समग्र नेपाली खेलकुदमै वैकुण्ठ मानन्धरको प्रदर्शन अहिलेसम्म सर्वकालीन उच्च हो, उनले स्वर्ण पदकमा ह्याट्रिक पनि गरेका छन्
What you should know
काठमाडौँ — सबैभन्दा पहिला एउटा प्रश्न । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने खेलाडी को हुन् ? नेपाली खेलकुदबारे ठोस इतिहास विरलै लेखिएको छ । त्यसैले यो प्रश्नको उत्तर केही समय अगाडिसम्म पनि ठ्याक्कै उत्तर थिएन, खालि अनुमान मात्रै थियो ।
सन् २०१९ मा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना हुँदा भने त्यस प्रश्नले पक्कापक्की उत्तर पायो । भएको के थियो भन्दा त्यो प्रतियोगिता चलिरहेका बेला सबैमा कौतूलहता के जाग्यो भने नेपालका लागि दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगितामा पहिलो स्वर्ण जित्ने को थिए त ? संयोग के भने यसको उत्तरले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने खेलाडी पनि तय हुने थियो ।
लामो छलफल र बहसपछि यसको उत्तर पाइयो र उनी थिए, बैकुण्ठ मानन्धर । नेपालमै सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना आएको थियो । त्यतिबेला नेपालले चार स्वर्ण जितेको थियो । एक त म्याराथनमा मानन्धरले जितेको स्वर्ण भइहाल्यो, अरू बक्सिङबाट दुई र पुरुष फुटबलबाट एक स्वर्ण जितेको थियो । नेपाली मिडियाको जिज्ञासामा मानन्धर आफैंले भने, ‘पहिलो स्वर्ण मैले नै जितेको थिएँ ।’ प्रायः म्याराथनको प्रतिस्पर्धा कुनै पनि ठूलो प्रतियोगिताको अन्त्यतिर हुने गर्छ । तर पहिलो संस्करणको सागमा छिनोफानो भएको पहिलो स्पर्धा नै म्याराथन थियो । त्यसैले नेपालका लागि पहिलो स्वर्ण पदक जित्ने सौभाग्य मानन्धरको नाममा जुर्यो ।
नेपालले त्यतिबेला स्वर्ण जित्ने तय मानिएको एउटा स्पर्धा यही म्याराथनमा पनि थियो र मानन्धरले सबैको अपेक्षाअनुसार प्रदर्शन पनि गरे । ‘त्यतिबेला पूरा नेपाल खेलकुदमय भएको थियो, त्यो ऐतिहासिक स्वर्ण पदक जित्न पाउँदा म स्वाभाविक रूपमा खुसी थिएँ ।’ त्यतिबेला मानन्धरले ४२.१९५ किलोमिटरको दूरी २ घण्टा २७ मिनेट र ११ सेकेन्डमा पूरा गरेका थिए । त्यतिबेला रजत पदक पनि नेपालकै नाममा रह्यो, अर्जुन पण्डित दोस्रो स्थानमा रहे । उनले यही दौड २ घण्टा ४१ मिनेट ४३ सेकेन्डमा पूरा गरेका थिए । जतिबेला पण्डित दौड सकाए, मानन्धरले आराम गर्न भ्याइसकेका थिए । अझ तेस्रो स्थानमा आउन भारतीय धावक जोगिन्दर सिंहको समय थियो, २ घण्टा ५० मिनेट ५१ सेकेन्ड ।
