गिरिजाप्रसाद कोइराला लोकतन्त्रप्रति अटल विश्वास भएका नेता थिए । प्रजातन्त्रका लागि उनले जीवनमा कहिल्यै कसैसाग सम्झौता गरेनन् । उनको कार्यकालमा जेजति गल्ती र कमजोरी भए– त्यसको मुख्य कारण उनको सत्ताकेन्द्रित राजनीति थियो ।
इतिहासकै शक्तिशाली जनमतसहित वालेन्द्र शाह प्रधानमन्त्री बनेको तीन साता पुगेको छ । प्रधानमन्त्रीका रूपमा उनको भूमिका कस्तो रहनेछ ? उनलाई इतिहासले कसरी सम्झिन्छ ? अहिल्यै आकलन गर्नु हतारो हुनेछ । नेपालको राजनीतिक इतिहासमा ४० जना प्रधानमन्त्री भइसकेका छन् । तीमध्ये कतिपयलाई निरन्तर सम्झना गरिन्छ । कतिपय भने गुमनाम जस्तै छन्, औपचारिक सन्दर्भभन्दा बाहेक चर्चा गरिँदैनन् । ‘कोसेली’ ले केही प्रधानमन्त्रीको कार्यकाल सम्झना गरेको छ । ‘कान्तिपुर’ को सम्पादकीय समूहले पदमा रहँदा निर्वाह गरेको भूमिका र सार्वजनिक विमर्शमा नाम आइरहने १२ पात्र छनोट गरेको छ । उनीहरूको पदावधिको चर्चा गर्दा नेपालको मूलभूत शासकीय प्रवृत्ति उजागर हुनेछ भन्ने हाम्रो विश्वास छ ।
What you should know
रेडियो नेपालको रिपोर्टर हुँदा (२०५५ देखि २०५९ सम्म) नेपाली कांग्रेस, संसद् र सरकारको बिट सम्हाल्ने मेरो जिम्मेवारी थियो । कांग्रेस सभापति र प्रधानमन्त्रीको हैसियतमा रहेका गिरिजाप्रसाद कोइराला अर्थात् गिरिजाबाबु राजनीतिको केन्द्रमा थिए । २०५९ चैत ७ गते कान्तिपुर टेलिभिजनमा प्रवेश गरेदेखि गिरिजाबाबुको मृत्यु (२०६७ चैत ७) सम्म पनि मेरो ‘बिट’ गिरिजाबाबु नै थियो ।
यस अर्थमा दुवै मिलाएर झन्डै १२ वर्ष मैले उनलाई नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएँ । २०६४ साल असारदेखि ६ महिनासम्म टेलिभिजनमा उनको जीवनीमा आधारित अन्तर्वार्ताको शृंखला चलाएँ । संविधानसभा निर्वाचन, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना हुँदै २०६७ चैत ७ गते निधन हुँदासम्म नेपाली राजनीतिक रंगमञ्चको केन्द्रमा उनी नै थिए र मैले त्यो कालखण्डको रिपोर्टिङ गर्ने अवसर पाएँ । मृत्युपश्चात् कोइराला नेपाली इतिहासकै सबैभन्दा बढी मलामी पाउने राजनेतामध्ये एक हुन् । उनको शवयात्राका दृश्य कान्तिपुर टेलिभिजनले हेलिकोप्टरबाट खिचेको थियो ।
नेपालको राजनीतिक इतिहासमा मिडियाले सबैभन्दा बढी आलोचना र प्रशंसा गरेका पात्र हुन् उनी । विराटनगर जुटमिलमा काम गर्दा २००३ सालमा मजदुर नेता हुँदै राजनीति सुरु गरेका कोइरालाले ६ पटक मुलुकको कार्यकारी प्रधानमन्त्री र राष्ट्र्र प्रमुखको समेत भूमिका निर्वाह गरे । २००७ सालको क्रान्ति, २०४६ र २०६२/६३ को जनआन्दोलन हुँदै राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनासम्मका सबै राजनीतिक परिवर्तनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे ।
राजनीतिक जग
राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा उनका पिता कृष्णप्रसाद कोइरालाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै भन्सारको ठेक्का पाएका थिए । तिनताका राणाहरूपछि देशकै धनी र सम्पन्नहरूमध्ये पर्थ्यो कोइराला परिवार । वि.सं. १९७४ मा प्रधानमन्त्री चन्द्रशमशेरले सर्वस्वहरणसहित कृष्णप्रसादलाई देश निकाला गरेपछि कोइराला परिवारले १२ वर्ष भारतमा प्रवासिनुपर्यो । त्यही बेला वि.सं. १९८१ मा भारतको सहर्षा जिल्लामा पर्ने दीपनगरको टेढीमा गिरिजाप्रसादको जन्म भयो । ती दिन बेलायती उपनिवेशमा रहेको भारत वर्षमा महात्मा गान्धीको नेतृत्वमा स्वतन्त्रता संग्राम चलिरहेको थियो । कृष्णप्रसाद गान्धीबाट प्रभावित थिए । भारतबाट अंग्रेज नफर्किएसम्म नेपालमा राणा शासनको अन्त्य सम्भव छैन भनेर उनले छोराहरूलाई राजनीतिमा आउन अभिप्रेरित गरे । चन्द्रशमशेरको मृत्युपछि नेपालको प्रधानमन्त्री बनेका भीमशमशेरले आममाफी दिई कृष्णप्रसादलाई स्वदेश फर्किने अनुमति दिए ।
कृष्णप्रसाद स्वदेश फर्किए पनि भारतमा पढ्दै गरेका छोराहरू मातृका र बीपी भारतीय स्वतन्त्रता संग्राममा सहभागी हुँदै गए । अंग्रेजहरू भारतबाट फर्किने निश्चित भएपछि राणा शासनको अन्त्य गर्ने उद्देश्यका साथ बीपीले नेपाली राष्ट्र्रिय कांग्रेस स्थापना गरे । अनि त्यही संस्थाले विराटनगरबाट मजदुरहरूको संगठित आन्दोलन सुरु गर्यो । त्यो आन्दोलनका नेता थिए, गिरिजाप्रसाद कोइराला ।
यसरी मजदुर हुँदै राजनीतिक यात्रा सुरु गरेका उनी २००७ सालको क्रान्तिमा पोलिटिकल कमिसारको हैसियतमा हतियार बोकेर क्रान्ति मोर्चामा खटिएका थिए । त्यो क्रान्तिले १ सय ४ वर्षे राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्यो । त्यसलगत्तै बनेको राणा–कांग्रेस संयुक्त सरकारमा उनका दाजु बीपी नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री बने । राणा र कांग्रेसबीचको किचलोका कारण संयुक्त सरकार पतन भयो र गिरिजाप्रसादका जेठा दाजु मातृकाप्रसाद प्रधानमन्त्री बने । यसरी २००७ सालदेखि नै गिरिजाप्रसादले नेपाली राज्यसत्तालाई नजिकबाट चिन्ने, जान्ने र बुझ्ने मौका पाए । २०१५ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत पाएपछि उनका माइला दाजु बीपी मुलुककै पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।
त्यो सरकारले १८ महिनाभन्दा बढी काम गर्न पाएन । तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद् भंग गरी निरंकुश पञ्चायती व्यवस्थाको सूत्रपात गरे । यो अवधिमा गिरिजा ७ वर्ष जेल परे । थुनामुक्त भएपछि भारत प्रवासबाट सशस्त्र क्रान्तिको नेतृत्व गरे । क्रान्तिका लागि रकम जुटाउन उनले तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाज अपहरण योजना सफल बनाउनेसम्मको अति साहसिक र दुस्साहसिक कामसमेत गरे ।
गिरिजाप्रसादकै भनाइमा सुरुका दिनमा दाजु बीपीलाई सफल बनाउनेबाहेक उनले आफू नेता बन्ने कल्पना र सपना देखेकै थिएनन् । तीन दशकभन्दा बढी समय लो–प्रोफाइलमा बसेर काम गरेका उनलाई आफ्नो जीवनको उत्तरार्द्धमा बीपीले पार्टीको महामन्त्री नियुक्त गरे । त्यसरी गिरिजाप्रसाद पार्टीभित्र गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि तेस्रो वरीयताका नेता हुन पुगे ।
संयोगवश प्रधानमन्त्री
२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत पाए पनि कार्यवाहक सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई काठमाडौं क्षेत्र नं १ मा पराजित हुन पुगे । त्यो चुनावमा सर्वोच्च नेता गणेशमान सिंहले उम्मेदवारी दिएकै थिएनन् । पंक्तिकारसँगको अन्तर्वार्तामा गिरिजाबाबुले भनेका थिए– ‘किसुनजी हार्नु हुन्छ भन्ने कुरा त मैले सपनामै चिताएको थिइनँ । त्यत्रो आन्दोलनको नेता, अन्तरिम सरकारका प्रधानमन्त्री हार्नु हुन्छ भनेर चिताउने कुरै थिएन । चुनावमा कांग्रेसकै बहुमत आउँछ र किसुनजी नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने थियो । म प्रधानमन्त्री बनुँला, यो गरौंला, ऊ गरौंला भन्ने कल्पनासम्म थिएन ।’ भट्टराईले चुनाव हारेका कारण संयोगले उनी प्रधानमन्त्री बने । यससँगै कृष्णप्रसाद कोइरालाका तीन छोरा प्रधानमन्त्री बनेको इतिहास कोरियो । संसारमै यस्तो घटना विरलै पाइन्छ ।
राजनीतिक आन्दोलनको लामो अनुभव भए पनि कोइरालामा शासन सञ्चालनको ज्ञान थिएन । तैपनि, देश र जनताका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । कोइरालाको पहिलो कार्यकाल (२०४८–२०५१) मा दूरगामी महत्त्वका धेरै काम भए । मुलुकको अर्थतन्त्रमा त्यसबेला जुन तहको सुधार भयो, त्यसयता कहिल्यै भएको छैन । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, बैंक तथा वित्तीयलगायत निजी क्षेत्रको विकासका लागि कोइराला नेतृत्वको पहिलो सरकारले आधारभूमि तयार पार्ने काम गर्यो । उनकै जोडबलले स्थानीय तहको निर्वाचन गरी गाउँसम्म प्रजातन्त्रको जरा विस्तार गर्ने काम भयो । यति हुँदाहुँदै पनि उच्च तहका कर्मचारीलाई हचुवाका भरमा हटाइनु र पार्टीभित्रको आन्तरिक कलहका कारण संसद् भंग गरी मुलुकलाई मध्यावधिमा लैजानु कोइरालाको राजनीतिक जीवनकै ठूलो भूल थियो ।
सत्ताकेन्द्रित राजनीति
गिरिजाप्रसाद कोइराला लोकतन्त्रप्रति अटल विश्वास भएका नेता थिए । प्रजातन्त्रका लागि उनले जीवनमा कहिल्यै कसैसँग सम्झौता गरेनन् । उनको कार्यकालमा जेजति गल्ती र कमजोरी भए– त्यसको मुख्य कारण थियो, उनको सत्ताकेन्द्रित राजनीति । सत्ता र शक्तिलाई केन्द्रमा राख्दा उनको कार्यकालमा भ्रष्टाचारले प्रश्रय पाएको, राजनीतिमा योग्यलाई पन्छाएर आफ्ना भक्तहरूलाई अवसर दिएको आरोप उनीमाथि निरन्तर लाग्यो । २०५१ मा आफैंले गराएको मध्यावधि चुनावमा कोइरालाको पार्टी नेपाली कांग्रेस पराजित भयो । जनताले कुनै पनि दललाई बहुमत दिएनन् । नेकपा एमाले संसद्को ठूलो दल बन्यो । अनि मनमोहन अधिकारी मुलुककै प्रथम कम्युनिस्ट प्रधानमन्त्री भए । अधिकारी नेतृत्वको सरकार नौ महिनामै ढल्यो । यसबीचमा शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द हुँदै सूर्यबहादुर थापा प्रधानमन्त्री बने । ६/६ महिनामा सरकार परिवर्तन भए । सांसदहरूलाई होटलमा थुन्ने, सुरासुन्दरी उपलब्ध गराउने, मन्त्रीहरूलाई विदेश शयर गराउने, सांसदहरूलाई भन्सार छुटमा पजेरो, प्राडोजस्ता महँगा गाडी दिने जस्ता क्रियाकलापले संसदीय व्यवस्था बदनाम हुन पुग्यो ।
यही वातावरणका बीच कोइराला दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । संसद्मा व्याप्त विकृति र विसंगति अन्त्य गर्ने र ताजा जनादेशमा जाने भनेर उनले संसद् भंग गरे । २०५६ को चुनावमा कोइरालाले पार्टीका नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे । कांग्रेसले सुविधाजनक बहुमत पायो, तर भट्टराई नेतृत्वमा सरकार बनेको नौ महिनामा उनलाई राजीनामा गर्न बाध्य बनाएर कोइराला चौथो कार्यकालका लागि प्रधानमन्त्री बने । त्यो घटना उनको राजनीतिक जीवनकै ठूलो भूल थियो । प्रधानमन्त्रीका रूपमा उनको यो कार्यकाल सर्वाधिक विवादास्पद रह्यो । तत्कालीन शाही नेपाल वायुसेवा निगमका लागि लाउडा कम्पनीको विमान भाडा लिँदा भएको भ्रष्टाचार प्रकरणमा उनीसमेत मुछिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहालवाला प्रधानमन्त्रीलाई सिंहदरबार छिर्न नदिने भन्दै विरोध कार्यक्रम चलायो र त्यही विषयलाई लिएर नेपालको संसदीय इतिहासमा पहिलो पटक संसद्को उन्नाइसौं अधिवेशन एउटा पनि बैठक बस्न नसकेर अन्त्य गर्नुपर्यो ।
राजा वीरेन्द्रको वंश नाश र नयाँ राजाको असहयोग
भट्टराईलाई पदच्युत गरी सत्ताको बागडोर हात पारे पनि कोइरालाका लागि त्यो कार्यकाल सर्वाधिक चुनौतीपूर्ण बन्यो । पार्टीभित्र उनको विरोधमा सशक्त समूह निर्माण भयो । विरोधीहरू झन् आक्रामक बने । त्यही मौकामा बन्दुकको नालबाट राज्यसत्ता कब्जा गर्ने भन्दै संसदीय व्यवस्थाविरुद्ध सशस्त्र विद्रोहमा गएको माओवादीले प्रहरीलाई हायलकायल बनाउने अभियान चलायो । देशको शान्ति सुरक्षा खलबलियो । सबै प्रहरी चौकी सदरमुकाममा सार्नु पर्यो ।
त्यही बेला २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भयो । त्यो संकटको घडीमा प्रधानमन्त्रीको हैसियतका कोइरालाले राजाका माइला भाइ ज्ञानेन्द्रलाई श्रीपेच लगाएर राजतन्त्रलाई निरन्तरता दिने बोल्ड निर्णय गराए ।
नयाँ राजाबाट साथ–सहयोग पाउने विश्वासमा थिए– कोइराला । ज्ञानेन्द्र गद्दीमा बसेको डेढ महिनापछिको कुरा हो, २०५८ असार २९ गते माओवादीले रोल्पाको होलेरी चौकीमा आक्रमण गरी ७२ सुरक्षाकर्मीको अपहरण गर्नुका साथै हातहतियारसमेत लुटेर लग्यो ।
प्रहरी परिचालनबाट माओवादी विद्रोह समाधान गर्न सक्ने अवस्था नभएकाले सेनासँग हारगुहार गर्नुबाहेक सरकारसँग विकल्प रहेन । प्रधानमन्त्री कोइरालाले अपहरणमा परेका प्रहरीको सकुशल उद्धार गरी हतियार फिर्ता गराउने जिम्मेवारी सेनालाई दिए । तर सेनाले निर्वाचित सरकारलाई असहयोग मात्र गरेन, माओवादी विद्रोहीमाथि कारबाही भइरहेको गलत सूचना दिइरह्यो । त्यही मौकामा राजाले प्रधानमन्त्री कोइरालालाई राजीनामा गर्न दबाब दिए ।
यसरी दरबार, राजा र सेनाको असहयोगका कारण कोइराला राजीनामा गर्न बाध्य बनाइए । यस प्रसंगमा कोइरालाले भनेका थिए– ‘मैले धेरै पछि मात्र थाहा पाएँ, सेनाले राजाको आदेशमा निर्वाचित सरकारलाई असहयोग गरेको रहेछ । राजाले निर्वाचित सरकारलाई असहयोग गरेको विषय मैले टुँडिखेलबाट सार्वजनिक गरिदिनुपर्थ्यो, त्यसो नगर्नु मेरो राजनीतिक जीवनको ठूलो भूल थियो ।’ त्यो घटनापछि कांग्रेसकै अर्का नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने ।
संसद् पुनःस्थापनामा अडान
प्रधानमन्त्री देउवाले २०५९ जेठ ८ गते मध्यराति राजासमक्ष संसद् विघटनको सिफारिस गरे । माओवादी विद्रोह उत्कर्षमा रहेकाले शान्ति सुरक्षाका कारण चुनाव सम्भव छैन भन्ने जानकारी हुँदाहुँदै राजाले तत्क्षण प्रधानमन्त्रीको सिफारिस सदर गरी मध्यावधि चुनावको मिति तोकिदिए । त्यसको केही समयपछि राजाले प्रधानमन्त्री देउवालाई चुनाव गराउन अक्षम रहेको आरोप लगाएर बर्खास्त गरे । अनि संविधानको गलत व्याख्या गर्दै धारा १२७ माथि टेकेर आफूखुसी सरकार बनाउने र विघटन गर्ने काम गरे ।
त्यही पृष्ठभूमिमा कोइरालाले विघटित संसद्को पुनःस्थापना हुनुपर्ने माग अघि सारे । त्यो प्रस्तावको चौतर्फी विरोध भयो । यस प्रसंगमा कोइरालाले यस पंक्तिकारसँग भनेका थिए– ‘मेरो कन्भिक्सन थियो कि मैले उठाएको मुद्दा नै प्रजातन्त्र जोगाउने एकमात्र विकल्प हो । संसद् पुनःस्थापना नगर्ने हो भने प्रजातन्त्र धेरै अवधिका लागि समाप्त हुनेछ भन्ने मेरो विश्वास थियो । पहिला २०१७ सालमा जननिर्वाचित सरकारलाई सैन्य बलको भरमा अपदस्थ गरी राजाले ३० वर्षसम्म पञ्चायती तानाशाही चलाए । अब फेरि ५० वर्ष लग्छन् भन्ने लागेको थियो मलाई । अनि जसरी भए पनि संसद् पुनःस्थापना गर्नुपर्छ भनेर म निरन्तर लागिरहें । एक दिन सबैले मेरो एजेन्डामा आउनैपर्छ भन्ने मेरो अन्तरआत्मालाई लागेको थियो ।’
एक पटक गर्छु भनेर आँटेको काम जसरी पनि पूरा गराएरै छाड्ने छवि बनाएका कोइरालाले विपक्षी दललाई समेटेर सडक आन्दोलन तताउँदै लगे । अन्तर्राष्ट्र्रिय समुदाय, विद्रोही माओवादीसँग संवाद बढाए । सबै दललाई संसद् पुनःस्थापनाको मुद्दामा सहमत गराए । अनि उमेरले आठ दशक नाघेका उनले २०६२/६३ को जनआन्दोलनको कमान्डरका हैसियतमा विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न राजालाई बाध्य पारे ।
राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना
नेपालमा अहिलेसम्म नौ वटा संसदीय निर्वाचन भए । तीमध्ये तीन वटा निर्वाचन गराउने कोइराला एक जना प्रधानमन्त्री हुन् । उनकै नेतृत्वमा २०५१ र २०५६ को संसदीय चुनाव र २०६४ मा पहिलो संविधानसभा निर्वाचन भएको थियो । नेपाली राजनीतिका विश्रामहीन राजनेता कोइराला उमेरले ८० नाघेका बेला २०६२/६३ को जनआन्दोलनको बलमा पाँचौं पटक मुलुकको प्रधानमन्त्री बने । कुनै समय चेन स्मोकर रहेका उनी पछिल्लो समय फोक्सोको समस्याका कारण हरहमेसा चिकित्सकको प्रत्यक्ष निगरानीमा अक्सिजन लिएरै बस्नुपर्ने अवस्थामा थिए । कतिसम्म भने राजासमक्ष प्रधानमन्त्रीको शपथ लिने बेलासमेत उनी निजी चिकित्सकका साथ नारायणहिटी राजदरबार पुगेका थिए ।
उमेरले ८० पार गर्दा पनि कोइरालाको इच्छाशक्ति, मनोबल र स्मरणशक्ति बेजोड थियो । जे बोल्यो, त्यही गर्ने र जस्तोसुकै संकट आइपर्दासमेत सामना गर्ने स्वभावका प्रधानमन्त्री कोइरालाले पुनःस्थापित प्रतिनिधिसभाबाट क्रमशः राजालाई अधिकारविहीन बनाउँदै संविधानसभामार्फत गणतन्त्रमा जाने मार्गचित्रका आधारमा मुलुकलाई सुविचारित रूपमा अघि बढाएका थिए ।
माओवादी विद्रोहीसँग हातेमालो गर्दै बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरी १० वर्ष लामो सशस्त्र विद्रोहबाट मुलुकलाई शान्तिमा रूपान्तरण गर्न अहम् भूमिका खेले । यही सफलताका कारण विगतमा भएका कैयौं गलत र अलोकप्रिय निर्णयबाट धमिलिएको उनको छवि मात्र पखालिएन, त्यो घटनाले कोइरालालाई राजनेता पनि बनाइदियो । संसदीय व्यवस्थाको अन्त्यका लागि हतियार उठाएका माओवादीलाई शान्ति प्रक्रियामार्फत पुनःसंसदीय व्यवस्थामा फर्काएर उनले लोकतन्त्रको शक्ति कति हुन्छ भन्ने उदाहरण स्थापित गरे ।
माओवादीसहितको अन्तरिम व्यवस्थापिका (संसद्) मार्फत अन्तरिम संविधान अनुमोदन गरी मुलुकलाई संविधानसभा निर्वाचन हुँदै गणतन्त्रतर्फको यात्रामा अग्रसर गराए । अनि आफ्नो पार्टीले नराम्रोसँग चुनाव हार्दै छ भन्ने थाहा हुँदाहुँदै संविधानसभा निर्वाचन गराए । माओवादी शीर्ष नेतृत्वलाई त्यतिबेलै उनले भनेका थिए– ‘मेरो पार्टी हारे पनि देश र जनताको जित हुन्छ । उमेर र स्वास्थ्यका कारण मसँग समय धेरै कम छ । म आफ्नै कार्यकालमा चुनाव गराउन चाहन्छु । यो चुनावअघि मरें भने मैले भूत भएर पनि चुनाव हेर्न आउनुपर्छ ।’
यसरी कोइरालाको नेतृत्वमा २०६४ चैत २८ गते संविधानसभाको ऐतिहासिक चुनाव भयो । उनले नआँटेको भए २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव थिएन । उनको सात दशक लामो राजनीतिक अनुभव र परिपक्व नेतृत्वका कारण नै शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र २०६५ जेठ २९ गते शान्तिपूर्ण रूपमा नारायणहिटी दरबारबाट बाहिरिए ।
