चियाको कपमा राजनीतिक तुफान

नेपालको राजनीतिक इतिहास हेर्दा औपचारिक बैठकभन्दा बाहिर अनौपचारिक चिया गफमै धेरै विचार जन्मिएका हुन्छन् । ती सबै विचार निर्णयमा रूपान्तरण हुँदैनन्, तर निर्णयको बीउ प्रायः चियाकै कपमा रोपिएका हुन्छन् । 

पुस १२, २०८२

कुलचन्द्र न्यौपाने

Political storm in a teacup

What you should know

काठमाडौँ — नेपालमा चिया तिर्खा मेटाउने पेय मात्र होइन, यो संवादको भाषा हो, सम्बन्धको सेतु र कहिलेकाहीं सत्ताको संकेत पनि हो । ‘अरू केही होइन, चिया खान गएका थियौं’ भन्ने वाक्य नेपाली राजनीतिमा सामान्य सुनिन्छ । तर यही सामान्य सुनिने चिया भेट र बैठकले कतिपय बेला सरकार निर्माण, सत्ता उलटपलट, गठबन्धनको सुरुआत वा अन्त्यको संकेत गरेका उदाहरण छन् । 

नेपालको राजनीतिक इतिहास हेर्दा औपचारिक बैठकभन्दा बाहिर अनौपचारिक चिया गफमै धेरै विचार जन्मिएका हुन्छन् । ती सबै विचार निर्णयमा रूपान्तरण हुँदैनन् तर निर्णयको बीउ प्रायः चियाकै कपमा रोपिएका हुन्छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकारसमेत रहेका विश्लेषक हरि शर्मा चिया बैठकमा निर्णयभन्दा पनि विचारहरू प्रकट हुने गरेको बताउँछन् । 

राजनीति र चियाका बीचमा धेरै बिम्ब छन् । जस्तै, चियाको तुफानलाई राजनीतिसँग जोड्ने प्रचलन छ । नेताहरूबीच द्वन्द्व बढ्दा र राजनीतिमा उथलपुथल हुँदा यस्ता उक्ति सार्वजनिक रूपमा प्रकट हुने गर्छन् । नेपाली राजीतिमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले यसबारे धेरै पटक सार्वजनिक मञ्चबाटै उल्लेख गरेका छन् । 

तर यसलाई फरक कोणबाट हेर्नुपर्ने विश्लेषक शर्मा बताउँछन् । ‘वरिपरि आफू–आफू बस्ने, ठूला कुरा गर्ने, त्यसको परिणाम केही नहुने, फासफुस हुनेलाई चियाको कपमा तुफान ल्याउन खोजेको भन्ने गरिएको हो,’ उनी भन्छन्, ‘तर अहिलेको समाजमा यो परिभाषामा धेरै परिवर्तन आएको छ ।’

शर्मा थप्छन्, ‘दलहरूमा हेर्ने हो भने कांग्रेस सभापति शेरबहादुरजी अलि थाकेजस्ता देखिन्छन् । केपी शर्मा ओलीजीको जोडबल अझै मलाई दिँदा तपाईं पनि बाँच्नु हुन्छ र तपाईंले पनि त्यसको लाभ पाउनु हुन्छ भन्ने खालको छ । अर्कातर्फ कांग्रेसमा विशेष महाधिवेशनका लागि सही गरेर बसेका मान्छे छन्, चुनाव आउन लाग्यो भनेर पालो कुरेर बसेका छन्, ती मानिसको स्थिति के हुने ? चुनावले मात्रै नयाँ वैधता सिर्जना गर्छ भन्ने हो भने सर्वपक्षीय भेला गर्नुपर्छ भन्नेहरू के गर्छन् ?

