झट्ट जोकोहीले ‘चिया पसल त हो नि !’ भने पनि ती ठाउँहरू चिया बिक्रीका केन्द्र मात्र थिएनन्, देशका ठूल्ठूला विषयमा घमासान बहस हुने मञ्च पनि थिए । सरकारी ‘सेटिङ’ बारे कुराकानी र ‘फिक्सिङ’ हुने अड्डा पनि थिए । त्यसैले उनीहरूले चिया पसलमै लेखे– यहाँ बसेर घूस खान मनाही छ ।
What you should know
काठमाडौँ — ‘चिया, गफ र साथी ।’ राजधानीको गल्ली–गल्लीमा खुलेका ‘एस्थेटिक’ चिया पसलमा पुग्नुभयो भने तपाईंले जहाँतहीं देख्ने तीन शब्द हुन् यी । पुस, माघको जाडोमा घाम लाग्ने चिया पसलमा बसेर रमाइलो गफ गर्न दौंतरीहरूको भीड लाग्छ । आखिर यो त्यही ठेगाना हो, जहाँ बिना कुनै बहाना साथीहरू भेटिन्छन् र अनेक गफ गर्दै समय काट्छन् ।
काठमाडौंको बुद्धनगरमा रहेको एउटा त्यस्तै ठेगानामा प्रवेश गर्नुभयो भने चाहिँ तपाईंले छिर्दाछिर्दै एउटा चेतावनी पाउनुहुनेछ । ‘जुगाड क्याफे’मा साथीहरूसँग गफिँदै जतिबेर पनि बसेर चियाको मिठो चुस्की त लाउन पाइयो तर ‘घूस खान चाहिँ मनाही छ !’ पुरानो नाङ्लोमा नीलो अक्षरले लेखिएको यो चेतावनी पढ्नेबित्तिकै चियाका पारखी मुसुक्क हाँस्छन् । जेन–जी ग्राहक त एकअर्कालाई भनिहाल्छन्, ‘सही हो !’
जुगाडमा चिया पिउन जानेहरूलाई अझ रमाइलो त त्यतिबेला लाग्छ, जतिबेला उनीहरू बिल तिर्न काउन्टरमा पुग्छन् । ‘बिल तिर्ने साथी पो साथी, जाबो अर्डर त म गरिहाल्छु नि..’ यो पढ्नेबित्तिकै बिल तिर्न आउने साथीहरू एकअर्कालाई मुखामुख गर्छन्, अनि मुस्कुराउँछन् ।पुराना टायर, बिग्रिएका साइकल, लुगा सिउने मेसिन, फलामका ड्र्रम, निर्माणस्थलमा बालुवा, गिट्टी, माटो र सिमेन्ट ओसार्न प्रयोग हुने ठेलागाडी (ह्वीलब्यारो) लगायतलाई प्रयोग गरेर चिटिक्कको बस्ने ठाउँ बनाइएकैले यसको नाम जुगाड रहन गएको हो । चार वर्षपहिले जुगाड क्याफे खोल्नुअघि यसका सञ्चालक दम्पती ममता देवकोटा र सूर्य न्यौपानेले चियाको समय अर्थ दिने ‘टी ओ क्लक’ नामक अड्डा चलाएका थिए । त्यो व्यवसाय सुरु गर्नुअघि दुवैले सहरका अनेक चिया पसल घुमेर स्वाद लिएका थिए ।
त्यही बेला उनीहरूले राम्रोसँग बुझेका थिए, झट्ट जोकोहीले ‘चिया पसल त हो नि !’ भने पनि ती ठाउँहरू चिया बिक्रीका केन्द्र मात्र थिएनन्, देशका ठूल्ठूला विषयमा घमासान बहस हुने मञ्च पनि थिए । सरकारी ‘सेटिङ’बारे कुराकानी र ‘फिक्सिङ’ हुने अड्डा पनि थिए । उनीहरूले थाहा पाएका थिए, कतिपय चिया पसलमा एकाबिहानै ‘मर्निङ वाक’ गरेर सरकारी कर्मचारी छिरेका, केहीबेरको कुराकानीपछि बिचौलियासँग भेट भएका अनि डिल पक्का बनेका प्रसंगहरू । आखिर चिया पसल जस्तो कसैले नसोचेको ठाउँमै यस्ता अनेक ढिल हुने हुन् ।
