बुटवलमा चिया संस्कृति : तीन पुस्तादेखिको ‘चियावाला’

आर्थिक केन्द्रका रूपमा विकास हुँदै गरेको बुटवलमा अहिले ‘नाइन्टी फोर चिया पसले’, ‘चियाग्राम’, ‘चिया होलिडे’, ‘चिया होलिक’, ‘चायवाला’, ‘केटली चिया’, ‘चिया अड्डा’, ‘चिया सुड्डा’ लगायतका ४० भन्दा बढी चिया पसल छन्, त्यसमा अग्रणी छ, ‘चियावाला’ । राजनीति गर्न चिया पसल थापेका हजुरबाको चिया विरासतलाई यतिबेला नाति पुस्ताले ‘ब्रान्डिङ’ गरिरहेका छन् ।

पुस १२, २०८२

घनश्याम गौतम

Tea culture in Butwal: Three generations of 'tea makers'

What you should know

बुटवल — बुटवलको ट्राफिक चोकबाट ५० मिटर पूर्वतर्फको भित्री गल्लीमा छिरेपछि हरियाली रुखको छहारीसँगै देखिन्छ, ‘चियावाला’ । सामान्य गेटबाट भित्र छिरेपछिको दृश्य रमणीय छ । खेर गइरहेका सरसामग्रीबाट आकर्षक डिजाइनमा बनाइएका बेन्च र टेबुल । भित्ताहरूमा सजाइएका सयौं वर्ष पुराना चिया पकाउने फलामे ‘केटली’ ।

गाउँमा बिजुलीको सुविधा नपुग्दै बत्ती बाल्न प्रयोग हुने लालटिनदेखि गाउँघरमा प्रयोग हुने पुराना झ्याल–ढोका देख्न पाइन्छ । बाँसबाट बनाइएका कलात्मक सामग्री पनि उत्तिकै छन् । ‘चियावाला’का चियापसल मौलिक र कलात्मक छ ।

कुनै समय सडक बालबालिकाले लागूऔषध सेवन गर्ने असुरक्षित क्षेत्र मानिन्थ्यो, ट्राफिक चोकभित्रको यो गल्ली । तर, चार वर्षदेखि यसले परिचय बदलेको छ । चियाका पारखीहरू बिहान सबेरैदेखि ‘चियावाला’ मा पुग्ने गर्छन् । ४५ वर्षे नरेश पाण्डेले चलाइरहेको ‘चियावाला’मा अहिले ९० प्रकारका चियाको चुस्की लिन पाइन्छ । सबैभन्दा लोकप्रिय छ, ‘घनश्याम’ चिया । त्यसपछि ‘मेरो खुसी चिया’, ‘तराई चिया’, र ‘मट्का चिया’ पनि उत्तिकै चर्चित छन् । चियाको स्वाद लिनकै लागि भारतको गोरखपुरदेखि मारवाडी परिवार ‘चियावाला’मा धाउने गरेको नरेश बताउँछन् । 

पाण्डे परिवारमा चिया संस्कृतिको विकासलाई निरन्तरता दिने तेस्रो पुस्ता हुन्, नरेश । उनको ‘चियावाला’ चिया व्यापारसँग मात्रै जोडिएको छैन, एउटा विरासत पनि हो । उनका हजुरबुबा यज्ञप्रसादले स्याङ्जाको कारिकोटमा पकाउने चिया झन्डै ९० वर्षअघि नै चर्चित थियो । यज्ञप्रसादले राजनीति पनि गर्थे ।

उनका राजनीतिक कुरा सुन्न यत्तिकै कोही नआउने भएपछि यज्ञप्रसादले जुक्ति लगाएछन्, आफ्ना कुरा सुन्नेलाई मिठो चिया खुवाउने ! त्यसपछि त हल्ला नै फिँजिएछ, ‘यज्ञप्रसादका कुरा सुन्न चिया खान जाउँ ।’ अनि त, चिया खान आउनेको भीड लाग्न थालेछ । यज्ञप्रसादले चिया खुवाउँदै राजनीतिक कुरा गरेर नगरसभा सदस्य (नसस) नै जिते । त्यसपछि उनले त्यही चिया खुवाउने जुक्तिलाई व्यापारमा बदले र १९५६ सालदेखि सुरु गरे चिया व्यापार ।

Tea culture in Butwal: Three generations of 'tea makers'

बाबु यज्ञप्रसादको चिया संस्कृतिको लिगेसी नरेशका बाबु घनश्यामले बुटवल ल्याए । स्याङ्जाबाट २०२३ मा बुटवल झरेको दुई वर्षमा नै अमरपथमा काठको ट्यांकीबाट चिया पसल सुरु गरे । हजुरबुबा यज्ञप्रसादले राजनीतिका लागि चलाएको चियापसल बुबा घनश्यामले गुजारा चलाएको चियापसल यतिबेला नाति पुस्तामा आइपुगेको छ ।

बुबा घनश्यामले चलाएको चिया पसलसँगै हुर्केका जेठा छोरा गणेशदेव पाण्डेले त्यसलाई ‘चियावाला’ मा देशभर ‘ब्रान्डिङ’ गर्न सफल भएका छन् । पाण्डे दाजुभाइसँगै परिवारका सबै सदस्यले ‘चियावाला १९५६’ को नाममा देशभर शाखा विस्तार गरिरहेका छन् । र, नरेशले बुटवलमा ‘चियावाला’ चलाइरहेका छन् । गणेशदेवले काठमाडौंमा चलाइरहेका छन् । 

घनश्यामका दुई छोरा गणेशदेव र नरेशसँगै दुई छोरी छन्, शान्ति र सिर्जना । अहिले चारै जनाको छुट्टाछुट्टै चिया पसल छ । गणेशदेवकी छोरी पल्पसा पाण्डेसमेत चिया पसलमै संलग्न छिन् । बुटवल र काठमाडौंका मुख्यसहित सबै आउटलेटहरूमा ‘घनश्याम चिया’ मुख्य ब्रान्ड हो । छोराहरूले बाबुको नामबाटै चियाको नामकरण गरेका हुन् । ‘हामीकहाँ ९० प्रकारका चिया भए पनि अधिकांशको रोजाइ घनश्याम चिया र मेरो खुसी चिया नै हो,’ नरेशले भने, ‘घनश्याम चिया हामी आफैंले तयार गर्ने स्वादको चिया हो भने, मेरो खुसी चिया ग्राहकको चाहनाअनुसार तयार हुने चिया हो ।’

नरेशका अनुसार बुटवलमा घनश्याम, मेरो खुसी, तराई, मटका, हनी जिन्जर, हनी सिनामन, लेमन मिल्क, केसर मिल्क, गावा मिल्क, रोयललगायतका दूध चिया पाइन्छ । त्यस्तै कालो चियामा सादा, मसला, मनरुपा, मिन्ट लेमन, लेमन हनी चिया पाइन्छ । ग्रिन टीतर्फ पर्ल ग्रिन, सेन्चा, कान्छी, क्लासिक, दार्जिलिङ चियाको स्वाद पाइन्छ ।

अर्थोडक्सअन्तर्गत इलाम टी, रुबी ब्ल्याक, हिमालयन गोल्ड, पाथीभारा ब्ल्याक र गोल्डेन टिप्स पनि उपलब्ध हुन्छ । अर्थोडक्समा छुट्टै तीन प्रकारको चिया पनि उपलब्ध हुन्छ । चियाका कलिला पत्तालाई रोल गरेर घाममा वा मेसिनमा सुकाएर तयार गर्ने अर्थोडक्स चिया स्वास्थ्यका लागि पनि लाभदायक मानिने र धेरैले यसको स्वाद मन पराउने नरेशले बताए । 

५० रुपैयाँदेखि ४ सय ५० रुपैयाँसम्मका थरीथरीका चिया स्वादअनुसार रोजेर खान पाइन्छ यहाँ । नरेश र गणेशले बुटवल र काठमाडौंमा चियाका परिकारमा समानता कायम गरेका छन् । त्यसबाहेक अन्य परिकार भने ठाउँअनुसार मेनुमा राखिएका छन् । काठमाडौंको आउटलेटमा मःम पाइँदैन, तर नरेशले बुटवलमा भेज मःम पनि राखेका छन् । काठमाडौंमा चाट बन्छ, बुटवलमा बन्दैन । बरु चाटको सट्टा बटुक र आलु चप राखेका छन्, नरेशले । 

