वीरगन्जको ‘बब्लु टी स्टल’

तीन दशक पुरानो यो चिया अड्डा वीरगन्जमा चर्चित छ, बिहान साढे ५ देखि बेलुकी साढे ८ बजेसम्म १५ घण्टा अड्डाको चुलो बलिरहन्छ, चिया पारखीहरूको आगमनको सिलसिला पनि चलिरहन्छ ।

पुस १२, २०८२

शंकर आचार्य

Birgunj's 'Bablu Tea Stall'

What you should know

पर्सा — पछिल्ला केही वर्षयता वीरगन्ज आउने पाहुना बब्लु टी स्टल कता छ भनी जिज्ञासा राख्छन् । सामाजिक सञ्जालमा समेत निकै चर्चित यो चिया अड्डाबारे जानकारी पाउने जोकोहीले वीरगन्ज आउँदा एक पटक माटोको प्याला अर्थात् ‘मटका’ मा चियाको चुस्की लिन चाहन्छन् । अनि चिया पिइसकेपछि भन्छन्, ‘एक मटका अझै थप्ने हो कि !’ 

अन्य चियाको तुलनामा बब्लुको चियामा केही पक्कै खास विशेषता रहेको र चिया पारखीहरूलाई यसले अचम्मसँग आकर्षित गर्ने गरेको वीरगन्ज तेजारथटोलका सुशील अर्याल बताउँछन् । वीरगन्जकै अर्का चिया पारखी मनोज उपाध्यायले पनि केही वर्षयता वीरगन्ज आउने आफ्ना कतिपय पाहुनाले फोनबाटै ‘वीरगन्ज आएपछि आदर्शनगर पुगेर बब्लु टी स्टल पुग्नुपर्छ है’ भन्ने गरेको जनाए । तीन दशक पुरानो यो चिया अड्डा एक दशकयता झनै चर्चित बनेको छ । बिहान साढे ५ देखि बेलुकी साढे ८ बजेसम्म निरन्तर १५ घण्टा यो चिया अड्डाको चुलो बलिरहन्छ । चिया पारखीहरूको आगमनको सिलसिला पनि टुट्दैन । 

चिया पारखीहरूलाई दोहोर्‍याएर चिया पिउन बाध्य बनाउने बब्लु चियामा के छ त त्यस्तो खास ? स्टलका सञ्चालक रामनिवास शर्माका जेठा छोरा ४० वर्षीय योगेश शर्मा एक शब्द मात्र भन्छन्– ‘इमानदारी ।’ प्रत्येक पटक चिया पकाउँदा आफूहरूले चियापत्ती फेर्ने र एक थोपा पानी नहाली दूध मात्र हालेर चिया पकाउने गरेको शर्माको भनाइ छ । चियामा सुकुमेल र मरीचबाहेक कुनै मसला नहाल्ने गरेको पनि उनले जनाए । ‘ग्राहक विश्वास गरेर हाम्रोमा चिया पिउन आउँछन्, त्यस्ता ग्राहकलाई हामीले धोका दिनु त भएन नि,’ उनले भने, ‘हो, चियालाई कतिबेर कति आगोमा पकाउने हो, त्यसको तालमेल भने मिलाउन जान्नुपर्छ ।’ 

दुई वर्षयता चिया अड्डामा नास्ताका रूपमा खाइने मिठाई र नमकिन परिकार पनि पस्किन थालिएको छ । समोसा, निम्कीदेखि लड्डु, पेडा, रसवरी आदि नास्ताका परिकार ग्राहकको मागअनुसार थप्दै लगिएको शर्माले बताए । चियासँगै नास्ता पनि एकै थलोमा पाइने हुँदा व्यापार थप फस्टाएको उनको भनाइ छ । 

सडक छेउमा एउटा घरको छिँडीमा थालिएको चिया अड्डा अहिले पनि छिँडीमै सञ्चालित छ । ग्राहक पनि सडक पेटीमै खुला आकाशमुनि काठको बेन्चमा बसेर वा उभिएर चियाको चुस्की लिइरहेका भेटिन्छन् । तर यो स्टलले लोभलाग्दो व्यापार गरिरहेको छ । दिनको ५ सय ५० देखि ६ सय कप चिया बिक्री हुने गरेको शर्माले बताए । यसबाहेक नास्ताको व्यापार पनि राम्रो हुन थालेको छ । दुई रुपैयाँ कपबाट सुरु भएको मटका चिया अहिले ३५ रुपैयाँ कपसम्म आइपुग्दा शर्माको व्यापारले पनि छलाङ मारेको छ । 

Birgunj's 'Bablu Tea Stall'

चियाका लागि मात्रै दिनको ५५ देखि ६० लिटर दूध खपत भइरहेको शर्मा बताउँछन् । स्टलमा माटोको मटकामा मात्रै चिया बेचिने गरेकाले यस्तो मटका बनाउने स्थानीय कुम्हालेको व्यवसाय पनि फस्टाएको छ । प्लास्टिकको कप प्रयोग नगरिँदा वातावरण प्रदूषण कम हुने उनको भनाइ छ । 

बब्लु टी स्टल जमेपछि वीरगन्जमा थुप्रै चिया 

पसलले यसको अनुसरण गरेर खुलेका छन् । तर बब्लु टी स्टलको व्यापार झन्–झन् बढेको छ । भारत राजस्थानको झुङ्गनुबाट रोजगारीका लागि नेपाल प्रवेश गरेका रामनिवास शर्माले वीरगन्जमा राजस्थानी स्वादसहितको चिया पस्कन थालेका हुन् । उनी अहिले ८२ वर्षका भए । कान्छा छोरा बब्लु त्यति बेला दुई वर्षका थिए । अहिले उनै बब्लु र दाजु योगेश मिलेर स्टल धानिरहेका छन् । 

मारवाडी ब्राह्मण शर्मा परिवारले वीरगन्जमा मारवाडी स्वादको चिया र नास्ता पस्कँदा चिया पारखीहरूले नौलो स्वाद पाएका छन् । त्यही स्वादले पनि ग्राहक तानिरहेको छ । टी स्टलका सञ्चालक रामनिवास शर्माको राजस्थानी शैलीको बाक्लो सेतो जुँगासहितको स्टलको ब्यानर एक खालको ब्रान्ड नै बनेको छ ।

रामनिवास अहिले अस्वस्थ भएर उपचारका लागि भारत गएर पुर्ख्यौली घरमा आराम गरिरहेका छन् । बब्लु टी स्टलमा सामान्यदेखि ठूलाबडाको आगमन हुन्छ । यस वर्ष नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल आएर स्टलमा चिया पिएको योगेशले बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully