अल्ट्रा रेसमा चम्किरहेका दिदीबहिनी

जुम्लाका सुनमाया र राममाया बुढा दौडका उदीयमान खेलाडी हुन् । दुवै अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनरका रूपमा चिनिन थालेका छन्

चैत्र २८, २०८२

डीबी बुढा

Sisters shining in ultra races

What you should know

जुम्ला — जुम्ला पातारासी–२ पेरेगाउँको सामान्य परिवारमा जन्मिएका सुनमाया र राममाया बुढा दौडका उदीयमान खेलाडी हुन् । दुवै अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनरका रूपमा चिनिन थालेका छन् । अहिले दौडमा जमेका उनीहरूको प्रतिस्पर्धा विश्वभर फेलिरहेको छ ।

कर्णाली मात्र होइन सिंगो नेपाल चिनाइरहेका उनीहरू दौडेरै भविष्यको मार्गचित्र कोर्न सफल भइरहेका छन् । आठ सन्तानमध्ये सात छोरी रहेको घरमा जन्मिएका उनीहरूको उमेर तीन वर्षको फरक छ । छोरी जन्मिनेबित्तिकै हेयका दृष्टिले हेर्ने समाजमा उनीहरूले छोरीहरूले पनि मिहिनेत गरे अन्तर्राष्ट्रियस्तरको छवि बनाउन सक्छन् भन्ने सन्देश दिइरहेका छन् ।

सन् २०१५ मा सुनमायाले राष्ट्रपति रनिङ सिल्डमा भाग लिइन् । पहिलो पटकमै दोस्रो स्थान आएपछि दौडप्रति उनको मोह बढ्यो । २०१६ को नोभेम्बरमा मनास्लु माउन्टेन ट्रेल रेसमा भाग लिइन् । फेरि दोस्रो भइन् । त्यसयता उनको अन्तर्राष्ट्रिय यात्रा सुरु भयो । उनले २०१६ को डिसेम्बरमा हङकङमा ५ किलोमिटर र ५१ किलोमिटरमा दुइटा रेसमा भाग लिइन् । दुवैमा उनी दोस्रो भइन् । जसले उनलाई दौडन हौसला थपिरह्यो ।

सन् २०१७ को फेब्रुअरीमा हङकङमै अर्को दौड प्रतियोगितामा भाग लिइन् । फेरि दोस्रो भइन् । २०१८ मा चीनको जाउलीजोङमा भएको प्रतियोगितामा विजेता भइन् । धेरै इभेन्टमा दोस्रो भइरहेकी उनमा विजेता भएपछि थप उत्साह बढ्यो । सुनमायाले २०२१ डिसेम्बरमा थाइल्यान्डमा अल्ट्रा ट्रेल रनिङमा महिलातर्फ ११० किलोमिटर दूरीमा कीर्तिमान बनाइन् । उनले उक्त दौड १४ घण्टा ५४ मिनेट १ सेकेन्डमा पूरा गरिन् । जुन दूरी पूरा गर्न नेपालकै स्टार अल्ट्रा धाविका मीरा राईलाई १७ घण्टा १२ मिनेट ४८ सेकेन्ड लागेको थियो ।

यो कीर्तिमानले आफूमा थप हौसला मिलेको सुनमायाको अनुभव छ । उनले सुनाइन्, ‘गाउँका भीरपहरामा दौडेको अनुभवले नै जीवनमा धेरै परिवर्तन ल्याइरहेको छ ।’ सुनमायाले सन् २०२२ मा फ्रान्समा भएको यूटीएमबी सीसीसीमा दोस्रो स्थान प्राप्त गरिन् । २०२३ मा हङकङमा आयोजित नर्थ फेस हङकङ १०० किलोमिटर रेसमा उनी पहिलो भइन् । उनले सन् २०२३ मा मात्रै हङकङमा भएका तीन वटा अल्ट्रा रेस जितिन् । गत असोज महिनामा सम्पन्न विश्व माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ८२ किलोमिटरमा महिलातर्फ दोस्रो भइन् । अहिलेसम्म सुनमायाले स्विट्जरल्यान्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रेलियालगायत देशमा भएका दौड प्रतियोगितामा भाग लिइसकेकी छन् । नेपालको धरान, व्रेथलेस रनिङ, एसएसआईजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वर्ल्ड ट्रेललगायत दौडमा पदक जितेकी छन् ।

यता राममायाले भने भर्खरै चीनको छेन्दुमा सम्पन्न ६० किलोमिटर ट्रेल रेसमा उपाधि जितिन् । ६ घण्टा ६ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । उनको यो जितले कर्णालीका एथलेटिक्स खेलाडीहरू पनि उत्साही भएका छन् । जुम्लाको दुर्गम पेरेगाउँमा जन्मिएर राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताका अधिकांश खेलमा विजेता बनिसकेकी छन् । ‘आगामी प्रतियोगिताहरूमा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य छ,’ राममायाले भनिन्, ‘म खुसी छु । दौडेर पनि आफू र आफ्नो देश चिनाउन सकिँदोरहेछ भन्ने अनुभूति भइरहेको छ ।’

एथलेटिक्सको राष्ट्रिय प्रतियोगिता, क्रसकन्ट्री दौड, रोड रेस हुँदै पछिल्लो समयमा अल्ट्रा रेसलाई प्राथमिकता दिइरहेकी राममाया पुलिस क्लबमा आबद्ध छिन् । राममाया र सुनमाया कर्णालीका किशोरीका लागि प्रेरणाका स्रोत बनिरहेका छन् । उनीहरूको सफलताले अहिले दर्जन बढी किशोरीहरू पूर्वकीर्तिमानी धावक हरिबहादुर रोकायसँग प्रशिक्षण लिइरहेका छन् ।

राममायाले गत वर्षको हङकङमा भएको ५० किलोमिटरको अल्ट्रा म्याराथनमा कीर्तिमान बनाइन् । उनले भनिन्, ‘गाउँमा दौडँदा त्यत्तिकै दौडिइरहेछु जस्तो लाग्थ्यो तर राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलमा सहभागी भएपछि बल्ल दौडको महत्त्व बुझें ।’ राममाया सात वर्षअघि स्कुलस्तरीय राष्ट्रपति रनिङ सिल्डमा विजेता हुँदै दौडतर्फ लागिन् । लगत्तै जिल्ला हुँदै क्षेत्रीयस्तरका प्रतियोगितामा भाग लिन थालिन् । एथलेटिक्सप्रतिको चासो धेरै भएपछि धावक रोकायले दुवै दिदीबहिनीलाई आफूसँगै राखेर प्रशिक्षण गराए । प्रशिक्षक रोकायले भन्छन्, ‘राममाया र सुनमायाको प्रगतिमा जुम्लालाई गर्व अनुभूति हुन्छ । उनीहरू आफ्नो नाम मात्र हैन, जिल्ला र सिंगो देशको नाम चिनाइरहेका छन् ।’

प्रशिक्षक रोकाय उनीहरूको दौडप्रतिको चासो र मिहिनेतका कारण सफलताको यो अवस्थासम्म आइपुगेको बताउँछन् । झन्डै १० वर्ष आफूले प्रशिक्षण दिएको स्मरण गर्दै रोकायले भने, ‘जुम्ली चेलीले अन्तर्राष्ट्रिय भूमिमा प्रतिस्पर्धा गर्नु गौरवको विषय हो । त्यसमाथि सफलता प्राप्त गर्नु अर्को ठूलो उपलब्धि हो ।’ पहिला जिल्लामा प्रतिभाहरू भए पनि स्थानीयस्तरमै खुम्चनुपरेको थियो । खेल क्षेत्र भन्नेबित्तिकै युवायुवतीमा नैराश्यता छाउने गर्दथ्यो । प्रशिक्षक रोकायले भने, ‘अहिले खेलकुदप्रति युवाको निकै चासो बढेको छ ।’ उनले सुनमाया र राममायाको सफलता एउटा रेस जित्नु मात्र नभई नेपाली महिलाको आत्मबल र क्षमताको प्रतीक बनेको सुनाए ।

उनीहरूले गाउँकै स्कुलमा पढे । उनीहरूका बाआमा छोरीहरू सरकारी जागिरे भएको देख्न चाहन्थे । परिवारसँग १० कक्षा पढिसकेपछि गाउँभन्दा बाहिर पठाएर पढाउन सक्ने अवस्था थिएन । बाआमा छोरीहरूलाई विवाह गर्न दबाब दिइरहेका हुन्थे । सुनमाया बिहेको प्रस्ताव अस्वीकार गर्दै खलंगा झरेको सुनाउँछिन् । ११ कक्षाको पढाइसँगै दौडलाई पनि निरन्तरता दिइन् । सुनमाया खलंगामै बस्ने भएकीले बहिनी राममायालाई सहज बन्यो । सुनमाया उनै रोकायसँग प्रशिक्षण लिन थालिन् । अहिले सुनमाया भन्छिन्, ‘हरि गुरुकै प्रेरणा र कर्णाली खेलकुद क्लबको सहयोगमा अहिले म यो स्थानमा आइपुगेकी छु ।’

प्रशिक्षक रोकाय भने सुनमाया र राममाया आफ्नै मिहिनेतले अघि बढेको बताइरहेका छन् । ‘उनीहरू आफैंले मिहिनेत गरेर यहाँसम्म आइपुगेका हुन्,’ जुम्लाका किशोरकिशोरीलाई खेलाडी बनाइरहेका उनी भन्छन्, ‘बच्चा बेलादेखि सुनमाया र राममायालाई प्रशिक्षण दिँदै आएको हुँ । उनीहरू राम्रा खेलाडी हुन् ।’

दौडनका लागि खानादेखि लगाउने कपडा र जुत्तासम्म नहुँदा पनि आफूहरूले प्रतियोगितामा भाग लिन नछाडेको उनीहरूको अनुभव छ । ‘कहिले ठूलो जुत्ता लगाएर हिँड्नुपर्थ्यो भने कहिले डाइट खान नपाएरै दौडनुपर्थ्यो,’ सुनमायाले भनिन्, ‘तर खेल जितेर विदेशमा नेपालको झन्डा फहराउन पाउँदा गर्वले यी सबै पीडा भुलाउने गर्छ ।’

कैलाश कम्पनीको सहयोगमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिँदै आइरहेका उनीहरूलाई कर्णाली खेलकुद क्लबमा अभ्यासका लागि बेलायती नागरिक रिचर्ड बोलानीले समेत सहयोग गरेका थिए ।

जुम्लाको खलंगामा बसेर संघर्ष गरेका दिन उनीहरूका लागि भुलिनसक्नु छ । जति पनि गाउँलेले उनीहरूलाई खलंगामा भेटिरहेका हुन्थे, दौडेको राम्रो मान्दैनथे । ‘अब तेरी छोरीलाई कसैले विवाह गर्दैनन्, त्यो घरभन्दा बाहिर धेरै बसेकी छे’ भनेर बाआमालाई सुनाउने गर्दा धेरै पटक बाआमाले दौडमा नलाग्नू भनेको सुनमायाको स्मरणमा ताजै छ । अहिले उनीहरूको घरसम्म सडक पुगेको छ । पहिले ४ घण्टाको पैदल हिँडेपछि मात्रै खलंगा आइपुगिन्थ्यो । अहिले उनीसँगैका दौँतरीहरू छोराछोरी च्यापेर बसेका हुन्छन् । तर उनीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा जितेका अवार्ड बोकेर घर पुगिरहेका हुन्छन् ।

कुनै बेला विवाहका लागि दबाब दिएका आमाबुवा छोरीहरूको प्रगति देखेर मख्ख छन् । सुनमायाको सफलताबाट प्रेरित भएर राममायाले पनि यही बाटो समातेकी छन् । उनी भन्छिन्, ‘घरपरिवार र बुवा–आमालाई सम्झाउन सफल भएपछि बहिनीले पनि मेरै बाटो पछ्याइरहेकी छ ।’ पहिले जसले कुरा काट्थे, उनीहरूले नै अहिले ‘तेरो छोरीले नाम कमाएकी छ’ भनेर बुवा–आमालाई सुनाइरहेका हुन्छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully