पछिल्लो समय चिया पसलहरू गफ र गसिपका लागि मात्रै होइन, योजना बुन्न पनि उत्तिकै कामयाब छन् । त्यसकारण हिजोझैं गुजुमुच्च बेन्च र टेबल राखेर सञ्चालन गरिने चिया पसलका पुर्ख्यौली अनुहार अहिले फेरिन थालेका छन्, यी अड्डाहरू काव्यिक र कलात्मक शैलीमा निर्माण हुँदै छन् ।
What you should know
साँझको समय चिया पसलको रुमानी वातावरणमा तन्नेरी पुस्ताहरू मग्न देखिन्थे । उम्लिरहेका चियाका मिश्रित बास्नासँगै गुन्जिएको भजनले अनौठो माहोल सिर्जना गरेको थियो । चियाका स्वादमा झुमिरहेकाहरूमध्ये कोही देशको राजनीतिक दिशाबारे प्रक्षेपण गरिरहेका थिए, कोही समाजको स्वरूपमाथि चिन्तन गरिरहेको सुनिन्थे ।
घर, परिवार, करिअरदेखि समाज, देश र कला/साहित्यसम्मका मन्थनको कोलाजले शंखमूलस्थित ‘दाह्री भाइको चिया पसल’ मगमगाएको थियो । तन्नेरी पुस्तामात्र होइन, उमेर र अनुभवले पाका भएकाका लागि पनि यो पसल अनुभूति साट्ने एउटा थलो देखिन्थ्यो ।
पछिल्लो समय चिया पसलहरू गफ र गसिपका लागि मात्र होइन, योजना बुन्न पनि उत्तिकै कामयाब छन् । त्यसकारण हिजोझैं गुजुमुच्च बेन्च र टेबल राखेर सञ्चालन गरिने चिया पसलका पुर्ख्यौली अनुहार अहिले फेरिन थालेका छन् । यी अड्डाहरू काव्यिक र कलात्मक शैलीमा बन्न थालेका छन्— शंखमूलकै पेरिफेरीमा ‘दाह्री भाइको चिया पसल’ होस् वा चिया पारखीहरूको भीडलाई तन्मयका साथ स्वागत गर्ने ‘चियादानी’ । शंखमूलकै पारि बागमतीको करिडोरमा ‘चिया हेडक्वाटर’ देखि ‘चिया मन्त्रालय’ सम्मले पाहुनाहरूलाई तृप्त बनाइरहेको देखिन्छ । कुहिरोले ढाकेको मुडलाई पारिलो बनाउन पनि यी प्रचलित अड्डातिर चियाप्रेमीहरू खोजी–खोजी धाउँछन् ।
आठ वर्षअघि बागमती करिडोरनिर खडा भएको ‘चियावाला’ले काठमाडौंमा चिया पसलको अनुहार फेर्न थालनी गरेको थियो । ‘घनश्याम चिया’, ‘मेरो खुसी चिया’, ‘तराई चिया’ जस्ता फरक–फरक स्वादले मात्रै होइन, पसलको अर्ग्यानिक संरचनाले पनि ग्राहक तान्न सुरु गर्यो । अहिले त ‘चियावाला’ सहरका अरू कुनामा पनि फैलिएको छ । त्यसमध्ये थापाथलीमा रहेको अड्डामा हामी सञ्चालक गणेशदेव पाण्डेलाई भेट्न गयौं । गणेशदेव ‘फिल्ममेकर’ हुन् ।
यसकारण उनको पसलमा फिल्मपारखीहरूको आवतजावत बाक्लो छ । वरिपरि आँप र अम्बाका बोटदेखि सुगन्धित फूलहरूले चियावालाको बाहिरी सौन्दर्य शृंगारिदिएका छन् । भित्ताका ‘स्लोगन’ र कलात्मक चित्र, ग्रामीण जीवनशैलीसँग जोडिएका सामग्रीहरूले ग्राहकहरूलाई बेग्लै अनुभूति दिन्छन् । चियावालामा वकिल, पत्रकार, कलाकारदेखि विभिन्न पेसाका ग्राहक नियमित आउने गर्छन् ।
सञ्चालक गणेशदेव चियावालाको बेन्चमा बसेर पुराना दिनतर्फ फर्किन्छन् । आठ वर्षअघि, फिल्मको ओरालो व्यापारले थलिएर गणेशदेव टक्टकिएका थिए । २०७४ मा उनले फिल्म ‘गाजाबाजा’ प्रदर्शनका बेला सेन्सरको झमेला निकै खेप्नुपर्यो । फिल्मको ‘असफलता’ले उनको व्यक्तिगत जीवनमै असर पार्यो । गणेशदेवलाई लाग्यो, ‘अब त अर्को फिल्म बनाउन कसैले विश्वास गर्दैनन् ।’ उनी विचलित मन लिएर यात्रामा निस्किए । यात्रा क्रममा आफैंलाई प्रश्न गरे, ‘अब के गर्छस् गणेशदेव ?’ ‘चिया,’ मनले एक्कासि जवाफ दियो । हुन पनि बा र हजुरबाले बुटवलमा जीवन नै चिया पसलमा बिताएका थिए । उनको परिवारले सन् १९५६ देखि चिया व्यवसाय सुरु गरेको थियो ।
त्यही व्यवसायलाई काठमाडौंमै पनि हाँक्ने निर्णय गरे उनले, घर गएर श्रीमतीलाई सुनाए । उनले लगाइरहेको गहना बेचेर गणेशदेवकको हातमा पैसा थमाइदिइन् । परिवारले पनि हौसला थमाइदियो । ‘त्यसपछि आँट भरियो । अनि सुरु गरें,’ उनी मुस्कुराउँदै भन्छन् ।
त्यसयता गणेशदेवको चिया व्यवसाय अबिराम चलिरहेकै छ । अहिले काठमाडौंका चार ठाउँमा ‘चियावाला’ ले अड्डा जमाएको छ । उनका प्रत्येक चियापसलले ७ जनासम्मलाई रोजगारी दिएका छन् । गणेशदेव सोच्छन्, ‘चियाले ग्राहक र उनीहरूको सम्बन्धलाई त न्यानो बनाउँछ नै, चियाभान्सामा समर्पित स्टाफहरूको आफ्नै भान्साको पनि चुलो निभ्न दिँदैन ।’
गणेशदेव पनि चियाप्रेमी हुन् । युवाकालमा कलंकी र कीर्तिपुरका गल्लीमा चियाको स्वाद खोज्दै हिँडेको हिजोजस्तै लाग्छ गणेशलाई । आफूजस्तै अहिले चियाको स्वाद खोजेर ‘चियावाला’ मा ग्राहक आउँदा गणेशलाई बिछट्टै खुसी लाग्छ । ‘चियाको स्वादमात्र हैन, यहाँको प्रकृतिमय वातावरण र प्रेमिल व्यवहारले पनि ग्राहकहरू तानिएका हुन् कि,’ गणेशदेव भन्छन् ।
शंखमूलस्थित ‘दाह्री भाइको चिया पसल’ का सञ्चालक राजेश रेग्मी (३०) युवावयमै छन् । उनले आफ्नो पहिचानलाई नै चियाको ब्रान्ड बनाइदिए । झपक्क दाह्री पाल्ने राजेशलाई सबैले दाह्री भाइ भनेर बोलाउँथे । यही नामबाट खुलेको चिया पसलको ब्रान्ड अहिले युवापुस्तामाझ लोकप्रिय छ । फर्केर हेर्दा ६ वर्ष बितिसकेछ, ५ हजारको लगानीबाट शान्तिनगरको सानो कुनामा उनले सुरु गरेका थिए पसल ।
‘पढाइ इन्जिनियरिङ । पेसा चाहिँ चिया पसल ?’ यी प्रश्नहरू एक पटक होइन, पटकपटक सामना गर्नुपर्यो राजेशले । ‘त्यसबेला पनि चिया बेच्नु भनेको नपढ्नेले गर्ने काम लाग्थ्यो मान्छेहरूलाई । तर, अहिले त्यो सोचबाट सबै मुक्त छन्,’ उनी फेरिएको चिया संस्कृतिसँगै बदलिएको मानसिकताबारे भन्छन् । ‘दाह्री भाइको चिया पसल’ अहिले ५ वटा शाखामा विस्तार भएको छ । चिया पसल खोल्दै गर्दा उनीसँग पैसा कम, आइडिया बढी थियो । उनले वरिपरि पैसा अभावकै कारण गिट्टी बिछ्याएका थिए । ग्राहकहरूलाई त्यही बिछ्याएको गिट्टीले तान्यो । ‘तर प्रायः चिया पसलमा गिट्टी हाल्ने ट्रेन्ड नै चलेको छ,’ उनी खुसीभावमा भन्छन् ।
राजेश कलेज पढ्दाका समय स्मरण गर्छन् । त्यतिबेला अहिले जस्तो चिया पसल कहाँ थिए र ? ‘अहिले त जता पनि चिया पसल छन्, मन माझेर कुरा गर्ने ठाउँहरू छन्,’ उनी भन्छन् ।
बानेश्वरस्थित ‘चिया सागर’को माहोलमा डुबुल्की मार्नेहरू पनि भरिभराउ देखिन्थे । यहाँको सजावट र बनावटले पनि ग्राहकलाई आकर्षित गरेको थियो । ५० वर्षीय केशव शर्माले चार वर्षअघि तीन जना साथीसँग मिलेर व्यवसाय सुरु गरेका थिए । व्यवसाय सुरु गर्नुअघि उनीहरूको आँखामा प्रस्ट खाका कोरिएको थियो । भन्थे, ‘हाम्रो चियाले मात्र हैन, वातावरणले पनि ग्राहकलाई आनन्द आओस् ।’ कल्पनाको मानचित्रलाई यथार्थमा बदल्दा केशव दंग छन् अहिले । चार वर्षमा चार आउटलेट ? सम्झँदा पनि स्वादिलो लाग्छ उनलाई । केशवलाई फ्रेन्चाइजीका लागि अनुरोध गर्नेहरू थिए । तर, गुणस्तर बिग्रन्छ भन्ने डरका कारण उनी राजी भएनन् । समग्रमा ४२ जनाले रोजगारी पाएका छन्– ‘चिया सागर’ मा ।
‘चिया प्रतीक्षालय’ मा कोही साथी पर्खिरहेका छन् त कोही स्वाद । ३० वर्षका शंकर त्रिपाठी एक्लैले आँटेका हुन् यो व्यवसाय । उनी आफैं चिया पकाउँछन् । ४ लाख लगानीमा एक वर्षअगाडि सुरु गरेका थिए उनले यो व्यवसाय । चियाबाहेक बेकरी आइटम र मःम पनि बेच्ने गरेका छन् उनले । उनी यो व्यवसायलाई थप फराकिलो बनाउने ध्यानमा समेत छन् ।
तीनकुनेमा तीन महिना मात्र भयो– ‘चिया मण्डला’ सुरु भएको । यतिबेला चिसोमा पारिलो घाम ताप्दै दिउँसो पनि चिया पारखीहरू गफिरहेका भेटिन्छन्, ‘चिया मण्डला’ मा । विद्यार्थीहरूका लागि पनि ‘जंक्सन’ भएको छ ‘चिया मण्डला’ । फुसर्दको समय कसरी उपयोगी बनाउने ललितपुरको ‘चिया प्लेस’ पनि उस्तै आकर्षक छ । तीन आर्किटेक्ट मिलेर ७ महिनाअगाडि सुरु गरिएको यो व्यवसाय फस्टाइरहेको छ । ‘हरेक मान्छेहरूलाई साथीभाइसँगको भेट र बैठकका लागि राम्रो स्पेस चाहिन्छ, स्पेस एस्थेटिकल्ली पनि राम्रो हुनैपर्यो । त्यसकै लागि हामीले यो रोज्यौं,’ सञ्चालकमध्येका अनिल भन्छन् । अनिल नेपालमा साधारण चलिरहेको कुरालाई पनि कसरी ब्रान्डिङ गर्ने भन्ने कुरा सोच्छन् । ‘हामीले पनि त्यही गरेका हौं,’ उनी थप्छन् ।