निर्वाचन भएन भने सुशीला कार्कीले के गर्छिन् ? अहिले ओली र देउवाले गरेका कुराकानी केही होइनन् भन्नुपर्‍यो भने चियाको कपमा तुफान भन्न मिल्यो । समुद्र र मरुभूमिमा आँधी आयो भने त्यसले डुबाउँछ । तर चियाको कपमा आँधी आउँछ–जान्छ भन्ने कुरा हो ।’

विगतमा कतिपय राजनीतिक निर्णय र प्रक्रियाका साक्षी रहेका तत्कालीन संसद्का स्वतन्त्र सांसद अमरेशकुमार सिंह राजनीतिमा हुने जति पनि महत्त्वपूर्ण निर्णय हुन्छन्, ती सबै चिया बैठकबाटै तय हुने दाबी गर्छन् । राजनीतिका हरेक निर्णय र प्रक्रियाको सुरुवात चिया गफबाटै हुने भएकाले चियामा आउने तुफानसँग मात्रै तुलना गर्न नमिल्ने उनको भनाइ छ । 

कांग्रेस–एमाले, एमाले–माओवादी, कांग्रेस–माओवादीलगायत जति पनि यसबीचमा सत्ता समीकरणका निर्णय भए, ती सबै कुनै न कुनै रूपमा चिया गफबाटै सुरुवात हुने गरेको सिंह बताउँछन् । पछिल्लो कांग्रेस–एमालेको समीकरण भने १५ असार २०८१ मा दहीचिउरा खाएर भएको थियो ।

Political storm in a teacup

‘त्यो समीकरण शेरबहादुर देउवा र केपी शर्मा ओलीले आफ्नो सुरक्षाका लागि हतारमा गरेका थिए । दहीचिउरा खाएर गरे पनि त्यहाँ चियाको सुर्कीसँगै गफ भएको थियो,’ उनी भन्छन्, ‘आन्तरिक समीकरणदेखि बाह्य सम्बन्ध विस्तार गर्ने काममा पनि चिया बैठकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अनुभव मलाई छ ।’

अर्का राजनीतिक विश्लेषक झलक सुवेदी चिया संस्कृति नेपालको लोकतान्त्रिक विकासको सकारात्मक पक्ष रहेको मान्छन् । उनका अनुसार यसले औपचारिक संरचनाबाहिर पनि आवाज दिने गर्छ । तर कतिपयले यसलाई नकारात्मक पक्षबाट पनि हेर्छन् । चिया गफमा अफवाह फैलिने र भावनात्मक निर्णयहरू मात्रै हुने भनेर राजनीतिमै उडाउने काम हुन्छ । 

सुवेदी भन्छन्, ‘चिया बैठकबाट निर्णयभन्दा पनि आइडिया फुर्ने हो, त्यही आइडिया निष्कर्षमा पुर्‍याउन पनि फेरि चिया बैठक हुने गर्छन् । मेरो अनुभवमा तल्लो तहको राजनीतिक संवाद प्रायः चिया पसलमा हुन्छन् । यो परम्परा नेपालीको अतिथि सत्कार र गफ संस्कृतिसँग जोडिएको छ । अहिले सामाजिक सञ्जालबाट विचार अभिव्यक्ति गर्न पाइन्छ तर पञ्चायतकालमा चिया पसल राजनीतिलाई जनतासम्म पुर्‍याउने बलियो माध्यम थियो ।’

चियापान आफैंमा एउटा राजनीतिक संस्कृति बनिसकेको छ । बीपी कोइराला १६ पुस २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि विसं २०३४ मा कांग्रेसले चियापान सुरु गरेको इतिहास छ । यसलाई विसं २०३८ सम्म बीपीले निरन्तरता दिए, त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुॅदै शेरबहादुर देउवासम्म आइपुगेको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान राख्ने गर्छ । 

कांग्रेसको चियापान शुभकामना आदानप्रदानमा मात्रै सीमित छैन, कतिपय अवस्थामा राजनीतिक तनाव घटाउने, आपसी सम्बन्ध जोड्ने ‘आइस ब्रेक’ पनि बन्ने गरेको छ । अघिल्लो दिनसम्म संसद्मा एकअर्कालाई भष्मासुर भनेर गाली गर्नेहरू चियापानमा हात मिलाउन पुग्छन् । पञ्चायतकालमा पनि राजनीतिक विचारधारलाई आम जनतामाझ पुर्‍याउने माध्यम थियो चियापान ।

चियालाई राजनीतिक संस्कृतिसँग जोड्ने कार्य कांग्रेसले सुरुवात गरेको सुवेदीको भनाइ छ । पछि यसको सिको वामपन्थी नेताहरूले समेत गर्दै आए । पाॅच पटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले आफ्नो महत्त्वपूर्ण निर्णयको सुरुवात नै चिया गफबाट गर्थे । 

विश्लेषक शर्माका अनुसार कोइरालाको बिहान साढे ४ बजे बेडमै चिया पिउने बानी थियो । ‘४ बजे लेमन टी, त्यसपछि दूध हालेको चिया खानुहुन्थ्यो । अनि बल्ल बेडबाट उठेर नुहाइधुवाइ गर्ने बानी थियो । त्यसपछि तल (बैठक रुममा) झरेर पार्टीका नेताहरूसँग चिया बैठक सुरु हुन्थ्यो,’ शर्मा भन्छन्, ‘सखारैको चियामा परिवारका र बोलीचालीमा किचन क्याबिनेटका भनिने मानिससँग बढी कुराकानी हुन्थ्यो ।’ उनका अनुसार चियाको सिलसिलामा राजनीतिका गम्भीर समीक्षा र योजनाका कुरा पनि हुन्थे । ‘महत्त्वपूर्ण निर्णय नै चिया गफमा हुन्छ भन्ने होइन तर मलाई त्यसमा एक प्रकारको ओपनियन सेट हुन्थ्यो भन्ने अुनभव भयो ।’

अर्का सन्त नेता कृष्णप्रसाद भट्टराईकै नामले अहिले पनि प्रसिद्ध छ– बानेश्वरको लक्ष्मी दिदीको पसल । पञ्चायतकालदेखि नै भट्टराई एक घण्टा लक्ष्मी दिदीको पसलमा चिया पिउँदै राजनीतिक गफ गर्थे । पार्टीका नेताहरूलाइ गाली गर्न, ठट्टा गर्न र व्यंग्य गर्न उनी माहिर थिए । गाली गर्दा कसैले नराम्रो मान्थेनन् । कतिपय नेताले आफूलाई गाली गरेको दिन साइत परेछ भनेर समेत सुनाउँथे । 

‘चिया सम्पर्कबाट धेरै जना किसुनजीको भक्त पनि भएका छन् । चिया बैठकबाटै पार्टी र देशको अवस्था के हुँदै छ भन्ने थाहा हुन्थ्यो । प्रधानमन्त्री हुँदा पनि किसुनजी हरेक शनिबार चिया खाना लक्ष्मी दिदीको पसल पुग्नुहुन्थ्यो । त्यहाॅबाटै मेरो घर आउनुहुन्थ्यो । घरमा पनि पार्टीका साथी र परिवारका सदस्यहरूसँग अन्तरंग गफ गर्नुहुन्थ्यो,’ भट्टराईका भतिज विनोद भन्छन्, ‘नेता तथा कार्यकर्ता भेटमा राजनीतिक गफ त हुने नै भयो । खासगरी प्रधानमन्त्री भएका बेला बिहानको चियापानले दिउँसो के गर्ने, के नगर्ने भन्ने एउटा योजना नै बनाउन मद्दत गर्थ्यो ।’ 

Political storm in a teacup

चियापान सधैं सौहार्दपूर्ण भने भएन । १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित तत्कालीन माओवादीको चियापानमा पदम कुँवरले अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानेको घटना राजनीतिक इतिहासकै असहज क्षण पनि बन्न पुग्यो । त्यसपछि माओवादीले चियापान गर्न छाड्यो । तर एमाले–माओवादी एकतापछि १ कात्तिक २०७५ मा भृकुटीमण्डपमै भव्य चियापान भयो । 

