गर्बिलो प्रदर्शन, समृद्ध इतिहास

दक्षिण एसियालीदेखि एसियाली, ओलम्पिक खेलकुदसहित अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरूमा नेपाली धावकहरू म्याराथन सहभागितालाई गर्बिलो बनाएका छन्

चैत्र २८, २०८२

ध्रुव तुलाधर

Bold performance, rich history

What you should know

काठमाडौँ —  नेपाली खेलकुदमा म्याराथन दौडले समृद्ध इतिहास बोकेको छ । नेपालसँग म्याराथनका थुप्रै अन्तर्राष्ट्रिय पदकहरू छन् । दक्षिण एसियालीदेखि एसियाली, ओलम्पिक खेलकुदसम्म नेपाली धावकहरूले आफ्नो म्याराथन सहभागितालाई गर्बिलो पारेका छन् ।

दक्षिण एसियाली राष्ट्रहरूको ‘ओलम्पिक’ मानिने दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ, हाल साग) मा त म्याराथनमा नेपालको बलियो पकड छ । कीर्तिमान नै नेपाली खेलाडीको नाममा छ । जुन अहिलेसम्म तोडिएको छैन । सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो संस्करणमा वैकुण्ठ मानन्धरले राखेको २ घण्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान १३ औं संस्करण सकिँदासम्म दक्षिण एसियाका कुनै धावकले तोड्न सकेका छैनन् । 

नेपाली म्याराथनका लिजेन्ड धावकको पहिचान बनाएका मानन्धरले त्यो समय निकाल्दा साफमा लगातार तेस्रो स्वर्ण पदक जितेका थिए । उनको गलामा पहिलो काठमाडौं साफ र दोस्रो ढाका साफको स्वर्ण थियो । सन् १९८९ को इस्लामाबाद साफमा मानन्धरले कांस्य पदक जित्दै आफ्नो साफ सहभागितालाई गर्बिलो र स्वर्णिम बनाएका थिए । जुन आजको दिनसम्म पनि स्थापित छ । साफको १३ संस्करणसम्म आइपुग्दा नेपालले म्याराथनमा ६ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जितेको छ । नेपाललाई पछ्याउँदै श्रीलंकाले ६ स्वर्ण जित्दा भारतले आफ्नै भूमि गुवाहाटीमा २०१६ मा भएको सागमा म्याराथनको स्वर्ण हत्याएको थियो ।

मानन्धरको पथ पछ्याउने क्रममा टीकाबहादुर बोगटीले १९९५ को मद्रास साफ (सातौं संस्करण) मा स्वर्ण जितेको इतिहास छ । उनले २ घण्टा १९ मिनेट ३९ सेकेन्डको उत्कृष्ट समय निकालेका थिए । त्यसअघि टीकाले कोलम्बो १९९१ र ढाका १९९३ मा कांस्य जितेर म्याराथनमा साफको पदक इतिहास गौरवमय बनाएका थिए । सन् २०१० मा ढाकामा आयोजित ११ औं संस्करणमा राजेन्द्र भण्डारी र २०१९ मा काठमाडौंमा भएको १३ औं संस्करणमा किरणसिंह बोगटीले म्याराथनबाट नेपाललाई स्वर्ण दिलाएका छन् । दक्षिण एसियाली खेलकुदमा नेपालले म्याराथनबाट कुनै पनि पदक जित्न नसकेको गुवाहाटी (२०१६) मै हो । 

२००६ को कोलम्बो साफमा श्रीलंकन धावक अजित बन्दरालाई चुनौती पेस गरेका अर्जुनकुमार बस्नेतले २ घण्टा २८ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै रजत जितेका थिए । स्वर्ण जितेका बन्दराले २ घण्टा २५ मिनेट ४० सेकेन्डको टाइमिङ निकालेका थिए । ढाकामा उनै अजितलाई उछिनेर राजेन्द्र भण्डारीले स्वर्ण जितेका हुन् । आयोजक बंगलादेशको कमजोरीका कारण म्याराथनको दूरी (४२.१९५ किमि) पूर्ण नभएकाले त्यसलाई रोड रेसको मान्यता दिइएको थियो । घरेलु भूमिमा किरणले स्वर्ण जित्दा २ घण्टा २१ मिनेट १७ सेकेन्डको समय निकालेका थिए । उनले भारतीय धावक रसपाल सिंह र श्री सिंहले कडा चुनौती सामना गर्नुपरेको थियो । रसपालले त ४० सेकेन्ड मात्र पछाडि रहेर दूरी पार गरेका हुन् । 

मानन्धरको कीर्तिमानको नजिक भने सन् २०१६ मा भारतीय धावक नितेन्द्र सिंह रावत पुगेका थिए । उनी १५ सेकेन्डले कीर्तिमान बराबरी गर्नबाट चुकेका हुन् । नितेन्द्रले २ घण्टा १५ मिनेट १८ सेकेन्डबाट दौड जित्दै भारतलाई दक्षिण एसियाली खेलकुदमा म्याराथनको पहिलो स्वर्ण दिलाएका थिए ।  दक्षिण एसियाली खेलकुदको म्याराथनमा सफलता पाएका अरू धावकमा रजत जित्नेमा अर्जुन पण्डित (पहिलो साफ), विशनसिंह राउत (पाँचौं, १९९१), गणेशबहादुर राई (सातौं, १९९५), अर्जुनकुमार बस्नेत (दसौं, २००६) रहेका छन् । त्यस्तै तेस्रो हुँदै कांस्य जित्ने वैकुण्ठ र टीकाबाहेक अरू धावकमा कृष्णबहादुर बस्नेत (दोस्रो साफ, १९८५), गणेशबहादुर राई (आठौं, १९९९), अर्जुनकुमार बस्नेत (नवौं, २००४) छन् । 

दक्षिण एसियाली खेलकुद (साग) को महिला म्याराथनमा नेपाली खेलाडीले सफलता पाएको इतिहास भने एउटै मात्र छ । सन् २०१९ मा आफ्नै भूमिमा पुष्पा भण्डारीले रजत पदक जितेकी थिइन् । उनले राष्ट्रिय कीर्तिमानसहित उक्त सफलता पाएकी हुन् । उनले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा दूरी पूरा गरिन् । त्यसअघि कान्छीमाया कोजुको नाममा २ घण्टा ५५ मिनेट ५७ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । कान्छीमायाले उक्त कीर्तिमान २०१६ मा काठमाडौं म्याराथनमा राखेकी थिइन् । पुष्पाले रजत जित्दा श्रीलंकन धाविका हिरूना विजयारत्नेले २ घण्टा ४१ मिनेट २७ सेकेन्डबाट स्वर्ण जितेकी थिइन् ।  सन् १९९५ को मद्रास साफमा विमला रानामगर र इन्द्र मल्लले म्याराथन दूरी पार गरेका थिए । विमलाले ३ घण्टा १० मिनेट ३४ सेकेन्ड र इन्द्रले ३ घण्टा २१ मिनेट २२ सेकेन्डको दुरी पार गरेको इतिहास छ । विमलाले आठौं साफमा पनि सहभागिता जनाइन् तर दायाँ घुँडाको चोटका कारण उनले दौड पूरा गर्न सकिनन् ।

एसियाडमा नेपाल 
सन् १९५१ मा भारतको नयाँदिल्लीबाट एसियाली खेलकुद (एसियाड) सुरु भएको हो । एसियाडको म्याराथनमा नेपाली धावकले पाँचौं स्थानसम्म रहेर दूरी पूरा गरेको इतिहास छ ।

पहिलो संस्करणको एसियाडमा एसियाका जम्मा ११ राष्ट्रले सहभागिता जनाएको थियो । त्यसमध्ये नेपाल पनि एक हो । नौ खेलमा मात्र प्रतिस्पर्धा गराइएको एसियाडमा नेपालले एथलेटिक्समा भाग लिएको थियो । म्याराथन (तत्कालीन दूरी २६ माइल अर्थात् ३८५ यार्ड) मा नेपालका गजराज जोशीले २१ माइलसम्म दौडिएर बीचमै त्यागेका थिए । भारतीय धावक छोटा सिंहले २ घण्टा ४२ मिनेट ५८.६ सेकेन्डबाट उक्त म्याराथन जितेका थिए । दोस्रो संस्करण १९५४ को मनिला एसियाडमा नेपालले भाग नै लिएन । 

जापानको टोकियोमा भएको १९५८ को तेस्रो संस्करणमा नेपालले म्याराथनमा दुई खेलाडी सहभागी गराएको थियो । नरबहादुर गुरुङले दूरी पार गर्न नसक्दा भूपेन्द्रबहादुर सिलवालले सातौं स्थानमा दौड पूरा गरेका थिए । उनको टाइमिङ ३ घण्टा ५५ मिनेट ३१ सेकेन्ड रहेको थियो । उनले खाली खुट्टा नै दौडिएका थिए । उनको खाली खुट्टा दौडिँदा जापानी महिलाले बाल्टिनबाट पानी खन्याइदिएको तस्बिरले सर्वाधिक चर्चा पाएको थियो । यस संस्करणमा कोरियाका ली चेन हुनले २ घण्टा ३२ मिनेट ५५ सेकेन्डबाट स्वर्ण जिते । नेपालभन्दा अघि कोरिया, जापान र बर्माका धावक मात्र थिए ।

त्यस्तै १९७० बैंकक एसियाली खेलकुदमा नेपालका दुई धावक जितबहादुर केसी र गंगाबहादुर थापाले म्याराथन दूरी सफलतापूर्वक पार गरेका थिए । जितबहादुरले २ घण्टा ४८ मिनेट ५३ सेकेन्ड र गंगाबहादुरले २ घण्टा ५६ मिनेट ५२ सेकेन्डबाट क्रमशः सातौं र आठौं स्थान ओगटेका थिए । १० धावकले दूरी गर्दा नेपालभन्दा पछाडि थाइल्यान्ड र भियतनामका धावक थिए । जापानका केन्जी किमिहारुले २ घण्टा २१ मिनेट ०१ सेकेन्डको कीर्तिमान टाइमिङबाट स्वर्ण जितेका थिए । इरानको तेहरानमा भएको १९७४ को एसियाडमा म्याराथन इभेन्ट नै समावेश थिएन । जसका कारण म्याराथन धावक जितबहादुरले ५ हजार मिटर दौडमा सहभागिता जनाएका थिए । उनले हिट चरण पार गरेर फाइनल खेलेका थिए । उनले १५ मिनेट ५२.८२ सेकेन्ड दूरी पार गर्दा भारतीय धावक शिवनाथ सिंहले १४ मिनेट २०.५० सेकेन्डबाट ५ हजार मिटर दौडको स्वर्ण जितेका थिए ।

Bold performance, rich historyआठौं एसियाली खेलकुद १९७८ बैंककमा उनै जितबहादुर र वैकुण्ठले म्याराथनमा भाग लिएका थिए । एसियाका १८ धावकले म्याराथन दूरी पार गर्दा वैकुण्ठ सातौं स्थानमा थिए । उनको समय २ घण्टा २१ मिनेट ११ सेकेन्डको थियो । यही टाइमिङमा जापानी केन्जीले १९७० को एसियाडमा स्वर्ण जितेका थिए । जितबहादुर भने १२ औं स्थानमा थिए । उनले २ घण्टा ३४ मिनेट ३६ सेकेन्ड दूरी पूरा गरेका थिए । नयाँ दिल्लीमा भएको १९८२ को नवौं एसियाडको म्याराथनमा मुकुन्दहरि श्रेष्ठको सहभागिता थियो । तर उनले दूरी पूरा गर्न सकेनन् । वैकुण्ठले १० हजार मिटरमा प्रतिस्पर्धा गरेका थिए । ३० मिनेट ५९.२० सेकेन्डमा दौड पूरा गरेका उनी पदक नजिक थिए । स्वर्ण जित्ने चीनका झाङ गुओइको टाइमिङ २९ मिनेट ३७.५६ सेकेन्ड निस्केको थियो । 

वैकुण्ठले लगातार तेस्रो एसियाडका रूपमा १९८६ को सोल एसियाड खेले । दक्षिण कोरियाली भूमिमा भएको उक्त एसियाडमा वैकुण्ठ र अर्जुनले म्याराथनमा सहभागिता जनाए । ९ धावकले दूरी पार गर्दा वैकुण्ठ पाँचौं र अर्जुन छैटौं स्थानमा थिए । वैकुण्ठको २ घण्टा २६ मिनेट ७ सेकेन्ड तथा अर्जुनको २ घण्टा ३४ मिनेट २८ सेकेन्ड निस्केको थियो । जापानी धावक ताकेयुकी नाकायामाले २ घण्टा ८ मिनेट २१ सेकेन्डको कीर्तिमानसहित स्वर्ण जितेका थिए । १९९० को बेइजिङ एसियाली खेलकुदको म्याराथनमा नेपालका दिलीपकुमार कार्की र दुर्गा प्रसादले भाग लिएका थिए । दुर्गाले दूरी पार गर्न सकेनन् । दिलीपले १२ औं स्थानमा रहेर दूरी पार गर्दा २ घण्टा ३३ मिनेट ३५ सेकेन्ड लगाएका थिए । १४ धावकले दूरी पार गर्दा दक्षिण कोरियाका किम वन–टेकले २ घण्टा १२ मिनेट ५६ सेकेन्डबाट स्वर्ण जितेका थिए ।

जापानको हिरोसिमा एसियाड १९९४ मा टीकाबहादुर बोगटी र विशनसिंह रावतले म्याराथन दौडमा भाग लिए । १४ धावकले दूरी पार गर्दा टीका आठौं र विशनले दसौं स्थानमा अटाए । टीकाले २ घण्टा २७ मिनेट ४० सेकेन्ड र विशनले २ घण्टा ३९ मिनेट १९ सेकेन्डको समय निकालेका थिए । १३ औं एसियाली खेलकुद बैंकक १९९८ मा नेपालले महिला र पुरुष दुवैको म्याराथनमा सहभागिता जनाएको थियो । एसियाडमा पहिलो पटक महिला म्याराथनमा भाग लिँदा धाविका राधा श्रेष्ठले प्रतिस्पर्धा गरिन् । उनले ३ घण्टा ३५ मिनेट १३ सेकेन्डमा दूरी पार गरिन् । उनी १० औं स्थानमा थिइन् । दूरी पार गर्ने पनि १० धाविका मात्र थिए ।  पुरुषतर्फ १० धावकले मात्र दूरी पार गर्न सके । त्यसमा कोरियाका ली बोङ–जू २ घण्टा १२ मिनेट ३२ सेकेन्डबाट स्वर्ण जित्न सफल भए । नेपालका लक्ष्मण अधिकारी र रामबहादुर बस्नेत दूरी पार गर्न असफल भए ।

२००२ को बुसान एसियाडमा नेपाली म्याराथन धावक अर्जुनकुमार बस्नेत र यामबहादुर पुडासैनीले सहभागिता जनाए । अर्जुनले सातौं स्थान ओगटे । उनले २ घण्टा २८ मिनेट २३ सेकेन्डको टाइमिङ निकाल्दा यामबहादुर २ घण्टा ३६ मिनेट २१ सेकेन्ड दूरी पार सफल भए । १४ धावकले मात्र दूरी पार गर्दा यामबहादुर १२ औं स्थानमा थिए । 

जापान र कोरियाली धावकको वर्चस्व रहँदै आएको एसियाड म्याराथनमा २००६ मा भने कतारी धावक हसन सामी मुवारकले स्वर्णमा बाजी मारे । आफ्नै भूमिमा उनले २ घण्टा १२ मिनेट ४४ सेकेन्डबाट स्वर्ण जिते । नेपालबाट अर्जुनकुमारले लगातार दोस्रो एसियाडमा सहभागिता जनाए । उनले ११ औं स्थानमा रहेर दूरी पार गर्दा २ घण्टा २३ मिनेट ५५ सेकेन्डको टाइमिङ निकाले । यो १९७८ को बैंककमा वैकुण्ठले निकालेपछिको एसियाडमा नेपालको उत्कृष्ट टाइमिङ थियो । दोहामा १९ धावकले मात्र रेस पूरा गरेका थिए । २०१० मा चीनको ग्वाङझाउ एसियाडमा नेपालबाट म्याराथनमा राजेन्द्रले सहभागिता जनाए । तर उनले दूरी पूरा गर्न सकेनन् । १८ धावकले दूरी पार गर्दा दक्षिण कोरियाका जी योङ–जुनले २ घण्टा ११ मिनेट ११ सेकेन्डबाट स्वर्ण जिते । दोहामा स्वर्ण जितेका हसन सामी तेस्रो भए ।

