दौडकी 'रेकर्ड होल्डर'

स्वर्ण जितेको पहिचानबाट गोल्डेन गर्ल्स बनेकी धाविका सन्तोषी श्रेष्ठले एक वर्षमा चार फरक विधामा ५ कीर्तिमान स्थापित गरेकी छन्

चैत्र २८, २०८२

ध्रुव तुलाधर

Running 'record holder'

What you should know

काठमाडौँ — धाविका सन्तोषी श्रेष्ठका लागि वर्ष २०८२, सपना पूरा भएको वर्षका रूपमा रह्यो । घरेलु दौडमा हार्न नजानेकी सन्तोषीले यसपालि वर्षौंदेखिको मध्यम दूरीमा स्थापित राष्ट्रिय कीर्तिमान र २ घण्टा ४० मिनेटमा म्याराथन दूरी पार गर्ने सपनालाई एकसाथ पूरा गरेकी छन् ।

उनी भन्छिन्, ‘मेरा लागि ठूलो सफलता पूरा भएको छ । एक वर्षमा दुवै सफलता आत्मसात् गर्न सकेकी छु ।’ मध्यम दूरीको दौडलाई छाडेर सन्तोषी म्याराथनतर्फ लम्किएकी पनि ३ वर्ष भइसकेको छ । ५ हजार र १० मिटर दौडमा प्राप्त सफलताबाट उचाइ पाएकी सन्तोषी त्यही विधाको राष्ट्रिय कीर्तिमानबाट भने टाढै थिइन् । त्यो उनका लागि अधुरो सपना बनिरहेको थियो । दुवै इभेन्टको कीर्तिमान कान्छीमाया कोजुको नाममा वर्षौंदेखि स्थापित थियो । ‘वर्षौंदेखि प्रयास त थियो, तर दिदी (कान्छीमाया) को रेकर्ड ब्रेक गर्न सकिरहेको थिइनँ । त्यो इभेन्ट छाडेर लामो दूरीमा गइसकेको अवस्थामा रेकर्ड ब्रेक गर्न सकें । यसले झन् मलाई थप खुसी दिलायो,’ सन्तोषीको मुहारमा वर्षौंदेखिको प्यास मेटिएको भाव झल्किरहेको थियो । झन्डै दुई दशक हाराहारीमा रहेको कीर्तिमानलाई उनले तोडेकी थिइन् । गत असोजमा नयाँदिल्लीमा सम्पन्न साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपमा उनले त्यो मौका पाएकी हुन् । उनले ५ र १० हजार मिटरमा राष्ट्रिय कीर्तिमानसहित दुवैमा कांस्य जितेकी थिइन् ।

अर्को पेरिस ओलम्पिक २०२४ मा जानुअघि नै उनको सपना थियो, त्यहाँ २ घण्टा ४० मिनेटमा म्याराथन दूरी पार गर्ने । पहिलो पटक ओलम्पिकमा भाग लिइरहेकी सन्तोषीले पेरिसमा त्यो अठोट पूरा गर्न सकिनन् । कठिन मानिएको पेरिसको म्याराथन रुटमा २ घण्टा ५५ मिनेट ५ सेकेन्डमा दूरी भने पार गरिन् । तर उनको सपना बरकरार रह्यो । 

त्यसको एक वर्षपछि नै सन्तोषीले आफ्नो सपना साकार पारिन् । गत पुसमा उनले ४२के भ्यालेन्सिया म्याराथनमा २ घण्टा ४० मिनेट २३ सेकेन्डमा दूरी पार गर्दै सपनालाई यथार्थतामा बदलिन् । जहाँ आफ्नै नामको राष्ट्रिय कीर्तिमान पनि ब्रेक गरिन् । वर्ष प्रारम्भमै सन्तोषीले लन्डन म्याराथन दौडँदा २ घण्टा ४२ मिनेट ५० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । त्यसलाई भ्यालेन्सियामा दुई मिनेटले सुधारेकी थिइन् ।

‘रेकर्ड, ड्रिम टाइम र इन्टरनेसनल मेडल’ जित एकै वर्ष मिल्नु आफ्ना लागि एउटा संयोग मात्र नभई वर्षौंदेखिको मिहिनेतको फल हो भन्छिन् उनी । सन्तोषीले भनेकी छन्, ‘मेरा लागि यो वर्ष अविश्वसनीय रूपमा बहुमूल्य बनेको छ । २ घण्टा ४० मिनेटमा म्याराथन दौडने सपना साकार भयो । डर, आँसु, भावना र सपनाले भरिएको लामो प्रतीक्षा अन्ततः सबै एकैचोटि पूरा भएको महसुस गरेकी छु ।’

मध्यम दूरीकी सफल धाविका सन्तोषीले तीन वर्षअघि बंगबन्धु ढाका म्याराथनमा २ घण्टा ४६ मिनेट २६ सेकेन्डको कीर्तिमान बनाएर लामो दूरीको यात्रा थालेकी थिइन् । सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेपछि चर्चासँगै ‘गोल्डेन गर्ल्स’ छवि बनाएकी सन्तोषीको परिचय अहिले फेरिएको छ । उनी ‘रेकर्ड होल्डर’ धाविका बनिरहेकी छन् । नेपाली एथलेटिक्समा अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो महिला खेलाडी भएकाले उनी ‘गोल्डेन गर्ल्स’ बाट परिचित थिइन् । गत वर्ष उनले म्याराथन मात्र होइन, हाफ म्याराथन, ५ हजार र १० मिटर दौडमा गरी ५ राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन् । त्यसैले त उनको परिचय रेकर्ड होल्डरतर्फ बदलिएको छ । 

कात्तिकमा सम्पन्न साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपको ५ हजार (समय, १६ः३४.६१) र १० हजार (समय, ३४ः४७.७७) मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित दुई कांस्य जितिन् । त्यो उनका लागि अन्तर्राष्ट्रिय च्याम्पियनसिपको पहिलो आधिकारिक पदक थियो । त्यसको एक महिनाअघि दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान रचेकी थिइन् । जहाँ उनको टाइमिङ १ घण्टा १५ मिनेट ७ सेकेन्डको थियो । कडा परिश्रम अनि प्रशिक्षक र गुरुको निरन्तर योजना, विश्वास र मार्गदर्शन, परिवार, साथीभाइको साथ र समर्थनमा आफूले ती उपलब्धिहरू हासिल गरेको सन्तोषी सुनाउँछिन् । उनी भन्छिन्, ‘चार फरक विधामा पाँच राष्ट्रिय कीर्तिमान अझै पनि वास्तविक जस्तो लाग्दैन । यो हुनुअघि मलाई पनि असम्भव लाग्थ्यो तर निरन्तरको प्रयासले लायक साबित भएँ । यो त्यो वर्ष हो, जसलाई मैले धेरै वर्षदेखि पर्खिरहेकी थिएँ ।’

अहिले मिसन २०२६ (जापान एसियाड) को राष्ट्रिय प्रशिक्षणमा क्याम्पमा रहेकी सन्तोषी विभागीय टोलीभन्दा बाहिरै रहेर आफ्नो दौड यात्रा अगाडि बढाइरहेकी छन् । अध्ययन र खेलकुदलाई समानान्तर रूपमा अघि बढाइरहेकी सन्तोषी कुनै बेला सोच्थिन्, विभागीय टिम (आर्मी, पुलिस र एपीएफ) भन्दा बाहिर रहेर पनि राष्ट्रिय च्याम्पियन बन्न सकिन्छ होला । साँच्चै उनका ती सोच र सपनाहरू सुरक्षित रूपमा अवतरण भइरहेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ सुनखानीमा जन्मेकी हुन्, सन्तोषी । अहिले उनी बाआमासँगै काठमाडौं बूढानीलकण्ठमा बस्छिन् । विजेश्वरीस्थित गीतामाता उच्चमाविबाट एसएलसी दिएकी सन्तोषीले त्रिभुवन विश्वविद्यालयबाट एमपीए (मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन) गरेकी छन् । पोषण तथा पब्लिक हेल्थमा पोस्ट ग्य्राजुएट डिप्लोमा गरेकी उनी स्पोर्ट्स साइन्सकी पनि विद्यार्थी हुन् ।

६–७ कक्षामा पढ्दाताका नै उनी दौडमा भाग लिइरहेकी हुन्थिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्नुअघि सन्तोषीले राष्ट्रिय खेलकुद, राष्ट्र्रिय च्याम्पियनसिप, ट्र्याक तथा रोड रेसजस्ता प्रतियोगिताहरूमा ५ दर्जनभन्दा बढी पदकहरू जितिसकेकी थिइन् । उनी पूर्वओलम्पियन धावक रघुराज वन्तको प्रशिक्षण र मार्गनिर्देशनमा अगाडि बढिरहेकी धाविका हुन् । वन्तलाई नै आफ्नो सफलताको मुख्य प्रेरणाको स्रोत मान्छिन् सन्तोषी । सन्तोषीले आफूले भाग लिएका स्वदेशका सबैजसो प्रतियोगितामा स्वर्ण पदक जितेको इतिहास छ । ४० भन्दा बढी स्वर्ण जितेकी थिइन् । ती पदकहरू उनले देशका विभिन्न स्थानमा भएका ५ किमि, १० किमि र हाफ म्याराथन दौडका थिए । १९ औं एसियाली खेलकुद (चीन), भेनलुप हाफ म्याराथन (नेदरल्यान्ड्स), पाडवर्न १०के (जर्मनी), इस्तानबुल हाफ म्याराथन (टर्की), माल्दिभियन च्याम्पियनसिपलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव पनि उनीसँग छ ।

सन्तोषीको लामो दूरीको पाइला भने कान्तिपुर हाफ म्याराथनबाट अघि बढेको हो । जतिबेला उनी मध्यम दूरीमा स्थापित भइरहेकी थिइन् । कान्तिपुर हाफ म्याराथनकै ५ किमि कर्पोरेट विधातर्फ चार पटक उपाधि जितिसकेकी थिइन् । त्यसपछि उनलाई हाफ म्याराथन कुदौं जस्तो लाग्यो । मध्यम दूरीमा दौडिरहेकाले उनले असहज महसुस त गरिन्, तर हिम्मत हारिनन् । प्रशिक्षक र आफैंलाई चकित पार्दै उनी दोस्रो स्थानमा आइन् । ‘म आफैंलाई पनि आशा थिएन, त्यति लामो रेस पूरा गर्न सक्छु, सक्दिनँ । नतिजा आएपछि गुरु पनि आश्चर्यचकित हुनुभयो । तर मध्यम दूरीमा प्राप्त सफलताले २१ किमि पहिलो पटक पूरा गरें,’ सन्तोषीले ५ वर्षअघिको क्षण स्मरण गरिन् । 

त्यसपछि अगाडि बढेको उनको हाफ म्याराथनको पाइला रोकिएको छैन । सहभागिता जनाएका सबै प्रतियोगितामा सफलता हात पार्दै आएकी छन् । कान्तिपुर हाफ म्याराथन भने तेस्रो प्रयासमा गत वर्ष जितेकी थिइन् । ‘हाफ म्याराथन जहाँबाट सुरु गरें, त्यही प्रतियोगिताको उपाधिमात्र मसँग थिएन, सबैले यो प्रतियोगिता जितोस् भन्ने चाहेका थिए, बल्ल पूरा गर्न पाएँ,’ गत वर्ष १३ औं संस्करणको कान्तिपुर हाफ म्याराथन च्याम्पियन भएपछि सन्तोषीले भनेकी थिइन् । यस वर्ष उनको अर्को उपलब्धि भनेको नेपाल रन यूकेको ब्रान्ड एम्बासडर हुनु पनि हो । जसले सन्तोषीको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताको व्यवस्थापन गर्दछ । 

नेपालमा धेरै आयोजना हुने दौडमा अहिले हाफ म्याराथन पनि पर्दछ । सन्तोषीले सबैजसोमा अनुभव र सफलता हासिल गरिसकेकी छन् । उनी अझै धेरैभन्दा धेरै मानिस सहभागिता भएको म्याराथन इभेन्ट आयोजना भएको हेर्न चाहन्छिन् । ‘हेल्थ एन्ड सेफ्टीसँगै पुरस्कार, व्यवस्थापन सबै पक्षमा राम्रो भए भाग लिने धेरै हुन्छन्, जसले कडा प्रतिस्पर्धा हुन्छ, यसले खेलाडीले आफूलाई अपग्रेट गर्न पाउँछन्, स्तर पनि बढ्छ,’ सन्तोषी भन्छिन्, ‘स्वास्थ्य जनचेतनाको हिसाबले पब्लिकको पनि उच्च सहभागिता हुने दौडहरू हुनुपर्छ ।’

निरन्तर आयोजनाले कान्तिपुर हाफ म्याराथन राष्ट्रिय खेलाडीहरूका लागि पनि प्रतीक्षाको इभेन्ट बनेको सन्तोषीको ठम्याइ छ । बर्सेनि आयोजना हुने भएपछि खेलाडीलाई पनि आफ्नो तालिका बनाएर खेल्न सजिलो हुने उनले बुझेकी छन् । आममानिस पनि महोत्सवका रूपमा हुने दौड इभेन्टहरूमा सहभागी भइरहँदा व्यक्तिगत स्वास्थ्यका लागि राम्रो हुने र दौडप्रति प्रेरित भइरहँदा खेलाडी बन्न बाटो पनि खुल्ने उनको बुझाइ छ । उनी भन्छिन्, ‘दौडेरै धेरै सिकें, जोखिम लिन सिकें, बहन गर्न सिकें । प्रतिस्पर्धाले जित्न सिकाउँछ, हार्न पनि सिकाउँछ । आफूले आफैंलाई विश्वास गरेर अघि बढ्न सिकाउँछ । संघर्षले सफलता दिन्छ भन्ने सिकाउँछ । त्यसैले तपाईंहरू पनि यस्ता इभेन्टहरूमा दौडन थाल्नुस् ।’

ध्रुव

Link copied successfully