प्रतिलिटर ५ रुपैयाँको दूध किनेर २५ पैसा कपमा चिया बेच्न सुरु गरेकी उनी यो लामो अन्तरालमा आफूले कमाएको खास सम्पत्ति नै ग्राहकको विश्वास र तारिफलाई मान्छिन् ।
What you should know
रौतहट — पूर्वपश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुर चोकबाट पश्चिमतर्फ छ, ‘आमाको चिया पसल’ । जहाँ चन्द्रपुर–४ की ८७ वर्षीया नरकुमारी गुरुङलाई सबेरैदेखि चियाको कित्ली समात्न भ्याइनभ्याइ हुन्छ । दाउराको मन्द आँचमा उनले बनाएको बास्नादार ‘कडक चाय’ ले यसका पारखीको ध्यान खिच्छ ।
‘घरको चियाले तलतल नमेटिएपछि आमाको चिया पिउन आउँछु,’ चिया पारखी हरि आचार्यले भने, ‘बिहान कम्तीमा पनि ३/४ कप त खान्छु ।’
खपडाले छाएको सानो टहरोमा छ, नरकुमारीको चिया पसल । न कुनै होर्डिङ बोर्ड, न त नाम नै । तर चिया पारखीले नै मायाले भन्ने नाम नै प्रख्यात छ, ‘आमाको चिया पसल’ । पारखीको स्वादअनुसार आमा चियामा थप स्वाद भर्न तल्लीन हुन्छिन् । स्थानीयका लागि भने यो ठाउँ चिया खाने मात्रै नभई राजनीतिक गफ लडाउने अखडा पनि बनेको छ । यहाँ हरेक तह र तप्काका मानिसहरू गफिन र जनसम्पर्क बढाउन पनि भेला हुन्छन् ।
२०२८ सालदेखि निरन्तर चिया पकाउँदै आएकी नरकुमारीकामा चियाको स्वाद चाख्न नआउने स्थानीय कमै होलान् । तत्कालीन मध्यक्षेत्र प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआईजी गंगा पाण्डे (हाल एआईजीबाट अवकाश) ले पूर्वको भ्रमण सकेर फर्किने बेला आमाको चियाको स्वाद लिएपछि दंग थिए । ‘ग्राहकको सन्तुष्टि नै मेरा लागि वरदानजस्तै हो,’ ग्राहकले चियाको स्वादको प्रशंसा गरेपछि खुसी देखिएकी नरकुमारीले भनिन्, ‘सारा जिन्दगी चियामै बित्यो । चियाका पारखीहरू बढेको देख्दा खुसी लाग्छ ।’
स्थानीय नेता, कार्यकर्ता, व्यापारी, किसान, कर्मचारीदेखि राजमार्ग हुँदै पूर्व–पश्चिम यात्रामा निस्केका यात्रुहरू पनि आमाको चिया खोज्दै यहाँ आइपुग्छन् । आफ्नो हातले बनाएको चियाको स्वाद सम्झेर टाढा–टाढाबाट आइपुग्ने ग्राहक देख्दा बुढ्यौली उमेरमा पनि आमाको जोस भरिएर आउँछ । दैनिक २५ देखि ३० लिटर दूधको चिया खपत हुने बताउने उनी दैनिक १ सय ८० कपसम्म चिया बिक्री गर्छिन् ।
नरकुमारीलाई कतिपय ‘हवल्दार्नी आमा’ भनेर पनि बोलाउँछन् । उनका श्रीमान् भारतीय सेनामा हवल्दारसम्म भएका थिए । २०४९ मा हवल्दार ‘बा’ (कमानसिंह) बिते पनि उनी चिया बेचेरै एकल जीवन बिताइरहेकी छन् । लमजुङको चिसो हावापानीमा जन्मे–हुर्केकी उनी ३२ वर्षको उमेरमा चन्द्रनिगाहपुर आइपुगेकी हुन् । मधेश झरेकै वर्ष उनले गौर–चन्द्रनिगाहपुरस्थित मुख्य रोडमा चिया बेच्न थालेकी हुन् । सुरुमा गौर रोडमा माइला दर्लामीको जग्गाको झुपडीमा मासिक ५० रुपैयाँ भाडा तिरेर चिया पसल सुरु गरेको एकाध वर्षपछि उनी अहिलेको ठाउँमा सरिन् ।
प्रतिलिटर ५ रुपैयाँको दूध किनेर २५ पैसा कपमा चिया बेच्न सुरु गरेकी उनी यो लामो अन्तरालमा आफूले कमाएको खास सम्पत्ति नै ग्राहकको विश्वास र तारिफलाई मान्छिन् । कहिलेकाहीँ छोरी पार्वती गुरुङ पनि आमालाई हातेसारो गर्न आइपुग्छिन् । भाडाको घरमा बस्दै आएकी नरकुमारी यतिबेला चिया बेचेर जम्मा गरेको पैसाले घर बनाउने सोचमा छिन् । नजिकै १६ धुर जग्गा जोडिसकेकी छन् । उनी चिया बेचेरै दैनिक ५ हजारदेखि ७ हजार रुपैयाँ आम्दानी गर्दै आएको बताउँछिन् ।
डिभिजन वन प्रमुख हेमन्त साह आमाको चिया पकाउने जाँगर र वर्षौंदेखिको एकनासको स्वाद नै ‘आमाको चिया’ को खासियत मान्छन् । नरकुमारी पनि त्यसैमा थपिदिन्छिन्, ‘त्यही स्वादमा तलमाथि नहोस् भनेरै त म सधैं सचेत हुन्छु ।’ आमाको चनाखो आँखा हरदम उम्लिरहेको दूधको कराहीमा हुन्छ । बीचका केही वर्ष उनले ग्यास चुलोमा पनि चिया बनाएर बेचिन् । तर धेरैले ‘दाउराको चुलोमा पकाएको जस्तो स्वाद आएन’ भनेपछि उनले ग्यास बाल्न छाडिन् ।
चिया बेचेरै उनले एक छोरा र दुई छोरी हुर्काइन् । कान्छी छोरी कलावती बेलाबखत आमालाई चिया पसलमा सघाइरहेकी हुन्छिन् । बिहानको पहिलो लट चिया आमा आफैंले पकाउँछिन् । त्यसपछि आमाको सरसफाइ र पूजापाठ सुरु हुन्छ । त्यतिबेला चिया पकाउन कलावती अघि सर्छिन् ।
काम सकेपछि आमा नै चियाको कित्ली समाउन आइहाल्छिन् । बिहान ४ बजेबाट सुरु हुने उनको सक्रियता राति १० बजेसम्म जारी रहन्छ । ‘चिया पिउन आउने जो कोही पहिले आमालाई नै खोज्छन्,’ कलावती भन्छिन्, ‘आमाको हातले पकाएको चिया खाने बानी धेरैलाई परिसकेको छ ।’ नरकुमारीलाई महिना दिनअघि साहित्य सञ्जाल रौतहटले सम्मान पनि गर्यो । ‘जीवनमा यस्तो दिन पनि आउँदा रहेछन्,’ आमाले खुसीको भावमा सुनाइन् ।
