चियाले न्यानो बनाइरहेको सभ्यता

मान्छेको सभ्यता र रैथाने जीवनमा चिया प्रवेश गरेपछि उसको जीवनशैली फेरिएको छ । चियाले सार्वजनिक वृत्तलाई चलायमान बनाएको छ । सामाजिक इतिहासको शृंखला पनि बदलिएको छ ।

पुस १२, २०८२

दीपक सापकोटा

A civilization warmed by tea

What you should know

इतिहास, ‘प्रोज’ र कवितामा चियाको कथा कहने इतिहासकार, लेखक र कविका आलापले भन्छन्– चियाको बास्ना र स्वादमा भएको त्यो जादु कस्तो हो, जसले सारा विश्वलाई मन्त्रमुग्ध बनायो ? चियासँग मान्छेको यो कस्तो आत्मीयता ? एक कप चियामा मान्छेले कस्तो सिर्जना र कलाकारिता गर्‍यो ? संसारमै पानीपछि दोस्रो सबैभन्दा लोकप्रिय पेयको दर्जा चियाले कसरी पायो ?

चिया कसरी मानव समाजको संस्कृति बन्यो ? चियाले कसरी राजनीति, धर्म, व्यापार र सामाजिक परम्परामा विशिष्ट साइनो गाँस्यो ? मान्छेको भाग्यरेखा फेर्ने ‘क्यामेलिया साइनेन्सिस’ अर्थात् चियाको एउटा पातको विशाल भूमण्डलीय यात्रा कस्तो उबडखाबड बाटो हुँदै अघि बढ्यो ?

पेपरवेटले थिचिएको पुरानो इतिहासका पृष्ठहरूले भन्छन्– आफ्नो थातथलो चीनबाट चियाको विश्व यात्रा दन्त्यकथा जस्तो छ । स्थायी ठेगाना चीनबाट पृथ्वीलाई फन्को मारिरहेको चियाको उकालो यात्रा एउटा अजीव दस्ता हो– मान्छेको कोमल–हार्दिक–मिठासपूर्ण अंकमालको, सभ्यता र जीवनशैलीको ।

यस्तो भनिरहनु एउटै आलाप दोहोर्‍याइरहनुजस्तो हो तर भन्नैपर्छ– चिया आज आधुनिक जीवनको अभिन्न हिस्सा हो । स्पष्ट तथ्यांक नभए पनि अनुमान गरिन्छ– विश्वमा प्रत्येक दिन ६ अर्ब कपभन्दा बढी चिया पिइन्छ । चियाको आर्थिक महत्त्व बेहिसाब छ ।

तथ्यांक–ग्राफले भन्छ– हाल ५० भन्दा बढी देशमा वार्षिक ६५ लाख मेट्रिक टन चिया उत्पादन हुन्छ । र, त्यसले सवा करोड हाराहारी जनसंख्याको जीविका चलाएको छ । चीनदेखि बेलायत, अफ्रिकादेखि जापानसम्मका एकअर्कासँग बिलकुलै विपरीत समाजलाई पनि चिया संस्कृतिको न्यानो धागोले नै जोडेको छ ।

२७३७ इसापूर्वमा चिनियाँ सम्राट शेन नोङले उमालिरहेको पानीमा ‘क्यामेलिया सिनेन्सिस’ को पात खस्दा चिया पत्ता लागेको भन्छ किंवदन्ती । चियालाई शताब्दीयौंसम्म औषधीय गुण भएको वनस्पतिका रूपमा प्रयोग गरिन्थ्यो । तेस्रो शताब्दीमा आएपछि यो दैनिक पेय बन्यो अर्थात् मान्छे र उसको सभ्यताको असली हिस्सा ।

चिया कसरी हुर्काउने ? कसरी प्रशोधन गर्ने ? कसरी पिउने ? यो क्लासिक विधि सिकाउने विवरण पहिलो पटक सन् ३५० तिर प्रकाशित भएको थियो । ताङ वंश (६१८–९०७ ई) सम्म आइपुग्दा चिया चिनियाँ समाजमा मजबुत रूपमा स्थापित भइसकेको थियो । यही बेलातिर चीनबाट भारत र मध्य एसियातर्फ चियाको व्यापार हुन थाल्यो । बदलामा चीनले घोडा किनेर लैजान्थ्यो । त्यसैले यस मार्गको नाम नै ‘टी–हर्स रोड’ रहन गयो ।

चियाको विश्व–यात्रालाई गतिचाहिँ समुद्री मार्गले दियो । सन् ८०० तिर चिया जापान पुग्यो । १३ औं शताब्दीमा जापानमा यसको व्यापक खेती हुन थालिसकेको थियो । १६ औं शताब्दीमा पोर्तुगाली व्यापारीहरूमार्फत चिया युरोप पुग्यो । १७ औं शताब्दीको सुरुतिर डच इस्ट इन्डिया कम्पनीले मकाउबाट युरोपमा चिया ढुवानी सुरु गर्‍यो । सन् १६६२ मा पोर्तुगाली राजकुमारी क्याथरिन अफ ब्रागान्जाले राजा चार्ल्स द्वितीयसँग विवाह गरेपछि बेलायती दरबारको असाध्यै लोकप्रिय पेय बन्यो– चिया ।

A civilization warmed by tea

घुम्दै–घुम्दै बेलायत पुगेको चिया किन प्रसिद्ध भयो ? यसको असली कारण थियो– चिनी । त्यतिबेला बेलायतमा चिनी धेरै हदसम्म दुर्लभ थियो । सम्भ्रान्तहरूको सानको प्रतीक थियो– चिनी । र, जब चियामा चिनी हालेर पिउन थालियो, तब रमन्ता–अवतार ग्रहण गरेको चिया अत्यन्तै लोकप्रिय बन्यो । सुरुमा चिया थियो– एक विलासिताको वस्तु, केवल र केवल दरबार अनि धनी वर्गमा सीमित । तर, बिस्तारै यसले युरोपभरि आफ्नो साम्राज्य खडा गर्‍यो । १८ औं शताब्दीमा पुगेर चिया आम जनताको पेय बन्यो ।

१८ औं र १९ औं शताब्दीसम्ममा चिया विश्व व्यापारको मुख्य उत्पादन बनिसकेको थियो । बेलायतमा चिनियाँ चियाको माग अत्यधिक थियो, जसकारण बेलायतलाई व्यापारिक घाटा भयो । यो घाटा पूर्ति गर्न बेलायतले भारतमा अफिम उत्पादन गरेर चीनमा निर्यात गर्न थाल्यो । अफिमको अवैध व्यापारले चिनियाँ समाजलाई नकारात्मक असर पार्न थालेपछि सरकारले अफिममा प्रतिबन्ध लगायो । बदलामा बेलायतले सैन्य आक्रमण गर्‍यो । दुई वटा अफिम युद्धपछि चीनको हार भयो । यही युद्धबाट चीनले आफ्नो सार्वभौमसत्ता गुमायो । समृद्धि निम्त्याउने चियाको व्यापार अन्ततः चीनका लागि अत्यन्तै महँगो सावित हुन पुग्यो ।

चीनको एकाधिकार तोड्न बेलायतले भारतको असम, श्रीलंका र पछि पूर्वी अफ्रिकामा चिया बगान थालनी गर्‍यो । २० औं शताब्दीको सुरुतिर बेलायती अर्थतन्त्रको एक ठूलो हिस्सा चियाले ओगटिसकेको थियो । आज वार्षिक सय अर्ब डलरभन्दा बढी छ– चियाको बजार, जुन सबैभन्दा बढी खपत चीनमै हुने गर्छ । चीनमा वार्षिक एक करोड ४५ लाख टन चिया खपत हुन्छ भने भारतमा ६० लाख ।

A civilization warmed by tea

आठौं शताब्दीमा चिनियाँ लेखक लु युले लेखेको ‘द क्लासिक अफ टी’ चियासम्बन्धी पहिलो पुस्तक मानिन्छ । पछि त साहित्यमा चियाले विशाल स्थान ओगट्न थाल्यो । जेन अस्टिन र चार्ल्स डिकेन्सका उपन्यासहरूमा चियाका प्रसंग निकै ओहोरदोहोर गर्छन् ।

चियाको विश्व–परिक्रमामाथि नेदरल्यान्ड्सका विद्वान् जर्ज भ्यान ड्रिइमको ९०४ पृष्ठको एक असरदार किताब छ– ‘द टेल अफ टी’, जसले विश्वको चिया इतिहास र उत्पति–कथा त भन्छ नै, नेपालको बितिगएका ती सुदूर दिनहरूका चिया–कथा पनि सुनाउँछ । किताब भन्छ– सन् १८२० तिरै काठमाडौंमा उमारिएको थियो– चियाको बोट । ‘द टेल अफ टी’ ले विश्व–नक्सामा नेपालको स्थानमाथि विमर्श गर्छ ।

चियासँगै यसका दुई थरी नाम पनि विश्वभर पुगे– ‘चा’ र ‘टी’ । अध्ययनहरू भन्छन्– जहाँ–जहाँ स्थल मार्गबाट चिया पुग्यो, त्यहाँ यसको उच्चारण ‘चा’ भयो । र, जहाँ समुद्री मार्गबाट पुग्यो, त्यहाँ ‘टी’ सम्बोधन गरियो ।

चिया वा ‘च्या’ का नेपालमा पनि अनेकन सम्बोधन र ध्वनि छन्– हिमाली क्षेत्रमा चियालाई ‘छ्या’ वा ‘च्या’ उच्चारण गरिएझैं ड्रिइमको किताबअनुसार, चीनमा चियालाई ‘च्छा’ वा ‘छ्या’ भनिन्छ । हाल थाइल्यान्डमा रहेका ड्रिइमले शुक्रबारकान्तिपुरसँग भनेका थिए, ‘नेपालको चियाको इतिहास र संस्कृति दार्जिलिङ, बेलायत अनि जंगबहादुर राणाको परिवारसँग सम्बन्धित छ । लिम्बुवानको पूर्वी पहाड हिलेदेखि सन्दकफुसम्म नेपालमा जुन चिया उत्पादन हुन्छ, त्यो उच्चस्तरीय छ । त्यो चिया मलाई असाध्यै मीठो लाग्छ । नेपाली चिया नेपालभन्दा विदेशमा बढी प्रख्यात छ ।’

सहरमा चियाको क्रेज वृद्धि भएकामा असाध्यै हर्षित छन् ड्रिइम । भन्छन्, ‘चिया संस्कृति प्रख्यात हुनु एकदम सुन्दर पक्ष हो । सहरमा अहिले जसरी टी रुमहरू बनिरहेका छन्, त्यसले नयाँ वातावरण सिर्जना गर्छ । अहिले युरोपमा वाइनको बिक्री डाउन हुँदै छ, टी रुमहरू बढिरहेका छन् । यसले सहरमा स्वस्थ संस्कृति निर्माण गर्छ ।’

पुसको चिसोमा सानेपाको आफ्नो घरको प्रांगणमा बसेर चियामाथि विमर्शरत छन्– वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ । उनी चियाको बयान गर्छन्– चियाको बोटले कलिलो मुनालाई कीटपतंग वा अरू जन्तुले नोक्सान नपुर्‍याऊन् भनेर मुनामा विशेष रासायनिक पदार्थ उत्पादन गर्छ । ‘वनस्पतिले मुनाको सुरक्षाका लागि उत्पादन गरेको त्यही विशेष रासायनिक पदार्थ नै हाम्रो पेय पदार्थ चिया बन्न पुगेको छ,’ श्रेष्ठ भन्छन्, ‘जिब्रोमा टर्रो–टर्रो लाग्ने टानिन र थोरै उत्तेजना पैदा गर्ने क्याफिनलगायत हजारौं पोलिफिनोलिक कम्पाउन्डयुक्त पत्तीलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाइन्छन् ।’

श्रेष्ठ नेपालको चिया इतिहास र संस्कृतिको आँखीझ्यालतिर चियाइरहेका छन् । ‘नेपाल गाथा’ किताबमा उनले लेखेका छन्, ‘काठमाडौं वरपरको तामाङ समुदायमा हिंगुवाको कमलो मुनालाई टिपेर चिया बनाउने चलन छ । यस वनस्पतिको पहिलो नमुना एडवर्ड गार्डनरले सन् १८१८ ताका नेपालको वन क्षेत्रबाट संकलन गरेर नाथालियन वालिचकामा पुर्‍याएका थिए ।

A civilization warmed by tea

...हाम्रो हिंगुवा सिक्किम, भुटान, असम, बर्मा र दक्षिण पश्चिम चीनका प्रान्तहरूसम्म फैलिएको छ । चीनमा शृंगार सामग्रीमा समेत प्रयोग हुने यसको बीजको तेल निकै उपयोगी मानिन्छ । श्रीखण्ड परिवारमा पर्ने एक प्रकारको जडीबुटी नुनढिकी र हिंगुवा मिसाएर भोटे चिया बनाउने चलन पुरानै हो । ...हिंगुवा, नुनढिकी र सम्भवतः चिनियाँ चियापत्तीसमेत राखेर बनाइने डल्लो वा चारपाटे इँटाजस्तो ढिक्कालाई भोटे चिया भनिन्छ ।’ हिमाली क्षेत्रमा भोटे चियालाई नुनसँग उमालेर विशिष्ट किसिमको ढुंगामा चौंरीको घिउसँग मथेर पिउने चलन छ । 

नेपालको चिया इतिहासको डायरी पल्टाउँदा दुई फरक कथा सामुन्ने आउँछन् । पहिलो कथाले भन्छ– नेपालमा चिया दार्जिलिङबाट पहिले इलाम भित्रियो, त्यसपछि त्यसले नेपाल परिक्रमा गर्‍यो अर्थात् बेलायतीहरूले उपनिवेशकालमा भारतमा ल्याएको चिया नेपालसम्म फैलियो ।

दोस्रो कथाले भन्छ– होइन, नेपालमा चिया सिधै चीनबाट भित्रियो । लेखक, सम्पादक केदार शर्मालाई अर्का लेखक, अन्वेषक कमलमणि दीक्षित बरोबर सुनाइरहन्थे– यो दोस्रो कथा । केदार सम्झन्छन्, ‘कमलमणि मसँग चीनबाट चिया सिधै नेपाल आएको इतिहास सुनाउनुहुन्थ्यो । र, अन्त्यमा भन्नुहुन्थ्यो– केदारजी, तपाईं खोज्नुस् त यसको तथ्य ।’ कमलमणिको तर्कले हामीलाई दुई शताब्दीअघिका दिनहरूमा विचरण गराउँछ ।

विसं १८४९ मा तिब्बत–चीनसँग नेपालको युद्ध भयो । चीन तिब्बतको पक्षमा उभिएपछि चिनियाँ फौज नेपाली सेनालाई लखेट्दै–लखेट्दै रसुवा–नुवाकोटको सिमाना बेत्रावतीसम्म आइपुग्यो । र, राष्ट्रको अस्तित्व जोगाउन नेपालले चीनसँग सम्झौता गर्‍यो । त्यो सम्झौता ‘बेत्रावती सन्धि’ का नामले प्रख्यात छ । सम्झौताको दोस्रो धारामा लेखिएको थियो— चिनियाँ बादशाहको सम्मानमा नेपालले प्रत्येक पाँच वर्षमा एक शिष्ट प्रतिनिधिमण्डल पेकिङ पठाई सौगात चढाउनुपर्नेछ ।

सौगात नेपाली राजाकै तर्फबाट पठाइन्थ्यो । र, काजी स्तरका प्रतिनिधि उपहार बोकेर ल्हासा हुँदै पेकिङ पुग्थे । अनि चिनियाँ बादशाह पनि नेपाली राजालाई बहुमूल्य सौगात बदलामा फर्काउँथे । यसले परम्पराकै रूप लियो, जुन एक सय पन्ध्र वर्ष (विसं १९६३–६६ सम्म) निरन्तर रह्यो । र, त्यो सौगातमा चीनका बादशाहले नेपाली राजालाई चिया पठाउँथे ।

त्यति बेला चियाका साथै चिया पकाउने चादीको कित्ली, कचौरा, चिया घोल्ने डोब्बो पनि आउने गर्थे भनेर ज्ञानमणि नेपालले लेखेका छन् । विसं १८८४ मा चौतारिया पुस्कर शाहको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपालबाट चीनको कुतीतर्फ गएको थियो । फर्केपछि त्यति बेलाका महाराजाधिराजलाई चौतारियाले लेखेको कुरालाई ज्ञानमणिले यसरी उल्लेख गरेका छन्, ‘यहाँ (त्यहाँ) चिया खुवाउने चलन रहेछ । आइपुग्नासाथ चिया पकाइ बाटैमा पर्खेर बस्दा रहेछन् । अघि–अघि आउने काजीहरूले चिया खाने गर्दा रहेछन् । तर मैले खाइनँ ।’ (चिया चर्चा, अर्जुन पन्थी, कान्तिपुर, कोसेली) ।