एमालेमा चियापानको संस्कृति मनमोहन अधिकारीका पाला सुरु भएको हो । त्यसपछि अरू वामपन्थी नेता र नयाँ राजनीतिक दलले समेत सिको गर्ने गरेका छन् । नयाॅ राजनीतिक दल रास्वपाले पहिलो वर्षमै चियापानको सुरुवात गरेको थियो । पुराना दलमाथि प्रश्न उठाएर उदय भएको रास्वपाले चियापानलाई ‘पोलिटिकल कल्चर’ का रूपमा विकास गर्ने भनेर परम्परा बसाल्न खोजेको थियो । पछि यसका अध्यक्ष रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेल परेपछि यसले निरन्तरता पाएको छैन । 

सिंहदरबार वरपरदेखि गाउँका चौतारीसम्म, चिया पसल जनमत मापन गर्ने थर्मोमिटर बनेका छन् । कुन मन्त्री हुने, कुन मन्त्री हट्नेदेखि सरकार टिक्ने र नटिक्ने, कुन गठबन्धन बन्ने र भत्किनेजस्ता गफहरू पहिला चिया पसलमै सुनिन्छन् । युवा, किसान, कर्मचारी, पत्रकार, सबैका आवाज चिया पसलमा मिसिन्छन् । यही कारण चिया पसललाई लोकतान्त्रिक संवादको खुला मञ्च समेत भनेर बन्न सकिने सुवेदी बताउँछन् । 

चिया बैठकमा हुने निर्णयलाई राजनीतिक अपरिपक्वतासँग पनि जोडेर हेर्ने गरिएको छ । यस्ता निर्णयका पछािड पारदर्शिता र वैधतालाई लिएर प्रश्न उठ्ने गरेको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी) का वर्तमान नेतृत्व औपचारिकताभन्दा अनौपचारिक बाटोबाट निर्णयमा पुग्ने गरेकाले राजनीतिमा निर्णय प्रक्रियामाथि जहिल्यै प्रश्न उठ्ने गरेको एमालेका एक पदाधिकारी बताउँछन् ।

‘जहाँ औपचारिक प्रक्रियाहरू कमजोर छन्, त्यहाँ नै यस्ता अनौपचारिक निर्णयहरू प्रभावशाली बन्छन् । यस्तै चिया गफमा समीकरणका बीउ रोप्नेदेखि भत्काउनेसम्मका योजना बुनिन्छन्’ उनी भन्छन् ।

आज पनि एक दलको नेताले अर्को दलको नेतालाई भेट्न जाँदा ‘चिया खान गएको’ भनेर हल्का रूपमा लिने गरिन्छ । ‘तर कालान्तरमा त्यही भेट महत्त्वपूर्ण निर्णयको क्षण हुने गर्छ,’ विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंह भन्छन् । 

विश्व बैंकको २०२३ रिपोर्टमा अनौपचारिक थलोहरूले राजनीतिक भागीदारी ३० प्रतिशत बढाउने उल्लेख छ । नेपालमा चिया बैठक नै राजनीतिको प्रभावशाली अनौपचारिक थलो बन्न पुगेको छ ।

‘नेपालमा चिया भेटमै सबै राजनीतिक निर्णय हुन्छन् भन्ने दाबी अतिरञ्जित हुन सक्छन् । तर चिया गफले राजनीति सोच्ने दिशा तय गर्छ भन्ने तथ्यलाई नकार्न सकिँदैन । औपचारिक बैठकबाट निर्णय हुन्छन् तर त्यसको वातावरण, सम्बन्ध र विश्वास धेरै पटक चियाकै कपमा तयार हुन्छ,’ विश्लेषक सुवेदी भन्छन्, ‘अस्थिर राजनीतिले स्थायित्व नपाएको अवस्थामा चिया भेट र कुराकानीले कहिले संकेत दिन्छ, कहिले भ्रम तर राजनीति बुझ्न चिया पसल बुझ्नैपर्छ ।’

कुलचन्द्र न्यौपाने

Link copied successfully