Tea culture in Butwal: Three generations of 'tea makers'

‘चियावाला’ मा महिला कर्मचारीलाई प्राथमिकता दिइएको छ । चिया पकाउनेदेखि रकम बुझ्ने ६ जना सबै महिला नै छन् । ‘चियावाला’मा पुग्ने ग्राहकले सुरुमा काउन्टरमा नै गएर ‘अर्डर’ गरेपछि रकम तिर्छन्, अनि आफैं चिया लिन पुग्छन् । ‘चियावाला’ले आफ्ना सबै पसलमा यही ‘सेल्फ अर्डर’, ‘पे फर्स्ट’ र ‘सेल्फ सर्भिस’ को नियम बसालेका छन् । यहाँ चिया खान आउनेहरू दैनिक ४ सय ५० देखि ६ सय जनासम्म हुने गरेको नरेशले बताए । 

चियाको स्वादसँगै व्यावसायिक योजनामा गफिँदै गरेका बुटवलका दुग्ध व्यवसायी मेघराज भण्डारीले ‘चियावाला’ले चिया व्यापारको संस्कृतिसँगै ट्राफिक चोकको भित्री गल्लीको पहिचान नै बदलिदिएको बताए । ‘हाम्रो सोच चियाको मात्र पनि व्यापार हुन्छ र भन्ने थियो,’ उनले थपे, ‘तर, चियाकै पनि खास व्यापार हुन सक्छ भनेर गणेश र नरेशले प्रमाणित गरिदिए ।’ अहिले यहाँ चिया खाँदै बुद्धिविलास गर्नेहरूको राम्रै जमघट हुने गरेको छ । 

चिया पिलाउँदै पुस्तक पढाउँदै ‘चिया चौतारी’

‘चियावाला’ को जस्तै मात्र चिया पिलाउने नभई बौद्धिक बहसको थलो बनाउने उद्देश्यसहित बुटवलकै सुक्खानगरमा पाँच वर्षअघि खुलेको हो, ‘चिया चौतारी’ । जहाँ पुस्तकका पारखीका लागि पढ्न ‘बुक क्याफे’ पनि छ । चिया/कफीको चुस्की लिँदै क्याफेमा बसेर पुस्तक पढ्न पाउने भएपछि ‘चिया चौतारी’ पछिल्लो समय धेरैको रोजाइको थलो बन्दै गएको छ । चिया खाँदै घण्टौंसम्म पुस्तक पढ्नेहरू यता भेटिन्छन् ।

चौतारीमा पाक्ने बेग्लै स्वादको चिया र बुक क्याफेले युवा पुस्तालाई जमघट गराउने गरेको बुटवलकै अटो व्यवसायी रेशम खड्काले बताए । ‘बिहान/साँझ व्यापारसँगै दिउँसो र साँझ पसलबाट निस्किएपछि एकछिन ‘रिफ्रेस’ हुन चिया चौतारीको बुक क्याफे आइपुग्छु,’ उनले भने, ‘साँझ चियासँगैको पढाइले छुट्टै आनन्द प्रदान गर्छ ।’ 

चिया चौतारी अहिले चिया संस्कृतिसँगै बौद्धिक बहस र छलफल गर्ने केन्द्र पनि बनेको यसका सञ्चालक प्रेम अर्याल बताउँछन् । ‘अहिले चिया चौतारीको बुक क्याफेमा २ सय ५० भन्दा बढी किताबहरू छन्,’ उनले भने, ‘चिया संस्कृतिसँगै अध्ययन संस्कृतिको विकास पनि हाम्रो अर्को उद्देश्य हो ।’

आर्थिक केन्द्रका रूपमा विकास हुँदै गरेको बुटवलमा अहिले ‘नाइन्टी फोर चिया पसले’, ‘चियाग्राम’, ‘चिया होलिडे’, ‘चिया होलिक’, ‘चायवाला’, ‘केटली चिया’, ‘चिया अड्डा’, ‘चिया सुड्डा’लगायतका ४० भन्दा बढी चिया पसल छन् । २२ देखि ४५ वर्षसम्मका युवाहरूले चिया पसलका लागि मात्र ८ देखि ५० लाख रुपैयाँसम्म लगानी गरेका छन् ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully