प्रहरीकहाँ आउने उजुरीमध्ये सबैभन्दा धेरै घटना ‘रिभेन्ज पोर्न’ का छन्, पहिले गर्लफ्रन्ड–ब्वाइफ्रेन्ड वा श्रीमान्–श्रीमती भएकाले सम्बन्ध बिग्रिएपछि आपत्तिजनक तस्बिर र भिडियो आफन्तलाई पठाइदिने वा सार्वजनिक गरिदिने नाममा धम्क्याउने प्रवृत्ति देखिन्छ।
What you should know
काठमाडौँ — डिजिटल हिंसाबारे अनुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्युरोका अधिकृतहरूले मंसिर २०७८ मा एउटा यस्तो अनुसन्धान गरे, जुन झट्ट सम्झँदा जोकोहीका लागि अपत्यारिलो थियो । किशोरीको नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा पक्राउ परेका काठमाडौं, भोटबहालका २० वर्षीय लव खड्गीबारे छानबिन गर्दै जाँदा प्रहरीलाई चकित बनाउने तथ्य बाहिर आएको थियो ।
‘नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिएका उजुरी ब्युरोमा प्रशस्तै आइरहन्थे, त्यस्तै ठानेर सामान्य केसमा झैं अनुसन्धान गरिरहेका थियौं,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘तर, जब खड्गीको जाँचको रिपोर्ट आयो, त्यसले हैरान बनायो ।’ ती अधिकृतका अनुसार, खड्गीको मोबाइलबाट एक जनाको मात्र होइन, ४६ किशोरी र युवतीको नग्न फोटो तथा भिडियो बरामद भएको थियो । सुरुमा प्रहरीले फोटोसप गरेर नक्कली तस्बिर बनाइएको आशंका गरेको थियो । तर, सबै तस्बिर सक्कली नै भएको खुलेपछि अनुसन्धानले नयाँ मोड लियो ।
प्रहरीले सोधपुछ गर्दा खड्गीले तीमध्ये कतिपय पूर्वप्रेमिका भएको र केहीले इन्स्टाग्राममा पठाएको स्विकारे । ‘उनले धेरै पीडितलाई त्यसबेलासम्म फलो गरिरहेको भेटियो, तीमध्ये थुप्रैलाई सुरुमा फलोब्याक नगरेको भन्दै गाली गर्ने र युवतीले जवाफ फर्काउन थालेपछि बुबाआमालाई छाडा बोलेको स्क्रिनसट पठाइदिने भन्दै धम्क्याएको पाइएको थियो,’ ती अधिकृतले भने, ‘परिवारलाई आफूसँगको कुराकानी पठाइदिने डरले किशोरीले बिस्तारै नग्न तस्बिर पठाउन थालेको पाइयो ।’
प्रहरीका अनुसार उनले सुरुमा घाँटीभन्दा तलको निश्चित भागको तस्बिर पठाए कसैलाई नभन्ने भन्दै धम्क्याउँथे । पछि भिडियोसमेत पठाउन लगाउँथे । यो विषय उल्लेख गरेर जाहेरी दिने किशोरीले पटक–पटक तस्बिर र भिडियो पठाउँदासमेत खड्गीले दुःख दिन नछाडेपछि परिवारका एक सदस्यलाई बताएकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । उनको जाहेरीका आधारमा छानबिन हुँदा पेसाले ट्याटु आर्टिस्ट रहेका खड्गीले आफ्ना ग्राहकको समेत नग्न तस्बिर र भिडियो राख्ने गरेको फेला परेको थियो ।
प्रहरीसँगको बयानमा खड्गीले आफूलाई जतिसक्दो धेरैको ‘न्युड’ फोटो हेर्ने लत लागेको खुलाए । त्यही कारण उनले फरक–फरक युवती र किशोरीलाई पीडित बनाएको अधिकृतहरू बताउँछन् । खड्गीको व्यवहार एक किसिमको मानसिक रोग नै हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूको भनाइ छ ।
...
