कलाकार हुन् वा कन्टेन्ट क्रिएटर वा राजनीतिकर्मी– डिजिटल हिंसाको मार खेपिरहेका छन् । आफूमाथि भइरहेका आक्रमण जत्ति नजरअन्दाज गर्न खोजे पनि उनीहरू मानसिक रूपमा आहत छन् ।
What you should know
काठमाडौँ — गत सोमबार अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत गुनासोसहितको सुस्केरा पोखिन् । सामाजिक सञ्जालका प्लाटफर्ममा आएको अनावश्यक र अपाच्य गालीले वर्षालाई गलाएको थियो । कमेन्ट सेयर गर्दै उनले लेखिन्, ‘यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्यो ।’
एक टेलिभिजन कार्यक्रममा श्रीमान् सञ्जोग कोइरालासँग उनी अन्तार्वार्तामा एकसाथ देखिएकी थिइन् । सञ्जोगलाई ‘तिमी’ सम्बोधन गरेको विषयलाई लिएर आएका कमेन्टका प्रहार वर्षाका लागि धारिला हतियारभन्दा कम थिएनन् । ‘कहिलेकाहीँ मान्छेले आत्महत्याका विचार ल्याउनुपर्ने अवस्था सिर्जना हुन्छ किनकि उसले चाहेर होइन, समाजले बोकेको अपेक्षा, दबाब र अन्यायले मान्छेलाई घुमाउरो बाटोमा धकेलिदिन्छ,’ वर्षाले फेसबुकमा लेखिन् । महिलामाथि हुने हिंसामा समाज मौन बस्ने र महिलाले आवाज उठाउँदा समाज उहीतर्फ सोझिने विडम्बना सम्झिइन् ।
पछिल्लो समय कलाकार हुन् वा कन्टेन्ट क्रिएटर वा राजनीतिकर्मी– डिजिटल हिंसाको मार खेपिरहेका छन् । आफूमाथि भइरहेका आक्रमण जत्ति नजरअन्दाज गर्न खोजिरहे पनि उनीहरू मानसिक रूपमा आहत बन्दै गइरहेका छन् । वर्षाकै पछिल्लो अनुभव सुन्ने हो भने उनलाई आफूमाथि आइरहेका गाली–गलौजले असह्य रूपमा चिथोरिरहे । ‘मलाई कस्तो नराम्रो लाग्यो । मैले मुखमै थुक्नुपर्ने गरी के बोलेछु ? के गलत भनेछु ? मैले जसलाई तिमी भनें, उसलाई केही फरक परेको छैन । संस्कारै नभएको मान्छे त हैन,’ उनी आत्ममन्थन गर्छिन् ।
यो कुराले मात्र होइन, व्यक्तिगत जीवन र सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा फैलिएका अफवाहले उनी हैरान छिन् । धेरै फलोअर भएका फेसबुक पेजहरूमा निजी जीवनसँग सम्बन्धित अफवाहजन्य विषयले केही समययता वर्षाको निद्रा बिथोलिदिएको छ । ‘कहिलेकाहीँ बोल्दै नबोलेको कुरामा पनि टाइटलहरू त्यस्तै लेखेर भिडियो पोस्ट हुन्छन् । अनि नराम्रा–नराम्रा कमेन्ट आउँछन्,’ वर्षाको गुनासो छ ।
पाँच वर्षअघि २०७७ मा नेपाल–भारतको सीमा विवाद चलिरहेका बेला एक अन्तर्वार्तामा वर्षाको अभिव्यक्तिलाई लिएर पनि सामाजिक सञ्जालमा धेरै ‘बुलिङ’ भएको थियो । आशय गलत नहुँदा पनि उनीमाथि भएको अनावश्यक प्रहारले परिवारमा समेत असर परेको थियो । ‘ममी पनि सामाजिक सञ्जाल हेर्नुहुन्छ । छोरीका बारेमा जथाभावी आउँदा उहाँलाई चित्त दुख्छ,’ वर्षा सुनाउँछिन् ।
डिजिटल हिंसाको शृंखलाबद्ध चोट खेपिरहेकी गायिका एलिना चौहानसँग थुप्रै अनुभव छन् । व्यक्तिगत जीवनका घटनालाई लिएर ट्रोल बनाउनेदेखि अपाच्य टिप्पणीहरूका कारण सुरुमा त एलिना मानसिक रूपमा धेरै विचलित भइन् । ‘मोबाइलको नोटिफिकेसन आउँदा पनि थरथर मुटु काप्ने हुन्थ्यो । कमेन्टहरू पढ्दा दिमागमा यति हान्थ्यो कि रातभरि रोइन्थ्यो । ननिदाइ बिहान हुन्थ्यो,’ एलिना विगत खोतल्छिन्, ‘डिजिटल हिंसाले मान्छेलाई डिप्रेसन मात्र हैन, सुसाइट गर्ने स्थितिसम्ममा पुर्याइदिने रहेछ ।’
सुरुमा त आफूमाथि थुप्रै अपाच्य टिप्पणी बर्सिंदा उनले ‘आफू नै खराब हुँ कि’ ठानिन् । आत्मविश्वास स्वाट्टै घट्यो । बाहिर हिँड्दा पनि मान्छेहरूले आफैंलाई हेरिरहेझैं लाग्थ्यो उनलाई । ‘उनीहरूले मेरो कमेन्ट पढेर त यसरी हेरिरहेका होलान्, लाग्थ्यो,’ एलिना सुनाउँछिन् । सहनै नसकेपछि एलिनाले फेसबुक अनस्टल गरिन् । ‘अनस्टल गर्दा पनि अर्कोले आएर सुनाइरहेको हुन्छ कि तिमीलाई त यस्तो लेखेको थियो भनेर । पीडामाथि पीडा थपिन्छ । तँ मर् नै भनेरै छाडेको जस्तो हुने रहेछ,’ एलिना थप्छिन् ।
एलिनामाथिको डिजिटल हिंसा अझै रोकिएको छैन । केही दिनअघि मात्रै क्रिकेट हेर्न जाँदाको प्रसंग उनी सम्झिन्छिन्, ‘क्रिकेट हेर्न जाँदा खुसी भएर नाचेको भिडियोको कमेन्टमा यति गाली आएको थियो कि पढेर म दंग परें,’ उनी भन्छिन् ।
गायिका समीक्षा अधिकारीको कथा पनि एलिनाको भन्दा कम पीडादायी छैन । व्यक्तिगत जीवनमा धेरै उतारचढाव भोगिरहेको समयमा समीक्षा न्यायको पर्खाइमा थिइन् । तर, उनीमाथि समाजले सामाजिक सञ्जालमै अन्याय थपिरह्यो । चरित्र हत्या गर्ने पोस्ट, कमेन्टहरूले समीक्षालाई असाध्यै दुखाए । संसार नै आफूविरुद्ध खनिएको पो हो कि भन्ने लाग्न थाल्यो । त्यतिबेला त उनलाई आफ्ना सारा प्रशंसक गुमेझैं लाग्यो । ‘फेसबुक खोल्थें, गालीहरू देख्थें । तथानाम भनिएको हुन्थ्यो । बाआमालाई झन् धेरै पीर थप्यो,’ समीक्षा सुनाउँछिन् । तैपनि बाआमाले त्यति बेला दरिलो आँट दिँदै भने, ‘तिमी हिम्मतिली छौ, हिम्मत नहार ।’
समीक्षा जीवनको लयमा फर्किसकेर सिर्जनशील कर्ममा रमाइरहेकी छिन् अहिले । तैपनि उनको पोस्टहरूमा असभ्य कमेन्ट आउन छाडेका छैनन् । १० वर्षअघि गायिका ज्योति मगरको गीत ‘ढाडे बिरालो’ सार्वजनिक हुँदा उनीमाथि बर्सिएका तुच्छ कमेन्ट र गाली सम्झँदा अहिले पनि उनलाई पिरोल्छ ।
‘गीतका कारण ज्योतिलाई महिला समूहले कुटपिट गरेर जेलमा हालेको भन्ने अफवाह फैलाइएछ । यो अफवाहले मलाई सबैभन्दा ठूलो असर गर्यो,’ ज्योति सम्झन्छिन्, ‘त्यो अफवाहले आमासमेत सुत्न सक्नुभएन । म कति दिन निदाउनै सकिनँ ।’
ज्योतिका अनुसार, त्यति बेला उनी ‘डिप्रेसन’ को सिकारसमेत भइन् । त्यतिबेलाको मानसिक तनावको असर अहिलेसम्म पनि बाँकी छ उनमा । आफूबारे भ्रम फैलाउँदा मान्छेले हेर्ने दृष्टिकोण, दिने इज्जत, सम्मान र प्रतिष्ठामै आँच आएको ज्योतिसँग अनुभव छ । ‘यो सबैभन्दा सहन गाह्रो हुने रहेछ,’ ज्योति भन्छिन् । कहिले पहिरन त कहिले बोल्ने शैलीलाई लिएर ज्योतिमाथि साइबर आक्रमण हुनचाहिँ छाडेको छैन ।
कन्टेन्ट क्रिएटर इस्टु कार्की, टिकटकर मिस पविलगायत थुप्रै कलाकारहरू ट्रोल तथा डिजिटल हिंसाको सिकार बनिरहेकै छन् ।
अभिव्यक्तिकै कारण प्रहारदेखि फिल्म बहिष्कारसम्म
व्यक्तिगत जीवनलाई लिएर मात्रै होइन, कुनै अभिव्यक्ति दिएकै कारण पनि सेलेब्रिटीहरूले सामाजिक सञ्जालमा दुर्व्यवहार भोग्नुपरेका थुप्रै उदाहरण छन् । गत वैशाखमा अभिनेत्री सुरक्षा पन्तले ‘प्रकाश सुवेदी शो’ नामक कार्यक्रममा अन्तर्वार्ताकारले जोडेको प्रसंगमा पूर्वयुवराज पारस शाह र उनका छोरा हृदयेन्द्रबारे संयमित भएरै आफ्नो मत राखेकी थिइन् । मत राखेकै कारण उनीमाथि घृणा र गाली मात्रै बर्सिएन, उनी अभिनीत फिल्म ‘खेल’ बहिष्कार गर्ने ट्रेन्ड नै चल्यो । सुरक्षामाथि मात्र होइन, सुरक्षाको बचाउमा मत राखेकी अभिनेत्री ऋचा शर्मालाई समेत साइबर आक्रमण गर्न थालियो ।
कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीकै कार्यक्रममा अभिनेत्री दीपाश्री निरौलाले अभिव्यक्तिकै कारण र पूजा शर्माले सामान्य ज्ञानको जवाफ नदिएकै कारण उनीहरूमाथि ट्रोल र धम्कीपूर्ण भाषाहरू सामाजिक सञ्जालमा प्रयोग गरिएको थियो । अभिनेत्री निरौलाले ‘राजेश हमाल महानायक हुन् र ?’ भन्ने प्रश्न गर्दा उनलाई गाली र घृणा मात्रै बर्साइएन, उनको फिल्मसमेत बहिष्कार गर्ने अभियान सामाजिक सञ्जालमा चल्यो । त्यतिमै मात्र घटना सीमित रहेन, उनी आबद्ध नियमित टेलिभिजन कार्यक्रमबाट समेत बाहिरिनुप(र्यो । उनले रुँदै सामाजिक सञ्जालमा माफी मागिन् । तर, दीपामाथि गालीगलौज रोकिएन ।
२०८१ फागुनमा गायक तथा अभिनेता प्रकाश सपुतले ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीको जीवन प्रेरणादायी भएको भन्दै प्रशंसा गर्दा मात्रै उनीमाथि सामाजिक घृणा बर्साइएको थियो । उनीमाथि जातीय विभेदजन्य टिप्पणी पनि भए । त्यति बेला रिलिजकै नजिक रहेको फिल्म ‘वसन्त’ बहिष्कारको अभियानसमेत चले । त्यसयता प्रकाश सार्वजनिक समारोह वा कार्यक्रममा बोल्नसमेत हच्किन्छन् । अहिले पनि उनका फेसबुकमा घृणाजन्य कमेन्ट आउन छाडेका छैनन् ।
सेलेब्रिटीहरू एकअर्कालाई पर्दा अर्कोले किन आवाज उठाउँदैनन् ? यी प्रश्नको पनि उनीहरूले सामना गरिरहनुपर्छ । अभिनेत्री राउतकै अनुभवले भन्छ, ‘अर्को साथीलाई पर्दा लेख्न मन लाग्छ । तर, लेखेपछि आफैंमाथि गाली बर्सिने भएकाले आँट गर्न सकिन्न ।’ गायिका चौहान पनि कतिपय साथीहरूले भनेका कुरा सम्झिन्छिन् । ‘मलाई फोन गरेर उहाँहरू समर्थन छ त भन्नुहुन्छ । सम्झाउनु हुन्छ । तर, सामाजिक सञ्जालमा त्यही कुरा भन्न डराउनु हुन्छ । उहाँहरूलाई विवादित भइन्छ भन्ने डर छ,’ एलिना भन्छिन् ।
सेलेब्रिटी नै बढी डिजिटल हिंसामा किन पर्छन् त ? लेखक तथा नागरिक अभियन्ता सञ्जीव उप्रेती भन्छन्, ‘सामाजिक सञ्जालमा सेलेब्रिटीहरूको फलोअर बढी हुन्छन् । उहाँहरूले जे लेख्नु हुन्छ वा बोल्नु हुन्छ, त्यो ठूलो मासमा जान्छ । उहाँहरूले भनेको कुरामा विचारमा भिन्नता भइहाल्छ । विचारमा भिन्नता भएपछि, असहमत भएको कुरालाई सभ्य भाषामा छलफल गर्ने यहाँ बानी पनि छैन । विरोध गर्नुपर्यो भने गाली नै गर्नुपर्छ भन्ने माहोल छ । त्यसकारण यस्तो प्रवृत्ति देखिन्छ ।’
कानुन छ, कार्यान्वयन छैन
नेपालमा २०६३ देखि विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी विशेष ऐन त लागू भएको छ तर कार्यान्वयन कमजोर छ । कानुनअनुसार ५० हजारदेखि पाँच लाखसम्म जरिवाना तथा ६ महिनादेखि पाँच वर्षसम्मका जेल सजाय तोक्न सकिने प्रावधान छ । तर, डिजिटल हिंसा भोगिरहेका सेलेब्रिटी तथा सार्वजनिक जीवन बाँचिरहेकाहरूकै हकमा पनि त्यो सहज छैन ।
पूर्वसहरी विकास तथा यातायातमन्त्री एवं नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीकै अनुभवमा पनि डिजिटल माध्यमबाट हिंसा गरिरहनेहरूले उन्मुक्ति पाइरहेका छन् । पछिल्लो पाँच वर्षयता रामकुमारी पनि डिजिटल आक्रमणको चपेटामा छिन् । ‘पाँच वर्षयता मेरा फेसबुक वालहरूमा, सामाजिक सञ्जालहरूमा साइबर बुलिङ भएको छ । सुरु–सुरुमा त सार्वजनिक व्यक्ति भएकाले सहनुपर्छ भन्ने नीति ल्याएँ । धेरै रिसर्च भएपछि मलाई मान्छेहरूले यो प्रवृत्तिमाथि तिमी बोल भने,’ रामकुमारी भन्छिन्, ‘तर, जब म उजुरी दिन साइबर ब्युरो र मिडिया काउन्सिलमा गएँ, ब्युरोले लिखित उजुरी पनि लिएन । यति धेरै उजुरी दिएँ तर एउटा पनि केस अगाडि बढेन ।’
जेन–जी आन्दोलनपछि त रामकुमारीको घरको लोकेसन ट्र्याकिङ गर्ने, इनबक्समा धम्की दिनेजस्ता क्रियाकलाप बढिरहेका छन् । केही समयअघि मात्रै रामकुमारीलाई मेसेज आएका थिए, ‘यस पटक त बँचिस्, पख् अब तेरो पालो । कहाँ पो हिँड्छस् र ?’ रामकुमारीले इनबक्समा आएका धम्कीबारे सीडीओ कार्यालयमा पनि जानकारी गराएकी छन् । ‘निवेदन दिन आउँछु भन्दा उहाँहरू हामी एक तहको अनुसन्धान गर्छौं अनि उजुरी लिउँला भन्नुहुन्छ । तर, त्यो दिन आउँदैन,’ उनी भन्छिन् । यी कुराहरूले मान्छेलाई पूरै बिथोलिदिने उनको अनुभव छ ।
गायिकाद्वय एलिना र समीक्षाले पनि साइबर ब्युरोमा उजुरी नदिएका होइनन् । तर, खासै सुनुवाइ नभएको उनीहरूको अनुभव छ । गत असार १९ गते एलिनाले उजुरी दिएका आधारमा अशिष्ट कमेन्ट गर्ने एक जना पक्राउ त परे । त्यसबाहेक थुप्रै उजुरी पेन्डिङमै भएको एलिना बताउँछिन् । ‘रिपोर्ट गरे पनि केही हुन्न । ३०/४० जनाको रिपोर्ट छ, केही गर्न सकिन्न भन्नुहुन्छ । नेपालको कानुन धेरै कमजोर रहेछ,’ उनी भन्छिन् । अभिनेत्री ऋचा शर्माले पनि उजुरी दिन त खोजिन् तर साइबर ब्युरोबाट कुनै उपलब्धि भने भएन ।
