दक्षिण एसियालीदेखि एसियाली, ओलम्पिक खेलकुदसहित अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरूमा नेपाली धावकहरू म्याराथन सहभागितालाई गर्बिलो बनाएका छन्
What you should know
काठमाडौँ — नेपाली खेलकुदमा म्याराथन दौडले समृद्ध इतिहास बोकेको छ । नेपालसँग म्याराथनका थुप्रै अन्तर्राष्ट्रिय पदकहरू छन् । दक्षिण एसियालीदेखि एसियाली, ओलम्पिक खेलकुदसम्म नेपाली धावकहरूले आफ्नो म्याराथन सहभागितालाई गर्बिलो पारेका छन् ।
दक्षिण एसियाली राष्ट्रहरूको ‘ओलम्पिक’ मानिने दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ, हाल साग) मा त म्याराथनमा नेपालको बलियो पकड छ । कीर्तिमान नै नेपाली खेलाडीको नाममा छ । जुन अहिलेसम्म तोडिएको छैन । सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो संस्करणमा वैकुण्ठ मानन्धरले राखेको २ घण्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान १३ औं संस्करण सकिँदासम्म दक्षिण एसियाका कुनै धावकले तोड्न सकेका छैनन् ।
नेपाली म्याराथनका लिजेन्ड धावकको पहिचान बनाएका मानन्धरले त्यो समय निकाल्दा साफमा लगातार तेस्रो स्वर्ण पदक जितेका थिए । उनको गलामा पहिलो काठमाडौं साफ र दोस्रो ढाका साफको स्वर्ण थियो । सन् १९८९ को इस्लामाबाद साफमा मानन्धरले कांस्य पदक जित्दै आफ्नो साफ सहभागितालाई गर्बिलो र स्वर्णिम बनाएका थिए । जुन आजको दिनसम्म पनि स्थापित छ । साफको १३ संस्करणसम्म आइपुग्दा नेपालले म्याराथनमा ६ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जितेको छ । नेपाललाई पछ्याउँदै श्रीलंकाले ६ स्वर्ण जित्दा भारतले आफ्नै भूमि गुवाहाटीमा २०१६ मा भएको सागमा म्याराथनको स्वर्ण हत्याएको थियो ।
मानन्धरको पथ पछ्याउने क्रममा टीकाबहादुर बोगटीले १९९५ को मद्रास साफ (सातौं संस्करण) मा स्वर्ण जितेको इतिहास छ । उनले २ घण्टा १९ मिनेट ३९ सेकेन्डको उत्कृष्ट समय निकालेका थिए । त्यसअघि टीकाले कोलम्बो १९९१ र ढाका १९९३ मा कांस्य जितेर म्याराथनमा साफको पदक इतिहास गौरवमय बनाएका थिए । सन् २०१० मा ढाकामा आयोजित ११ औं संस्करणमा राजेन्द्र भण्डारी र २०१९ मा काठमाडौंमा भएको १३ औं संस्करणमा किरणसिंह बोगटीले म्याराथनबाट नेपाललाई स्वर्ण दिलाएका छन् । दक्षिण एसियाली खेलकुदमा नेपालले म्याराथनबाट कुनै पनि पदक जित्न नसकेको गुवाहाटी (२०१६) मै हो ।
२००६ को कोलम्बो साफमा श्रीलंकन धावक अजित बन्दरालाई चुनौती पेस गरेका अर्जुनकुमार बस्नेतले २ घण्टा २८ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै रजत जितेका थिए । स्वर्ण जितेका बन्दराले २ घण्टा २५ मिनेट ४० सेकेन्डको टाइमिङ निकालेका थिए । ढाकामा उनै अजितलाई उछिनेर राजेन्द्र भण्डारीले स्वर्ण जितेका हुन् । आयोजक बंगलादेशको कमजोरीका कारण म्याराथनको दूरी (४२.१९५ किमि) पूर्ण नभएकाले त्यसलाई रोड रेसको मान्यता दिइएको थियो । घरेलु भूमिमा किरणले स्वर्ण जित्दा २ घण्टा २१ मिनेट १७ सेकेन्डको समय निकालेका थिए । उनले भारतीय धावक रसपाल सिंह र श्री सिंहले कडा चुनौती सामना गर्नुपरेको थियो । रसपालले त ४० सेकेन्ड मात्र पछाडि रहेर दूरी पार गरेका हुन् ।
मानन्धरको कीर्तिमानको नजिक भने सन् २०१६ मा भारतीय धावक नितेन्द्र सिंह रावत पुगेका थिए । उनी १५ सेकेन्डले कीर्तिमान बराबरी गर्नबाट चुकेका हुन् । नितेन्द्रले २ घण्टा १५ मिनेट १८ सेकेन्डबाट दौड जित्दै भारतलाई दक्षिण एसियाली खेलकुदमा म्याराथनको पहिलो स्वर्ण दिलाएका थिए । दक्षिण एसियाली खेलकुदको म्याराथनमा सफलता पाएका अरू धावकमा रजत जित्नेमा अर्जुन पण्डित (पहिलो साफ), विशनसिंह राउत (पाँचौं, १९९१), गणेशबहादुर राई (सातौं, १९९५), अर्जुनकुमार बस्नेत (दसौं, २००६) रहेका छन् । त्यस्तै तेस्रो हुँदै कांस्य जित्ने वैकुण्ठ र टीकाबाहेक अरू धावकमा कृष्णबहादुर बस्नेत (दोस्रो साफ, १९८५), गणेशबहादुर राई (आठौं, १९९९), अर्जुनकुमार बस्नेत (नवौं, २००४) छन् ।
दक्षिण एसियाली खेलकुद (साग) को महिला म्याराथनमा नेपाली खेलाडीले सफलता पाएको इतिहास भने एउटै मात्र छ । सन् २०१९ मा आफ्नै भूमिमा पुष्पा भण्डारीले रजत पदक जितेकी थिइन् । उनले राष्ट्रिय कीर्तिमानसहित उक्त सफलता पाएकी हुन् । उनले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा दूरी पूरा गरिन् । त्यसअघि कान्छीमाया कोजुको नाममा २ घण्टा ५५ मिनेट ५७ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । कान्छीमायाले उक्त कीर्तिमान २०१६ मा काठमाडौं म्याराथनमा राखेकी थिइन् । पुष्पाले रजत जित्दा श्रीलंकन धाविका हिरूना विजयारत्नेले २ घण्टा ४१ मिनेट २७ सेकेन्डबाट स्वर्ण जितेकी थिइन् । सन् १९९५ को मद्रास साफमा विमला रानामगर र इन्द्र मल्लले म्याराथन दूरी पार गरेका थिए । विमलाले ३ घण्टा १० मिनेट ३४ सेकेन्ड र इन्द्रले ३ घण्टा २१ मिनेट २२ सेकेन्डको दुरी पार गरेको इतिहास छ । विमलाले आठौं साफमा पनि सहभागिता जनाइन् तर दायाँ घुँडाको चोटका कारण उनले दौड पूरा गर्न सकिनन् ।
एसियाडमा नेपाल
सन् १९५१ मा भारतको नयाँदिल्लीबाट एसियाली खेलकुद (एसियाड) सुरु भएको हो । एसियाडको म्याराथनमा नेपाली धावकले पाँचौं स्थानसम्म रहेर दूरी पूरा गरेको इतिहास छ ।
पहिलो संस्करणको एसियाडमा एसियाका जम्मा ११ राष्ट्रले सहभागिता जनाएको थियो । त्यसमध्ये नेपाल पनि एक हो । नौ खेलमा मात्र प्रतिस्पर्धा गराइएको एसियाडमा नेपालले एथलेटिक्समा भाग लिएको थियो । म्याराथन (तत्कालीन दूरी २६ माइल अर्थात् ३८५ यार्ड) मा नेपालका गजराज जोशीले २१ माइलसम्म दौडिएर बीचमै त्यागेका थिए । भारतीय धावक छोटा सिंहले २ घण्टा ४२ मिनेट ५८.६ सेकेन्डबाट उक्त म्याराथन जितेका थिए । दोस्रो संस्करण १९५४ को मनिला एसियाडमा नेपालले भाग नै लिएन ।
जापानको टोकियोमा भएको १९५८ को तेस्रो संस्करणमा नेपालले म्याराथनमा दुई खेलाडी सहभागी गराएको थियो । नरबहादुर गुरुङले दूरी पार गर्न नसक्दा भूपेन्द्रबहादुर सिलवालले सातौं स्थानमा दौड पूरा गरेका थिए । उनको टाइमिङ ३ घण्टा ५५ मिनेट ३१ सेकेन्ड रहेको थियो । उनले खाली खुट्टा नै दौडिएका थिए । उनको खाली खुट्टा दौडिँदा जापानी महिलाले बाल्टिनबाट पानी खन्याइदिएको तस्बिरले सर्वाधिक चर्चा पाएको थियो । यस संस्करणमा कोरियाका ली चेन हुनले २ घण्टा ३२ मिनेट ५५ सेकेन्डबाट स्वर्ण जिते । नेपालभन्दा अघि कोरिया, जापान र बर्माका धावक मात्र थिए ।
त्यस्तै १९७० बैंकक एसियाली खेलकुदमा नेपालका दुई धावक जितबहादुर केसी र गंगाबहादुर थापाले म्याराथन दूरी सफलतापूर्वक पार गरेका थिए । जितबहादुरले २ घण्टा ४८ मिनेट ५३ सेकेन्ड र गंगाबहादुरले २ घण्टा ५६ मिनेट ५२ सेकेन्डबाट क्रमशः सातौं र आठौं स्थान ओगटेका थिए । १० धावकले दूरी गर्दा नेपालभन्दा पछाडि थाइल्यान्ड र भियतनामका धावक थिए । जापानका केन्जी किमिहारुले २ घण्टा २१ मिनेट ०१ सेकेन्डको कीर्तिमान टाइमिङबाट स्वर्ण जितेका थिए । इरानको तेहरानमा भएको १९७४ को एसियाडमा म्याराथन इभेन्ट नै समावेश थिएन । जसका कारण म्याराथन धावक जितबहादुरले ५ हजार मिटर दौडमा सहभागिता जनाएका थिए । उनले हिट चरण पार गरेर फाइनल खेलेका थिए । उनले १५ मिनेट ५२.८२ सेकेन्ड दूरी पार गर्दा भारतीय धावक शिवनाथ सिंहले १४ मिनेट २०.५० सेकेन्डबाट ५ हजार मिटर दौडको स्वर्ण जितेका थिए ।
आठौं एसियाली खेलकुद १९७८ बैंककमा उनै जितबहादुर र वैकुण्ठले म्याराथनमा भाग लिएका थिए । एसियाका १८ धावकले म्याराथन दूरी पार गर्दा वैकुण्ठ सातौं स्थानमा थिए । उनको समय २ घण्टा २१ मिनेट ११ सेकेन्डको थियो । यही टाइमिङमा जापानी केन्जीले १९७० को एसियाडमा स्वर्ण जितेका थिए । जितबहादुर भने १२ औं स्थानमा थिए । उनले २ घण्टा ३४ मिनेट ३६ सेकेन्ड दूरी पूरा गरेका थिए । नयाँ दिल्लीमा भएको १९८२ को नवौं एसियाडको म्याराथनमा मुकुन्दहरि श्रेष्ठको सहभागिता थियो । तर उनले दूरी पूरा गर्न सकेनन् । वैकुण्ठले १० हजार मिटरमा प्रतिस्पर्धा गरेका थिए । ३० मिनेट ५९.२० सेकेन्डमा दौड पूरा गरेका उनी पदक नजिक थिए । स्वर्ण जित्ने चीनका झाङ गुओइको टाइमिङ २९ मिनेट ३७.५६ सेकेन्ड निस्केको थियो ।
वैकुण्ठले लगातार तेस्रो एसियाडका रूपमा १९८६ को सोल एसियाड खेले । दक्षिण कोरियाली भूमिमा भएको उक्त एसियाडमा वैकुण्ठ र अर्जुनले म्याराथनमा सहभागिता जनाए । ९ धावकले दूरी पार गर्दा वैकुण्ठ पाँचौं र अर्जुन छैटौं स्थानमा थिए । वैकुण्ठको २ घण्टा २६ मिनेट ७ सेकेन्ड तथा अर्जुनको २ घण्टा ३४ मिनेट २८ सेकेन्ड निस्केको थियो । जापानी धावक ताकेयुकी नाकायामाले २ घण्टा ८ मिनेट २१ सेकेन्डको कीर्तिमानसहित स्वर्ण जितेका थिए । १९९० को बेइजिङ एसियाली खेलकुदको म्याराथनमा नेपालका दिलीपकुमार कार्की र दुर्गा प्रसादले भाग लिएका थिए । दुर्गाले दूरी पार गर्न सकेनन् । दिलीपले १२ औं स्थानमा रहेर दूरी पार गर्दा २ घण्टा ३३ मिनेट ३५ सेकेन्ड लगाएका थिए । १४ धावकले दूरी पार गर्दा दक्षिण कोरियाका किम वन–टेकले २ घण्टा १२ मिनेट ५६ सेकेन्डबाट स्वर्ण जितेका थिए ।
जापानको हिरोसिमा एसियाड १९९४ मा टीकाबहादुर बोगटी र विशनसिंह रावतले म्याराथन दौडमा भाग लिए । १४ धावकले दूरी पार गर्दा टीका आठौं र विशनले दसौं स्थानमा अटाए । टीकाले २ घण्टा २७ मिनेट ४० सेकेन्ड र विशनले २ घण्टा ३९ मिनेट १९ सेकेन्डको समय निकालेका थिए । १३ औं एसियाली खेलकुद बैंकक १९९८ मा नेपालले महिला र पुरुष दुवैको म्याराथनमा सहभागिता जनाएको थियो । एसियाडमा पहिलो पटक महिला म्याराथनमा भाग लिँदा धाविका राधा श्रेष्ठले प्रतिस्पर्धा गरिन् । उनले ३ घण्टा ३५ मिनेट १३ सेकेन्डमा दूरी पार गरिन् । उनी १० औं स्थानमा थिइन् । दूरी पार गर्ने पनि १० धाविका मात्र थिए । पुरुषतर्फ १० धावकले मात्र दूरी पार गर्न सके । त्यसमा कोरियाका ली बोङ–जू २ घण्टा १२ मिनेट ३२ सेकेन्डबाट स्वर्ण जित्न सफल भए । नेपालका लक्ष्मण अधिकारी र रामबहादुर बस्नेत दूरी पार गर्न असफल भए ।
२००२ को बुसान एसियाडमा नेपाली म्याराथन धावक अर्जुनकुमार बस्नेत र यामबहादुर पुडासैनीले सहभागिता जनाए । अर्जुनले सातौं स्थान ओगटे । उनले २ घण्टा २८ मिनेट २३ सेकेन्डको टाइमिङ निकाल्दा यामबहादुर २ घण्टा ३६ मिनेट २१ सेकेन्ड दूरी पार सफल भए । १४ धावकले मात्र दूरी पार गर्दा यामबहादुर १२ औं स्थानमा थिए ।
जापान र कोरियाली धावकको वर्चस्व रहँदै आएको एसियाड म्याराथनमा २००६ मा भने कतारी धावक हसन सामी मुवारकले स्वर्णमा बाजी मारे । आफ्नै भूमिमा उनले २ घण्टा १२ मिनेट ४४ सेकेन्डबाट स्वर्ण जिते । नेपालबाट अर्जुनकुमारले लगातार दोस्रो एसियाडमा सहभागिता जनाए । उनले ११ औं स्थानमा रहेर दूरी पार गर्दा २ घण्टा २३ मिनेट ५५ सेकेन्डको टाइमिङ निकाले । यो १९७८ को बैंककमा वैकुण्ठले निकालेपछिको एसियाडमा नेपालको उत्कृष्ट टाइमिङ थियो । दोहामा १९ धावकले मात्र रेस पूरा गरेका थिए । २०१० मा चीनको ग्वाङझाउ एसियाडमा नेपालबाट म्याराथनमा राजेन्द्रले सहभागिता जनाए । तर उनले दूरी पूरा गर्न सकेनन् । १८ धावकले दूरी पार गर्दा दक्षिण कोरियाका जी योङ–जुनले २ घण्टा ११ मिनेट ११ सेकेन्डबाट स्वर्ण जिते । दोहामा स्वर्ण जितेका हसन सामी तेस्रो भए ।
दक्षिण कोरियाको इन्चोन एसियाड २०१४ मा नेपालबाट महिला र पुरुष दुवैतर्फ म्याराथन खेलाडीको सहभागिता थियो । अमेरिकामा बस्दै आएकी धाविका स्वरूपा खड्काले महिलामा म्याराथन भाग लिइन् । सिकागो म्याराथन दौडिएकी स्वरूपाले ३ घण्टा ४१ सेकेन्डमा इन्चोनमा म्याराथन पूरा गरिन् । दूरी पूरा गर्दा उनी पुछारमा थिइन् । पुरुषतर्फ नेपालका कृष्णबहादुर बस्नेत २ घण्टा २७ मिनेट २ सेकेन्डमा दूरी पार गर्दै ११ औं स्थानमा रहे । १४ धावकले दूरी पार गर्दा कडा टक्करबीच दुई जापानी धावकलाई सेकेन्डले पछि पार्दै बहराइनका हसन महबुबले २ घण्टा १२ मिनेट ३८ सेकेन्डबाट स्वर्ण हत्याएका थिए ।
कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्कीले २०१८ को जकार्ता एसियाडको म्याराथनमा सहभागिता जनाए पनि दुवै दूरी पार गर्न असमर्थ भए । १५ धावकले दूरी पार गर्दा जापानका हिरोतोले २ घण्टा १८ मिनेट २२ सेकेन्डबाट स्वर्ण जितेका थिए । २०२२ को हाङचाउ एसियाडमा महिलामा पुष्पा भण्डारी र पुरुषमा राजन रोकायले भाग लिए । १२ औं सागमा रजत र बंगबन्धु म्याराथनमा स्वर्ण जितिसकेकी पुष्पाले ३ घण्टा २ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरिन् । १६ धाविकाले दूरी पार गर्दा उनी पुछारमा रहिन् । राजनले २ घण्टा २३ मिनेट १७ सेकेन्डबाट १४औं स्थान हासिल गरेका थिए । १६ धावकले दूरी पार गरे । कोरोना महामारीका कारण २०२२ मा हुनुपर्ने १९ औं संस्करणको एसियाड एक वर्षपछि भएको थियो ।
ओलम्पिकमा नेपाल
ओलम्पिकमा म्याराथन सहभागिताको चर्चा गर्दा नेपालको गर्बिलो इतिहास छ । जहिलेदेखि नेपालले ओलम्पिकमा सहभागिता जनाउन थाल्यो, त्यही बेलादेखि नै म्याराथनमा भाग लिएको हो । नेपालले भाग लिएको सन् १९६४ टोकियो ओलम्पिक पहिलो हो । २००० को सिड्नी ओलम्पिकभन्दा अगाडिसम्म भाग लिएका सबै संस्करणमा नेपालले म्याराथनमा सहभागिता जनाउँदै आएको छ । त्यसपछि नेपालले लामो दूरीको म्याराथनमा भन्दा मध्यम दूरी र छोटो दूरीको दौडमा आफ्नो सहभागितालाई बढावा दिएको पाइन्छ । लगातार चार ओलम्पिकमा खेल्ने नेपालको एक्लो खेलाडीको रूपमा वैकुण्ठ मानन्धर छन् । टीका बोगटीले दुई ओलम्पिकमा म्याराथनको प्रतिनिधित्व गरे । नेपालले खेलेका तीन संस्करणमा महिला धाविकाले पनि म्याराथनमा सहभागिता जनाए । पछिल्लो पटक पेरिस ओलम्पिक २०२४ मा सन्तोषी श्रेष्ठले म्याराथन दौडिइन् ।
१९६४ टोकियोमा नेपालले ६ सदस्यीय खेलाडी टोली सहभागी गराउँदा एथलेटिक्सका दुई र बक्सिङका चार खेलाडी थिए । एथलेटिक्समा भाग लिएका भूपेन्द्रबहादुर सिलवाल र गंगाबहादुर थापा दुवै म्याराथनमा दौडिए । दुवै ३५ किमिसम्म दौडिए पनि दौड पूरा गर्न सकेनन् । म्याराथनमा ५८ धावकले दूरी पार गर्दा गंगा र भूपेन्द्रसहित १० धावकले बीचमै दौड त्यागेका थिए । नेपालको दोस्रो ओलम्पिक सहभागितामा म्युनिख ओलम्पिक, १९७२ मा धावक जितबहादुर केसी र भक्तबहादुर सापकोटाले म्याराथन दौडिए । पश्चिम जर्मनीमा भएको यो ओलम्पिकलाई आतंककारी घटना (म्युनिख नरसंहार) ले बढी चर्चित बनाएको छ । म्युनिखको ट्र्याकमा म्याराथन दूरी पार गर्दा भक्तबहादुरको टाइमिङ २ घण्टा ५७ मिनेट ५८ सेकेन्ड थियो । जितबहादुरले भने दौड बीचमै छाड्नुपरेको थियो । खुट्टाको मसल्समा समस्या आएपछि उनी थप दौडिन सकेनन् । दौड छाड्दा उनले करिब २० किमि दौडिसकेका थिए । उनीजस्तै बीचमा दौड छाड्ने दर्जन धावक थिए ।
क्यानडाको मोन्ट्रियल १९७६ बाट सुरु भएको हो वैकुण्ठको ओलम्पिक यात्रा । म्याराथनका ७० प्रतिस्पर्धीमा वैकुण्ठले २ घण्टा ३० मिनेट ७ सेकेन्डमा दूरी पूरा गरे । ६० धावकले दूरी पार गर्दा उनी ५० औं स्थानमा थिए । १९८० मस्को ओलम्पिकमा वैकुण्ठ र मुकुन्दहरिले म्याराथन दौडिए । वैकुण्ठले २ घण्टा २३ मिनेट ५१ सेकेन्डमै दौड पूरा गरे । उनी मोन्ट्रियलभन्दा झन्डै ७ मिनेट छिटो दौडिए । विश्वका ५३ देशका धावकले दौड पूरा गर्दा वैकुण्ठ ३७ औं स्थानमा थिए । मुकुन्दहरिले २ घण्टा ३८ मिनेट ५२ सेकेन्डबाट दूरी टुंग्याए । उनी ४५ औं स्थानमा रहे । मुकुन्दहरिले आठ जनालाई पछाडि पारे ।
१९८४ को लस एन्जल्स ओलम्पिकमा नेपालले म्याराथनमा तीन खेलाडी उतारेको थियो । वैकुण्ठ, अर्जुन र अमिरी यादवले भाग लिए । खारिएका वैकुण्ठले २ घण्टा २२ मिनेट ५२ सेकेन्डबाट दूरी गरे । मस्कोमा भन्दा एक मिनेट सुधारेका उनी ४६ औं स्थानमा रहन सफल भए । अर्जुन २ घण्टा ३२ मिनेट ५३ सेकेन्डसहित ६३ औं र अमिरी २ घण्टा ३८ मिनेट १० सेकेन्डसहित ६९ औं स्थानमा रहे । १०८ प्रतिस्पर्धीमा ७८ जनाले दूरी पार गरे । पोर्चुगलका कार्लोस लोपेजले २ घण्टा ९ मिनेट २१ सेकेन्डको ओलम्पिक रेकर्ड राख्दै म्याराथन स्वर्ण जिते । १९८८ सोलमा नेपालले तीन पुरुषसँगै दुई महिला धाविकालाई पनि म्याराथनमा सहभागी गरायो । वैकुण्ठ चौथो पटक सहभागिता हुँदा टीका बोगटी र कृष्णबहादुर बस्नेतको ओलम्पिक डेब्यु थियो । वैकुण्ठले २ घण्टा २५ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गरी ५४ औं स्थानमा म्याराथन टुंग्याए । टीकाले २ घण्टा ३१ मिनेट ४९ सेकेन्ड र कृष्णबहादुरले २ घण्टा ४७ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरे । ९८ ले दूरी पार गर्दा टीकाले ६६ औं र कृष्णबहादुरले ८५ औं स्थान भेटे । पहिलो पटक ओलम्पिक खेल्ने नेपाली म्याराथन धाविका बनेकी राजकुमारी पाण्डेले ३ घण्टा १० मिनेट ३१ सेकेन्ड र मेनुका रावतले ३ घण्टा ११ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरे । समग्रमा उनीहरू ६० र ६१ औं स्थानमा रहे । ६४ धाविकाले मात्र म्याराथन पूरा गरे ।
स्पेनको बार्सिलोनामा भएको १९९२ को ओलम्पिकमा नेपालबाट हरिबहादुर रोकायले म्याराथन दौडिए । चार वर्षअघि मध्यम दूरीमा ओलम्पिक खेलेका हरिबहादुरले बार्सिलोनामा २ घण्टा ३२ मिनेट २६ सेकेन्डमा म्याराथन दौड पूरा गर्दै ७० औं स्थानमा रहे । ८७ धावकले म्याराथन पूरा गर्दा कोरियाली धावक योङ चो ह्वाङ २ घण्टा १३ मिनेट २३ सेकेन्डबाट स्वर्ण जित्न सफल भए । १९९६ एटलान्टा ओलम्पिकमा टीका ३४ वर्षको उमेरमा म्याराथन दौडिए । अनुभवी धावकका रूपमा रहेका उनले २ घण्टा २७ मिनेट ४ सेकेन्डको टाइमिङ निकाले । १ सय ११ जनाले म्याराथन दूरी पार गर्दा टीका ७४ औं स्थानमा रहे । दक्षिण अफ्रिकाका जोसिआ थुग्वानेले २ घण्टा १२ मिनेट ३६ सेकेन्डबाट ओलम्पिकमा स्वर्ण जित्ने पहिलो अश्वेत खेलाडी बने ।
ओलम्पिकको महिला म्याराथनमा नेपालले दोस्रोपल्ट सहभागिता जनाएको १९९६ नै हो । त्यसमा प्रतिस्पर्धी रहेकी विमला रानामगर ३ घण्टा १६ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै ६२ औं स्थानमा रहिन् । कुल ६५ धाविकाले दूरी पूरा गरेकामा इथियोपियाकी धाविका फातुमा रोबाले २ घण्टा २६ मिनेट ५ सेकेन्डबाट स्वर्ण जिते । उनी ओलम्पिकमा स्वर्ण जित्ने पहिलो अफ्रिकी महिला खेलाडी बनिन् । २००० सिड्नी, २००४ एथेन्समा मध्यम र छोटो दूरीका खेलाडीलाई ओलम्पिक पठाउँदा २००८ बेइजिङमा म्याराथनले पुनरागमन गरेको थियो । अर्जुनकुमारले बेइजिङमा २ घण्टा २३ मिनेट ९ सेकेन्डमा दूरी गरेर व्यक्तिगत टाइमिङमा सुधार गरे ।
त्यस्तै २०१२ लन्डन, २०१६ रियो दी जेनेरियो र २०२२ टोकियो ओलम्पिकमा पनि नेपालको सहभागिता छोटो दूरीको इभेन्टमा रह्यो । कोरोनाले प्रभावित बनेको २०२२ को टोकियो ओलम्पिकमा म्याराथनमा सहभागिता गराउने निर्णय भएको थियो । त्यसका लागि नेपालगन्ज म्याराथनलाई आधार मान्दै खेलाडी छनोट गरिएको थियो । विजेता रहेका गोपीचन्द्र पार्की टोकियो जाने तयारीमा थिए । तर, अन्तिम समयमा उनी जान पाएनन् । म्याराथनका लागि आवश्यक टाइमिङ नपुगेको भन्दै नाम दर्ता नगरिएकाले गोपीले सहभागिता जनाउन पाएनन् ।
दुई वर्षअघि सम्पन्न २०२४ को पेरिस ओलम्पिकमा सन्तोषी श्रेष्ठले सहभागिता जनाइन् । उनले २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा दूरी पूरा गरिन् । समग्रमा उनी ७९ औं स्थानमा रहिन् । कठिन कोर्स मानिएको पेरिस म्याराथनमा सन्तोषीभन्दा पछाडि भुटानकी किन्जोङ ल्हामु (३ घण्टा ५२ मिनेट ५९ सेकेन्ड) थिइन् । नेदरल्यान्ड्सकी धाविका सिफन हसनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डबाट दूरी पार गरेर स्वर्ण पदक जितिइन् । सन्तोषीको दोस्रो अन्तर्राष्ट्रिय म्याराथन सहभागिताका रूपमा पेरिस ओलम्पिक थियो ।
