बलियो संगठन र सञ्जाल भएको एमालेलाई राजनीतिक अनि सामाजिक मनोविज्ञानमा कमजोर पार्टीका रूपमा ‘डिमोसन’ गराउने पात्र ओली नै हुन् ।
इतिहासकै शक्तिशाली जनमतसहित वालेन्द्र शाह प्रधानमन्त्री बनेको तीन साता पुगेको छ । प्रधानमन्त्रीका रूपमा उनको भूमिका कस्तो रहनेछ ? उनलाई इतिहासले कसरी सम्झिन्छ ? अहिल्यै आकलन गर्नु हतारो हुनेछ । नेपालको राजनीतिक इतिहासमा ४० जना प्रधानमन्त्री भइसकेका छन् । तीमध्ये कतिपयलाई निरन्तर सम्झना गरिन्छ । कतिपय भने गुमनाम जस्तै छन्, औपचारिक सन्दर्भभन्दा बाहेक चर्चा गरिँदैनन् । ‘कोसेली’ ले केही प्रधानमन्त्रीको कार्यकाल सम्झना गरेको छ । ‘कान्तिपुर’ को सम्पादकीय समूहले पदमा रहँदा निर्वाह गरेको भूमिका र सार्वजनिक विमर्शमा नाम आइरहने १२ पात्र छनोट गरेको छ । उनीहरूको पदावधिको चर्चा गर्दा नेपालको मूलभूत शासकीय प्रवृत्ति उजागर हुनेछ भन्ने हाम्रो विश्वास छ ।
What you should know
२०२८ को झापा आन्दोलनका कारण जेल पर्दा सायद केपी ओलीले सोचेका थिएनन्– म प्रधानमन्त्री बन्नेछु । ०८२ मा प्रधानमन्त्री छँदा पनि सायद सोचेका थिएनन्– राजीनामा दिई सेनाको हेलिकोप्टर चढेर भाग्नुपर्नेछ । वालेन्द्र शाहसँग चुनाव हार्नुअघि पनि सायद सोचेका थिएनन्– म पक्राउ पर्नेछु । असलमा ओलीको सिंगो जीवन नै अकल्पनीय यथार्थहरूको गठजोड हो । र, उनको जीवनचरित्रको असली रङ हो– अर्ध उज्यालो, अर्ध अँध्यारो !
२१ फागुनमा भएको निर्वाचनमा झापा–५ मा करिब ५० हजार मतान्तरले वालेन्द्र शाहसँग पराजित भएपछि ओलीको राजनीतिक प्रतिकूलताका दिन सुरु भए । ओली पाँच पटकसम्म निर्वाचित भएको क्षेत्र पुगेर शाह ६८ हजार ३४८ मत ल्याएर विजयी भएका थिए । ओलीका पक्षमा १८ हजार ७३४ मत मात्रै परेको थियो । २१ फागुनअघि सधैं रुखो सुनिँदै आएका ओलीले २३ फागुनमा शाहलाई बधाई दिए, ‘बालेन बाबु, विजयका लागि तपाईंलाई बधाईं । तपाईंको पाचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस् ।’
शाह तिनै नेता थिए, जसले २३ भदौमा राज्यपक्षको दमनलाई ‘आतंकवाद’ भनेका थिए र तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही गर्नुपर्ने अडान लिएका थिए । आफ्नो नेतृत्वमा १३ चैतमा सरकार बन्नेबित्तिकै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्ने प्रक्रिया अघि बढाए । गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरिसकेको थियो । शाहले पहिलो मन्त्रिपरिषद् बैठकबाटै त्यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरे ।
१४ चैतको बिहानै ओली र लेखक निवासबाट पक्राउ परे र सर्वोच्च अदालतको आदेशका कारण १४ दिनपछि उनीहरू छुटे । पक्राउ परे पनि स्वास्थ्यका कारण ओलीले प्रहरी कार्यालय बस्नु परेन, त्रिवि शिक्षण अस्पतालमा बसेर हिरासत अवधि कटाए । पछि त्यहीं पित्तथैलीको शल्यक्रिया गराए । उनले आफूलाई ‘१३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको’ बताए । तर अदालतले ‘उनको गिफ्तारीलाई गैरकानुनी भन्न नसकिने भए पनि बयान लगायतका कार्य पूरा भइसकेको भन्दै म्याद थपको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने, नचल्ने निर्णय गरी सोही अनुसार गर्न’ आदेश दिएको थियो ।
०००
संवत् ०२८ को झापा विद्रोहका संघर्षमय र कहालीलाग्दा ती श्यामश्वेत दिनहरू कस्ता थिए ? केपी शर्मा ओली कस्ता डरलाग्दा दुर्दिनबाट गुज्रिएका थिए ?