लेखक, सम्पादक कनकमणि दीक्षित कमलमणिकै तर्क अर्थात् नेपालमा चीनबाटै चिया आएको इतिहासलाई बलियो देख्छन्, जो विगत १५ वर्षदेखि ‘नेपाल इम्पेरियल टि’ को पक्षमा वकालत गरिरहेका छन् । ‘सौगातमा चिनियाँका चिङ वादशाहले एक पुरिया चियाको बिउ जंगबहादुर राणालाई पठाए । ज्वाईं गजराज थापा इलाममा खटिएका थिए, जंगबहादुरले ज्वाईंलाई त्यो बिउ पठाए । उपत्यकाबाट इलाम पठाउने क्रममा सिन्धुलीमा पनि चिया रोपियो भनिन्छ । यसरी इलाम चिया कमानमा चीनबाट आएको चिया रोपिएको छ,’ कनकमणि भन्छन्, ‘चीनका बादशाहले सबैभन्दा मनपरेको चियाको बुटाको बिउ पठाएका थिए । नेपालीले त्यसको महत्व बुझ्नु जरुरी छ । चीनको जनमानस र बजारका लागि यो भव्य भन्ने कुरा हो ।’

कनकमणिको विचारमा ‘इलाम चिया कमान’ कै त्यस चियालाई ‘नेपाल इम्पेरियल टि’ नामाकरण गरि विश्वमा, विषेशगरि चीनमा फैलाउनुपर्छ । ‘त्यसपछि यो चियाको मूल्य प्रतिकिलो कति बढ्छ, त्यो कल्पनै गर्न सकिन्न । यो नेपालको ऐतिहासिक सम्पत्ति हो, नेपाली जनताको सम्पत्ति । चिनियाँ बादशाहले पठाएको चियालाई नेपालले ब्राण्डिङ गर्दा हाम्रै अर्थतन्त्रलाई लाभ हुनेछ । र, डेढ शताब्दीअघि बादशाहले छानेर पठाएको चियालाई नेपालले जोगाएको रहेछ भनेर चिनियाँले पनि बुझ्नेछन् ।’

A civilization warmed by tea

इतिहास भन्छ— विस १९२० मा इलाममा चिया रोपिएको हो । चिया प्रशोधन कारखाना भने १५ वर्षपछि १९३५ सालमा खुल्यो । त्यसको दुई वर्षपछि इलामको दक्षिणी फाँट सोक्तिममा पनि चिया खेती सुरु भयो । सोक्तिममा पनि १९४० सालमै प्रशोधन कारखाना खुलेको थियो । नीजि स्तरको पहिलो चिया बगान भने झापाको रड्गडिया डाँडास्थित बुधकरण चिया बगान हो, जुन वि.स २०१६ मा स्थापना भयो ।

सरकारी स्तरमा २३ असोज २०२३ मा नेपाल चिया विकास निगमको स्थापना भयो । विस २०३९ मा राजा वीरेन्द्रले झापा, धनुकुटा, तेह्रथुम र इलामलाई चिया क्षेत्र घोषणा गरेका थिए । २० जेठ २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भयो । अहिले तराई र पहाडका प्रशोधन केन्द्रहरूले सिटिसि र अर्थोडक्स चिया उत्पादन गरिरहेकै छन् ।

चिया अब सम्पदा बनिसकेको छ । नेपालको चिया–संस्कृतिका पुराना पृष्ठ पल्टाउँदा त्यहाँ भेटिन्छन्– काठमाडौंको जनजिब्रोलाई चिया चखाउने बेखानारायण र उनका भाइ जोगनारायण डंगोल । तीर्थबहादुर श्रेष्ठको स्मृतिमा बेखानारायणलाई ‘धरहरा माइला’ वा ‘तिलौरी माइला’ र जोगनारायणलाई ‘कान्छा दाइ’ का नामले सम्बोधन गरिन्थ्यो उबेला । ‘ल्हासा साहूका संगतमा परेका काठमाडौंवासी भोटे चिया पिउँथे,’ श्रेष्ठ भन्छन्, ‘तर, २००७ को क्रान्तिपछि कलकत्ताबाट आएका नेपालीले दूध–चिनी मिसाइएको अंग्रेजी चियाको चलन चलाए ।’

असलमा काठमाडौंका चिया पसल थिए— सहरलाई जीवन्त थलो बनाउने, जागरण निर्माण गर्ने जीवन्त ‘लोकेसन’ । र, चिया पसलमा बसेर मज्जाले गफिनु यस्तो चलन र संस्कृतिको सुरुवात थियो– जसले सहरको समृद्ध सार्वजनिक वृत्तको जग बसाल्यो ।

प्रजातन्त्रको उज्यालो सूर्जे उदाउनुअघि ‘चिसो एस्ट्रे’ काठमाडौंमा चिया संस्कृतिको खास थलो थियो— डिल्लीबजारको लप्टनको होटल, जुन समृद्ध चेतनाको फराकिलो सार्वजनिक वृत्त थियो । डिल्लीबजारको पुरानो नाम माघडोल थियो । पछि यस क्षेत्रलाई कर्नेल डिल्लीबहादुर बस्नेतका नामबाट ‘डिल्लीबजार’ नामले पुकारियो । डिल्लीबजार ओह्रालोमा अवस्थित लप्टनको होटलले नेपाली बौद्धिक र राजनीतिक चेतना मलिलो बनाउने एक असाध्यै महत्वपूर्ण ‘पब्लिक–स्पेस’ निर्माण गरेको थियो । यो होटलको लम्बेतान कथा बयान गर्छ, लेखक अरविन्द रिमालको गैरआख्यान किताब ‘डिल्लीबजारको लप्टनको होटल’ ले ।

यो होटल २००४ सालतिर खुलेको थियो । होटलका मालिक थिए— आर्मीबाट रिटायर्ड लप्टन कृष्णबहादुर खत्री क्षेत्री । उनले होटल खोलेपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाले नै यसको नाम ‘लप्टनको होटल’ राखिदिएका थिए । देवकोटाको सान्निध्यमा यो ठाउँ बौद्धिक जमघटको केन्द्र बनेको थियो । यहाँ जनकलाल शर्मा, श्यामदास वैष्णव, हृदयराज शर्मा, मोहन कोइराला, शंकर लामिछाने जस्ता व्यक्तित्व नियमित चिया पिउन आउँथे ।

‘देवकोटासँग चिया खाएर बस्थ्यौं, पाँच पैसामा चिया पाइन्थ्यो,’ डिल्लीबजारका ९२ वर्षीय लेखक अरविन्द रिमाल सम्झन्छन्, ‘प्रजा परिषद् र प्रोग्रेसिभ स्टडी सर्कलका मानिसहरू चिया–खाजा खान आइपुग्थे । २००४ सालको जयन्तु संस्कृतम् आन्दोलनका अगुवाहरू पनि यहाँ भेला हुन्थे । राहुल साङ्कृृत्यायन, टंकप्रसाद आचार्य, ऋषिकेश शाह, डिल्लीरमण रेग्मी, कीर्तिनिधि बिष्ट, यादवप्रसाद पन्त जस्ता व्यक्तित्वले लप्टनको दूध चिया खाएका छन्, पाँच पैसामा आधा कप । त्यो गौरवपूर्ण समय थियो ।’ रिमालको स्मृतिमा ओहोरदोहोर गरिरहन्छ— महेन्द्र शाहले ‘त्यहाँ चिया खान नजानू’ भनेर दिएको आदेश ।

