चिकित्सकहरू भन्छन्– हर्बल टी, ग्रिन टी र ब्ल्याक टीले स्वास्थ्यलाई लाभ दिन सक्छ, चिनीसहितको दूध चिया धेरै पिए बेफाइदा हुन सक्छ।
What you should know
काठमाडौँ — चिया आम नेपालीको दैनिकीसँग जोडिएको छ । घरमा एक्लै हुँदा होस् वा परिवारसँग । पाहुना आउँदा होस् वा साथी भेटिँदा चिया गफगाफको सारथि हुने गर्छ । बिहान सबेरैदेखि राति अबेरसम्म चिया पिउने भेटिन्छन् । घर, स–साना खाजाघर, ठूला होटल, कार्यालयदेखि अस्पतालसम्मका चेमना गृहको मेन्युमा चिया भेटिन्छ । तर यो चिया स्वास्थ्यका लागि कति हितकर छ त ?
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी ग्यास्ट्रोएन्टेरोलजीकी डाक्टर क्रिन्देश्वरी काफ्ले चियाको फाइदा–बेफाइदा दुवै हुने बताउँछिन् । ‘चिया पनि थरीथरीका छन् । कुनै चिया स्वास्थ्यका लागि लाभदायी मानिन्छ । कुनै चिया निश्चित स्वास्थ्य समस्या भएकालाई हानिकारक पनि हुन सक्छ,’ उनी भन्छिन् ।
डा. काफ्लेका अनुसार कालो, ग्रिन र हर्बल चिया स्वास्थ्यका लागि लाभदायक हुने बताउँछिन् । ‘अनुसन्धानअनुसार हर्बल टी, ग्रिन टी, ब्ल्याक टीले रक्तचाप र सुगर घटाउन मद्दत गर्छ । मोटोपन घटाउन पनि सघाउ गर्छ । कालो चियाले मुटु र मस्तिष्कसम्म रक्तसञ्चार गर्न सहयोग पुग्छ भन्ने छ,’ उनले भनिन्, ‘चिया पिउँदै नपिउनुपर्ने रोग कुनै छैन । ग्यास्ट्रिकका बिरामी, निद्राको समस्या, एन्जाइटी भएकालाई चियाले थप जटिलता ल्याउन सक्छ । उनीहरूलाई सकभर नपिएकै राम्रो भन्छौं ।’
दूध र चिनी नराखेको चियाले फाइदा पुग्ने अनुसन्धानमा देखिएको डा. काफ्लेले बताइन् । उनका अनुसार चिनी राखेको दूध चियाले स्वास्थ्य समस्या ल्याउन सक्छ । ‘चिनीसहितको दूध चियाले ग्यास्टिक बढाउने, पेट फुल्ने, पोल्नेलगायत समस्या देखिन सक्छ,’ उनी भन्छिन्, ‘दूध चिया पिउनुपरे चिनी नराख्नु राम्रो हुन्छ । त्यो भन्दाभन्दै पनि चिया पिउँदा चियापत्ती, दूध र पानी खाइन्छ । त्यसको पनि फाइदा त छ नै ।’
अत्यधिक चिया भने नपिउन डा. काफ्लेको सुझाव छ । ‘दिनमा २–३ कपसम्म पिउँदा हुन्छ,’ उनले भनिन्, ‘चियामा पाइने क्याफिनले फ्रेस बनाउन सहयोग गर्छ । तर सुत्ने बेलामा खायो भने निद्रा नपर्न सक्छ । धेरै चिया सेवनले इन्सोमनिया (अनिद्राको समस्या) पनि निम्ताउन सक्ने अनुसन्धान प्रतिवेदनहरूमा उल्लेख छ ।’
‘एन्जाइटी’ समस्या भएकालाई चिया नपिउन चिकित्सकहरू सल्लाह दिन्छन् । उनीहरूका अनुसार चियामा पाइने क्याफिनले शरीरमा ऊर्जा दिए पनि त्यसको अत्यधिक मात्राले चिन्ता निम्त्याउन सक्छ । यसको बढी प्रयोगले ‘एडेनोसिन’ नामक हर्मोनको प्रभावलाई कम गर्दै दिमागमा थकान महसुस गराउनेछ । जसका कारण एन्जाइटीका लक्षणहरू देखा पर्न सक्छन् । डा. काफ्ले ग्यास्ट्रिक भएका व्यक्तिलाई पनि चिया कम पिउन सुझाउँछिन् ।
चिकित्सकहरूका अनुसार कुनै व्यक्तिलाई चियाले स्वास्थ्य लाभ दिएको हुन्छ भने कसैलाई हानि गरिरहेको हुन सक्छ । व्यक्तिले आफ्नो अनुकूल हुने गरी चिया पिउने/नपिउने निर्णय लिनुपर्ने उनीहरूको भनाइ छ ।
शिक्षण अस्पतालका मुटुरोगका प्राध्यापक डा. अनिल भट्टराई चियाको लाभ र हानिबारे मिश्रित प्रतिक्रिया दिन्छन् । ‘चिया पिउनु स्वास्थ्यका दृष्टिले समस्या होइन । दूध–चिया भने स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसको तुलनामा ब्ल्याक टी, ग्रिन टी राम्रो हुन्छ,’ उनी भन्छन् । संसारभर भएका अनुसन्धानले पनि चियाबारेमा मिश्रित निष्कर्षहरू दिएको डा. भट्टराईले बताए । ‘चियामा पाइने तत्त्वहरूले शरीरमा रहेका विकार पदार्थलाई बाहिर लैजान मद्दत गर्छ भन्ने छ,’ उनी भन्छन्, ‘चियापत्तीमा चिनी र दूधको अधिक प्रयोगले शरीरमा असर गर्न सक्छ । त्यसैले दूध र चिनी नराखेको चिया स्वास्थ्यका लागि लाभदायक हुन्छ ।’
डा. भट्टराईका अनुसार चिया आफैंले बेफाइदा गर्दैन । ‘२–३ कपसम्म ब्ल्याक टी, ग्रिन टी खायो भने राम्रो नै हुन्छ,’ उनी भन्छन्, ‘हामी मिठोका लागि दूध र चिनी राख्छौं । दूध र चिनी हालेपछि धेरै कुरा मिसिने भयो । दूध र चिनीसहितको चियाले भने कोलेस्ट्रोल बढाउन सहयोग गर्छ । दूधलगायत डेरीका उत्पादन मुटुरोगीका लागि स्वास्थ्यकर हुँदैन । आफ्नो स्वास्थ्यअनुसार सुहाउँदो चिया पिउने गरे फाइदा पनि छ ।’
अल्का अस्पतालका इन्टरनल मेडिसिनका डा. अजित खनाल चिनीसहितको दूध चिया पिउनु हानिकारक हुने, तर अन्य चिया मात्रा मिलाएर पिउनु स्वास्थ्यकर हुने बताउँछन् । ‘चिया पिउनेको स्वास्थ्य परीक्षण गर्दा पनि खासै हानि गरेको देखिँदैन,’ उनी भन्छन्, ‘हानि नपुगेको देखेरै संसारभर चिया पिउने व्यवहार सुरु भएको हो । तर मचाहिँ बिरामीलाई चिनीसहितको दूध चिया नपिउन सुझाव दिन्छु ।’
चियाले ‘एन्टीअक्सिडेन्ट’ को काम गर्ने भएकाले शरीर र मस्तिष्कलाई फुर्तिलो हुन सक्ने डा. खनाल बताउँछन् । ‘ग्रिन टी, ब्ल्याक टी दिनमा २–३ कपभन्दा बढी नपिउनु राम्रै हो । ठिक्क पिए शरीरलाई फाइदा नै पुग्छ,’ उनले भने ।
चिया कति बेला पिउने, कति पिउनेबारे भने आफ्नो स्वास्थ्य अवस्थाअनुसार निर्क्योल गर्नुपर्ने उनको भनाइ छ । उनले कवितात्मक शैलीमा थपे, ‘तिमी चियाको पारखी हौ भने दूध र चिनीबिना खाउ । तिमी दूध र चिनी राखेको चिया खान्छौं भने दूध र चिनीको पारखी हौं, चियाको होइनौ ।’
पाटन स्वास्थ्य विज्ञानका जनरल फिजिसियन डा. विमल पाण्डे चिनीबिनाको चिया निश्चित मात्रामा पिउनुले स्वास्थ्यमा प्रतिकूल असर नपर्ने बताउँछन् । ‘जुनसुकै खानेकुरा पनि मात्रा मिलाएर खानुपर्छ । चिया पनि त्यस्तै हो, मात्रा मिलाएर पिए शरीरमा हानि गर्दैन,’ उनले भन्छन्, ‘चिनीसहितको चियाले भने असर गर्छ ।’
डा. पाण्डेका अनुसार दिनमा चिनीबिनाको चिया २ सयदेखि ७ सय एमएलसम्म पिउन सकिने अध्ययनहरूमा देखिएको छ । ‘हर्बल टी, ब्ल्याक टीले मुटुलाई बलियो बनाउन सहयोग पुग्छ, मस्तिष्कलाई स्वस्थ बनाउँछ,’ उनी भन्छन्, ‘हर्बल टीमा राखिएको अदुवालगायत जडीबुटीले पाचन शक्तिलाई समेत मद्दत गर्ने ठानिएको छ ।’
जाडो वा चिसो छ भनेर धेरै तातो चिया पिउन भने उचित नहुने डा. पाण्डेले बताए । ‘धेरै तातो खाँदा घाँटीको नलीमा असर पर्न सक्छ,’ उनले भने, ‘त्यसबाहेक चिया सकभर चिनीबिनाको पिउनु, निश्चित मात्रा मिलाउनु फाइदा नै हुन्छ ।’
