नेपालमा चिया खेतीको इतिहास बीसौं शताब्दीको उत्तरार्द्धबाट सुरु भए पनि पछिल्ला दशकमा यसको आर्थिक उपस्थिति झनै बलियो हुँदै गएको छ।
What you should know
काठमाडौँ — हानको पहिलो कप चिया केवल तातोपनको अनुभूति होइन, त्यो डाँडाकाँडा, समथर बगान र हजारौं किसान–श्रमिकको पसिनासँग जोडिएको कथा पनि हो । नेपालमा चिया हिजोआज केवल पेय पदार्थको सीमाभन्दा बाहिर निस्केर ग्रामीण अर्थतन्त्रको मेरुदण्ड र निर्यात सम्भावनाको एउटा आधार बनेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार पहिलो व्यावसायिक चिया बगान झापामा बुधकरण चिया इस्टेटले सुरु गरेको थियो । सन् १९७८ मा इलामको कन्याममा पहिलो चिया प्रशोधन कारखाना नेपाल चिया विकास निगमका रूपमा स्थापना भएको थियो ।
नेपालमा चिया खेतीको इतिहास बीसौं शताब्दीको उत्तरार्द्धबाट सुरु भए पनि पछिल्ला दशकमा यसको आर्थिक उपस्थिति झनै बलियो हुँदै गएको छ । इलाम र झापाबाट सुरु भएको चिया खेती अहिले हजारौं किसानको जीविकोपार्जनको मुख्य आधार बनेको छ । अर्थोडक्स (लिफ टी) र सीटीसी (कालो) चियाले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाइरहेका छन् ।
तर आन्तरिक उत्पादनलाई प्रत्यक्ष रूपमा तेस्रो मुलुकसम्म पुर्याउन नसक्दा नेपाली चिया अझै पनि कच्चा वा अर्ध–प्रशोधित रूपमा भारत निर्यात भइरहेको जानकार बताउँछन् । परम्परागत उत्पादन प्रणाली र कमजोर बजारीकरणका कारण नेपाली चियाको बजार ठूलो मात्रामा भारतमै सीमित छ । व्यवसायीका अनुसार नेपालमा उत्पादित प्रायः चिया भारत पुग्छ र त्यहाँबाट तेस्रो मुलुक निर्यात हुन्छ । भन्सार विभागको तथ्यांकले पनि अन्य मुलुकको तुलनामा धेरै चिया भारत नै रहेको देखाउँछ ।
यद्यपि तथ्यांक हेर्दा चिया नेपालको थोरै कृषि वस्तुमध्ये पर्छ, जसले दीर्घकालदेखि निरन्तर व्यापार नाफा दिँदै आएको छ । बोर्डका अनुसार उत्पादन विस्तार, निर्यात मूल्य वृद्धि र आयातमा आएको कमीका कारण चिया व्यापारले नेपालको व्यापार सन्तुलनमा सकारात्मक योगदान दिइरहेको छ ।
आर्थिक वर्ष २०७१/७२ मा नेपालले करिब २ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दा ९ करोड ३६ लाख रुपैयाँको मात्रै आयात गरेको थियो । त्यस वर्ष २ करोड ३१ लाख किलोभन्दा बढी चिया उत्पादन भएको थियो । र, चिया व्यापारबाट करिब १ अर्ब ९१ करोड रुपैयाँ नाफा भएको देखिन्छ । त्यसयता निर्यात क्रमशः बढ्दै गएको छ, आयात भने तुलनात्मक रूपमा घट्दो क्रममा छ । नेपाली चियाको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको व्यापार विज्ञ रविशंकर सैंजु बताउँछन् । ‘श्रीलंकाको चिया ‘श्रीलंकन टी’ भनेर विश्वभर चिनिन्छ,’ सैंजुले भने, ‘त्यसरी नै ‘नेप्लिज टी’ लाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ ।’