A civilization warmed by tea

धरहरानजिकै चिया पसल थियो, जसलाई मानिस ‘धरहराको माइला साहुको पसल’ भनी पुकार्थे । उबेला सहरमा घुइरो–घुइरो सुनिन्थ्यो— ००७ सालतिर बीपी कोइराला गुप्त रूपमा त्यहाँ चिया खान नियमित पुग्थे । पद्मशमशेरका पालामा घर–घरमा फाट्टफुट्ट चिया पाक्थ्यो । संस्कृतिकर्मी सुरेश किरणले एक साँझ भनेका थिए— सुनिन्थ्यो उबेला घरमा पाहुना आए पनि मानिस पसलमै गएर चिया किन्थे र भाँडामा थापेर घर ल्याइपुर्‍याउँथे । सन् १९५० को दशकसम्म पनि पसलमा गएर चिया पिउनु ‘नौलो अनि आधुनिक’ संस्कृति थियो काठमाडौंको । रिमाल भन्छन्, ‘लप्टनको होटल चिया पसल मात्रै थिएन– विचारको उर्वर भूमि थियो, जहाँ स्वतन्त्रताको सपना र साहित्यिक चेतनाले सँगै उभिएका थिए । राणाकालमा घरबाहिर चिया पिउनु नागरिकको स्वतन्त्र विचार र व्यवहारको प्रतीक मानिन्थ्यो । जुन खुलेआम अभ्यासमा थिएन ।’

उहि समय काठमाडौंको न्युरोडमा अर्को चिया पसल थियो । यस विषयमा लेखक अर्जुन पन्थीले कान्तिपुर ‘कोसेली’ मा लेखेका छन्, ‘नेपाली सेनामा काम गरेका बानेश्वरका ९० वर्षीय रत्नध्वज थापाले २००७ साल वरिपरि खुलेको न्युरोडको एउटा पसलको कथा मलाई सुनाएका थिए । यस होटलको उपल्लो तलामा चिया बनाइन्थ्यो । त्यहाँबाट गिलास छिर्ने प्वाल पनि थियो । तल चिया खान आउनेले प्वालतिर मुख सोझ्याउँदै माग्थे । माथिबाट चिया दिइन्थ्यो । उनका अनुसार, इन्द्रचोकमा त दूधैदूधको ‘लतरी चिया’ बनाइन्थ्यो । यहाँ को आउँथे भन्ने कुरा अनुत्तरित छ ।’

पन्थीले इतिहासकार ज्ञानमणि नेपालको वि.सं. २०४४ मा प्रकाशित ‘मुहूर्त’ पत्रिकामा ‘चिया खाने चलन’ शीर्षकको लेखमाथि पनि चर्चा गरेका छन् । ज्ञानमणिका अनुसार, उबेला चियामा कानुनी प्रतिबन्ध नभए पनि भावनात्मक रूपमा यसलाई बन्देजजस्तै मानिन्थ्यो ।

‘नेपाल हुँदै तिब्बत पुगेका भारतका विक्रमशिला महाविहारका आचार्य दीपंकर श्रीविज्ञानले आफ्ना ३५ अनुयायीसँग भोट जाँदा स्वागतमा चिया पस्किँदा उनीहरू आश्चर्यचकित भएका थिए ।...पछि भोट जाने नेपाली प्रतिनिधिमण्डललाई पनि सत्कारमा चिया खुवाउने प्रथा सुरु भयो । यस अर्थमा चिया सत्कारको सुन्दर प्रतीक बनेको थियो,’ ज्ञानमणिले लेखेका छन्, ‘तिब्बतसँग व्यापार गर्ने काजी भीम मल्लले चियाको चलन भित्र्याएका थिए । मल्लकालीन अन्य व्यापारीले यसलाई सर्वसाधारणसम्म पुर्‍याउने श्रेय पाएका छन् । त्यसबेला कचहरी बस्दा मुखियाका घरमा तमाखु र चिया तयार पार्ने व्यवस्था हुन्थ्यो । एकीकरणपछि भोटका अलावा चीनसम्म यात्रा गर्ने प्रथा बढ्यो ।’ (चिया चर्चा, अर्जुन पन्थी) ।

नेपालको चिया संस्कृतिमाथि विमर्श गरिबस्छन्— इलामका तारानाथ शर्मा अधिकारी (८०), जसले २०२८ मा कन्याम चिया कमानको जागिरे जीवन सुरु गरे र जीवनैभर चिया–कर्म गर्ने किसानको दुःखमा घोत्लिए– ‘आउट ग्रोअर्स स्किम’ (साना किसान चिया आयोजना) मार्फत् । उनले तत्कालीन बेलायती नागरिक विलियम रोबर्ट बेलबाट सुने– केन्या, युगान्डा र श्रीलंकाको सफल चिया–खेती अभ्यासबारे । ती देशमा किसानले आफ्नै जग्गामा चिया रोपेर कारखानामा बेच्दा परम्परागत निर्वाहमुखी खेतीको तुलनामा तीन गुणा बढी आम्दानी हुने र बोनस समेत पाइने कुराले उनलाई त्यो मोडल नेपालमा भित्र्याउन गहिरो हुटहुटी जगाएको थियो ।