एसियन तथा वर्ल्ड च्याम्पियनसिप
एसियन एथलेटिक्स एसोसिएसनको आयोजनामा एसियन एथलेटिक्स च्याम्पियनसिप १९७३ देखि सुरु भयो । फिलिपिन्सको मनिलामा भएको पहिलो संस्करणमा नेपालले म्याराथनमा सहभागिता जनाउँदा जितबहादुर केसीले कांस्य पदक जिते । उक्त पदक नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको पहिलो पदक पनि हो । जितबहादुरले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डबाट कांस्य जित्दा दुई कोरियाली चो जी–ह्युङले २ घण्टा २७ मिनेट ३१ सेकेन्डबाट स्वर्ण र पार्क चाङ–युएले २ घण्टा ३३ मिनेट ४५ सेकेन्डबाट रजत जिते । दोस्रो संस्करण १९७५ मा दक्षिण कोरियाको सोलमा आयोजना भयो । जितबहादुरले त्यहाँ पनि कांस्य जिते । उनले दूरी पार गर्न २ घण्टा ३९ मिनेट ६ सेकेन्ड लगाएर जापानी धावकलाई टक्कर दिए । जापानका सुइकी तानाकाले २ घण्टा ३२ मिनेट ६ सेकेन्डबाट स्वर्ण र सुसुमु सातोले २ घण्टा ३७ मिनेट ५१ सेकेन्डबाट रजत जिते । वैकुण्ठ चौथो भए ।
त्यसपछि एसियन च्याम्पियनसिपको १९८५ को एउटा संस्करणमा मात्र म्याराथन इभेन्ट समावेश गराइयो र च्याम्पियनसिपबाट म्याराथन अलग गराइयो । विभिन्न सहरमा छुट्टै म्याराथन गराइने एसियन एथलेटिक्स महासंघले निर्णय गरेको थियो । यता वैकुण्ठ १९८३ मा सुरु भएको विश्व एथलेटिक्स च्याम्पियनसिपको पहिलो संस्करण (हेलसिन्की, फिनल्यान्ड) मा उत्कृष्ट प्रदर्शन गर्दै ४३ औं स्थानमा अटाएका थिए । उनले २ घण्टा २१ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरे । ६३ धावकले दौड पार गर्दा १८ धावकले बीचमै छाडे । वर्ल्ड च्याम्पियनसिपको पहिलो स्वर्ण अस्ट्रेलियाका रोबर्ट डी कास्टेलाले २ घण्टा १० मिनेट ३ सेकेन्डबाट जितेका थिए ।
दोस्रो संस्करण (१९८७ रोम, इटाली) चन्द्रबहादुर गुरुङ २ घण्टा ४३ मिनेट ५४ सेकेन्डबाट ४६ औं स्थानमा रहे । उनीभन्दा पछाडि रहेर गुएनाका विलियम अब्राहमले दूरी पूरा गर्दा २० जनाले दौड पूरा गर्न सकेनन् । कृष्णबहादुर (१९९१ टोकियो, जापान) तेस्रो वर्ल्ड च्याम्पियनसिपमा म्याराथन दौडिए । उनी २ घण्टा ३३ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दा ३१ औं स्थानमा थिए । हरेक दुई वर्षमा हुने वर्ल्ड च्याम्पिनसिपमा नेपालले तेस्रोपछि एकैचोटि सन् २०१७ लन्डनमा भएको १६ औं संस्करण भाग लियो । त्यसमा धावक भूमिराज राईको सहभागिता थियो । तर उनले दूरी पूरा गर्न सकेनन् । २०२२ मा अमेरिकाको ओरेगनमा १८ औं वर्ल्ड च्याम्पियनसिपमा कृष्णबहादुर बस्नेत ५४ औं स्थानमा रहे । उनले २ घण्टा २४ मिनेट १९ सेकेन्ड पूरा गरे ।