जुगाड सञ्चालक ममता यहाँका चिया अड्डाहरू चिया पिउने र गफिने ठाउँ मात्र नभई ‘डिल क्र्याक’ हुने ठाउँसमेत भएको बताउँछिन् । ‘चिया पसल भनेका अनेक कुराको मास्टर प्लान बन्ने ठाउँ हो, यहीं बसेर अनेक कुरा थाहा पाइरहेका हुन्छौं, तर पसल सञ्चालक भएपछि गोपनीयता त राख्नुपर्यो,’ व्यवस्थापनमा स्नातक उनी भन्छिन्, ‘त्यसैले एक दिन जुगाड क्याफेलाई कसरी रोचक बनाउने भन्ने सोच्दासोच्दै यो लाइन फुरेको थियो ।’
अक्सर अधिकांशले व्यवसाय सुरु गर्न धेरै खर्च गर्छन्, तर नुवाकोट स्थायी घर भएका न्यौपाने दम्पतीले ग्यारेज, कवाडी पसललगायतमा भेटिएका पुराना सामग्रीको जुगाड गरेर यो चिया पसल खोलेका थिए । यही पसल छोटो समयमै यति लोकप्रिय भयो कि उनीहरूले बुद्धनगरमा सानो ठाउँमा भएको पसललाई अलि पर फराकिलो ठाउँमा सारिसकेका छन् । ‘गएको जेठदेखि त ललितपुरको जावलाखेलमा पनि जुगाड क्याफेको शाखा चलाएका छौं,’ ममताले कान्तिपुरलाई सुनाइन्, ‘काम नलाग्ने भनिएको सरसामान प्रयोग अनि क्याफेमा लेखिएका शब्दावलीलाई धेरैले मन पराउनुभएको छ ।’
बुद्धनगरमा क्याफे चलाउँदै गर्दा ममताले राम्रोसँग महसुस गरिन्, ‘चिया पसलमा संसद्मा भन्दा गम्भीर बहस हुन्छन् ।’ खासमा दिनभर चिया पसलमा बस्दा उनले मोबाइल ‘स्क्रोल’ गरेर समाचार हेर्नै पर्थेन । सबै सूचना त्यहीं आउने ग्राहकबाट पाउँथिन्, सम्बन्धित विषयको पक्ष–विपक्षमा अनेक किसिमका तर्क–वितर्क सुन्थिन् । त्यसैले उनले जुगाडको जावलाखेल शाखा खोल्दा ढोकामै लेखिदिइन्, ‘जुगाड क्याफे : यहाँ संसद्मा भन्दा बढी बहस हुन्छ ।’
सञ्चालकलाई लाग्थ्यो, ‘देशको संसद्मा विषयवस्तुमाथि कहाँ त्यति बहस हुन्थ्यो, जति जुगाडमा हुन्छ ।’ जुगाडका धेरैजसो ग्राहक अहिले जेन–जी छन् । जेन–जी आन्दोलनपछि बुद्धनगरको जुगाडबाट ८ सय मिटरको दूरीमा रहेको संसद् भवन जलेको छ । यस घटनापछि जुगाड पुगेर यस्तो लेखाइ पढ्ने जेन–जी विश्लेषण सुनाउँछन्, ‘यहाँ हुने जति बहस त्यहाँ भइदिएको भए त्यो आगजनी हुन्थेन कि !’
जुगाड क्याफेमा यस्ता गम्भीर विषय मात्र लेखिएका छैनन् । प्रवेश गर्नेबित्तिकै ‘वान्टेड’ लेखिएको विज्ञापन देखिन्छ । सुरुमा तपाईंलाई लाग्न सक्छ, यस क्याफेमा काम गर्ने मानिस चाहिएको रहेछ र त्यसकै विज्ञापन गरिएको हो । त्यस्तो ठान्नुभयो भने तपाईं गलत हुनुहुनेछ, किनकि एकछिन ध्यान दिएपछि थाहा पाउनु हुनेछ, यहाँ कामदार होइन, ग्राहक आवश्यक परेको हो । सर्तहरूमा लेखिएको छ, ‘कुनै अनुभव चाहिने छैन, पूर्णतः तालिम दिइनेछ तर तपाईंसँग आफ्नै पैसा हुनुपर्नेछ । कृपया समयमै दर्खास्त दिनुहोला । धन्यवाद । – जुगाड परिवार ।’
ठट्यौली पारामा मायाप्रेमका गम्भीर विषय पनि क्याफेमा लेखिएको छ– हातमा चिया, मुटु चाहिँ छिया–छिया । प्रेममा धोका पाएको संकेत देखिने पुरुषको तस्बिरसँगै यस्तो लेखिएको हो । ती पुरुषको मथिङ्गलमा रातो ‘ब्रोकन हार्ट’ को चिह्न बनाइएको छ । अनि जुगाडमा मट्कामा चिया खाएपछि बाँकी रहेको कपमा ‘उही तिम्रो ...’ भन्दै लेखिएका प्रेमीका छोटा सन्देशहरू पनि पढ्न पाइन्छ । जुगाडको प्रवेशद्वारमै अर्को रमाइलो लाइन लेखिएको छ, ‘कसैसँग बसेर धोका खानुभन्दा यहाँ बसेर चिया खानुस् ।’ यो लाइन भएको तस्बिर सामाजिक सञ्जालमा पनि खुबै ‘भाइरल’ भयो । ‘त्यसपछि त ह्वात्तै ग्राहक पनि बढेका थिए,’ ममता सम्झिन्छिन् ।
धेरैले उनीहरूलाई वास्तविक जीवनको घटनाबाट प्रेरित भएर लेखेको हो कि भनेर सोधेका थिए । तर प्रेम विवाह गरेका ममता र सूर्यको जीवनमा यस्तो दुःख आइपरेन । ‘चिया पिउन आउनेलाई रमाइलो लागोस् भनेर र्यान्डम्ली लेखिएका कुरा हुन् यी,’ ममताले भनिन्, ‘बूढाबूढीबीच के लेख्ने भन्नेमा कतिपय बेला झगडा पनि पर्थ्यो । अहिले चाहिँ सम्झिँदा आफैंलाई रमाइलो लाग्छ ।’ तर यस ठाउँमा बिछोडका हरफहरू मात्र पनि लेखिएका छैनन् ।
‘लभ स्टोरी हराउने ठाउँ होइन, सुरु हुने ठेगाना हो जुगाड क्याफे ।’ यहीं भेटिएर प्रेमिल कुराकानी हुँदै जोडी बाँधिएकाहरूको सम्झनामा यो लाइन लेखिएको हो । एक जोडी युवायुवतीको प्रेमिल तस्बिरसँगै अगाडि लेखिएको छ, ‘तिमी र म, चिया र गफ, यही त हो, जिन्दगीको जुगाड ।’ छेउैमा अर्को लाइन छ, ‘बिलाउँदै छु तिम्रो मायामा, अस्ताएको घाम बनी ।’ खराब मनस्थितिमा चियाको चुस्की लगाउन पुगेकालाई समेत हँसाउने हरफ पनि नजिकै छ । ‘मुड जे भए पनि सोलुसन छ यहाँ, चिया, कफी र खाजाको जुगाड ।’
जावलाखेलमा चाहिँ ‘नस्टाल्जिक’ बनाइदिने पुराना टीभी, मकैको घोगा र पुराना साइकलहरू पनि छन् । कहिलेकाहीं ती दृश्यहरू भिडियोमा कैद गरेर जुगाडको टिकटकमा अपलोड गरिन्छ, पृष्ठभूमिमा सदाबहार हिन्दी गीतको धुन बज्छ, ‘बेकरार करके हमे यूँ ना जाइये । आपको हमारी कसम लौट आइये ।’
जुगाडमा चिया पिउन जानेहरूलाई अझ रमाइलो त त्यतिबेला लाग्छ, जतिबेला उनीहरू बिल तिर्न काउन्टरमा पुग्छन् । ‘बिल तिर्ने साथी पो साथी, जाबो अर्डर त म गरिहाल्छु नि..’ यो पढ्नेबित्तिकै बिल तिर्न आउने साथीहरू एकअर्कालाई मुखामुख गर्छन्, अनि मुस्कुराउँछन् । त्यो देखेर काउन्टरमा बस्ने ममतालाई पनि खुसी लाग्छ ।
थापाथलीस्थित चिया अड्डा चियावालामा भने चिया पिउन आएर पनि मोबाइल चलाउनेहरूलाई व्यंग्य गरिएको छ– ‘केही मिठो बात गर, वाईफाई त घरमा छँदै छ ।’ चियावालाको एउटा कुनामा गाजामा युद्धविरामको माग गर्दै सन्देशहरू पनि लेखिएका छन् । गाजाका तस्बिरहरूसहित ‘फ्रि कंगो, फ्रि प्यालेस्टाइन, फ्रि सुडान’ लेखिएको छ ।’ क्रिसमस इभमा शुभकामना दिँदै गाजाका तथ्यहरू लेखिएको विवरणसमेत त्यहाँ टाँगिएको छ । रेस्टुरेन्ट व्यवसायमा हन्डर खाएपछि बानेश्वरमा छिमेकी क्याफे खोलेका कृष्ण पौडेलले भने गम्भीर विषय लेखेका छन्, ‘परिश्रमी बन्नुस्, असफल हुने छुट तपाईं–हामी कसैलाई छैन ।’