शर्माकै अग्रसरतामा २०३३ सालतिर स्थानीय अगुवा किसानले कृषि विकास बैंकको ऋण सहयोगमा नेपालमै पहिलो पटक विधिवत् रूपमा साना किसानका रूपमा चिया रोप्न सुरु गरे । ‘चियाकै कारण इलामबाट अलैंची मासिँदा पनि किसान निराश भएनन् र गरीब भएको पनि देखिएन,’ शर्मा चिया संस्कृतिको कथा सुनाउँछन्, ‘इलामका हामी पहिल्यैदेखि चिया पिउँथ्यौं । हाम्रो आफ्नै तरिकाको चिया संस्कृति थियो । तर, नेपालमा चिया संस्कृति मैले जे देखेको छु, त्यो विस्तार भएको छैन । ग्रामिण समाज र सहरमा चियाको खपत अर्कै छ । किटलीमा पानी बसाल्यो, चियापत्ति हाल्यो, उमाल्यो । यसलाई चिया–संस्कृति भन्न मिल्दैन ।’

A civilization warmed by tea

काठमाडौंमाथि अध्ययन/अनुसन्धान गरिरहेका सामाजिक इतिहास अनुसन्धाता प्रवास गौतमले ‘तिलौरी माइलाको पसल : अ केस अफ अ ‘पब्लिक’ टि सप इन १९४०/१९५० काठमाडौं’ शिर्षकमा लामो अनुसन्धान लेख लेखेका छन् । उनको अध्ययनमा काठमाडौंबाट नेवारहरू, जो ल्हासामा व्यापार गर्थे– उनीहरूले नै तिब्बतको चिया काठमाडौं भित्र्याए ।

‘उनीहरू तिब्बतको चिया पिउँथे । तिब्बतसँग सांस्कृतिक सम्बन्ध भएको हिमाली जिल्लामा त्यो संस्कृति थियो नै । हामीले अहिले पिउने फिका चिया वा दुध चिया पहिले अंग्रेजले पिए । एङ्लो–नेपाल युद्धपछि ब्रिटिसहरू यहाँ बस्न थाले । उनीहरूले आफ्नो रहनसहनसँगै नेपालमा चिया पिउन थाले । जंगबहादुरको बेलायत यात्रामा चिया पिए/पिएनन् त्यो पढ्न पाइएको छैन, तर उनले चियाबारे पक्कै जानकारी पाएका थिए । राणा र शाह खानदानमा चिया संस्कृति थियो । तर, सबै राणा परिवारमा यसको सिको थियो भन्ने होइन । काठमाडौंमा चिया संस्कृति व्यापक हुनुअघि पहिले तराईमा चिया संस्कृति थियो, भारतसँग सिमा जोडिएका सहरहरूमा बढि ।’

यसरी इतिहासका लामा कालखण्डहरूमा दक्षिणपूर्वी एसियाको एउटा वनस्पतिले सुन्दर र अर्थपूर्ण विश्वभ्रमण गर्‍यो र हाम्रो ‘प्रिय’ चिया बनेर मान्छेको जीवनमार्गमा प्रवेश गर्‍यो ।

जसरी चियाको स्वाद परिवर्तनशील छ, सहर पनि परिवर्तित छ । परिवर्तित सहरहरूमा चिया संस्कृति पनि बदलिएको छ । मान्छेको सभ्यतामा, रैथाने जीवनमा चिया प्रवेश गरेपछि उसको जीवनशैली फेरिएको छ । चिया मान्छेको संस्कृति बनेपछि यसले सार्वजनिक वृत्तलाई चलायमान बनाएको छ । र, विस्तारै सामाजिक इतिहासको शृंखला पनि बदलिएको छ ।

चियाको कथा

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully