गिरिजाप्रसाद कोइराला : उत्तिकै आलोचित र प्रशंसित

गिरिजाप्रसाद कोइराला लोकतन्त्रप्रति अटल विश्वास भएका नेता थिए । प्रजातन्त्रका लागि उनले जीवनमा कहिल्यै कसैसाग सम्झौता गरेनन् । उनको कार्यकालमा जेजति गल्ती र कमजोरी भए– त्यसको मुख्य कारण उनको सत्ताकेन्द्रित राजनीति थियो ।

वैशाख ५, २०८३

जगत नेपाल

Girija Prasad Koirala: Equally criticized and praised

इतिहासकै शक्तिशाली जनमतसहित वालेन्द्र शाह प्रधानमन्त्री बनेको तीन साता पुगेको छ । प्रधानमन्त्रीका रूपमा उनको भूमिका कस्तो रहनेछ ? उनलाई इतिहासले कसरी सम्झिन्छ ? अहिल्यै आकलन गर्नु हतारो हुनेछ । नेपालको राजनीतिक इतिहासमा ४० जना प्रधानमन्त्री भइसकेका छन् । तीमध्ये कतिपयलाई निरन्तर सम्झना गरिन्छ । कतिपय भने गुमनाम जस्तै छन्, औपचारिक सन्दर्भभन्दा बाहेक चर्चा गरिँदैनन् । ‘कोसेली’ ले केही प्रधानमन्त्रीको कार्यकाल सम्झना गरेको छ । ‘कान्तिपुर’ को सम्पादकीय समूहले पदमा रहँदा निर्वाह गरेको भूमिका र सार्वजनिक विमर्शमा नाम आइरहने १२ पात्र छनोट गरेको छ । उनीहरूको पदावधिको चर्चा गर्दा नेपालको मूलभूत शासकीय प्रवृत्ति उजागर हुनेछ भन्ने हाम्रो विश्वास छ ।

What you should know

रेडियो नेपालको रिपोर्टर हुँदा (२०५५ देखि २०५९ सम्म) नेपाली कांग्रेस, संसद् र सरकारको बिट सम्हाल्ने मेरो जिम्मेवारी थियो । कांग्रेस सभापति र प्रधानमन्त्रीको हैसियतमा रहेका गिरिजाप्रसाद कोइराला अर्थात् गिरिजाबाबु राजनीतिको केन्द्रमा थिए । २०५९ चैत ७ गते कान्तिपुर टेलिभिजनमा प्रवेश गरेदेखि गिरिजाबाबुको मृत्यु (२०६७ चैत ७) सम्म पनि मेरो ‘बिट’ गिरिजाबाबु नै थियो ।

यस अर्थमा दुवै मिलाएर झन्डै १२ वर्ष मैले उनलाई नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएँ । २०६४ साल असारदेखि ६ महिनासम्म टेलिभिजनमा उनको जीवनीमा आधारित अन्तर्वार्ताको शृंखला चलाएँ । संविधानसभा निर्वाचन, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना हुँदै २०६७ चैत ७ गते निधन हुँदासम्म नेपाली राजनीतिक रंगमञ्चको केन्द्रमा उनी नै थिए र मैले त्यो कालखण्डको रिपोर्टिङ गर्ने अवसर पाएँ । मृत्युपश्चात् कोइराला नेपाली इतिहासकै सबैभन्दा बढी मलामी पाउने राजनेतामध्ये एक हुन् । उनको शवयात्राका दृश्य कान्तिपुर टेलिभिजनले हेलिकोप्टरबाट खिचेको थियो ।

नेपालको राजनीतिक इतिहासमा मिडियाले सबैभन्दा बढी आलोचना र प्रशंसा गरेका पात्र हुन् उनी । विराटनगर जुटमिलमा काम गर्दा २००३ सालमा मजदुर नेता हुँदै राजनीति सुरु गरेका कोइरालाले ६ पटक मुलुकको कार्यकारी प्रधानमन्त्री र राष्ट्र्र प्रमुखको समेत भूमिका निर्वाह गरे । २००७ सालको क्रान्ति, २०४६ र २०६२/६३ को जनआन्दोलन हुँदै राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनासम्मका सबै राजनीतिक परिवर्तनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे ।

राजनीतिक जग
राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा उनका पिता कृष्णप्रसाद कोइरालाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै भन्सारको ठेक्का पाएका थिए । तिनताका राणाहरूपछि देशकै धनी र सम्पन्नहरूमध्ये पर्थ्यो कोइराला परिवार । वि.सं. १९७४ मा प्रधानमन्त्री चन्द्रशमशेरले सर्वस्वहरणसहित कृष्णप्रसादलाई देश निकाला गरेपछि कोइराला परिवारले १२ वर्ष भारतमा प्रवासिनुपर्‍यो । त्यही बेला वि.सं. १९८१ मा भारतको सहर्षा जिल्लामा पर्ने दीपनगरको टेढीमा गिरिजाप्रसादको जन्म भयो । ती दिन बेलायती उपनिवेशमा रहेको भारत वर्षमा महात्मा गान्धीको नेतृत्वमा स्वतन्त्रता संग्राम चलिरहेको थियो । कृष्णप्रसाद गान्धीबाट प्रभावित थिए । भारतबाट अंग्रेज नफर्किएसम्म नेपालमा राणा शासनको अन्त्य सम्भव छैन भनेर उनले छोराहरूलाई राजनीतिमा आउन अभिप्रेरित गरे । चन्द्रशमशेरको मृत्युपछि नेपालको प्रधानमन्त्री बनेका भीमशमशेरले आममाफी दिई कृष्णप्रसादलाई स्वदेश फर्किने अनुमति दिए ।

कृष्णप्रसाद स्वदेश फर्किए पनि भारतमा पढ्दै गरेका छोराहरू मातृका र बीपी भारतीय स्वतन्त्रता संग्राममा सहभागी हुँदै गए । अंग्रेजहरू भारतबाट फर्किने निश्चित भएपछि राणा शासनको अन्त्य गर्ने उद्देश्यका साथ बीपीले नेपाली राष्ट्र्रिय कांग्रेस स्थापना गरे । अनि त्यही संस्थाले विराटनगरबाट मजदुरहरूको संगठित आन्दोलन सुरु गर्‍यो । त्यो आन्दोलनका नेता थिए, गिरिजाप्रसाद कोइराला ।

Girija Prasad Koirala: Equally criticized and praisedयसरी मजदुर हुँदै राजनीतिक यात्रा सुरु गरेका उनी २००७ सालको क्रान्तिमा पोलिटिकल कमिसारको हैसियतमा हतियार बोकेर क्रान्ति मोर्चामा खटिएका थिए । त्यो क्रान्तिले १ सय ४ वर्षे राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्‍यो । त्यसलगत्तै बनेको राणा–कांग्रेस संयुक्त सरकारमा उनका दाजु बीपी नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री बने । राणा र कांग्रेसबीचको किचलोका कारण संयुक्त सरकार पतन भयो र गिरिजाप्रसादका जेठा दाजु मातृकाप्रसाद प्रधानमन्त्री बने । यसरी २००७ सालदेखि नै गिरिजाप्रसादले नेपाली राज्यसत्तालाई नजिकबाट चिन्ने, जान्ने र बुझ्ने मौका पाए । २०१५ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत पाएपछि उनका माइला दाजु बीपी मुलुककै पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

त्यो सरकारले १८ महिनाभन्दा बढी काम गर्न पाएन । तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद् भंग गरी निरंकुश पञ्चायती व्यवस्थाको सूत्रपात गरे । यो अवधिमा गिरिजा ७ वर्ष जेल परे । थुनामुक्त भएपछि भारत प्रवासबाट सशस्त्र क्रान्तिको नेतृत्व गरे । क्रान्तिका लागि रकम जुटाउन उनले तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज अपहरण योजना सफल बनाउनेसम्मको अति साहसिक र दुस्साहसिक कामसमेत गरे ।

गिरिजाप्रसादकै भनाइमा सुरुका दिनमा दाजु बीपीलाई सफल बनाउनेबाहेक उनले आफू नेता बन्ने कल्पना र सपना देखेकै थिएनन् । तीन दशकभन्दा बढी समय लो–प्रोफाइलमा बसेर काम गरेका उनलाई आफ्नो जीवनको उत्तरार्द्धमा बीपीले पार्टीको महामन्त्री नियुक्त गरे । त्यसरी गिरिजाप्रसाद पार्टीभित्र गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि तेस्रो वरीयताका नेता हुन पुगे ।

संयोगवश प्रधानमन्त्री

२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत पाए पनि कार्यवाहक सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई काठमाडौं क्षेत्र नं १ मा पराजित हुन पुगे । त्यो चुनावमा सर्वोच्च नेता गणेशमान सिंहले उम्मेदवारी दिएकै थिएनन् । पंक्तिकारसँगको अन्तर्वार्तामा गिरिजाबाबुले भनेका थिए– ‘किसुनजी हार्नु हुन्छ भन्ने कुरा त मैले सपनामै चिताएको थिइनँ । त्यत्रो आन्दोलनको नेता, अन्तरिम सरकारका प्रधानमन्त्री हार्नु हुन्छ भनेर चिताउने कुरै थिएन । चुनावमा कांग्रेसकै बहुमत आउँछ र किसुनजी नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने थियो । म प्रधानमन्त्री बनुँला, यो गरौंला, ऊ गरौंला भन्ने कल्पनासम्म थिएन ।’ भट्टराईले चुनाव हारेका कारण संयोगले उनी प्रधानमन्त्री बने । यससँगै कृष्णप्रसाद कोइरालाका तीन छोरा प्रधानमन्त्री बनेको इतिहास कोरियो । संसारमै यस्तो घटना विरलै पाइन्छ ।

राजनीतिक आन्दोलनको लामो अनुभव भए पनि कोइरालामा शासन सञ्चालनको ज्ञान थिएन । तैपनि, देश र जनताका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । कोइरालाको पहिलो कार्यकाल (२०४८–२०५१) मा दूरगामी महत्त्वका धेरै काम भए । मुलुकको अर्थतन्त्रमा त्यसबेला जुन तहको सुधार भयो, त्यसयता कहिल्यै भएको छैन । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, बैंक तथा वित्तीयलगायत निजी क्षेत्रको विकासका लागि कोइराला नेतृत्वको पहिलो सरकारले आधारभूमि तयार पार्ने काम गर्‍यो । उनकै जोडबलले स्थानीय तहको निर्वाचन गरी गाउँसम्म प्रजातन्त्रको जरा विस्तार गर्ने काम भयो । यति हुँदाहुँदै पनि उच्च तहका कर्मचारीलाई हचुवाका भरमा हटाइनु र पार्टीभित्रको आन्तरिक कलहका कारण संसद् भंग गरी मुलुकलाई मध्यावधिमा लैजानु कोइरालाको राजनीतिक जीवनकै ठूलो भूल थियो ।

सत्ताकेन्द्रित राजनीति

गिरिजाप्रसाद कोइराला लोकतन्त्रप्रति अटल विश्वास भएका नेता थिए । प्रजातन्त्रका लागि उनले जीवनमा कहिल्यै कसैसँग सम्झौता गरेनन् । उनको कार्यकालमा जेजति गल्ती र कमजोरी भए– त्यसको मुख्य कारण थियो, उनको सत्ताकेन्द्रित राजनीति । सत्ता र शक्तिलाई केन्द्रमा राख्दा उनको कार्यकालमा भ्रष्टाचारले प्रश्रय पाएको, राजनीतिमा योग्यलाई पन्छाएर आफ्ना भक्तहरूलाई अवसर दिएको आरोप उनीमाथि निरन्तर लाग्यो । २०५१ मा आफैंले गराएको मध्यावधि चुनावमा कोइरालाको पार्टी नेपाली कांग्रेस पराजित भयो । जनताले कुनै पनि दललाई बहुमत दिएनन् । नेकपा एमाले संसद्को ठूलो दल बन्यो । अनि मनमोहन अधिकारी मुलुककै प्रथम कम्युनिस्ट प्रधानमन्त्री भए । अधिकारी नेतृत्वको सरकार नौ महिनामै ढल्यो । यसबीचमा शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द हुँदै सूर्यबहादुर थापा प्रधानमन्त्री बने । ६/६ महिनामा सरकार परिवर्तन भए । सांसदहरूलाई होटलमा थुन्ने, सुरासुन्दरी उपलब्ध गराउने, मन्त्रीहरूलाई विदेश शयर गराउने, सांसदहरूलाई भन्सार छुटमा पजेरो, प्राडोजस्ता महँगा गाडी दिने जस्ता क्रियाकलापले संसदीय व्यवस्था बदनाम हुन पुग्यो ।

Girija Prasad Koirala: Equally criticized and praisedयही वातावरणका बीच कोइराला दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । संसद्मा व्याप्त विकृति र विसंगति अन्त्य गर्ने र ताजा जनादेशमा जाने भनेर उनले संसद् भंग गरे । २०५६ को चुनावमा कोइरालाले पार्टीका नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे । कांग्रेसले सुविधाजनक बहुमत पायो, तर भट्टराई नेतृत्वमा सरकार बनेको नौ महिनामा उनलाई राजीनामा गर्न बाध्य बनाएर कोइराला चौथो कार्यकालका लागि प्रधानमन्त्री बने । त्यो घटना उनको राजनीतिक जीवनकै ठूलो भूल थियो । प्रधानमन्त्रीका रूपमा उनको यो कार्यकाल सर्वाधिक विवादास्पद रह्यो । तत्कालीन शाही नेपाल वायुसेवा निगमका लागि लाउडा कम्पनीको विमान भाडा लिँदा भएको भ्रष्टाचार प्रकरणमा उनीसमेत मुछिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहालवाला प्रधानमन्त्रीलाई सिंहदरबार छिर्न नदिने भन्दै विरोध कार्यक्रम चलायो र त्यही विषयलाई लिएर नेपालको संसदीय इतिहासमा पहिलो पटक संसद्को उन्नाइसौं अधिवेशन एउटा पनि बैठक बस्न नसकेर अन्त्य गर्नुपर्‍यो ।

राजा वीरेन्द्रको वंश नाश र नयाँ राजाको असहयोग

भट्टराईलाई पदच्युत गरी सत्ताको बागडोर हात पारे पनि कोइरालाका लागि त्यो कार्यकाल सर्वाधिक चुनौतीपूर्ण बन्यो । पार्टीभित्र उनको विरोधमा सशक्त समूह निर्माण भयो । विरोधीहरू झन् आक्रामक बने । त्यही मौकामा बन्दुकको नालबाट राज्यसत्ता कब्जा गर्ने भन्दै संसदीय व्यवस्थाविरुद्ध सशस्त्र विद्रोहमा गएको माओवादीले प्रहरीलाई हायलकायल बनाउने अभियान चलायो । देशको शान्ति सुरक्षा खलबलियो । सबै प्रहरी चौकी सदरमुकाममा सार्नु पर्‍यो ।

त्यही बेला २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भयो । त्यो संकटको घडीमा प्रधानमन्त्रीको हैसियतका कोइरालाले राजाका माइला भाइ ज्ञानेन्द्रलाई श्रीपेच लगाएर राजतन्त्रलाई निरन्तरता दिने बोल्ड निर्णय गराए ।

नयाँ राजाबाट साथ–सहयोग पाउने विश्वासमा थिए– कोइराला । ज्ञानेन्द्र गद्दीमा बसेको डेढ महिनापछिको कुरा हो, २०५८ असार २९ गते माओवादीले रोल्पाको होलेरी चौकीमा आक्रमण गरी ७२ सुरक्षाकर्मीको अपहरण गर्नुका साथै हातहतियारसमेत लुटेर लग्यो ।

