सामान्य परिवारमा जन्मिनुभएका कृष्णप्रसाद भट्टराई सही अर्थमा ‘सर्वहारा’ नेता हुनुहुन्थ्यो । कुलीन मिथ्याविरुद्ध सामान्य नेपालीको आत्मसम्मानका लागि निरन्तर संघर्षमय जीवन बिताउनुभयो उहाँले ।
इतिहासकै शक्तिशाली जनमतसहित वालेन्द्र शाह प्रधानमन्त्री बनेको तीन साता पुगेको छ । प्रधानमन्त्रीका रूपमा उनको भूमिका कस्तो रहनेछ ? उनलाई इतिहासले कसरी सम्झिन्छ ? अहिल्यै आकलन गर्नु हतारो हुनेछ । नेपालको राजनीतिक इतिहासमा ४० जना प्रधानमन्त्री भइसकेका छन् । तीमध्ये कतिपयलाई निरन्तर सम्झना गरिन्छ । कतिपय भने गुमनाम जस्तै छन्, औपचारिक सन्दर्भभन्दा बाहेक चर्चा गरिँदैनन् । ‘कोसेली’ ले केही प्रधानमन्त्रीको कार्यकाल सम्झना गरेको छ । ‘कान्तिपुर’ को सम्पादकीय समूहले पदमा रहँदा निर्वाह गरेको भूमिका र सार्वजनिक विमर्शमा नाम आइरहने १२ पात्र छनोट गरेको छ । उनीहरूको पदावधिको चर्चा गर्दा नेपालको मूलभूत शासकीय प्रवृत्ति उजागर हुनेछ भन्ने हाम्रो विश्वास छ ।
What you should know
‘किसुनजी’– यति मात्रै भने पुग्छ । नेपाली सिमानाभित्रको बृहत्तर सामाजिक, आर्थिक तथा राजनीतिक समाजमा ‘कृष्णप्रसाद भट्टराई’ भनिरहनु पर्दैन । कांग्रेस र अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताबीच उहाँ किसुनजीकै नामले परिचित रहनुभयो । आत्माको पवित्रता र चरित्रमा उल्लास, उहाँको व्यक्तित्वको विशिष्ट पहिचान थियो । उहाँको राजनीतिक र सामाजिक व्यक्तित्व जटिल थिएन । उहाँ आध्यात्मिक हुनुहुन्थ्यो । तर, सधैं धर्मका नाममा हुने पाखण्ड र आडम्बरका विरोधमा उभिनुभयो । उहाँको प्रत्येक दिन गीता पाठबाट सुरु हुन्थ्यो ।
किसुनजी पत्रकार पनि हुनुहुन्थ्यो । नेपाल पत्रकार संघको पहिलो सभापति । पत्रकारका रूपमा सोभियत रुसको भ्रमणमा गएको समयमा उहाँले त्यहाँका प्रभावशाली नेता निकिता ख्रुश्चेवसँग अन्तर्वार्ता गर्नुभएको थियो । युवावस्थामा उहाँ बनारसबाट प्रकाशित हुने ‘युगवाणी’ पत्रिकासँग आबद्ध हुनुहुन्थ्यो । त्यतिबेला अन्य कतिपय पत्रपत्रिकामा उहाँका विचारोत्तेजक रचनाहरू प्रकाशित भएका छन् ।
एक हिसाबले किसुनजी ‘हठयोगी’ हुनुहुन्थ्यो । राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रधानमन्त्री बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र नेपाली कांग्रेसका महत्त्वपूर्ण नेताहरूलाई गिरफ्तार गरेर सुन्दरीजल कारागारमा थुनेका थिए । उनको यो कदमको अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो । राजा महेन्द्रले २०२५ सालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब थेग्न नसकेपछि बीपी कोइराला र उहाँका साथीहरूलाई रिहा गरेका थिए । रिहाइका लागि एउटा कागजमा हस्ताक्षर गराइएको थियो । बीपीले त्यसलाई ज्यादै ठूलो विषय बनाउनु भएन । तर, कृष्णप्रसाद भट्टराईका लागि भने यो अहम् विषय थियो । राजाले बिना कुनै आरोप आफूलाई थुनेकाले कुनै पनि कागजमा सही गरेर कारागारबाट मुक्त हुन उहाँले इन्कार गर्नुभयो । त्यसपछि उहाँलाई सुन्दरीजलबाट नक्खु कारागारमा लगियो । पछि, उहाँलाई त्यहींबाट रिहा गरियो ।
उहाँको कुनै घर थिएन । सम्पत्ति थिएन । कारागारमुक्त भएपछि उहाँ आफ्ना भान्जाको कुपन्डोल हाइटमा रहेको घरमा बस्न थाल्नुभयो । त्यहींबाट उहाँ नेपाली कांग्रेसको पुनःसंरचनामा लाग्नुभयो । समयले बिस्तारै कोल्टो फेर्न थाल्यो । कारागारबाट मुक्त भएपछि बीपी र गणेशमान निर्वासनमा जानुभयो । बीपीले त्यहींबाट प्रजातन्त्र स्थापनाका लागि सशस्त्र संघर्ष सुरु गर्नुभयो । किसुनजी हिंसात्मक संघर्षको विपक्षमा हुनुहुन्थ्यो । उहाँले प्रजातन्त्र पुनःस्थापनाका लागि देशभित्रै बसेर साथीहरूलाई समेट्ने र अहिंसात्मक आन्दोलनका लागि संगठित गर्ने काम सुरु गर्नुभयो ।
हिंसात्मक आन्दोलनबाट परिवर्तन सम्भव नभएको निष्कर्ष निकाल्दै बीपी र गणेशमान २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किनुभयो । स्वदेश फर्किनुअघि बीपीले पटना सहरमा कांग्रेसका नेता र कार्यकर्ताहरूको सम्मेलनको आयोजना गर्नुभएको थियो । त्यही सम्मेलनमा बीपीले नेपाली कांग्रेसको सभापतिका हैसियतले किसुनजीलाई कार्यवाहक सभापति बनाउनुभयो । बीपीको स्वदेश आगमनपछि देशको राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तनको दिशामा अघि बढ्न थाल्यो ।
राष्ट्रिय एकता र मेलमिलाप–२०३३ देखि राष्ट्रिय जनआन्दोलन–२०४६ सम्म, तेह्र वर्षको अवधिमा नेपाली राजनीतिक जीवनमा व्यापक परिवर्तन आयो । जनमत संग्रह–२०३६ बाट घुम्न सुरु भएको नेपाली राजनीतिक समय–चक्रको वेग राष्ट्रिय जनआन्दोलन–२०४६ मा थामियो । देश संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको राजमार्गतिर लाग्यो ।
यसपछि सुरु भयो किसुनजीको नयाँ यात्रा । राजाको सक्रिय नेतृत्वबाट जनताले चाहेको बहुदलीय प्रजातन्त्रतिरको यो यात्राका क्रममा किसुनजी अन्तरिम सरकारका प्रधानमन्त्री बन्नुभयो । उहाँको नेतृत्वमा बनेको सर्वदलीय सरकारले देशमा बृहत्तर शान्ति स्थापना गर्यो । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको कुशल सञ्चालनका लागि अनुकूल संविधान बनायो । संसद्का लागि चुनाव गरायो । तर, चुनावमा त्यो समयका प्रभावशाली र लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद पराजित हुनुभयो ।
राजा वीरेन्द्रले नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई २०४७ वैशाख ६ गते अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए । उहाँ २०४८ जेठ १२ गतेसम्म पदमा रहनुभयो । अन्तरिम प्रधानमन्त्रीका रूपमा उहाँले राजनीतिक समस्याहरूको सहज समाधान गर्नुभएको थियो । नयाँ लेखिन लागेको संविधानमा ‘राजाको राजकीय अधिकार कटौती नगर्न’ दबाब दिन तत्कालीन नेपाली सेनाका डेढ दर्जनजति प्रभावशाली जर्नेलहरू उहाँको कार्यकक्षमा पुगेका थिए । उहाँले ती जर्नेलहरूलाई ‘महाराजाधिराजसँग मेरो कुरा भइसकेको छ’ भनेर जवाफ दिँदै फर्काइदिनुभयो ।
यो अन्तरिमकालमा म नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्य थिएँ । प्रधानमन्त्री भट्टराईसँग सम्बन्धित समाचारहरू प्रसारणभन्दा पहिले हेर्ने जिम्मा मलाई दिइएको थियो । कांग्रेसका बौद्धिक नेता मनमोहन भट्टराई सञ्चार मन्त्रालयको सल्लाहकार नियुक्त भएका थिए ।
दोस्रो पटक किसुनजी संसदीय चुनाव जितेर, जनप्रतिनिधिका रूपमा २०५६ जेठ १७ गते प्रधानमन्त्री बन्नु भयो । नेपाली कांग्रेसको संसदीय चुनाव अभियान उहाँकै नेतृत्वमा चलेको थियो । चुनावमा नेपाली कांग्रेसले स्पष्ट बहुमत ल्याएको थियो । नेपाली कांग्रेसले उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो । प्रधानमन्त्री बनेको एक सातापछि किसुनजीले मलाई फोन गरेर आफ्नो कार्यालयमा बोलाउनुभयो । भेटमा उहाँले मलाई आफ्नो प्रेस सल्लाहकार नियुक्त गरेको पत्र दिनुभयो । त्यो पदमा पुग्न धेरै प्रभावशाली व्यक्तिहरू जमजमाएका थिए । उनीहरू किसुनजीलाई प्रभावित गर्न विभिन्न सूत्रहरूको प्रयोग गर्दै थिए । तर, किसुनजी कुनै प्रभाव र लालचमा पर्ने व्यक्तित्व हुनुहुन्थेन ।
किसुनजीको शासन अपेक्षाकृत ‘शुद्ध’ थियो । मन्त्रीहरू कमिसन र घूस लिन डराउँथे । सिंहदरबार परिसरमा कमिसनखोर र बिचौलियाहरूको आवागमन र चहलपहल रोकिएको थियो । आर्थिक कारोबारमा लिप्त कांग्रेसका केही नेताहरूका लागि यो अवस्था असहनीय थियो । पार्टीका केही जिम्मेवार नेताहरू भट्टराई सरकारका विरुद्ध एक भएर ‘सिंहदरबारमा मुर्दाशान्ति छाएको’ भाषण गर्न थालेका थिए ।
देशमा माओवादी ‘जनयुद्ध’ चर्किइरहेको थियो । किसुनजी यसको समाधानको प्रयासमा हुनुहुन्थ्यो । उहाँलाई ‘जनयुद्ध’ कसको बलमा चलेको छ भन्ने कुराको ज्ञान थियो । उहाँका केही प्रभावशाली युरोपेली मित्रहरू नेपालमा ‘जनयुद्ध’ अन्त्य गराउन विचार–विमर्शमा थिए । यही क्रममा उहाँलाई फ्रान्स भ्रमणको निम्तो आयो । तर, नेपाली कांग्रेस पार्टीपंक्तिका केही व्यक्तिहरू उहाँको फ्रान्स भ्रमणका विरुद्ध लागे । पार्टीभित्र र बाहिरका निहित स्वार्थीहरू भन्न थाले, ‘किसुनजी अन्त जहाँ गए पनि हामीलाई आपत्ति छैन । उहाँ फ्रान्सबाहेक जहाँ गए पनि हुन्छ ।’ यो अचम्मलाग्दो तर्क थियो ।
किसुनजी पार्थिव रूपले नरहनुभएको यो अवधिमा नेपाली समाजमा ठूलो उथलपुथल भइसकेको छ । जनताले देश द्रुततर गतिमा ओरालो लाग्दै गरेको अनूभूत गरेका छन् । देशप्रति समर्पित सामान्य नेपाली जनताको मनमा किसुनजीको सम्झना बाक्लिएको छ : उहाँ नेपाली जनताको ‘आफ्नो मानिस’ हुनुहुन्थ्यो । देशमा लोकतान्त्रिक शासन स्थापनाका लागि उहाँले गर्नुभएको लामो र कष्टपूर्ण संघर्षको सम्झना अविस्मरणीय छ ।
वर्तमान राजनीतिक परिवेश र समकालीन समाज न त किसुनजीको चाहना अनुरूप रहेको छ, न त उहाँको अनुपस्थिति कसैलाई खटकिएको छ । अहिलेको अवस्थामा गणतन्त्र नेपालका पिता गिरिजाप्रसाद कोइराला नै विस्मृतिको गर्भमा धकेलिइसक्नुभएको छ । राजनीतिको ‘धन्दा’ मा लागेकाहरूले यतिबेला किसुनजीलाई सम्झिनुपर्ने कुनै कारण पनि छैन । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाअन्तर्गत भएको अन्तिम संसदीय चुनावको नेतृत्व गरेर कांग्रेसलाई बहुमतले जिताउने नेताप्रति कांग्रेसले गरेको व्यवहारको सम्झना गर्नेबेला पनि यो होइन ।
किसुनजी ठट्टा गर्नुहुन्थ्यो । आफ्नो पीडालाई ठट्टामा अनुवाद गर्ने कौशल थियो उहाँमा । उहाँको शैली जीवन्त थियो । उहाँले गर्नुहुने ठट्टाका विरुद्ध छापागिरी हुने गर्दथ्यो । उहाँका राजनीतिकविरोधीहरू उहाँको व्यक्तित्वको सान्दर्भिकता समाप्त भइसकेको हल्ला गर्थे र रमाउँथे ।
पछिल्लो समय आत्मकेन्द्रित र संवेदनहीन राजनीतिबाट पन्छिएर बस्नुभएको थियो किसुनजी । सत्ता र शक्तिको दौडमा लागेका जो पनि उहाँलाई भेट्न पुग्थे, ती सबैलाई निस्पृह भावले सान्त्वना दिनुहुन्थ्यो । उहाँ जे हुनुहुन्थ्यो, त्यही देखिनुहुन्थ्यो । आफ्नो निर्णायक क्षमतामा कहिल्यै कुनै चुक आउन दिनुभएन किसुनजीले ।
वर्तमानमा नेपाली राजनीतिका मापदण्डहरू बदलिएका छन् । तर, किसुनजीले मानवीय स्वतन्त्रताका लागि, नेपाली जनताको अधिकारको स्थापनाका लागि र नेपाली जनताको आत्मसम्मानका लागि सतत् संघर्ष गर्नुभयो । ‘नेपाली जनताले स्वतन्त्रताको सीमा नाघेर स्वच्छन्दताको हदैसम्म आफ्नो अधिकारको उपभोग गर्न पाउनुपर्दछ’ भन्ने मान्यतामा उहाँ जीवनभरि दृढ रहनुभयो । राजनीतिक ध्रुवमा कहिल्यै दक्षिणपन्थी रुझान राख्नुभएन किसुनजीले । उहाँ न कसैसँग दच्किनुभयो, न डराउनुभयो । २०४७ सालको संविधानमा ‘देशमाथि नेपाली जनताको सर्वोपरिता’ कायम राख्न किसुनजीले ठूलो संघर्ष गर्नुपरेको थियो । राजतन्त्र समाप्त भइसकेको अहिलेको अवस्थामा नेपाली सेनासँग ‘विसंगत’ सम्बन्धमा फसेका राजनीतिक दलका नेताहरूका लागि किसुनजीको सम्झना सान्दर्भिक हुनेछ ।
नेपाली समाजको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमा विचार र चिन्तनको खडेरी लागेको छ । रित्तो गाग्रो धेरै छचल्किन्छ भन्ने उखानलाई नेताहरूले सावित गरिसकेका छन् । उनीहरू न इतिहासबाट सिक्न चाहन्छन्, न वर्तमानलाई केलाउन सक्छन् । राजनीति गर्नेहरूलाई राज्यशक्तिको दोहन गर्ने असीमित लोभले गाँजेको छ । किसुनजी भन्ने गर्नुहुन्थ्यो, ‘चप्पल लाउनेले जुत्ता लाउन पाउनुपर्दछ ।’ तर, एउटै गोडामा तीन जोर जुत्ता लाउनु निश्चय पनि अस्वाभाविक आचरण हो ।
किसुनजी नेपाली समयको सतत् चेतना हुनुहुन्थ्यो । समयको प्रवाहका विपरीत चलेर पनि समयलाई नियन्त्रणमा राख्नुभएको थियो उहाँले । अनुभव र अध्ययनले खारिएका व्यक्तिले मात्र विवेकसम्मत् काम गरेर समयलाई आफ्नो नियन्त्रणमा राख्न सक्दछ । राजनीतिक हिसाबले किसुनजी सफल–असफल के हुनुभयो ? यसको चिन्ता गरिरहनुपर्दैन ।
एउटा सामान्य परिवारमा जन्मिनुभएका किसुनजी सही अर्थमा ‘सर्वहारा’ नेता हुनुहुन्थ्यो । कुलीन मिथ्याविरुद्ध सामान्य नेपालीको आत्मसम्मानका लागि निरन्तर संघर्षमय जीवन बिताउनुभयो उहाँले । ‘सन्त’ का रूपमा नेपाली जनताले सम्मान गरेका किसुनजी अहिले पनि मसँग ठट्टा गरिरहनुभएको छ जस्तो लाग्छ, ‘बागमतीको पानीमा सबैको बुद्धि भ्रष्ट गर्ने ताकत छ बाबु !’