दक्षिण एसियाली खेलकुद आयोजनाको श्रेय नेपाललाई नै दिने गरिन्छ, किनभने नेपालले यो प्रतियोगिता आयोजना गर्न अगाडि नबढेको भए, के हुने थियो, त्यो कल्पना गर्न सकिन्न । तर दोस्रो संस्करणको साग आयोजना हुन भने लामो समय कुर्नु परेन, सन् १९८५ मा बंगलादेशको ढाकामा यो प्रतियोगिता भएको थियो । त्यसमा पनि मानन्धरले अपेक्षाअनुसार नै स्वर्ण पदक जिते । त्यतिबेला उनले दौड पूरा गरेको समय थियो, २ घण्टा २२ मिनेट ७ सेकेन्ड । पहिलो संस्करणको तुलनामा उनको प्रदर्शन अझ सुधारिएको थियो । ढाकामा भारतका प्रेम सिंह दोस्रो स्थानमा रहे र उनको समय थियो, २ घण्टा २९ मिनेट १२ सेकेन्ड । यसमा पनि मानन्धरले पहिलो हुने क्रममा निकालेको समय अन्तर गज्जब नै थियो ।
नेपालकै कृष्णबहादुर बस्नेत तेस्रो भए, २ घण्टा ३० मिनेट २० सेकेन्डमा । सन् १९८७ मा भारतको कोलकाताले तेस्रो संस्करणको साग आयोजना गरेको थियो र यसमा मानन्धरको प्रदर्शन ऐतिहासिक रह्यो । त्यो बेलाको क्यालकटामा उनी २ घण्टा १५ मिनेट ३ सेकेन्डको समय निकाल्दै पहिलो भए । यो नेपालको राष्ट्रिय कीर्तिमान मात्र थिएन, दक्षिण एसियालीकै कीर्तिमान थियो । यो यस्तो कीर्तिमान हो, जुन अहिलेसम्म भंग भएको छैन । मानन्धरले आफैंले पनि बारम्बार भनेका छन्, ‘यो कीर्तिमान कसैले भंग गरे म आफैं खुसी हुन्थें । खालि मेरो एउटै इच्छा भनेको यो कीर्तिमान कोही नेपाली धावकले उछिने राम्रो । खासमा म यही समयको पर्खाइमा छु ।’
समग्र नेपाली खेलकुदमै मानन्धरको यो प्रदर्शन अहिलेसम्म सर्वकालीन उच्च हो । यसैक्रममा उनले स्वर्ण पदकको ह्याट्रिक पनि गरे । त्यतिबेला श्रीलंकाका भीकेएल समरसिंह दोस्रो भए, उनको प्रदर्शन पनि आफैंमा उम्दा थियो । उनले दौड २ घण्टा १६ मिनेटमा पूरा गरेका थिए । सम्भवतः समरसिंहले पेस गरेको चुनौतीकै कारण मानन्धरले यो कीर्तिमानी प्रदर्शन गरेका थिए, यसको केही श्रेय ती श्रीलंकाली धावकलाई पनि दिनुपर्छ । दुई जनाबीचको समय अन्तर खासै धेरै रहेको थिएन । भारतका स्वरूप सिंह तेस्रो भए र उनको प्रदर्शन पनि कम्तीको थिएन । उनले दौड २ घण्टा २० मिनेट १३ सेकेन्डमा पूरा गरेका थिए । खासमा यो दौड आफैंमा तीव्र प्रतिस्पर्धाले भरिएको थियो ।
ती दिन सम्झेर मानन्धर भन्छन्, ‘त्यही बेला मलाई नयाँ कीर्तिमान बनेको थाहा थिएन् । पछि यसबारे मलाई बताइएको थियो र म खुसी नै भएँ । तर मलाई यो भने थाहा थिएन, यो कीर्तिमान भंग हुन समय लाग्नेछ ।’ हुन पनि अहिले यो कीर्तिमान बनेको पनि ३९ वर्ष भइसकेको छ, अझ भनौं चार दशक छुनै लागेको छ, तर अहिलेसम्म त्यसको छेउछाउ पनि कोही पुग्न सकेका छैनन् । कोलकाताको त्यो प्रदर्शन
