काशी तिवारी हत्यामा तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साह, उनका स्वकीय सचिव सियाराम कुशवाहा र अमन कुशवाहा संलग्न रहेको प्रहरी प्रतिवेदन तयार भएको थियो । तर, त्यसलाई जिल्ला सरकारी वकिल कार्यालयले फिर्ता गरेर साहको नाम हटाउन लगायो । अदालतमा मुद्दा चलाइएका सियारामले सफाइ पाए ।
What you should know
जनकपुर — संविधानसभाबाट संविधान बन्ने/नबन्ने अन्योल रहेकै बेला वैशाख २०६७ मा तत्कालीन एकीकृत नेकपा माओवादीले देशव्यापी आमहडताल घोषणा गरेको थियो । माओवादीका नेता–कार्यकर्ता सडकमा आक्रामक शैलीमा प्रस्तुत भएका थिए । आमहडतालले वीरगन्जमा पनि जनजीवन प्रभावित त बनेको थियो ।
आमहडतालको चौथो दिन वीरगन्जमा हिन्दु युवा संघका नाममा केही मानिस आमहडतालको प्रतिकारमा उत्रिए । आमहडतालमा खटिने नेता–कार्यकर्ताका लागि माओवादीले सञ्चालन गरेको मेसमा उनीहरूले तोडफोड र आगजनी गरे । त्यसपछि एकाएक चर्चामा आए वीरगन्ज–१३ अशोक बाटिकाका ४५ वर्षीय काशीराम तिवारी । आमहडतालबाट आजित भएकाहरूले त्यस घटनापछि राहत महसुस गरे पनि तिवारी माओवादीको तारो बने ।
१२ असार २०६७ को साँझ ५ बजेतिर तिवारी वीरगन्जको अशोक बाटिकास्थित शिवपार्वती मन्दिरमा रहेको धर्मशाला हेर्न पुगेका थिए । नकाव लगाएका तीन व्यक्ति उनको छेउमै आइपुगे । उनीहरूमध्ये एक जनाले तिवारीमाथि तीन गोली प्रहार गर्यो । तिवारी त्यहीं ढले । मन्दिरका पुजारीसँग कुराकानी गरिरहेका बेला तिवारीमाथि गोली चलेको थियो ।
ती नकावधारीले मन्दिर परिसरबाहिर रहेको बरफ फ्याक्ट्रीअगाडि आफ्नो मोटरसाइकल राखेका थिए । त्यतैतिर उनीहरू लम्कँदै गर्दा स्थानीयले नियन्त्रणमा लिने प्रयास गरे तर पिस्तोल ताकेर मारिदिने धम्की दिएपछि उनीहरू हच्किए । तिवारी आबद्ध हिन्दु युवा संघले हत्यामा माओवादीका तत्कालीन नेता हाल आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह र उनका सहयोगी सियाराम कुशवाहाको संलग्नता रहेको दाबी गरेको थियो ।
तिवारीको हत्यापछि वीरगन्ज फेरि तात्यो । उनको शव राखेर प्रदर्शन गरियो । हत्याको ४८ घण्टापछि जिल्ला प्रहरी कार्यालय पर्साले माओवादीका तत्कालीन सभासद प्रभु साह, सियाराम कुशवाहा, भोजपुरा उपराज्य समितिका सदस्य जालिम मियाँ, स्थानीय कार्यकर्ता उमेश पटेल, सन्तोष गिरी, सुरेश पटेल र मुकेश पटेलमाथि अनुसन्धान अघि बढायो । त्यसपछि तिवारीको अन्तिम संस्कार गरियो ।
पर्सा प्रहरीले जाहेरी दर्ता गरे पनि शक्तिकेन्द्रको इशारामा धरपक्कड गर्न सकेको थिएन । हत्याको एक वर्षपछि पर्सा प्रहरीको कमान्डमा एसपी रमेश खरेल आए । खरेलकै योजनामा बाराको निजगढबाट पक्राउ परेका रोहित भनिने अमन कुशवाहाले तिवारीको हत्यामा सियारामको संलग्नता रहेको पोल खोले । त्यतिबेला सियाराम भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहका स्वकीय सचिव थिए ।
‘फिरोज भनिने सियारामले नै तिवारीमाथि गोली हानेको हो,’ अमनले पर्सा प्रहरीलाई बयानमा भनेका थिए, ‘हत्यामा प्रयोग भएको मोटरसाइकल भने मैले चलाएको थिएँ ।’ रौतहट जमनुयाका सियारामले आफूलाई दुई लाख रुपैयाँको प्रस्ताव गरेपछि गएको अमनको भनाइ थियो ।
तिवारी हत्याको १५ महिनापछि पर्सा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री साह, उनका स्वकीय सचिव सियाराम र अमन कुशवाहाविरुद्ध प्रतिवेदन तयार गर्यो । त्यसपछि साहले मन्त्री पदबाट राजीनामा गरे । पर्सा प्रहरीको त्यो प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयले फिर्ता गर्यो । त्यसपछि साहको नाम हटाइयो । सरकारी वकिलको कार्यालयले सियाराम र अमनविरुद्ध अदालतमा मुद्दा चलायो ।
पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी नगेन्द्र झाले तिवारीको हत्यामा ‘पेसेवर अपराधी’ संलग्न रहेको बताएका थिए । उनै झाले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक रहँदा ८ लाख रुपैयाँको बिटो दिँदै ‘हत्यारा चिन्दिनँ’ भन्न लगाएको तिवारीका पत्नी बबिताले आरोप लगाएकी थिइन् । ‘मलाई झाले घरमै बोलाएर पैसा दिनुभयो,’ बबिताले भनेकी थिइन्, ‘मेरो पतिको हत्यारा को हुन् मलाई थाहा छैन भन्नू भनेर पनि सिकाउनुभयो ।’
पर्सा जिल्ला अदालतले सियारामलाई सफाइ दियो । अमनलाई भने १० वर्षको कैद सजाय तोकियो । सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्यो । २८ फागुन २०७४ मा जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले तिवारी हत्या अभियोगमा सियारामलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । त्यतिबेला सियाराम रौतहटको कटहरिया नगरपालिका प्रमुख थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सियारामलाई २७ वैशाख २०७५ मा काठमाडौंबाट पक्राउ गर्यो ।
सियाराम सर्वोच्च गए । १३ पुस २०७५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको इजलासले उनलाई सफाइ दियो । सफाइ पाएपछि सियाराम हेलिकोप्टरमै आफू प्रमुख रहेको कटहरिया नगरपालिकामा उत्रिए । उनले सफाइ पाएको खुसियालीमा पालिकाले सार्वजनिक बिदा नै दियो । अमन भने करिब सात वर्ष कैद सजाय भुक्तान गरेर रिहा भइसकेका छन् ।
तिवारीको परिवार भने न्याय नपाएको गुनासो गरिरहेको छ । तिवारीकी पत्नी बबिता राजनीतिको आडमा हत्यारालाई छुटकारा दिइएको बताउँछिन् । ‘न्याय पाइएन । एकदम दुःख लागेको छ । कसैले सहयोग गरेन,’ बबिताले बिहीबार कान्तिपुरसँग भनिन्, ‘त्यतिबेला प्रहरीले भने निकै सहयोग गर्यो । अहिले त फाइल थन्काएर राखिएको होला । घरपरिवार चलाउन गाह्रो छ । न्यायको लडाइँमा थाकेर बसेकी छु ।’