दक्षिण कोरियाको इन्चोन एसियाड २०१४ मा नेपालबाट महिला र पुरुष दुवैतर्फ म्याराथन खेलाडीको सहभागिता थियो । अमेरिकामा बस्दै आएकी धाविका स्वरूपा खड्काले महिलामा म्याराथन भाग लिइन् । सिकागो म्याराथन दौडिएकी स्वरूपाले ३ घण्टा ४१ सेकेन्डमा इन्चोनमा म्याराथन पूरा गरिन् । दूरी पूरा गर्दा उनी पुछारमा थिइन् । पुरुषतर्फ नेपालका कृष्णबहादुर बस्नेत २ घण्टा २७ मिनेट २ सेकेन्डमा दूरी पार गर्दै ११ औं स्थानमा रहे । १४ धावकले दूरी पार गर्दा कडा टक्करबीच दुई जापानी धावकलाई सेकेन्डले पछि पार्दै बहराइनका हसन महबुबले २ घण्टा १२ मिनेट ३८ सेकेन्डबाट स्वर्ण हत्याएका थिए । 

कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्कीले २०१८ को जकार्ता एसियाडको म्याराथनमा सहभागिता जनाए पनि दुवै दूरी पार गर्न असमर्थ भए । १५ धावकले दूरी पार गर्दा जापानका हिरोतोले २ घण्टा १८ मिनेट २२ सेकेन्डबाट स्वर्ण जितेका थिए । २०२२ को हाङचाउ एसियाडमा महिलामा पुष्पा भण्डारी र पुरुषमा राजन रोकायले भाग लिए । १२ औं सागमा रजत र बंगबन्धु म्याराथनमा स्वर्ण जितिसकेकी पुष्पाले ३ घण्टा २ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरिन् । १६ धाविकाले दूरी पार गर्दा उनी पुछारमा रहिन् ।  राजनले २ घण्टा २३ मिनेट १७ सेकेन्डबाट १४औं स्थान हासिल गरेका थिए । १६ धावकले दूरी पार गरे । कोरोना महामारीका कारण २०२२ मा हुनुपर्ने १९ औं संस्करणको एसियाड एक वर्षपछि भएको थियो ।

ओलम्पिकमा नेपाल 
ओलम्पिकमा म्याराथन सहभागिताको चर्चा गर्दा नेपालको गर्बिलो इतिहास छ । जहिलेदेखि नेपालले ओलम्पिकमा सहभागिता जनाउन थाल्यो, त्यही बेलादेखि नै म्याराथनमा भाग लिएको हो । नेपालले भाग लिएको सन् १९६४ टोकियो ओलम्पिक पहिलो हो । २००० को सिड्नी ओलम्पिकभन्दा अगाडिसम्म भाग लिएका सबै संस्करणमा नेपालले म्याराथनमा सहभागिता जनाउँदै आएको छ । त्यसपछि नेपालले लामो दूरीको म्याराथनमा भन्दा मध्यम दूरी र छोटो दूरीको दौडमा आफ्नो सहभागितालाई बढावा दिएको पाइन्छ । लगातार चार ओलम्पिकमा खेल्ने नेपालको एक्लो खेलाडीको रूपमा वैकुण्ठ मानन्धर छन् । टीका बोगटीले दुई ओलम्पिकमा म्याराथनको प्रतिनिधित्व गरे । नेपालले खेलेका तीन संस्करणमा महिला धाविकाले पनि म्याराथनमा सहभागिता जनाए । पछिल्लो पटक पेरिस ओलम्पिक २०२४ मा सन्तोषी श्रेष्ठले म्याराथन दौडिइन् ।

१९६४ टोकियोमा नेपालले ६ सदस्यीय खेलाडी टोली सहभागी गराउँदा एथलेटिक्सका दुई र बक्सिङका चार खेलाडी थिए । एथलेटिक्समा भाग लिएका भूपेन्द्रबहादुर सिलवाल र गंगाबहादुर थापा दुवै म्याराथनमा दौडिए । दुवै ३५ किमिसम्म दौडिए पनि दौड पूरा गर्न सकेनन् । म्याराथनमा ५८ धावकले दूरी पार गर्दा गंगा र भूपेन्द्रसहित १० धावकले बीचमै दौड त्यागेका थिए । नेपालको दोस्रो ओलम्पिक सहभागितामा म्युनिख ओलम्पिक, १९७२ मा धावक जितबहादुर केसी र भक्तबहादुर सापकोटाले म्याराथन दौडिए । पश्चिम जर्मनीमा भएको यो ओलम्पिकलाई आतंककारी घटना (म्युनिख नरसंहार) ले बढी चर्चित बनाएको छ । म्युनिखको ट्र्याकमा म्याराथन दूरी पार गर्दा भक्तबहादुरको टाइमिङ २ घण्टा ५७ मिनेट ५८ सेकेन्ड थियो । जितबहादुरले भने दौड बीचमै छाड्नुपरेको थियो । खुट्टाको मसल्समा समस्या आएपछि उनी थप दौडिन सकेनन् । दौड छाड्दा उनले करिब २० किमि दौडिसकेका थिए । उनीजस्तै बीचमा दौड छाड्ने दर्जन धावक थिए ।

Bold performance, rich historyक्यानडाको मोन्ट्रियल १९७६ बाट सुरु भएको हो वैकुण्ठको ओलम्पिक यात्रा । म्याराथनका ७० प्रतिस्पर्धीमा वैकुण्ठले २ घण्टा ३० मिनेट ७ सेकेन्डमा दूरी पूरा गरे । ६० धावकले दूरी पार गर्दा उनी ५० औं स्थानमा थिए । १९८० मस्को ओलम्पिकमा वैकुण्ठ र मुकुन्दहरिले म्याराथन दौडिए । वैकुण्ठले २ घण्टा २३ मिनेट ५१ सेकेन्डमै दौड पूरा गरे । उनी मोन्ट्रियलभन्दा झन्डै ७ मिनेट छिटो दौडिए । विश्वका ५३ देशका धावकले दौड पूरा गर्दा वैकुण्ठ ३७ औं स्थानमा थिए । मुकुन्दहरिले २ घण्टा ३८ मिनेट ५२ सेकेन्डबाट दूरी टुंग्याए । उनी ४५ औं स्थानमा रहे । मुकुन्दहरिले आठ जनालाई पछाडि पारे ।  

१९८४ को लस एन्जल्स ओलम्पिकमा नेपालले म्याराथनमा तीन खेलाडी उतारेको थियो । वैकुण्ठ, अर्जुन र अमिरी यादवले भाग लिए । खारिएका वैकुण्ठले २ घण्टा २२ मिनेट ५२ सेकेन्डबाट दूरी गरे । मस्कोमा भन्दा एक मिनेट सुधारेका उनी ४६ औं स्थानमा रहन सफल भए । अर्जुन २ घण्टा ३२ मिनेट ५३ सेकेन्डसहित ६३ औं र अमिरी २ घण्टा ३८ मिनेट १० सेकेन्डसहित ६९ औं स्थानमा रहे । १०८ प्रतिस्पर्धीमा ७८ जनाले दूरी पार गरे । पोर्चुगलका कार्लोस लोपेजले २ घण्टा ९ मिनेट २१ सेकेन्डको ओलम्पिक रेकर्ड राख्दै म्याराथन स्वर्ण जिते । १९८८ सोलमा नेपालले तीन पुरुषसँगै दुई महिला धाविकालाई पनि म्याराथनमा सहभागी गरायो । वैकुण्ठ चौथो पटक सहभागिता हुँदा टीका बोगटी र कृष्णबहादुर बस्नेतको ओलम्पिक डेब्यु थियो । वैकुण्ठले २ घण्टा २५ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गरी ५४ औं स्थानमा म्याराथन टुंग्याए । टीकाले २ घण्टा ३१ मिनेट ४९ सेकेन्ड र कृष्णबहादुरले २ घण्टा ४७ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरे । ९८ ले दूरी पार गर्दा टीकाले ६६ औं र कृष्णबहादुरले ८५ औं स्थान भेटे । पहिलो पटक ओलम्पिक खेल्ने नेपाली म्याराथन धाविका बनेकी राजकुमारी पाण्डेले ३ घण्टा १० मिनेट ३१ सेकेन्ड र मेनुका रावतले ३ घण्टा ११ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरे । समग्रमा उनीहरू ६० र ६१ औं स्थानमा रहे । ६४ धाविकाले मात्र म्याराथन पूरा गरे ।

स्पेनको बार्सिलोनामा भएको १९९२ को ओलम्पिकमा नेपालबाट हरिबहादुर रोकायले म्याराथन दौडिए । चार वर्षअघि मध्यम दूरीमा ओलम्पिक खेलेका हरिबहादुरले बार्सिलोनामा २ घण्टा ३२ मिनेट २६ सेकेन्डमा म्याराथन दौड पूरा गर्दै ७० औं स्थानमा रहे । ८७ धावकले म्याराथन पूरा गर्दा कोरियाली धावक योङ चो ह्वाङ २ घण्टा १३ मिनेट २३ सेकेन्डबाट स्वर्ण जित्न सफल भए । १९९६ एटलान्टा ओलम्पिकमा टीका ३४ वर्षको उमेरमा म्याराथन दौडिए । अनुभवी धावकका रूपमा रहेका उनले २ घण्टा २७ मिनेट ४ सेकेन्डको टाइमिङ निकाले । १ सय ११ जनाले म्याराथन दूरी पार गर्दा टीका ७४ औं स्थानमा रहे । दक्षिण अफ्रिकाका जोसिआ थुग्वानेले २ घण्टा १२ मिनेट ३६ सेकेन्डबाट ओलम्पिकमा स्वर्ण जित्ने पहिलो अश्वेत खेलाडी बने । 

ओलम्पिकको महिला म्याराथनमा नेपालले दोस्रोपल्ट सहभागिता जनाएको १९९६ नै हो । त्यसमा प्रतिस्पर्धी रहेकी विमला रानामगर ३ घण्टा १६ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै ६२ औं स्थानमा रहिन् । कुल ६५ धाविकाले दूरी पूरा गरेकामा इथियोपियाकी धाविका फातुमा रोबाले २ घण्टा २६ मिनेट ५ सेकेन्डबाट स्वर्ण जिते । उनी ओलम्पिकमा स्वर्ण जित्ने पहिलो अफ्रिकी महिला खेलाडी बनिन् । २००० सिड्नी, २००४ एथेन्समा मध्यम र छोटो दूरीका खेलाडीलाई ओलम्पिक पठाउँदा २००८ बेइजिङमा म्याराथनले पुनरागमन गरेको थियो । अर्जुनकुमारले बेइजिङमा २ घण्टा २३ मिनेट ९ सेकेन्डमा दूरी गरेर व्यक्तिगत टाइमिङमा सुधार गरे । 

त्यस्तै २०१२ लन्डन, २०१६ रियो दी जेनेरियो र २०२२ टोकियो ओलम्पिकमा पनि नेपालको सहभागिता छोटो दूरीको इभेन्टमा रह्यो । कोरोनाले प्रभावित बनेको २०२२ को टोकियो ओलम्पिकमा म्याराथनमा सहभागिता गराउने निर्णय भएको थियो । त्यसका लागि नेपालगन्ज म्याराथनलाई आधार मान्दै खेलाडी छनोट गरिएको थियो । विजेता रहेका गोपीचन्द्र पार्की टोकियो जाने तयारीमा थिए । तर, अन्तिम समयमा उनी जान पाएनन् । म्याराथनका लागि आवश्यक टाइमिङ नपुगेको भन्दै नाम दर्ता नगरिएकाले गोपीले सहभागिता जनाउन पाएनन् ।

दुई वर्षअघि सम्पन्न २०२४ को पेरिस ओलम्पिकमा सन्तोषी श्रेष्ठले सहभागिता जनाइन् । उनले २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा दूरी पूरा गरिन् । समग्रमा उनी ७९ औं स्थानमा रहिन् । कठिन कोर्स मानिएको पेरिस म्याराथनमा सन्तोषीभन्दा पछाडि भुटानकी किन्जोङ ल्हामु (३ घण्टा ५२ मिनेट ५९ सेकेन्ड) थिइन् । नेदरल्यान्ड्सकी धाविका सिफन हसनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डबाट दूरी पार गरेर स्वर्ण पदक जितिइन् । सन्तोषीको दोस्रो अन्तर्राष्ट्रिय म्याराथन सहभागिताका रूपमा पेरिस ओलम्पिक थियो ।  

एसियन तथा वर्ल्ड च्याम्पियनसिप 
एसियन एथलेटिक्स एसोसिएसनको आयोजनामा एसियन एथलेटिक्स च्याम्पियनसिप १९७३ देखि सुरु भयो । फिलिपिन्सको मनिलामा भएको पहिलो संस्करणमा नेपालले म्याराथनमा सहभागिता जनाउँदा जितबहादुर केसीले कांस्य पदक जिते । उक्त पदक नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको पहिलो पदक पनि हो । जितबहादुरले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डबाट कांस्य जित्दा दुई कोरियाली चो जी–ह्युङले २ घण्टा २७ मिनेट ३१ सेकेन्डबाट स्वर्ण र पार्क चाङ–युएले २ घण्टा ३३ मिनेट ४५ सेकेन्डबाट रजत जिते । दोस्रो संस्करण १९७५ मा दक्षिण कोरियाको सोलमा आयोजना भयो । जितबहादुरले त्यहाँ पनि कांस्य जिते । उनले दूरी पार गर्न २ घण्टा ३९ मिनेट ६ सेकेन्ड लगाएर जापानी धावकलाई टक्कर दिए । जापानका सुइकी तानाकाले २ घण्टा ३२ मिनेट ६ सेकेन्डबाट स्वर्ण र सुसुमु सातोले २ घण्टा ३७ मिनेट ५१ सेकेन्डबाट रजत जिते । वैकुण्ठ चौथो भए ।

त्यसपछि एसियन च्याम्पियनसिपको १९८५ को एउटा संस्करणमा मात्र म्याराथन इभेन्ट समावेश गराइयो र च्याम्पियनसिपबाट म्याराथन अलग गराइयो । विभिन्न सहरमा छुट्टै म्याराथन गराइने एसियन एथलेटिक्स महासंघले निर्णय गरेको थियो । यता वैकुण्ठ १९८३ मा सुरु भएको विश्व एथलेटिक्स च्याम्पियनसिपको पहिलो संस्करण (हेलसिन्की, फिनल्यान्ड) मा उत्कृष्ट प्रदर्शन गर्दै ४३ औं स्थानमा अटाएका थिए । उनले २ घण्टा २१ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरे । ६३ धावकले दौड पार गर्दा १८ धावकले बीचमै छाडे । वर्ल्ड च्याम्पियनसिपको पहिलो स्वर्ण अस्ट्रेलियाका रोबर्ट डी कास्टेलाले २ घण्टा १० मिनेट ३ सेकेन्डबाट जितेका थिए ।

दोस्रो संस्करण (१९८७ रोम, इटाली) चन्द्रबहादुर गुरुङ २ घण्टा ४३ मिनेट ५४ सेकेन्डबाट ४६ औं स्थानमा रहे । उनीभन्दा पछाडि रहेर गुएनाका विलियम अब्राहमले दूरी पूरा गर्दा २० जनाले दौड पूरा गर्न सकेनन् । कृष्णबहादुर (१९९१ टोकियो, जापान) तेस्रो वर्ल्ड च्याम्पियनसिपमा म्याराथन दौडिए । उनी २ घण्टा ३३ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दा ३१ औं स्थानमा थिए ।  हरेक दुई वर्षमा हुने वर्ल्ड च्याम्पिनसिपमा नेपालले तेस्रोपछि एकैचोटि सन् २०१७ लन्डनमा भएको १६ औं संस्करण भाग लियो । त्यसमा धावक भूमिराज राईको सहभागिता थियो । तर उनले दूरी पूरा गर्न सकेनन् । २०२२ मा अमेरिकाको ओरेगनमा १८ औं वर्ल्ड च्याम्पियनसिपमा कृष्णबहादुर बस्नेत ५४ औं स्थानमा रहे । उनले २ घण्टा २४ मिनेट १९ सेकेन्ड पूरा गरे । 

ध्रुव

Link copied successfully