चियालाई कच्चा रूपमा होइन, प्रशोधन, प्याकेजिङ र आफ्नै ब्रान्डमार्फत तेस्रो मुलुक निर्यात गर्न सके थप मूल्य अभिवृद्धि हुन्छ । ‘अहिले औपचारिक र अनौपचारिक गरी ९–१० अर्ब रुपैयाँ बराबरको चियाको कारोबार भइरहेको अनुमान छ,’ सैंजु भन्छन्, ‘ब्रान्डिङ गर्न सके वार्षिक १५ देखि २० अर्ब रुपैयाँसम्म निर्यात सम्भव छ ।’ आर्थिक वर्ष २०७४/७५ मा चिया निर्यातबाट ३ अर्ब २५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुँदा आयात १२ करोड रुपैयाँमा सीमित रह्यो । २०७७/७८ पछि चिया व्यापार झनै नाफामूलक बन्दै गयो । आर्थिक वर्ष २०७८/७९ मा १ करोड ६५ लाख किलोभन्दा बढी चिया निर्यात हुँदा ३ अर्ब ९३ करोड रुपैयाँ आम्दानी भयो, आयात ७ करोड ४३ लाख रुपैयाँमा सीमित रहँदा करिब ३ अर्ब ८० करोड रुपैयाँ नाफा देखियो ।
आर्थिक वर्ष २०८०/८१ मा चिया उत्पादन २ करोड ६९ लाख किलो पुगेको छ । उक्त वर्ष ३ अर्ब ६२ करोड रुपैयाँको निर्यात हुँदा आयात ३ करोड रुपैयाँमा सीमित भयो । आर्थिक वर्ष २०८१/८२ मा भने चिया निर्यात ४ अर्ब ५९ करोड रुपैयाँ नाघ्यो, जुन अहिलेसम्मकै उच्च हो । सोही वर्ष ९ करोड २ लाख रुपैयाँ बराबरको मात्रै चिया आयात हुँदा चिया व्यापारबाट ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा भएको छ ।
तर नाफाको यो चित्रसँगै अर्को यथार्थ पनि छ— निर्यातको ठूलो हिस्सा अझै पनि कच्चा वा अर्धप्रशोधित रूपमा भारत जाने भएकाले वास्तविक मूल्य अभिवृद्धि नेपालमै हुन नसकेको विज्ञ बताउँछन् । सीटीसी चिया उत्पादन र खपत दुवै स्वदेशमै बढी हुने नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीको भनाइ छ । ‘मुलुकमा सबैभन्दा बढी सीटीसी चिया उत्पादन हुन्छ, खपत पनि यहीं हुन्छ,’ पराजुलीले भने, ‘तर यसपालि खडेरी र किरा लागेकाले उत्पादन घटेको छ ।’
सीटीसी चियाको मुख्य बजार भारत भएकाले निर्यात वर्षअनुसार उतार–चढावमा रहने पराजुलीले जनाए । ‘नेपालमा खपत बढ्दा निर्यात घट्छ, खपत घट्दा निर्यात बढ्छ,’ उनले भने । अर्थोडक्स चिया भने नेपालमा सीमित मात्रामा खपत हुने र अधिकांश भारत हुँदै निर्यात हुने गरेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालमा २० हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा चिया रोपिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । त्यस वर्ष २ करोड ७० लाख किलो तयारी चिया उत्पादन भएको छ । देशभर १५ हजार २ सय ३ जना चिया किसान, १ सय ७१ टी–इस्टेट र १ सय २० वटा साना–मझौला चिया प्रशोधन केन्द्र सञ्चालनमा छन्, जसबाट ६० हजारभन्दा बढीले रोजगारी पाइरहेको बोर्डले बताएको छ ।
मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा चिया क्षेत्रले ग्रामीण रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्रा आर्जनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बोर्डले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा २ अर्ब २ करोड १४ लाख २६ हजार रुपैयाँको चिया निर्यात हुँदा ३ करोड रुपैयाँको चिया आयात भएको
छ । सबैभन्दा बढी चिया १ अर्ब ८६ करोड ६६ लाख रुपैयाँको कालो चिया निर्यात भएको छ । र, १४ करोड ४ लाख रुपैयाँको ग्रीन टी निर्यात भएको छ । जर्मनी, अमेरिका, चीन, फ्रान्स, क्यानडा, जापान, ताइवानलगायत विभिन्न मुलुकमा चिया निर्यात भएको छ ।
सीटीसी (कालो चिया) ५५ प्रतिशत नेपालमै खपत हुने र ४५ प्रतिशत निर्यात हुने गरेको बोर्डका निर्देशक दीपक खनालले जनाए । कुल चिया निर्यातको ९७ प्रतिशत भारतमा निर्यात हुने गरेको खनाल बताउँछन् । ‘सीटीसी चिया धेरै उत्पादन हुन्छ, त्यसको बजार भारत नै हो,’ उनले भने, ‘अर्थोडक्स चिया केही व्यवसायीले तेस्रो मुलुकमा निर्यात गर्छन् । बाँकी भारतमै निर्यात हुने हो ।’ सीटीसी चिया तेस्रो मुलुकमा निर्यात गरे पनि सफल नभएको संघका पूर्वअध्यक्ष एवं मित्तल टी–इस्टेटका प्रबन्ध निर्देशक सुरेश मित्तलको भनाइ छ ।
‘सीटीसी चिया ५० प्रतिशत नेपालमा खपत हुने र ५० प्रतिशत भारतमा निर्यात हुन्छ । भारतबाहेक तेस्रो मुलुकमा निर्यात गरे पनि हामी सफल भएका छैनौं,’ मित्तलले भने, ‘सीटीसीमा हाम्रो उत्पादन र लजिस्टिक लागत बढी छ । नेपालीको तुलनामा अफ्रिकी मुलुकको चिया धेरै सस्तो पाइन्छ । त्यसकारण हामीले तेस्रो मुलुकमा निर्यात गर्न सकिरहेका छैनौं ।’ तसर्थ चिया निर्यातमा भारतमै निर्भर हुनुपरेको मित्तलले जनाए । ‘नेपालमा अर्थोडक्स चिया उत्पादन बढी छ, यसको पनि अर्गानिक चिया तेस्रो मुलुक जान्छ, बाँकी भारतमै निर्यात हुने हो,’ उनले भने, ‘अर्थोडक्स चिया १० प्रतिशत नेपालमा खपत हुन्छ । १० प्रतिशत तेस्रो मुलुक र ८० प्रतिशत भारत जाने गरेको छ ।’
मित्तल चिया जापान, अस्ट्रेलियालगायत मुलुकमा एकदमै थोरै निर्यात गरिररहेको मित्तलले जनाए । ‘भारत जाने चिया पनि भारतीय ब्रान्डका चियामा मिसाएर तेस्रो मुलुकमै जाने हो,’ उनले भने । नेपालको चिया बजार ९ देखि १० अर्ब रुपैयाँको रहेको उनको भनाइ छ । अर्थोडक्स चिया मुख्य रूपमा देशको पूर्वी भागका पहाडी जिल्ला (इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, सोलुखुम्बु, उदयपुर, संखुवासभा र भोजपुरका साथै मध्यभागका सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, ललितपुर, रामेछाप र कास्कीमा उत्पादन हुने बोर्डले जनाएको छ ।
व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ का अनुसार देशका ७७ मध्ये १४ जिल्लामा मात्र व्यावसायिक चिया खेती गर्ने गरिएको पाइएको छ । चिया खेती गर्ने किसान एवं व्यवसायीमध्ये ५९ प्रतिशतले परम्परागत, ३० प्रतिशतले प्रांगारिक उन्मुख र ११ प्रतिशतले प्रांगारिक खेती गरेको सर्वेक्षणले देखाएको छ ।
