सुदूरपश्चिम डडेलधुराबाट सुरु भएको सरस्वती (३२) को दौड हाल अन्तर्राष्ट्रिय मञ्चसम्म फैलिएको छ । मध्यम दूरीमा देशको प्रतिनिधित्व गरिरहेकी उनले थाइल्यान्ड ओपन च्याम्पियनसिपमा ८ सय र १५ सय मिटरमा रजत पदक जितिन् भने रियो ओलम्पिकमा सहभागिता जनाउँदै १५ सय मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान (४ः३३.९४) बनाइन् । यसअघि १९९० को एसियन गेममा राजकुमारी पाण्डेका नाममा उक्त कीर्तिमान थियो ।
What you should know
काठमाडौँ — २०६६ को राष्ट्रपति रनिङ सिल्डका लागि देशभरको खेलाडीको तयारी थियो । काठमाडौंमा आयोजना हुने खेलमा खेलाडीहरू जिल्ला, क्षेत्रीय हुँदै केन्द्रसम्मको प्रतिस्पर्धामा आउनुपर्यो । डडेलधुराको अमरगढी उच्च माविको ७ कक्षामा पढ्दै गरेकी सरस्वती भट्टराईलाई विद्यालयमै तयारी गराएर अगाडि बढाउने योजना बन्यो । तर शिक्षक तारा अवस्थीले दौडका लागि आफ्नो नाम राखिदिएको सरस्वतीलाई नै थाहा थिएन । उनलाई दौड के हो ? कसरी खेल्ने ? कसरी प्रतिस्पर्धा गर्ने पनि थाहा थिएन । तैपनि उनले विद्यालयको प्रतिस्पर्धामा प्रथम भइन् ।
त्यसपछि उनको प्रथम हुने क्रम रोकिएन । जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रपति रनिङ सिल्डमा पनि उनले स्वर्ण जितिन् । पहिलो स्वर्ण जित्दा खाली खुट्टा कुदेर जितेकी थिइन् । उक्त क्षण सम्झँदै उनी भन्छिन्, ‘जुत्ता त प्रदेशले दिएको थियो तर त्यो जुत्ता लगाएर कुद्न सजिलो भएन अनि खाली खुट्टै कुदेको थिएँ ।’ राष्ट्रपति रनिङ सिल्ड जितेर फर्कंदा उनलाई स्वागत गर्नेको भीड थियो । बाजागाजासहितको टोलीले सम्मान गरेको थियो । भन्छिन्, ‘दौडनै नआउने मलाई काठमाडौं आएर मेडल जितेर जानु सानो कुरा थिएन, त्यसमा पनि पाएको सम्मान कहिल्यै पनि बिर्सन्नँ ।’ उनी दौडलाई निरन्तरता दिन चाहन्थिन् । तर न अभ्यास स्थल थियो, न त कुनै प्रशिक्षक नै, करिब ४ वर्षदेखिको सपना झन्डै हराइसकेको थियो ।
सुदूरपश्चिम डडेलधुराबाट सुरु भएको उनको दौड आज अन्तर्राष्ट्रिय मञ्चसम्म फैलिएको छ । उनले मध्यम दूरीमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । एथलेटिक्स खेल आफैंमा एउटा यस्तो खेल हो, जहाँ शरीर र मन दुवैको सन्तुलन अत्यन्तै महत्त्वपूर्ण हुन्छ । ८००, १५०० मिटर जस्ता ‘मिडल–डिस्टेन्स’ दौडहरूमा गति मात्र नभई सहनशीलता, रणनीति र समय व्यवस्थापन पनि उत्तिकै सन्तुलित रूपमा प्रयोग गर्नुपर्ने उनी बताउँछिन् । ‘खेलाडीले दौडिएको मात्र देखिन्छ तर त्यसमा सुरुवात कति तीव्र गर्ने, बीचमा कति ऊर्जा बचाउने र अन्तिम क्षणमा कसरी स्प्रिन्ट गर्ने, यी सबै कुरा मिलाएर मात्र सफल हुन सकिन्छ,’ सरस्वती आफू दौडने मात्र नभई सोचेर योजना बनाएरै दौडने खेलाडीका रूपमा अगााडि बढेको बताउँछिन् ।
२०७० मा नेपाली सेनामा भर्ना हुनुको कारण पनि खेलाडी बन्नु नै थियो उनका लागि । सेनामा जागिर खानुको कारण बताउँदै भनिन्, ‘सेनामा जागिर पनि हुन्छ, खेल्न पनि पाइन्छ भनेर आवेदन दिएको थिएँ ।’ फेल भएमा गाउँकाले गिज्याउने डरले गुपचुप आवेदन दिएकी थिइन् । ‘पास भइएला/नभइएला भन्ने डर थियो, पास हुन्छु भन्ने विश्वास नै थिएन तर भएँ ।’ त्यसपछि तालिममा सहभागी भइन् । त्यतिबेला उनको पहिचान अनुशासित र मिहिनेती प्रशिक्षार्थीको रूपमा थियो । त्रिशूलीमा भएको सेनाको तालिम चुनौतीपूर्ण थियो ।
बिहानैदेखि सुरु हुने अभ्यास, नियमको कडाइ, मानसिक दबाब– यी सबैले उनलाई थकाउँथ्यो तर तोड्न सकेन । गाउँमा उकालो–ओरालो गर्दै हुर्किएकी उनी शारीरिक रूपमा बलियो भएकै कारणले सहज भएको मान्छिन् । ‘घाँस–दाउरा भारी बोकेको मान्छे भएकैले कठिन तालिम पनि सजिलै कटाएँ जस्तो लाग्छ, एक वर्षको तालिमपश्चात् अरू साथीहरू क्याम्पमा गए, म भने त्रिभुवन आर्मी क्लबमा भर्ना भएँ, यहींबाट नै मैले खेलकुदलाई अगाडि बढाउने सोच बनाएँ,’ आर्मी क्लबमा प्रवेश पाएपछि उनको खेल जीवनलाई अगाडि बढाउने प्रेरणा र हौसला मिल्दै गयो ।
राष्ट्रिय प्रतियोगिता
सरस्वतीले राष्ट्रियस्तरमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । ३९ औं राष्ट्रिय च्याम्पियनसिपमा ८ सय मिटर २ मिनेट २० सेकेन्डमा र १५ सय मिटर ४ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै दुवैमा स्वर्ण पदक जितिन् भने ४ सय मिटर रिलेमा उनको टोलीले दोस्रो स्थान हासिल गरेको थियो । सातौं राष्ट्रिय खेलकुदमा उनले झन् उत्कृष्ट प्रदर्शन गर्दै ८ सय मिटर (२ः१६) र १५ सय मिटर (४ः४२) मा स्वर्ण जितिन् । साथै ४ सय मिटर रिलेमा पनि स्वर्ण जित्दै टोलीलाई सफलता दिलाइन् । त्यसैगरी ५ हजार मिटर ओपन रोड रेस १८ मिनेट ५ सेकेन्डमा पूरा गर्दै उनले आफूलाई प्रमाणित गरिन् । आठौं राष्ट्रिय खेलकुदमा पनि सरस्वतीले लय कायम राख्दै ८ सय मिटर (२ः१५) र १५ सय मिटर (४ः३८) मा स्वर्ण जितिन् ।
नवौं राष्ट्रिय खेलकुदमा भने उनले कडा प्रतिस्पर्धाको सामना गरिन् । राम्रो समय निकाल्दा निकाल्दै पनि ८ सय र १५ सय मिटरमा दोस्रो स्थानमा सीमित भइन् । त्यो उनको पहिलो हार बन्यो । भन्छिन्, ‘पहिलोपल्ट दोस्रो हुँदा धेरै दुःख लागेको थियो, म जित्छु भन्ने आत्मविश्वास त थियो तर नसक्दा धेरै नराम्रो लागेको थियो ।’ तर ४ सय मिटरमा भने स्वर्ण जितिन् । त्यसपछि राष्ट्रिय च्याम्पियनसिपमा पनि पुनरागमन गर्दै ८ सय मिटर र १५ सय मिटरमा स्वर्ण जितिन् । राष्ट्रिय खेलाडीको राम्रो प्रतिस्पर्धाको छवि बनाएकी उनी अन्तर्राष्ट्रिय खेलहरूमा पनि उत्तिकै अब्बल खेलाडीका रूपमा परिचित भइन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिता
अन्तर्राष्ट्रियस्तरमा सरस्वतीको यात्रा झन् रोमाञ्चक रह्यो । थाइल्यान्ड ओपन च्याम्पियनसिपमा उनले ८ सय र १५ सय मिटरमा रजत पदक जितिन् । त्यो उनका लागि आत्मविश्वास बढाउने ठूलो अवसर बन्यो । उनको करियरको महत्त्वपूर्ण उपलब्धि रियो ओलम्पिकमा सहभागिता हो, जहाँ उनले १५ सय मिटर ४ः३३.९४ मा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । यसअघि १९९० को एसियन गेममा राजकुमारी पाण्डेका नाममा ४ः३४ः४५ को राष्ट्रिय कीर्तिमान रहेको थियो । राष्ट्रपतिबाट विभूषण (२०७४) र प्रधानसेनापति प्रशंसा निसान (२०७३) प्राप्त सम्मानले अगाडि बढ्न हौसला बढाइरहेको उनले बताइन् ।
दक्षिण एसियाली खेलकुद, एसियन च्याम्पियनसिप, एसियन गेम तथा सिज्म मिलिटरी वर्ल्ड गेममा नेपाललाई प्रतिनिधित्व गर्दै अघि बढ्दै गइन् । माल्दिभ्समा भएको ओपन च्याम्पियनसिपमा उनले ८ सय, १५ सय र ५ हजार मिटरमा स्वर्ण जित्दै करियरको उत्कृष्ट प्रदर्शन प्रस्तुत गरिन् । प्रत्येक प्रतियोगिताले उनलाई केही न केही सिकायो । कहिले जित, कहिले हार तर सधैं अनुभव । ‘हरेक खेलले केही न केही सिकाउँछ, अझ अन्तर्राष्ट्रिय खेलहरूमा आफ्नो स्थान कहाँ हुन्छ, त्यो थाहा हुन्छ,’ उनले भनिन् ।
सेवाका क्रममा उनले विवाह गरिन् । श्रीमान् पनि नेपाली सेनामा नै कार्यरत छन् । विवाहपश्चात् उनले खेललाई निरन्तरता दिइरहिन् । २०७७ मा छोरी जन्मिएपछि धेरैले उनको खेल जीवन सकियो भन्ने अनुमान लगाएका थिए । छोरी जन्माएकी उनले १७ महिनापछि राष्ट्रिय खेलकुदमा फेरि फर्किइन् । ‘महिलाको करिअर बच्चा जन्माउँदैमा सकिँदैन,’ उनी थप्छिन्, ‘मेरा लागि पदक जित्नु मात्र उपलब्धि होइन, आमा भएर पनि खेल क्षेत्रमा धेरै गर्न सक्छन् भन्ने सन्देश दिनकै लागि खेलिरहेको छु ।’
श्रीमान्–श्रीमती दुवै एउटै फिल्डमा हुँदा सजिलो–अठ्यारो दुवै हुने गरेको उनी बताउँछिन् । सेनाको जागिर भएकाले क्याम्पमा नै बस्नुपर्ने भएकाले बच्चालाई पर्याप्त मात्रामा समय दिन नसकेको उनी बताउँछिन् । ६ वर्षीया छोरीलाई सासूले हुर्काइरहेकी छन् । सातामा दुई दिन उनी छोरीसँग बस्छिन्, श्रीमान् बाहिर छन् तर सरस्वतीको ड्युटी काठमाडौंमा नै भएकाले बच्चाको रेखदेख गर्न सहज छ । भन्छिन्, ‘अन्य जागिरभन्दा प्रहरी, सेनाको जागिरमा क्याम्पमा नै बस्नुपर्ने भएकाले बच्चालाई समय दिन नपुग्ने रहेछ ।’ परिवारको सहयोगले नै खेललाई अगाडि बढाइरहेको उनको भनाइ छ ।
उनको सेनाको जागिर खेलमा मात्र सीमित छैन । आवश्यकताअनुसार उनी सुरक्षामा पनि खटिने गर्छिन् । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पनि एक वर्ष खटिइन् । सेना नभएको भए ओलम्पियन हुन्नथें भन्ने उनलाई लाग्छ । ३२ वर्षको उमेरमा पनि उनी नियमित व्यायाम गर्छिन्, खानपानमा उत्तिकै सचेत छिन् । दौडिने रहर अझै कम भएको छैन । भन्छिन्, ‘स्वास्थ्यले साथ दियो भने म अझै दौडिन्छु, सकिनँ भने प्रशिक्षणमार्फत पनि अगाडि बढ्नेछु ।’
खेलमा करिअर बनाउने पुस्ताहरू अहिले विदेश पलायन हुँदै गएको उनले देखेकी छन् । भविष्य नभएका कारणले बाध्यताले बिदेसिनुपरेको उनको बुझाइ छ । ‘अबका नयाँ पुस्ताका खेलाडीलाई परिवार, समाजदेखि राज्यले समर्थन गरोस् भन्ने अपेक्षा छ,’ उनी भन्छिन् ।