प्रोफाइल सार्वजनिक अभियान
अभिनेत्री शर्माले जथाभावी कमेन्ट र इनबक्समा लेख्नेहरूलाई कानुनी बाटोबाट सजाय दिलाउन नसकेपछि नयाँ उपाय अपनाइन् । उनले ती व्यक्तिहरूको मेसेज र कमेन्टसहित प्रोफाइल सार्वजनिक गर्न थालिन् । भटाभट प्रोफाइल सार्वजनिक गर्न थालेपछि कमेन्ट र मेसेज गर्नेहरू हच्किन थाले । जसको प्रोफाइल सार्वजनिक भएको छ, उनीहरूले ऋचासँग माफी माग्न थाले ।
‘कतिले त मेरो करिअर नै सकियो । म त सुसाइड गर्छु होला भन्दै माफी माग्न थाल्नुभयो । पश्चाताप गर्नेहरूलाई भने माफी दिँदै गएँ,’ ऋचा सुनाउँछिन् । ऋचापछि समीक्षा र एलिनाले पनि त्यो अभियानलाई थप अगाडि बढाए । आफूमाथि असभ्य टिप्पणी र मेसेज गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्न थालेपछि भने कसैले गरेको गाली पनि डिलिट गर्न थाले ।
‘कमेन्ट गर्नेको प्रोफाइल हेरें, त्यहाँ छोरीहरू र श्रीमतीको बीचमा एउटा श्रीमान् ! के म पनि त्यही छोरीजस्तो हैन ?’ उनले आफूविरुद्ध भद्दा कमेन्ट गर्ने पात्रलाई लक्षित गर्दै त्यतिबेला कान्तिपुरकर्मीसँग दुःख पोखेकी थिइन् । अहिले यही अभियानलाई अन्य सेलेब्रिटीहरूले पनि पछ्याइरहेका छन् ।
हुन त अहिले पनि त्यस्ता टिप्पणीहरू आउन बन्द भएका चाहिँ छैनन् । कतिलाई भने नजरअन्दाज नै गर्नुपरेको छ एलिनाले । ‘यसले त काममा नै बिथोल्ने भयो । अहिले कतिपय त नजरअन्दाज नै गरिरहेको छु,’ एलिना भन्छिन् ।
ऋचा पनि यी कुराहरूमा अल्झियो भने मानसिक स्वास्थ्यमै समस्या पर्ने बताउँछिन् । ‘मलाई अहिले पनि कति मेसेज आउँछ । तँ फ्लप हिरोइन, तेरो फिल्म चल्दैन, अलच्छिना भनेर । जब म उसको प्रोफाइलमा जान्छु, उसले त्यति लेख्नका लागि मात्रै आफ्नो सोसल मिडिया खोलेको हुन्छ । त्यो मान्छे कसरी चिन्ने ?’ ऋचा भन्छिन् ।
ज्योति मगरलाई पनि गलत कुराको पछि लागेर समय ‘बर्बाद’ गर्नु हुन्न भन्ने लागेको छ । ‘योबाहेक मेरो धेरै जिम्मेवारी छन् । सबैभन्दा ठूलो ट्याकल भनेको त्यो चीजलाई भ्यालु नदिनु हो । मेरो कुरामा म सही छु, यी गलत कुरा आफैं हराएर जान्छन् भन्नेमा म ढुक्क छु । केही नगर्नु नै मैले ट्याकल गर्नु हो जस्तो लाग्छ,’ उनी भन्छिन् ।
नेतृ झाँक्रीले त पछिल्लो समय नयाँ उपाय अपनाएकी छन् । ‘चुनाव हारेर आइसकेपछि ट्रायलको हिसाबले टिकटकमा कमेन्टहरू फिल्टर गरें । त्यसले मलाई अलिकति कम्फर्ट बनायो । अनि फेसबुकमा पनि त्यस्ते गरें । अब म बिस्तारै पेजमा पनि राख्छु,’ झाँक्री भन्छिन्, ‘एक्सतिर चाहिँ केही गरेको छैन । कमेन्टहरू साथीहरूको सानो टिमले एनालाइसिस गरिरहेको छ ।’
०००
ज्योति मगर भन्छिन्– ‘नेपालमा मलाई जति साइबर बुलिङ कसैलाई भएको छैन’
तपाईंका डिजिटल हिंसा कसरी हुने रहेछन् ?
आजभन्दा १५ वर्ष अघिदेखि ममाथि डिजिटल हिंसा हुँदै आइरहेको छ । यसको जिम्मेवारचाहिँ हामी सबै हौं । डिजिटल मिडिया हामीले प्रयोग गर्ने हो, दुरुपयोग गर्ने हैन भन्नेबारेमा हामी जानकार रहेनौं । मुख छाड्नु मात्र साइबर बुलिङ हैन, प्रत्यक्ष/अप्रत्यक्ष कसैको सामाजिक सञ्जालमा अभिव्यक्ति वा सानो लेखाइले पनि अर्को मान्छेलाई त्यतिकै असर पारिरहेको हुन सक्छ । नेपालमा साइबर बुलिङ मलाई जति कसैलाई भएको छैन होला ।
हाम्रो मानहानि भयो भनेर साइबर ब्युरोमा जान्छौं । त्यहाँनिर पनि थोरै शक्तिको खेल हुन्छ । साइबर बुलिङ गर्ने एउटा शक्तिशाली समूह छ । त्यो समूहले एउटा मान्छेलाई हेप्ने, कहिलेकाहीँ साइबर अपराधका नाममा चाहिने–नचाहिने आरोप लगाएर थुनिदिने । नसक्नेले केही गर्न सकिरहेको छैन, सक्नेले चाहिनेभन्दा बढी गरिरहेको छ । साइबार सेना भन्ने पनि हुँदो रहेछ । उनीहरूको प्रोफाइल आक्रमणकै लागि ‘क्रिएट’ गरेको हुँदो रहेछ । यो साइबरसम्बन्धी सञ्जालमार्फत गर्ने/जान्ने मान्छेहरूको समूह छ ।
सुरुमा तपाईंलाई कस्ता खालका आक्रमणले पीडा दियो ?
मैले भोगेअनुसार नियतवश गरिने बुलिङ हो । २०१३/०१४ तिर ‘ढाडे बिरालो’ भन्ने गीत निकाल्ने बेला केही मेरै फिल्डका नजिकका मान्छे थिए, जसले समाचार बनाए– ज्योति मगरलाई महिला समूहले कुटपिट गरेर जेलमा हालेको छ । त्यो अफवाहले मलाई सबैभन्दा ठूलो असर गरेको छ । मेरो आमासमेत सुत्न सक्नुभएन । म कति दिन निदाउनै सकिनँ । डिप्रेसनमा गएँ । त्यतिबेलाको मानसिक तनाव अहिलेसम्म पनि सञ्चो भइसकेको छैन । म के हो भन्ने मलाई थाहा हुन्छ । मेराबारे भ्रम फैलाउँदा मलाई मान्छेले हेर्ने दृष्टिकोण, दिने इज्जत, सम्मान, प्रतिष्ठामै आँच आउँछ । सबैभन्दा मान्छेलाई दुख्ने भनेको प्रतिष्ठामा आँच आउँदा हो । यो सबैभन्दा सहन गाह्रो कुरा हो ।
कस्ता मान्छेहरू यस्तो काममा संलग्न हुँदा रहेछन् ?
जो मान्छे अहिले समाजमा ज्ञानी भएर बसिरहनुभएको छ, उहाँहरूले नै यस्ता खालका समूह निर्माण गर्नुभएको छ । मैले पनि आफ्नो प्रोफाइल हेर्छु । कसैका बारेमा मैले आफ्नो केही धारणा राखें, मलाई गलत लाग्यो भने उसको सेनाले अट्याक गर्छ । हामीले हाँगा काट्ने काम गरिरहेका छौं । यसको जरो उखेल्न जरुरी छ ।
तपाईंलाई यो कुरासँग लड्नुपर्छ भन्ने कुरा कहिलेदेखि अनुभूति भयो ?
मैले गलत कुराको पछि लागेर समय बर्बाद गर्नु हुन्न भन्ने लाग्यो । योबाहेक मेरा धेरै जिम्मेवारी छन् । सबैभन्दा ठूलो ट्याकल त्यो चीजलाई भ्यालु नदिनु नै हो । मेरो कुरामा म सही छु, यी गलत कुरा आफैं हराएर जान्छन् भन्नेमा म ढुक्क छु । केही नगर्नु नै मैले ट्याकल गर्नु हो जस्तो लाग्छ ।
