् र संसद्लाई जनताले आफ््नो प्रतिनिधित्व गरिरहेको संस्थाका रूपमा मानून् भन्ने चाहना राख्नुहुन्थ्यो । त्यसैले नियमित रूपमा दलको कार्यालय सिंहदरबारमा उपस्थित हुने र अलिअलि ज्वरो आउँदासमेत ‘एकछिन बैठकमा बस्छु’ भनेर उहाँ संसद्मा पस्नुहुन्थ्यो ।

‘जिन्दगीभर लडेर ल्याएको यो बहुदलीय प्रजातन्त्र र संसदीय व्यवस्थालाई हामीले बलियो नबनाए अरू कसले बनाउँछ ?’ यस्तो हुन्थ्यो हामीसँग उहाँको प्रश्न ।

देश, जनता र लोकतन्त्रप्रति निरन्तर समर्पण, शालीन, शान्त र सरल जीवनयापन यही थियो मनमोहन अधिकारीको जीवन । प्रतिपक्षी दलको नेता र सम्पूर्ण रूपमा जनताप्रति प्रतिबद्ध अत्यन्त लोकप्रिय प्रधानमन्त्री– दुवै रूपमा मनमोहन अधिकारी नेपाली जनताको स्मृतिपटलमा अविस्मणीय रूपमा रहनुभएको छ ।

प्रधानमन्त्री पदको गरिमा राष्ट्रका लागि निर्णायक महत्त्वको विषय हुन्छ । लोकतन्त्रमा त्यो पदमा चुनाव जितेर जो पनि पुग्न सक्छ तर त्यो पदको गरिमा र महत्त्व जोगाउन नसक्नेहरू पदमा पुगे भने गरिमा गुम्नेमात्र होइन, राष्ट्र नै कमजोरसमेत हुन पुग्छ ।

मनमोहन अधिकारीजस्ता व्यक्तित्वलाई सम्झँदा देशले कुनै बेला यस्तो प्रधानमन्त्री पनि पाएको थियो भनेर आज पनि हामी गर्व गर्न सक्छौं ।

इतिहास र ऐतिहासिक व्यक्तित्वहरूबाट आज हामीले प्रेरणा लिने र सिक्ने हो । आफ्नो नौमहिने अवधिमा जे–जति लोकप्रियता र सम्मान मनमोहन अधिकारीले आर्जन गर्नुभयो, त्यो उहाँको व्यक्तित्व र सुकर्मको परिणाम थियो । यस्तो लोकप्रियता अत्यन्त दुर्लभ हुन्छ ।

रघु

Link copied successfully