प्रहरी परिचालनबाट माओवादी विद्रोह समाधान गर्न सक्ने अवस्था नभएकाले सेनासँग हारगुहार गर्नुबाहेक सरकारसँग विकल्प रहेन । प्रधानमन्त्री कोइरालाले अपहरणमा परेका प्रहरीको सकुशल उद्धार गरी हतियार फिर्ता गराउने जिम्मेवारी सेनालाई दिए । तर सेनाले निर्वाचित सरकारलाई असहयोग मात्र गरेन, माओवादी विद्रोहीमाथि कारबाही भइरहेको गलत सूचना दिइरह्यो । त्यही मौकामा राजाले प्रधानमन्त्री कोइरालालाई राजीनामा गर्न दबाब दिए ।

यसरी दरबार, राजा र सेनाको असहयोगका कारण कोइराला राजीनामा गर्न बाध्य बनाइए । यस प्रसंगमा कोइरालाले भनेका थिए– ‘मैले धेरै पछि मात्र थाहा पाएँ, सेनाले राजाको आदेशमा निर्वाचित सरकारलाई असहयोग गरेको रहेछ । राजाले निर्वाचित सरकारलाई असहयोग गरेको विषय मैले टुँडिखेलबाट सार्वजनिक गरिदिनुपर्थ्यो, त्यसो नगर्नु मेरो राजनीतिक जीवनको ठूलो भूल थियो ।’ त्यो घटनापछि कांग्रेसकै अर्का नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने ।

संसद् पुनःस्थापनामा अडान

प्रधानमन्त्री देउवाले २०५९ जेठ ८ गते मध्यराति राजासमक्ष संसद् विघटनको सिफारिस गरे । माओवादी विद्रोह उत्कर्षमा रहेकाले शान्ति सुरक्षाका कारण चुनाव सम्भव छैन भन्ने जानकारी हुँदाहुँदै राजाले तत्क्षण प्रधानमन्त्रीको सिफारिस सदर गरी मध्यावधि चुनावको मिति तोकिदिए । त्यसको केही समयपछि राजाले प्रधानमन्त्री देउवालाई चुनाव गराउन अक्षम रहेको आरोप लगाएर बर्खास्त गरे । अनि संविधानको गलत व्याख्या गर्दै धारा १२७ माथि टेकेर आफूखुसी सरकार बनाउने र विघटन गर्ने काम गरे ।

त्यही पृष्ठभूमिमा कोइरालाले विघटित संसद्को पुनःस्थापना हुनुपर्ने माग अघि सारे । त्यो प्रस्तावको चौतर्फी विरोध भयो । यस प्रसंगमा कोइरालाले यस पंक्तिकारसँग भनेका थिए– ‘मेरो कन्भिक्सन थियो कि मैले उठाएको मुद्दा नै प्रजातन्त्र जोगाउने एकमात्र विकल्प हो । संसद् पुनःस्थापना नगर्ने हो भने प्रजातन्त्र धेरै अवधिका लागि समाप्त हुनेछ भन्ने मेरो विश्वास थियो । पहिला २०१७ सालमा जननिर्वाचित सरकारलाई सैन्य बलको भरमा अपदस्थ गरी राजाले ३० वर्षसम्म पञ्चायती तानाशाही चलाए । अब फेरि ५० वर्ष लग्छन् भन्ने लागेको थियो मलाई । अनि जसरी भए पनि संसद् पुनःस्थापना गर्नुपर्छ भनेर म निरन्तर लागिरहें । एक दिन सबैले मेरो एजेन्डामा आउनैपर्छ भन्ने मेरो अन्तरआत्मालाई लागेको थियो ।’

Girija Prasad Koirala: Equally criticized and praisedएक पटक गर्छु भनेर आँटेको काम जसरी पनि पूरा गराएरै छाड्ने छवि बनाएका कोइरालाले विपक्षी दललाई समेटेर सडक आन्दोलन तताउँदै लगे । अन्तर्राष्ट्र्रिय समुदाय, विद्रोही माओवादीसँग संवाद बढाए । सबै दललाई संसद् पुनःस्थापनाको मुद्दामा सहमत गराए । अनि उमेरले आठ दशक नाघेका उनले २०६२/६३ को जनआन्दोलनको कमान्डरका हैसियतमा विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न राजालाई बाध्य पारे ।

राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना

नेपालमा अहिलेसम्म नौ वटा संसदीय निर्वाचन भए । तीमध्ये तीन वटा निर्वाचन गराउने कोइराला एक जना प्रधानमन्त्री हुन् । उनकै नेतृत्वमा २०५१ र २०५६ को संसदीय चुनाव र २०६४ मा पहिलो संविधानसभा निर्वाचन भएको थियो । नेपाली राजनीतिका विश्रामहीन राजनेता कोइराला उमेरले ८० नाघेका बेला २०६२/६३ को जनआन्दोलनको बलमा पाँचौं पटक मुलुकको प्रधानमन्त्री बने । कुनै समय चेन स्मोकर रहेका उनी पछिल्लो समय फोक्सोको समस्याका कारण हरहमेसा चिकित्सकको प्रत्यक्ष निगरानीमा अक्सिजन लिएरै बस्नुपर्ने अवस्थामा थिए । कतिसम्म भने राजासमक्ष प्रधानमन्त्रीको शपथ लिने बेलासमेत उनी निजी चिकित्सकका साथ नारायणहिटी राजदरबार पुगेका थिए ।

उमेरले ८० पार गर्दा पनि कोइरालाको इच्छाशक्ति, मनोबल र स्मरणशक्ति बेजोड थियो । जे बोल्यो, त्यही गर्ने र जस्तोसुकै संकट आइपर्दासमेत सामना गर्ने स्वभावका प्रधानमन्त्री कोइरालाले पुनःस्थापित प्रतिनिधिसभाबाट क्रमशः राजालाई अधिकारविहीन बनाउँदै संविधानसभामार्फत गणतन्त्रमा जाने मार्गचित्रका आधारमा मुलुकलाई सुविचारित रूपमा अघि बढाएका थिए ।

माओवादी विद्रोहीसँग हातेमालो गर्दै बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरी १० वर्ष लामो सशस्त्र विद्रोहबाट मुलुकलाई शान्तिमा रूपान्तरण गर्न अहम् भूमिका खेले । यही सफलताका कारण विगतमा भएका कैयौं गलत र अलोकप्रिय निर्णयबाट धमिलिएको उनको छवि मात्र पखालिएन, त्यो घटनाले कोइरालालाई राजनेता पनि बनाइदियो । संसदीय व्यवस्थाको अन्त्यका लागि हतियार उठाएका माओवादीलाई शान्ति प्रक्रियामार्फत पुनःसंसदीय व्यवस्थामा फर्काएर उनले लोकतन्त्रको शक्ति कति हुन्छ भन्ने उदाहरण स्थापित गरे ।

माओवादीसहितको अन्तरिम व्यवस्थापिका (संसद्) मार्फत अन्तरिम संविधान अनुमोदन गरी मुलुकलाई संविधानसभा निर्वाचन हुँदै गणतन्त्रतर्फको यात्रामा अग्रसर गराए । अनि आफ्नो पार्टीले नराम्रोसँग चुनाव हार्दै छ भन्ने थाहा हुँदाहुँदै संविधानसभा निर्वाचन गराए । माओवादी शीर्ष नेतृत्वलाई त्यतिबेलै उनले भनेका थिए– ‘मेरो पार्टी हारे पनि देश र जनताको जित हुन्छ । उमेर र स्वास्थ्यका कारण मसँग समय धेरै कम छ । म आफ्नै कार्यकालमा चुनाव गराउन चाहन्छु । यो चुनावअघि मरें भने मैले भूत भएर पनि चुनाव हेर्न आउनुपर्छ ।’

यसरी कोइरालाको नेतृत्वमा २०६४ चैत २८ गते संविधानसभाको ऐतिहासिक चुनाव भयो । उनले नआँटेको भए २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव थिएन । उनको सात दशक लामो राजनीतिक अनुभव र परिपक्व नेतृत्वका कारण नै शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र २०६५ जेठ २९ गते शान्तिपूर्ण रूपमा नारायणहिटी दरबारबाट बाहिरिए ।

जगत रत्नराज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभागका प्रमुखसमेत रहेका उपप्राध्यापक नेपाल राजनीतिक इतिहासका अध्येता पनि हुन् ।

Link copied successfully