यस वर्षदेखि कान्तिपुर हाफ म्याराथनतर्फ ‘एक्युरेट टाइमिङ’ निकाल्न चिप्स प्रयोग गर्न लागिएको छ । कान्तिपुर हाफ म्याराथन २१.१ किमिको हुनेछ भने कर्पोरेट एन्ड इन्फ्लुएन्सर रन ५ किमि, एक्स्ट्रिम कलेज रन ७ किमि र ह्विलचेयर रेस ३ किमिको हुनेछ । कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार पाउनेछन्
What you should know
काठमाडौँ — नेपाली एथलेटिक्समा समृद्ध इतिहास बनेको ‘कान्तिपुर हाफ म्याराथन’ को आउँदो शनिबार १४ औं संस्करण आयोजना हुँदै छ । कान्तिपुर मिडिया ग्रुप (केएमजी) को आयोजनामा २०६७ देखि यो बर्सेनि आयोजना हुँदै आएको छ । हाफ म्याराथन, कर्पोरेट रन र ह्विलचेयर गरी ३ विधाबाट सुरु भएको यस इभेन्टमा २०८० मा ‘कलेज रन’ थपिएर ४ विधा पुर्याइएको थियो ।
अहिले यही कान्तिपुर म्याराथन नेपाली धावकका लागि ढुकढुकी जस्तै भएको छ । हरेक व्यावसायिक खेलाडीका लागि कुनै पनि दौड जित्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ, कान्तिपुर हाफ म्याराथन धेरै खेलाडीका लागि अझ विशेष बनेको छ, चाहे त्यो आयोजनाको हिसाबमा होस् वा नगद पुरस्कारको हिसाबले । सातामा ६ दिन दैनिक कार्यमा व्यस्त हुनेहरू कर्पोरेट दौडमा जम्काभेट हुने गरेका छन् ।
समाजमा पनि कान्तिपुरको विभिन्नखाले उत्तरदायित्व थियो, त्यसलाई सम्बोधन गर्न एउटा इभेन्ट आवश्यक रहेको समयमा कान्तिपुर हाफ म्याराथनको सुरुआत भएको केएमजीका तत्कालीन महाप्रबन्धक महेश राणा स्मरण गर्छन् । ‘केएमजी भन्ने ब्रान्ड भर्खर स्थापित भइरहेको थियो, खेलकुदको माध्यमबाट केही गर्न सकिन्छ भनेर अगाडि बढ्दै जाँदा हाफ म्याराथन राम्रो हुने निष्कर्ष निकालेका थियौं,’ २०६७ मा पहिलो पटक कान्तिपुर हाफ म्याराथन आयोजना गर्दाको क्षणलाई स्मरण गर्दै उनले भने, ‘पहिला मान्छेले बुझेका थिएनन्, चिनेका मान्छेहरूलाई निम्ता दिएर दौडमा बोलाउनुपरेको थियो, त्यसैले थोरै मात्र टिसर्ट प्रिन्ट गरेका थियौं तर पछि मान्छे धेरै आएर दुईचोटि टिसर्ट प्रिन्ट गर्नुपर्यो । नेपाली खेलकुदमा यो एउटा ल्यान्डमार्कका रूपमा रहेको छ र प्रधानमन्त्री आफैं आएर उद्घाटन गर्नु हुन्छ, त्यो अहिलेसम्म कायमै छ ।’
कान्तिपुर हाफ म्याराथनको पहिलो संस्करण भए पनि यसलाई सफल बनाउन वैकुण्ठ मानन्धर आफैं आएको राणालाई हिजो जस्तै लाग्छ । ‘काठमान्डु पोस्टलाई जोडेर सुरुमा हामीले काठमाडौं म्याराथन आयोजना गर्न खोजेका थियौं तर त्यही नामको अर्को इभेन्ट पनि रहेका कारण हामी हाफ म्याराथनतिर लाग्यौं । अर्को एउटा पोखरामा पनि गर्ने योजना बनाएका थियौं तर पछि एउटैमा केन्द्रित भयौं, जुन अहिले नेपालकै ठूलो इभेन्ट भयो । पहिलो संस्करण आयोजना गर्दा खासै ठूलो प्रायोजक थिएनन् तर घाटाचाहिँ भएन ।’
कान्तिपुरको अरूखाले इभेन्ट पनि नभइरहेको अवस्थामा मान्छेसँग प्रत्यक्ष जोडिन हाफ म्याराथन निकै उपयोगी बनेको उनको ठम्याइ छ । ‘कर्पोरेटमा झनै राम्रो रेस्पोन्स छ, मान्छे आफ्नो टाइमिङ जाँच्न र सर्टिफिकेट लिनलाई कर्पोरेट रनमा दौडिने गरेका छन् । कान्तिपुरले काठमाडौंका जनताका लागि भनेर गरेको ठूलो महत्त्व बोकेको इभेन्ट हुन सक्ने सोचेर हामीले यसको सुरुआत गरेका थियौं,’ राणाले थपे, ‘विदेशबाट नेपालीहरू दौडिन पनि आउनुभएको छ । पहिलो संस्करणमै हाफ म्याराथन र ह्विलचेयरमा १ लाख नगद पुरस्कार राखेका थियौं, त्यसले पनि खेलाडीलाई आकर्षित गर्यो जस्तो लाग्छ ।’
राणालाई केएमजी कर्पोरेटबाट सनत न्यौपानेलगायतको राम्रो साथ थियो । कान्तिपुर हाफ म्याराथनको आयोजनाका क्रममा पीयूष पौड्याल, शिशिर पछाईहरू खटिएका थिए । त्यसयता केएमजीका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरदेखि सिमरन श्रेष्ठले कर्पोरेटबाट यो प्रतियोगिता हेरिरहेका छन् । युवालाई जोड्ने माध्यम खोज्दा हाफ म्याराथनमा लागेको स्वाँर स्मरण गर्छन् ।
‘कस्तो हुन्छ, के हुन्छ भनेर हामी आफैं क्लियर थिएनौं, हामीले संघसँग समन्वय नै नगरी पहिलो कान्तिपुर हाफ म्याराथन आयोजना गरेका थियौं, राति तीनकुने अफिसमै सुतेर बिहान ५ नबज्दै उठेर म्याराथनको तयारीमा जुटेका थियौं,’ सुरुआती दिन सम्झँदै स्वाँरले भने, ‘हामीले मात्र गरेर नहुने रहेछ र संघसँग समन्वय गर्दा यसलाई क्यालेन्डरमा समेटिँदा, यो अर्को स्तरमा पुग्ने विश्वास लियौं, जसले खेलाडीहरूलाई कान्तिपुर हाफ म्याराथनका बारेमा जानकारी पुग्यो । खेलाडीका लागि यो प्रतीक्षाको प्रतियोगिता बन्दै आएको छ, जुन हाम्रा लागि ठूलो सफलता हो ।’
कान्तिपुरलाई समाजसँग जोड्ने ठूलो कडीका रूपमा कान्तिपुर हाफ म्याराथन बनेको बुझाइ स्वाँरको छ । ‘पत्रकारिताभन्दा बाहिर कान्तिपुर के हो भन्ने बुझ्ने अवसर पनि कान्तिपुर हाफ म्याराथनले गरिरहेको छ,’ उनले भने, ‘पछिल्ला संस्करणहरूमा पत्रकार सम्मेलन गरी खेलकुद पत्रकारहरूसँग सहकार्य गर्दै यसलाई देशभरि पुर्यायौं । प्रहरीको साथ राम्रो रहेको छ । पछिल्लो संस्करणहरूमा यसको महत्त्वलाई बुझेर प्रधानमन्त्री प्रत्यक्ष सहभागी हुन थाल्नुभयो । अल्ट्रा रनर मीरा राई, वातावरणविद् भूषण तुलाधार, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई पनि प्रमुख अतिथि बनाएका छौं । मीरा हाम्रो ब्रान्ड एम्बासडर पनि हो । यसले कान्तिपुरको दौडप्रतिको मोह पनि देखाउँछ ।’
हरेक वर्ष नयाँ नाराका साथ कान्तिपुर हाफ म्याराथन आयोजना हुँदै आएको छ । त्यो समयको स्थितिलाई हेरेर राखिने गरेको र त्यसले समाजमा सन्देश दिन सफल भएको स्वाँरको बुझाइ छ । नयाँ सरकार नयाँ ऊर्जा लिएर अगाडि बढिरहेकाले यस पटक ‘रन फर नेपाल’ नारा दिइएको स्वाँर बताउँछन् । ‘प्रदूषणविरुद्ध चेतना फैलाउन’, ‘रन टु इन्स्पायर द यङ’, ‘लेट्स रन फर ग्रिनर टुमारो’ जस्ता नाराका साथ विगतमा कान्तिपुर हाफ म्याराथन आयोजना गरिएको थियो ।