ओली, राधाकृष्ण मैनालीहरूको नेतृत्वमा ०२८ सालमा ‘झापा आन्दोलन संगठन कमिटी’ गठन भएपछि सरकारले तीव्र दमन सुरु गर्यो । राज्यसत्तासँग भयानक असन्तुष्ट युवाको त्यो कमिटीले १० वैशाख ०२८ मा ‘वर्ग शत्रु खत्तम गर्न गुरिल्ला संघर्ष’ चलाउने निर्णय गरेको थियो । त्यो आन्दोलनले नेपालको कम्युनिस्ट इतिहासमा बेग्लै र नयाँ अध्याय लेख्यो । झापामा उब्जेको त्यस विद्रोहको ध्येय थियो– देशभक्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता र जनजागरण ।
झापा विद्रोहका क्रममा धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानीको हत्या गरिएपछि धर्मप्रसादकी श्रीमती धर्मकुमारीले प्रहरीमा जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय झापाले ५० जनाभन्दा बढीलाई खुन–डाँका र कर्तव्य ज्यानको मुद्दा चलायो । मुद्दा किनारा लगाउन तत्कालीन सरकारले सर्वोच्च अदालतका न्यायाधीश त्रिलोकप्रताप राणा रहेको एक सदस्यीय विशेष अदालत गठन गरेको थियो ।
आरोपित र साक्षी रोहवरको बयान, प्रहरीको रिपोर्ट र अन्य स्थलगत बरामद प्रमाणका आधारमा राणाको इजलासले ११ चैत ०३० मा फैसला सुनायो । तत्कालीन सरकारले तत्कालीन विद्रोहीलाई झापामा भएका सबै घटनामा आरोपित बनाएर मुद्दा दायर गरिएको थियो । अदालतबाट सजाय सुनाइएका ४४ जनामध्ये ओली पनि एक थिए । उनलाई १० वर्ष कैद सजाय सुनाइएको थियो ।
रौतहटमा पक्राउ गरेपछि प्रहरीले ओलीलाई कर्तव्य ज्यान मुद्दासहित राजकाजसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसमा थप ६ वर्ष कैद सजाय भएको थियो । पक्राउपछि ओलीको चार वर्ष गोलघरमै बित्यो ।
०००
ओलीको ७४ वर्षे जीवन यात्रामा छ– संघर्ष र सफलता । ओलीले व्यक्तिगत त्यागको विशिष्ट भावनाबाटै राष्ट्रिय नेतृत्वसम्मको राजनीतिक यात्रा अघि बढाएका हुन् । ओली किशोरावस्थामै राजनीतिक आन्दोलनको आकर्षणमा परेका थिए । सायद सामाजिक न्याय, समानता, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई उनले निजी सपना बनाए । झापा आन्दोलनदेखि पञ्चायतविरोधी भूमिगत संघर्षसम्म उनको राजनीतिक जीवनको असाध्यै कठिनतम् मोड थियो– १४ वर्षे लामो कठोर जेल जीवन, यातना, एकान्तिकता र काराबास । जेल डायरीमा ओलीले भनेका छन्, ‘मैले पटक–पटक मृत्यु सामना गरें ।’ यस अवधिमा उनले देश र व्यवस्था परिवर्तनको सपनामै आफूलाई केन्द्रित गरे ।
०४६/४७ को जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनर्बहालीसँगै ओलीको जीवनको दोस्रो अध्याय सुरु हुन्छ । त्यो चरणमा उनी होमिएका हुन्, लोकतान्त्रिक प्रणालीको संस्थागत विकास, संविधान निर्माण, राष्ट्रिय स्वाधीनता र भूराजनीतिक सन्तुलनमा । उनी मन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री बने । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लगाए । भारतीय नाकाबन्दीविरुद्ध जुधे ।
०००
ओली असाध्यै वाक्पटु छन्, विपक्षीलाई भित्तामै पुर्याइदिन सक्छन् । ओलीको हरेक अभिव्यक्ति र रणनीतिमाथि समाजमा लामो समयदेखि बहस–विमर्श चलिरहेकै छ । त्यसैले कहिले उनी आक्रामक देखिन्छन्, कहिले आलोचक, कहिले सहज ।
ओलीको जीवन एक पाठशाला हो– संघर्ष र हठको । भूमिगत संघर्षले उनी राजनीतिमा खारिएका हुन् । विकास र समृद्धिमा उनले बहस नगरेका होइनन् । तर त्यसले कति मूर्तरूप पायो, त्यो अध्ययनकै विषय होला । उनको विकास र समृद्धिको नारा व्यवहारतः पालना गरिएको भए उनी सत्ताबाट किनारामा धकेलिने थिएनन् । कुनै बेला ‘आई लभ यु केपी बा’ भन्नेले नै जेन–जी विद्रोहमा उनीविरुद्ध नारा लगाउने थिएनन् ।
विकासका काम अलपत्र परेपछि, सत्ता, स्रोत र शक्तिको भागबन्डामै सरकार केन्द्रित भएपछि, जनतामाथिको प्राथमिकता बदलिएपछि नै ओलीविरुद्ध नारा नै लाग्न थालेको हो ।
०००
ओलीको जीवन किसान परिवारदेखि राष्ट्रिय नेतृत्वसम्मको यात्राको कथा पनि हो । तेह्रथुम आठराई इवा गाउँको एक किसान परिवारमा ११ फागुन २००८ मा जन्मिएका ओलीले बालापनमै आमा मधुमाया गुमाए । हजुरआमाको रेखदेखमा उनको बाल्यकाल बित्यो । ०२० मा तेह्रथुम छाडेर ओलीको परिवार झापा झर्यो । पछि बुबा मोहनप्रसादले एक विद्यालयको जग्गा ठेक्का लिएर खेती थाले । सुरुमा राम्रै थियो कमाइ, तर खेत खोलाले बगाएपछि परिवार झन्डै सुकुम्बासी बन्यो ।
ती दिनहरूको सम्झनामा ओलीले भनेका छन्, ‘म पढ्न स्कुल पनि गइरहेको थिएँ र काम पनि गरिरहेको थिएँ । म भारी बोक्नेबाहेक सबै काम गर्थें, मैले नसक्ने भनेको भारी बोक्ने काम मात्रै हो । खोलाले जमिन बगाएपछि हामीले अलिअलि जग्गा किन्न सुरु गर्यौं । स्कुलको जमिन ठेक्कामा कमाउँदा हाम्रो आर्थिक अवस्था धेरै सुदृढ थियो । त्यसबेला हामी धनी किसानको स्थितिमा थियौं । त्यसपछि हामी गरिब किसानको स्थितिमा र एक पटक सुकुम्बासीको स्थितिमा झर्नुपर्यो ।’
ओली परिवारको आर्थिक संकट र राजनीतिक सक्रियताबीचको द्वन्द्वमा च्यापिएका थिए । निरंकुश पञ्चायती व्यवस्थामा उनी बोल्न र संगठन बनाउन थाले । त्यसपछि इतिहासमा झापा विद्रोह भयो र उनी जेल परे । जेल पर्नुअघि नै तत्कालीन पार्टीबाट निष्कासित भएका ओलीले जेलभित्रै रहँदा ११ पुस ०३५ मा नेपाल कम्युनिस्ट पार्टी (माले) को संस्थापक सदस्यको भूमिका निभाए । ११ असार ०४४ मा जेलबाट रिहा भए र त्यही वर्ष २ पुसमा नेकपा (माले) केन्द्रीय कमिटी बैठकले उनलाई केन्द्रीय सदस्य र लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी दियो । ०४६ को जनआन्दोलनले पञ्चायत ढालेपछि १ जेठ ०४७ मा उनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बने । त्यसै वर्ष २२ पुसमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) को एकीकरण भई नेकपा (एमाले) बनेपछि उनी केन्द्रीय सदस्य चुनिए ।
ओली ०४८ को आमनिर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । तीन वर्षपछि मध्यावधि निर्वाचनमा पुनः विजयी भए । यसबीच पार्टीको पोलिटब्युरो सदस्य भए, विदेश विभाग, प्रचार विभाग र संसदीय विभागको नेतृत्व गरे ।
०५१ मा उनी पहिलो पटक गृहमन्त्री बने । ओली बेला–बेला दाबी गरिरहन्छन्– मनमोहन अधिकारीको नेतृत्वमा बनेको नेपालको पहिलो जननिर्वाचित कम्युनिस्ट सरकारमा मैले गृहमन्त्रीका रूपमा नयाँ मानक स्थापित गरें, सुरक्षा, प्रशासन र जनताको विश्वास जितें । त्यो समय एक पटक पनि गोली चलेन ।
०५२ मा बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि नेपालगन्जबाट फर्किंदा तत्कालीन प्रधानमन्त्री अधिकारीसहित ओली पनि हेलिकोप्टर दुर्घटनामा परे र संयोगले जोगिए । माघ ०५४ मा एमालेको छैटौं महाधिवेशनमा ओलीले प्रस्तुत गरेको ‘शक्ति सञ्चय’ कार्यनीति बहुमतले पारित भयो । महाधिवेशनले उनलाई स्थायी कमिटी सदस्य र विदेश विभाग प्रमुखको जिम्मेवारी दियो । ०५९ मा जनकपुरको सातौं महाधिवेशनमा ‘पार्टीको आन्तरिक लोकतन्त्र मजबुत बनाउन’ बहुपदीय प्रणालीको प्रस्ताव राखे उनले । महाधिवेशनले यसलाई अर्को महाधिवेशनसम्मका लागि स्थगित गरे पनि ०६५ को बुटवलको आठौं महाधिवेशनले पारित गर्यो । तर, ओली अध्यक्ष पदमा झलनाथ खनालसँग पराजित भए ।
०५६ मा झापा–६ बाट पुनः प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनी संसदीय दलको उपनेता बने । ०६२/६३ को जनआन्दोलनपछि उनी उपप्रधान तथा परराष्ट्रमन्त्री बने । ०६४ को संविधानसभा निर्वाचनमा झापा–७ मा पराजित भए । मंसिर ०७० को अर्को निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्य बनेपछि संसदीय दलको नेता भए ।
साउन २०७१ को नवौं एमाले महाधिवेशनमा पूर्वमहासचिव माधवकुमार नेपाललाई हराएर ओली पार्टी अध्यक्ष बने ।
भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएकै बेला २५ असोज ०७२ मा ओली प्रधानमन्त्री बनेका थिए । नाकाबन्दीका बेला भारतविरुद्ध राखेको दृढ अडानका कारण उनी लोकप्रिय भए । ओलीका समर्थक भन्छन्, ‘ओलीले बाह्य दबाबमा राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गरे ।’ ओलीको परराष्ट्र नीति थियो, ‘सबैसँग मित्रता, कसैसँग पनि शत्रुता छैन । हामी समानता, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा मित्रता खोज्छौं ।’
साउन ०७३ मा तत्कालीन माओवादी केन्द्रले अविश्वास प्रस्ताव राखेपछि ओलीले राजीनामा दिए । तर, ०७४ को निर्वाचनपछि उनी फेरि प्रधानमन्त्री बने । ओलीले त्यसबेला अनेकन योजना ल्याए, अनेकन सपना देखाए- चीन र भारत जोड्ने उत्तर–दक्षिण रेलमार्ग, पूर्व–पश्चिम रेलमार्ग, सुरुङमार्ग, राजमार्गहरूको विस्तार, मध्यपहाडी लोकमार्ग निर्माण, सुनकोशी–मरिन डाइभर्सनलगायत सिँचाइ आयोजना र फलाम खानीको निर्माण थालनी ।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको भू–भाग समेटेर तयार गरिएको नेपालको ‘चुच्चे नक्सा’ ७ जेठ ०७७ मा जारी गरियो । संसद्ले ३१ जेठ ०७७ मा संविधान संशोधन गरी निसान छाप पनि अद्यावधिक गर्यो । राष्ट्रिय नक्सा र सीमा अखण्डताको यो साहसिक कदम उनको राजनीतिक जीवनको सम्झिइने काम बन्यो । ओलीले यसबाट भव्य ‘राष्ट्रवादी छवि’ निर्माण गरे । र, सडकमा ‘आई लभ यू केपी बा’ को नारासमेत लाग्यो ।
वैशाख ०७६ मा चीनसँगको व्यापार तथा पारवहनसम्बन्धी प्रोटोकल कार्यान्वयनबारे सम्झौता भयो, यो ओलीको राजनीतिक ‘करिअर’ को अर्को मोड हो । नेपालको विदेश व्यापारमा भारततर्फ सीमित निर्भरता तोड्ने अर्को कदम थियो त्यो । त्यस सम्झौताबाट नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्ने अवसर पायो, नेपालका थप नाका खोल्ने बाटो खुला भयो ।
एमाले र तत्कालीन माओवादीबीच ३ जेठ ०७५ मा एकीकरण भएको थियो तर एकता तीन वर्ष पनि टिकेन । पार्टीमा दरार आएकै बेला वैशाख ०७८ मा ओली तेस्रो पटक प्रधानमन्त्री बने तर सर्वोच्च अदालतको फैसलापछि असारमा पदमुक्त भए । मंसिर ०७८ मा चितवनको दसौं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भए । र, ३० असार ०८१ मा चौथो पटक प्रधानमन्त्री बने । ओलीले बारबार दोहोर्याएका छन्, ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेका छौं । यो हाम्रो राष्ट्रिय आकांक्षा हो ।’
प्रधानमन्त्री छँदा ओलीले दुईपटक संसद् विघटन गरेका थिए- ५ पुस २०७७ र ७ जेठ २०७८ मा । सर्वोच्च अदालतले दुवैपटक बदर गरिदिएको थियो । यो विघटनलाई ओली-सनकको खास नमुना मानिन्छ ।
०००
जेन–जी विद्रोहपछि २७–२९ मंसिरमा भएको एमालेको एघारौं महाधिवेशनबाट ओली तेस्रो पटक नेतृत्वमा स्थापित भए, एमालेभित्रैको अर्को समूह (ईश्वर पोखरेल नेतृत्वको) ले नचाहँदा नचाहँदै पनि ।
जेन–जी विद्रोहपछि पनि ‘पुराना नेता फेर्ने’ खास बुँदालाई ख्याल नगरी एमालेको ठूलो पंक्तिले भनिरह्यो– देशलाई संकटबाट पार लगाउने एकैमात्रै नेता ओली हुन् । र, ओलीका कार्यकर्तालाई लागिरह्यो- ओलीकै सक्रियताले पार्टीले फेरि लय समात्नेछ ।
ओलीको ‘अहंकारी र आत्मकेन्द्रित’ शैलीका कारण उनको राजनीतिक साख लगभग माटोमै मिल्यो र सँगै एमाले राजनीतिक रूपमा चरम रक्षात्मक अवस्थामा धकेलियो भन्नेहरू प्रशस्तै छन् । एक दशकदेखि ओली नै छन् एमालेको मुख्य नेतृत्वमा । यसबीच पार्टीका तर्फबाट सरकारको नेतृत्व पनि उनैले गरे । त्यस हिसाबले सरकारमा गएर गर्न नसकेको कमजोर ‘पर्फर्मेन्स’ को दोषी पनि उनै हुन् । बलियो संगठन र सञ्जाल भएको एमालेलाई राजनीतिक अनि सामाजिक मनोविज्ञानमा कमजोर पार्टीका रूपमा ‘डिमोसन’ गराउने पात्र पनि ओली नै हुन् ।
आफ्नै पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप उनलाई लाग्छ । लोकतन्त्रको चरमोत्कर्ष हो– फरक मत । तर, भनिन्छ– ओलीले पार्टीभित्रको लोकतन्त्र र फरक मत ध्वस्तै पारे । र, बागी प्रश्नलाई पार्टीमा टिक्नै दिएनन् ।