आफ्नै आखाँले देखेको त्यस बेलाका प्रशिक्षक खड्ग रानाभाट त्यो अवसरलाई कहिले पनि बिर्सन नसकिने भन्छन् । उनको भनाइ थियो, ‘त्यो दिन मानन्धरले निकै उत्कृष्ट ढंगले दौडेका थिए, त्यसैले त कीर्तिमान सम्भव भयो । मलाई लाग्छ, नेपाली खेलकुदले उनी जत्तिको खेलाडी कहिल्यै पनि पाउने छैन । पाएमा त्यो राम्रो भने हो ।’
उनका अनुसार मानन्धरले आफ्नो समयमा अहिलेको जत्तिको सुविधा सँगसँगै उम्दा विदेशी प्रशिक्षक र अवसर पाएको भए, सम्भवतः उनी ओलम्पिक र एसियाली खेलकुदमै पदक जित्न सक्ने क्षमता भएका खेलाडी थिए । रानाभाट अझ केसम्म मान्छन् भने मानन्धर दौडिनकै लागि जन्मेका हुन्, उनी दौडिँदा जुन स्वाभाविक पन र लय देख्न पाइन्छ, त्यो अरूमा अझै पनि छैन । कोलकाताको त्यो प्रदर्शनपछि मानन्धरले दौडबाट संन्यास लिने मनसायमा पुगिसकेका थिए र सम्भवतः उनले त्यस्तै निर्णय गर्नु पनि पर्थ्यो । तर प्रत्येक खेलाडीको जीवनमा सबै उनले भनेकै जस्तो पनि हुने गर्दैन । अलिकति दबाबमा मानन्धरलाई सन् १९८९ को सागमा पनि सहभागी हुनुपरेको थियो, उनले खासै तयारी पनि गरेका थिएनन् ।
यो साग भने पाकिस्तानको इस्लामाबादमा भएको थियो र त्यसमा उनी तेस्रो स्थानमा मात्र आए । अझ भनौं कांस्य पदकमै सीमित भए । त्यतिबेला पहिलो हुने थिए, तिनै श्रीलंकाली खेलाडी समरसिंह । उनले २ घण्टा १९ मिनेट ४२ सेकेन्डमा दौड पूरा गरेका थिए । दोस्रो स्थानमा पनि श्रीलंकाली धावक नै रहे, जी बन्दुला समरसिंगे । समय थियो, २ घण्टा २० मिनेट १५ सेकेन्ड । कांस्य पदकमै चित्त बुझाउने क्रममा मानन्धरले दौड २ घण्टा २१ मिनेट ३५ सेकेन्डमा पूरा गरे । उनको समय आफैंमा खराब थिएन, तर श्रीलंकाली दुवै धावकको प्रदर्शन राम्रो थियो । त्यस अर्थमा यो दौडमा स्वर्ण र रजत पदकका लागि ती धावकलाई पनि श्रेय दिनै पर्छ ।
ती दिन सम्झेर मानन्धरले भनेका छन्, ‘जतिबेला दौड निर्णायक मोडमा पुगेको थियो, ती दुवै श्रीलंकाली धावकले राम्रै अग्रता लिइसकेका थिए । मेरोसामु उनीहरूलाई उछिन्ने अवसर नै थिएन ।’ यति भन्दाभन्दैमा यो प्रदर्शनले यसअघिका तीन स्वर्णको उपलब्धिलाई कहाँ छोप्न सक्छ र ? नेपाली खेलकुद इतिहासमै ती तीन स्वर्ण र कीर्तिमानी समय अहिले पनि अजय नै रहेको छ । त्यति मात्र होइन, उनी नेपाली खेलकुदका पहिलो ठूलो स्टार खेलाडी पनि हुन्, जसको नाम नसम्झेको विरलै मात्र नेपाली हुनेछन् । उनको कोलकाताको त्यो प्रदर्शनलाई दक्षिण एसियामा अहिलेसम्म पनि कसैले छुन नसकेको स्थितिमा भन्नैपर्छ, त्यो प्रदर्शन आफैंमा नेपाली खेलकुदकै सर्वकालीन महान् हो ।