काठमाडौंमा रन संस्कार बढेको छ, यसमा कान्तिपुर हाफ म्याराथनको केही न केही भूमिका रहेको स्वाँरको दाबी छ । नेपालमा बसेका विदेशीहरू दौडिरहे पनि यसलाई अन्तर्राष्ट्रिय बनाउने प्रयास जारी रहेको स्वाँरले बताए । ‘सरकारले म्याराथनका दिन त्यो रुटमा सवारीसाधन ठप्प बनाएर केही सहयोग गर्ने हो भने मलाई लाग्छ, कान्तिपुर हाफ म्याराथनलाई अन्तर्राष्ट्रियस्तर बनाउन खासै समस्या हुँदैन,’ उनले भने ।
२०६७ मा आयोजित काठमाडौं हाफ म्याराथनको पहिलो संस्करणमै १ हजारभन्दा धेरै सहभागी थिए । २०६८ मा १ हजार ५ सय जना दौडिएका थिए । २०६९ मा सहभागिता संख्या २ हजारभन्दा बढी पुगेको थियो । मुख्य स्पर्धा हाफ म्याराथन (२१.१ किमि) मा मात्रै ८ सय १२ धावकले प्रतिस्पर्धा गरेका थिए । २०७० मा १ हजार ३ सय ६५ तथा २०७१ मा २ हजार ३ सय जना दौडिएका थिए । २०७२ मा १ हजार ६ सय ५७, २०७३ मा १ हजार ५ सय र २०७५ मा २ हजार ५ सय ६० जनाले कान्तिपुर हाफ म्याराथनमा सहभागिता जनाएको इतिहास छ । यस पटक ५ हजारभन्दा बढी दौडिन्छन् भन्ने आशा लिएको स्वाँर बताउँछन् ।
१५ वर्षअघि काठमाडौं हाफ म्याराथनको पहिलो संस्करणमा अर्जुनकुमार बस्नेत र कान्छीमाया कोजु विजेता बनेका थिए । दोस्रो संस्करणमा हरिकुमार रिमाल र बृन्दा श्रेष्ठ विजेता बने । काठमाडौं हाफ म्याराथनमा महिलातर्फ कान्छीमायाले ५ र हरिले ४ पटक उपाधि जितेर कीर्तिमान बनाएका छन् । तेस्रो संस्करणमा कान्छीमाया र कल्याण बानियाँ विजेता बने । २०७० मा कान्छीमायाले उपाधि रक्षा गरिन् भने भारतीय ‘लाहुरे’ बाट आएका अनिश थापामगर विजेता बने । पछिल्लो समय विजेता सूचीमा ‘गोल्डेन गर्ल’ सन्तोषी श्रेष्ठले आफ्नो नाम लेखाएकी छन् ।
सुरुआती संस्करणहरू तीनकुनेस्थित कान्तिपुर कार्यालयबाट सुरु भएको थियो, त्यसपछि थापाथली मुख्यालयबाट सुरु गरिएको थियो । यस वर्षदेखि कान्तिपुर हाफ म्याराथन तीनकुनेबाटै सुरु हुनेछ । कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु हुने म्याराथन तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गट्ठाघर, ठिमी, सल्लाघारी हुँदै जगाते चोकबाट फन्को लगाएर, कोटेश्वर हुँदै तीनकुनेमा आएर दौड टुंगिनेछ । कर्पोरेट एन्ड इन्फ्लुएन्सर दौड तीनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुँदै तीनकुने आएर टुंगिनेछ । तीनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वरबाट फर्केर तीनकुनेमै आएर टुंगिनेछ । एक्स्ट्रिम कलेज रन तीनकुनेबाट कोटेश्वर हुँदै गट्ठाघर चोक पुगेर फर्की तीनकुने आएर टुंगिनेछ ।
यस वर्षदेखि हाफ म्याराथनतर्फ टेक्नोलोजी प्रयोग गरेर दौड पूरा गर्नेको ‘एक्युरेट टाइमिङ’ निकाल्न चिप्स प्रयोग गर्न लागिएको स्वाँरले जनाए । कान्तिपुर हाफ म्याराथन २१.१ किमिको हुनेछ । कर्पोरेट एन्ड इन्फ्लुएन्सर रन ५ किमि, एक्स्ट्रिम कलेज रन ७ किमि, ह्विलचेयर रेस ३ किमिको हुनेछ । कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार पाउनेछन् । त्यस्तै दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार पाउनेछन् । पहिलो तीन स्थानमा आउनेले ट्रफी र मेडल पनि पाउनेछन् । ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउनेछन् । कर्पोरेट एन्ड इन्फ्लुएन्सर रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । यस पटकदेखि दौड पूरा गर्ने सबैले मेडल पाउनेछन् । एक्स्ट्रिम कलेज रन विजेताले आईपीएलका लागि काठमाडौंदेखि खेलस्थलसम्मका लागि दुईतर्फी हवाई टिकट र खेल हेर्नका लागि टिकट पाउनेछन् ।
कान्तिपुरले अब विश्व एथलेटिक्स संघबाट मान्यता दिलाउन लाग्नुपर्छ : सुशीलनरसिंह राणा (रेस डाइरेक्टर)
२०६७ मा महेश राणाले मलाई बोलाउनुभएको थियो रेस निर्देशकको हिसाबमा । म्याराथन दौड आयोजना गर्ने उद्देश्य थियो, कान्तिपुर टोलीमा । मैले त्यसमा ५०–६० जना जति मात्र हुने र त्यसमध्ये केहीले दौड पूरा गर्न नसक्ने हुँदा बीचैमा छाड्ने गरेको बताइदिएको थिएँ । ठूलो भीड पनि हुने र नेपाली एथलेटिक्सलाई पनि सहयोग हुने उद्देश्यले १० किलोमिटर वा हाफ म्याराथन गर्न सुझाव दिएँ । कर्पोरेट पनि हुने भएपछि हाफ म्याराथन गरौं भन्दा यसमा सहमत हुनुभयो ।
मैले २०६७ देखि २०७३ सम्म प्राविधिक प्रमुख भएर कान्तिपुर हाफ म्याराथन हेरें । सुरुको वर्षमै यसले राम्रो इमेज बनायो । पहिलो ६ संस्करण तीनकुनेबाट सुरु भयो । पछि भीड थाम्न नसकिने गरी बढ्दै गयो । हाफ म्याराथनमै राम्रो सहभागिता भयो । नगद पुरस्कारहरू बढ्दै गएपछि भारतीय लाहुरे आएर खेल्न लाग्नु कान्तिपुर हाफ म्याराथनको ठूलो सफलता हो । अझ यो निरन्तर हुँदै आएको छ । कुनै पनि म्याराथनको सफलता भनेको लामो समयको निरन्तरता पनि हो ।
२००४ मा एसियन म्याराथन च्याम्पियनसिपका लागि दक्षिण कोरिया जाँदा देखेको थिएँ, त्यहाँको प्रमुख मिडिया ग्रुपले सोल म्याराथन आयोजना गरेको थियो । उसले छिमेकी देश र अन्य ठूला देशको मिडियालाई कोटा दिएर खेलाडीहरू बोलाउँथ्यो । हामीले कम्तीमा दक्षिण एसियाली क्षेत्रमा यो अवधारणा ल्याउन सक्थ्यौं, ढिलो–चाँडो यो प्रक्रियामा जान सकिन्छ । संघले पत्रचार गर्दियो भने पनि विदेशी खेलाडीहरू खेल्न आइहाल्छन् र यो स्तरमा म्याराथन गर्न सकिन्छ ।
सबैले नेपालमा ट्राफिकको समस्या छ भन्छन् । तर हामीकहाँ अहिले ४ देखि ८ लेनका सडकहरू छन् । एउटा लेन खाली गरेर दौडाउन गाह्रो छैन, समन्वय जरुरी छ । सडक बन्द गरेर दौड गराउँदा धेरै सुरक्षित हुन्छ । अहिले कान्तिपुर हाफ म्याराथनतर्फ चिप्स हाल्नु निकै राम्रो खबर हो । अब कान्तिपुरले एम्समा वा विश्व एथलेटिक्स संघबाट कोर्सलाई मान्यता दिलाउन लाग्नुपर्छ । बाहिरबाट आउने खेलाडीले हाम्रो नतिजा मान्यता प्राप्त होस् भनेर हेर्छन्, जसले उनीहरूको वरीयतामा प्रभाव पार्छ । नेपालका धेरै रेसहरू यो सूचीबाट बाहिर छन् ।
कान्तिपुर हाफ म्याराथनलाई खेलाडीहरूले क्यालेन्डरको हिसाबले लिएको मैले पाएको छु । हाफ म्याराथन भएकाले अफ सिजनमा खासै फरक पार्दैन, फुल म्याराथन दौडिनेहरू पनि यसमा सहभागी हुन आएका हुन्छन्।