मधेश प्रदेशकी २४ वर्षीया अनिता (परिवर्तित नाम) सिनामंगल बस्ने २७ वर्षीय रामबिहारी साफीसँग प्रेम सम्बन्धमा थिइन् । सम्बन्ध ठीकठाक हुँदा उनीहरू एकअर्काको सामाजिक सञ्जालको पासवर्डसमेत साटासाट गर्थे । उनीहरूबीच सहमतिमै शारीरिक सम्बन्ध पनि हुन्थ्यो । एक वर्षअघि उनीहरूको सम्बन्धमा दरार आयो । ‘ब्रेकअप भएपछि आआफ्नो बाटो लागेका थियौं, तर एक दिन उसले बर्बाद पारिदिन्छु भन्ने धम्की दिँदै म्यासेज पठायो,’ अनिताको जाहेरीमा उल्लेख छ, ‘त्यहीबेला मेरो अनुहार देखिने अश्लील क्रियाकलाप गर्दै गरेको तस्बिर र भिडियो पनि पठाएको थियो ।’
त्यो भिडियो देखेपछि उनी छाँगाबाट खसेझैं भइन् । ‘उसले मैले पनि थाहा नपाई भिडियो खिचेको रहेछ, त्यही पठाएर ब्ल्याकमेल गर्यो,’ पीडित भन्छिन्, ‘त्यो तस्बिर र भिडियो मेरो टिकटकका अर्का एक साथीलाई समेत पठाएपछि उजुरी दिएँ ।’ प्रहरीले २० चैत २०८१ मा साफीलाई पक्राउ गर्यो । साफीले ‘प्रेममा धोका दिएको रिसमा त्यस्तो कार्य’ गरेको बयान दिए ।
...
काठमाडौंकी २७ वर्षीया युवतीले सात महिनाअघि एउटा अनलाइन सपिङ स्टोरबाट कुर्था खरिद गरिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा भएको डिभाइन बुटिक नामक पेजबाट उनले खरिद गरेको कुर्थाका लागि १५ सय रुपैयाँ तिर्नुपर्ने थियो । ‘तर, उसले फेरि पैसा हाल्न लगाएर भुक्तानी गर्दा ओटीपी लेख्न लगायो, जतिबेला मैले उसको नियत थाहा पाएँ, त्यतिबेलासम्म मेरो खातामा भएको थप ६२ हजार रुपैयाँ उसको खातामा गइसकेको थियो,’ पीडित युवती भन्छिन् ।
सोही पेजमा उनले पैसा फिर्ता गरिदिन भन्दै पटक–पटक अनुनय गरिन् । तर, उनले ‘तिमीलाई पैसा चाहिन्छ भने एउटा काम गर्नुपर्छ’ भन्दै जुन प्रस्ताव राख्यो, त्यो त्यस्तो होला भन्ने उनले कल्पनै गरेकी थिइनन् । सोही अनलाइन सपिङ पेजबाट उनलाई अश्लील फोटो/भिडियो मागियो । र, त्यो पठाए मात्र पैसा फिर्ता दिने भनियो । उनले त्यसपछि अनुरोध गर्न कम गरिन्, तर तिमीलाई पैसा फिर्ता चाहिएको छैन ? भन्दै सन्देश पठाइयो । त्यसपछि पीडित युवतीले साइबर ब्युरोमा निवेदन दिइन् । प्रहरीले अझै यो मामिलामा अनुसन्धान गरिरहेको छ ।
...
काठमाडौंकी एक महिला ‘साइबर ब्युरो १९’ सँग नुवाकोटका ३९ वर्षीय निमेश बर्देवाको चार वर्षअघि सामाजिक सञ्जाल टिकटकमार्फत चिनजान भएको थियो । पछि उनीहरू व्यावसायिक काममा समेत जोडिए, जसले डिजिटल माध्यमबाट गाँसिएको सम्बन्धको सामीप्य बढ्दै गयो । दुवै विवाहित थिए, तर आफ्नो सम्बन्धमा खुसी नभएको प्रहरीसमक्ष बयान दिएका छन् । ‘भेटघाट गर्ने, बेलाबेला घुम्न जाने हुन्थ्यो, सहमतिमै शारीरिक सम्बन्धसमेत हुने गरेको थियो,’ बर्देवाले प्रहरीसँगको बयानमा भनेका छन्, ‘हामीले त्यसरी घुमेको, बसेको, रमाइलो गरेको लगायत व्यक्तिगत तथा गोप्य तस्बिर, भिडियोहरू खिचेर राख्ने गरेका थियौं ।’
पछि दुई जनाको सम्बन्ध बिग्रियो । त्यस बेला बर्देवाले ‘आफूसँग भेटघाट हुँदा खिचेर टिकटक ड्राफ्टमा राखेका भिडियोहरू देखाएर रकम माग्न थालेको’ भन्दै साइबर ब्युरोमा उजुरी परेको छ । ‘उनले मसँग विभिन्न बहानामा रकम लिएर फिर्ता गरेका थिएनन्, व्यवहार बिग्रिँदै गएपछि पुरानो फोटो, भिडियोका आधारमा मलाई ब्ल्याकमेल गर्न थाले,’ ती महिलाले जाहेरीमा भनेकी छन्, ‘यो घटनापछि मैले उनलाई ब्लक गरेर बसेको थिएँ, तर उसले फेक टिकटक एकाउन्टबाट अश्लील शब्दहरू लेख्दै मेरो अर्धनग्न तस्बिरहरू पोस्ट गरिदियो ।’ पीडितका नातेदारलाई समेत उनीबारे अश्लील म्यासेजहरू पठाइदिए । त्यसपछि आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको भन्दै महिलाले ब्युरोमा उजुरी दिइन् । उनको उजुरीका आधारमा प्रहरीले बर्देवालाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन, २०६३ अनुसन्धान कारबाही प्रक्रिया अघि बढाएको छ ।
...
इन्टरनेटमा बढ्दो पहुँचसँगै साइबर अपराधमा पीडित हुनेको संख्या पनि वृद्धि हुने क्रममा छ । प्रहरीको साइबर ब्युरोमा मात्र २०८२/८३ को कात्तिक मसान्तसम्म डिजिटल माध्यमबाट भएका महिला हिंसासम्बन्धी करिब २ हजार ८ सय उजुरी परेका छन् । आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ४ र २०८०/८१ मा ९ हजार उजुरी परेका थिए ।
ब्युरोअन्तर्गत महिला तथा बालबालिकामाथि हुने हिंसा हेर्ने पिलरकी प्रहरी निरीक्षक दीपा भट्टराईका अनुसार, प्रहरी कहाँ आउने उजुरीमध्ये सबैभन्दा धेरै घटना ‘रिभेन्ज पोर्न’का छन् । ‘पहिले गर्लफ्रन्ड–ब्वाइफ्रेन्ड हुन्छन् अथवा श्रीमान्–श्रीमती नै पनि हुन सक्छन्, तर सम्बन्ध बिग्रिएपछि आपत्तिजनक तस्बिर र भिडियो आफन्तलाई पठाइदिने वा सार्वजनिक गरिदिने नाममा धम्क्याउने प्रवृत्ति देखिन्छ, यो नै रिभेन्ज पोर्न हो,’ उनले भनिन्, ‘यस्ता घटना अहिले बढ्दो क्रममा छन् ।’
यो समस्या १८ वर्षमुनिका किशोरकिशोरीदेखि विवाहितसम्ममा छ । उदाहरण, साइबर ब्युरोले अनुसन्धान सकेर १ जेठ २०८२ मा जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दालाई लिन सकिन्छ । पीडित नाबालिगसँग प्रेमसम्बन्धमा हुँदा आरोपित २४ वर्षीय अफजल मन्सुरले पीडितको अश्लील तस्बिरहरू खिचेका थिए । प्रहरीका अनुसार, उनले किशोरीले थाहै नपाईसमेत कपडा निकाल्दै गरेको, सुतेको लगायतका अवस्थामा भिडियोहरू खिचेका थिए । तर, जब उनीहरूबीच मनमुटाव भयो र प्रेमसम्बन्धमा दरार आयो, त्यसपछि उनले पीडितलाई ‘ब्ल्याकमेल’ गर्न थाले ।
‘मैले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्स एप सबैतिर ब्लक गरिसकेको थिएँ,’ पीडितले प्रहरीसँग भनेकी छन्, ‘तर, अर्को नम्बरबाट उसले मेरो अर्धनग्न तस्बिरहरू पठाउँदै धम्की दियो ।’ मन्सुरको बयानअनुसार, आफूलाई छाडेको झोंकमा त्यस्तो गरेका थिए । तर, उनले गरेको यो कार्यले विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित भयो । सोही ऐनको दफा ४७ अनुसार मुद्दा प्रक्रिया अघि बढ्यो ।
दफा ४७ मा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने उल्लेख छ । दफा ४७ (क) ले ‘कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय’ हुन सक्ने व्यवस्था छ ।
...
साइबर ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नविन्द अर्यालका अनुसार, ब्युरोमा उजुरी दिनेमा १९ देखि २५ वर्ष उमेर समूहका धेरै छन् भने ग्रामीण क्षेत्रदेखि शिक्षक–महिलासमेत पीडित बनेका छन् । सेलेब्रिटीहरूसमेत पीडित भएको भन्दै उजुरी लिएर ब्युरोसम्म पुगेका छन् ।
कतिपय घटनामा समाजमा नाम चलेकै व्यक्तिहरू साइबर अपराधमा संलग्न भएका छन् । ‘अहिले विदेशमा बस्नुभएका महिला दिदीबहिनीले समेत साइबर हिंसामा पर्यौं भनेर उजुरी दिने गर्नुहुन्छ,’ अर्यालले भने, ‘अहिले डिजिटल माध्यमबाट समेत उजुरी दिन मिल्ने व्यवस्था गरेपछि त्यसको क्रम बढेको छ ।’
उनका अनुसार, नेपालमा एकाघरभित्रका सदस्यले आएर उजुरी दिएको अवस्थामा समेत प्रहरीले नेपाली नागरिक पीडित भएको अवस्थामा अनुसन्धान गर्छ । तर, अनुसन्धान अधिकृतहरूका अनुसार, साइबर हिंसाका कतिपय महिला तथा बालिका पीडितहरू प्रहरीसम्म पनि पुग्नै डराउँछन् । ‘पहिलो कुरा उहाँहरू खुलेर आफूमाथि आइपरेको विषयबारे कसैलाई बताउन सक्नुहुन्न, दोस्रो कुरा प्रहरीसम्म समेत आएर उहाँहरूलाई बताउन डर हुन्छ,’ प्रहरी निरीक्षक भट्टराई भन्छिन्, ‘अहिले त्यहं समस्या नहोस् भनेर ब्युरोमा महिला र किशोरीहरूको समस्या सुन्न महिला अधिकृतहरू नै छौं ।’
डिजिटल हिंसामा परेर प्रताडित भएर कतिपय महिला र किशोरीले आत्महत्या गर्नेसम्मको सोच बनाएको आफूले सुनेको भन्दै उनी भन्छिन्, ‘ब्युरोसम्म आइपुग्नुलाई नै हामीले उहाँहरूले ठूलो युद्ध जितेको ठान्छौं र तदारुकताका साथ अनुसन्धान गर्छौं ।’ अहिले सामाजिक सञ्जाल कम्पनीहरूले समेत महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धानमा सहयोग गर्ने गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक र ह्वासट्स एपले प्रहरीले मागेका ८० प्रतिशत विवरणको जवाफ पठाउने गरेको छ । ‘२० प्रतिशतमा चाहिँ कतिपय विदेशमा बसेका हुन्छन्, आउट अफ जुरिस्डिक्सन भनेर पनि आउने गर्छन्,’ उनी भन्छिन्, ‘यद्यपि, विदेशमा भएकालाई समेत अनुसन्धानको दायरामा हामीले ल्याएका छौं ।’
ब्युरोले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘ग्रुमिङ’ गरेर डिजिटल दुर्व्यवहार गरेको आरोपमा प्यूठानका ३३ वर्षीय सगिर अहमदलाई दुबईबाट पक्राउ गरेर ४ पुस २०८० मा काठमाडौं ल्याएको थियो । अनुसन्धानका सिलसिलामा पीडक वैदेशिक रोजगारीका लागि दुबई पुगेको थाहा पाएपछि प्रहरीले पक्राउ गर्न सहयोग माग्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई पत्र लेखेको थियो । त्यसको आधारमा इन्टरपोलमा ‘रेड नोटिस’ जारी भयो भने उनलाई दुबई प्रहरीको सहयोगमा पक्राउ गरेर काठमाडौं ल्याइएको थियो ।
प्रहरीका अनुसार, विगतमा काठमाडौंमा मात्र साइबर अपराधको मुद्दा दर्ता हुने गरेकामा अहिले ७७ वटै जिल्लाबाट अनुसन्धान र कारबाही हुन थालेका छन् । साइबर अपराधको बढ्दो दरसँगै अनुसन्धानलाई फैलाइएको हो । त्यसअनुसार जिल्ला प्रहरी कार्यालयहरूमा साइबर सेलसमेत स्थापना गरिएका छन् । तर, अझै तिनमा दक्ष जनशक्ति तयार भइसकेका छैनन् । ‘बिस्तारै तालिम दिएर सेवा प्रवाहलाई सुधार्दै जाने अपेक्षा छ,’ प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्छन् ।
...
अपराध भइसकेपछि अनुसन्धान एउटा पाटो हो, तर अझ महत्त्वपूर्ण कुरा अपराध हुन नै नदिनु हो । त्यसका लागि जनचेतना फैलाउनुपर्ने साइबर ब्युरोका अधिकृतहरू बताउँछन् । ‘स्कुल, कलेजदेखि अभिभावकसम्म चेतना फैलाउनुपर्छ, अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट कसैले एसेप्ट गर्नु हुँदैन,’ प्रहरी निरीक्षक भट्टराई भन्छिन्, ‘अभिभावकले पनि आफ्ना छोराछोरीले मोबाइलमा के गरिरहेका छन् भन्ने ख्याल गर्नुपर्छ ।’ कोही पीडित भए खुलेर कसैलाई सेयर गर्नुपर्नेसमेत उनी बताउँछिन् । अहिले अनलाइनमार्फत समेत उजुरी दिन मिल्ने भएकाले हिच्किचाएर आफैंभित्र पीडा लुकाएर नबस्न उनको अनुरोध छ ।