‘सरकार बदलिएला, चियाको स्वाद होइन,’ सुविधानगरस्थित बागमती करिडोरमा रहेको ‘चिया मन्त्रालय’ भित्र पुग्नेबित्तिकै भित्तामा स्लोगन भेटिन्छ, ‘एक कप चियासँग हजारौं कथा ।’ हरेक मान्छेसँग कथा हुन्छ । त्यो कथा भन्न र पोख्न उपयुक्त थलो खोज्नेक्रममा बाजुराका ३० वर्षीय ललित थापाले एक वर्षअघि ‘चिया मन्त्रालय’ सञ्चालनमा ल्याए । उनी चियाका ट्रेन्डलाई
पछ्याउँछन् । ‘अहिले युवापुस्तामाझ चियाको क्रेज छ । त्यसकारण यही व्यवसाय सुरु गरें,’ उनी भन्छन् । ४० लाख लगानीमा सञ्चालनमा आएको ‘चिया मन्त्रालय’ मा १४ जना स्टाफ छन् । यहाँ दिनको १२ सयदेखि १५ सयसम्म चिया बिक्री हुन्छ । यहाँ आउनेहरू चिया मात्र होइन, भित्ताका स्लोगन पनि खिच्न रमाउँछन् ।
अहिले सहरमा ‘इरानी चिया’ लोकप्रिय छ । तीनकुने सुविधानगरस्थित ‘इरानी चिया’ कै स्वाद लिन ग्राहकहरू टाढाटाढाबाट आउने गरेको बताउँछन्– काभ्रेका ३७ वर्षीय सरोज पौडेल । उनले चार वर्ष अगाडि ‘इरानी चिया’ सुरु गरेका थिए । दक्षिण कोरियामा ‘कुलिनरी आटर््स’मा मास्टर्स गरेका सरोज सन् २०१८ मा नेपाल फर्केका थिए । नेपाल फर्केपछि शिक्षण पेसामा आबद्ध रहेर काम गरेका उनी दिउँसो ३ बजेसम्म पढाउँथे ।
बाँकी खाली समयको सदुपयोग गर्थे । उनले सुरुमा काठमाडौंको नरेफाँटमा साढे दुई लाख रुपैयाँ लगानीमा ‘इरानी चिया’ सुरु गरे । बिस्तारै उनको चिया पसलमा चिया–पारखीहरूको घुइँचो देखिन थाल्यो । उनले ८ महिनामै अर्को आउटलेट खोले । ‘पार्ट टाइम बिजिनेसका रूपमा लिएको थिएँ । पछि निकै भीड हुन थालेपछि सबै छोडेर चियामा लागें,’ उनी भन्छन् । बिस्तारै फ्रेन्चाइजको प्रस्ताव बढ्न थाले । सरोजका अनुसार, अहिले ‘इरानी चिया’ काठमाडौंका १८ स्थानमा छन् । ‘इरानी चिया’ ले प्रत्यक्ष रूपमा ७० जनालाई रोजगारी दिएको उनी बताउँछन् ।
‘चियादानी’ लाई सुरुवाती दिनमा पोखराबाट सञ्चालनमा ल्याएका थिए– स्याङ्जा घर भएका सुवास शर्माले । उक्त चिया धेरैले मन पराएपछि ‘चियादानी’ को चितवन, सौराहा हुँदै काठमाडौंमा आउटलेट खोलेका थिए । ६ वर्षदेखि सञ्चालनमा आएको उक्त चियाले अहिले देशका विभिन्न स्थानबाट चिया पारखीलाई तृप्त पार्ने काम गरेको छ । पोखरामा सुरु गर्दा आफैंले मात्रै सञ्चालनमा ल्याएका थिए सुवासले । काठमाडौंमा भने ३ जनाले ‘चियादानी’ पार्टनरसिपमा खोलेका थिए । ‘त्यतिबेला चियापसल अहिलेसरी थिएनन् । नयाँ कन्सेप्टमा काम गरौं भन्ने सोचले नै सुरु गर्यौं,’ सुवास भन्छन् ।
‘चियादानी’ मा सेलिब्रेटीदेखि नेता र सर्वसाधारणसम्मको बाक्लो उपस्थिति देखिन्छ । काठमाडौंको ‘चियादानी’ मा मात्रै १७ जनाले रोजगार पाएका छन् । सबै आउटलेटमा गरी ३० देखि ३३ जनालाई रोजगार दिएको सुवास बताउँछन् ।
बालाजु चोकैमा सानो सटरमा छ– ‘प्रमिला चिया’ । भगवान थापा र प्रमिला मिलेर ४ वर्षअघि यो व्यवसाय सुरु गरेका थिए । उनीहरू दम्पती हुन् । उनीहरूले सुरुवाती दिनमा रक्सी व्यापार गर्ने सोचले सटर लिएका थिए । तर, लगानी ठूलो, नाफा कम भएपछि रक्सी बेच्न छाडे । अनि मोडिए चियातिर । ‘रक्सी बेच्दा व्यापार हुँदैनथ्यो । तर, अहिले चिया हरेकको रोजाइ छ । व्यापार सन्तुष्टजनक छ,’ भगवान भन्छन् ।
नयाँ शैलीमा निर्माण गरिएका थुप्रै चिया पसल सहरैभरि छन् । ‘चिया अड्डा’, ‘चिया भाइब्स्’, ‘चिया सचिवालय’, ‘चिया विभाग’, ‘चिया मामा’, ‘आहा चिया’, ‘पोख्रेल चिया’, ‘चिया संगीत’, ‘चिया घर’, ‘चिया जीपीटी’, ‘चिया हब’, ‘जेन–जी चिया स्टेसन’, ‘चिया रक्स’, ‘मिथिला चिया’ लगायत थुप्रै अड्डा चिया पारखीहरूलाई पर्खिरहन्छन् । यिनै अड्डाहरूले चिया संस्कृतिको नवीन स्वरूपलाई थप सुन्दर र मजबुत बनाइरहेका छन् ।
चियाका स्वाद
चिया संस्कृतिअनुसार हामी प्रायः कालो र सेतो चियामा मात्रै अभ्यस्त थियौं । तर, भूगोलअनुसार फरक–फरक स्वाद र प्रकारका चियाहरू उपलब्ध हुन्थे । अहिले हरेक स्वादका चिया सहरका एकै अड्डामा पाउन सकिन्छन्– कालो, हरियो, सेतो मात्रै होइन । ओलोङ चिया, पु–एर, दूधमा पक्ने चिया, सादा दूध चिया, मसला चिया, अदुवा चिया, इलाइची चिया, दालचिनी चिया, ल्वाङ चिया, मरिच चिया,
तुलसी चिया, केसर चिया, बदाम चिया, गुड/चाकु चिया, कस्मीरी नुन चिया ! दूधबिनाका चियामा सादा कालो चिया, कागती चिया, मह–कागती चिया, अदुवा–कागती चिया, पुदिना चिया, आइस्ड टीहरू छन् । हरियो चियाका स्वाद पछिल्लो समय नेपालमा पनि बानी पर्न थालेको छ— सादा हरियो चिया, लेमन ग्रिन टी, हनी ग्रिन टी, तुलसी ग्रिन टी, पुदिना ग्रिन टी, जिन्सेङ ग्रिन टी, म्याचा ! संसारमा तुलसी चिया, ज्वानो चिया, पुदिना चिया, टिमुर चिया, अश्वगन्धा चिया, दालचिनी–मह चिया, क्यामोमाइल, हिबिस्कस, लेमनग्रास लगायत थुप्रै फरकफरक स्वादका चिया प्रचलनमा छन् ।
