सञ्चार उद्यमी धिताल हत्याका १५ वर्ष

कांग्रेसका नेता तथा तुलसीपुरका सञ्चार उद्यमी देवीप्रसाद धिताल चुनावको सिलसिलामा घरदैलो अभियानमा रहेका बेला ६ साउन २०६७ को बेलुकापख व्यस्त सडकमा ५/६ जना बन्दुकधारीले लखेटी लखेटी हत्या गरेर भागे, तर प्रहरीले हालसम्म न हत्याको कारण थाहा पाउन सकेको छ न त हत्यारा नै पक्राउ परेका छन्

मंसिर ६, २०८२

दुर्गालाल केसी

15 years since the murder of media entrepreneur Dhital

What you should know

दाङ — साउन २०६७ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुँदै थियो । तुलसीपुरका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज) पनि तत्कालीन उरहरी गाविसबाट उम्मेदवार थिए । ६ साउन २०६७ को बिहान खाना खाएर धिताल कार्यकर्ता कान्ताराम वलीसँग मोटरसाइकलमा उरहरी गाउँ गएका थिए ।

दिनभर नेता–कार्यकर्ता भेट्दै बेलुकापख उनी तुलसीपुर बजार फर्कंदै थिए । त्यही क्रममा साँझपख साविकको उरहरी गाविस–४, हेमनगर जसपुर (हालको तुलसीपुर–१२) मा उनीमाथि गोली प्रहार भयो । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–अमिलिया सडकखण्डमै उक्त घटना भएको थियो । स्थानीयको घरमा भेटघाट सकाएर सडकमा राखिएको मोटरसाइकल चलाउन खोज्दा उनीमाथि आक्रमण भएको थियो । व्यस्त सडकमै धिताललाई लखेटी लखेटी गोली हानिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार ५/६ जनाको समूहले उनलाई लखेटी लखेटी गोली हानेको थियो । गोली हानेर उनीहरू मकैबारी हुँदै पूर्वतिर भागेका थिए । घटनालगत्तै अस्पताल पुर्‍याइए पनि धिताललाई चिकित्सकले मृत घोषणा गर्‍यो । ‘काममा व्यस्त हुनुहुन्छ भनेर मैले दिनभर फोन पनि गरिनँ । केही कुरा पनि हुन पाएको थिएन,’ श्रीमती मञ्जुले भनिन्, ‘योजना बनाएरै उहाँलाई गाउँमा लगिएको हुनुपर्छ ।’ 

साथै गएका कान्तारामलाई घटना हुनुभन्दा सात मिनेटअघि कतैबाट फोन आएको र कुन ठाउँमा हो भनेर सोधिएको उनले घटनाको दिन सबैसामु भनेको मञ्जुले बताइन् । ‘त्यसपछि कान्तारामले सुर्ती खाने बहानामा फर्कने समय लम्ब्याएको र त्यही क्रममा गोली हान्ने मान्छेहरू आएको प्रत्यक्षदर्शीले भनेका छन्,’ उनले भनिन्, ‘श्रीमान्ले मोटरसाइकल स्टार्ट गर्न खोज्दा प्लग निकालेर स्टार्ट नहुने बनाइएको रहेछ । उहाँलाई अलमल्याएर पूर्वयोजनाअनुसार गोली हानिएको छ ।’

कान्तारामलगायत अन्य भेटघाटमा संलग्नलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेपनि दोषीको नजिक पुग्न सकेन । ‘किरिया बसिरहेकै बेला आएका प्रहरी अधिकारीहरूले ९० प्रतिशत काम सकिएको र अब छिट्टै अपराधी पत्ता लाग्छ भनेका थिए,’ मञ्जुले भनिन्, ‘तर अहिलेसम्म केही प्रगति भएन । हामी प्रहरीकोमा धाउँदा धाउँदा थाकिसक्यौं । अब न्याय कसरी पाइएला ?’ ४८ वर्षीया मञ्जु श्रीमान्को मृत्युपछि विक्षिप्त छिन् ।

न्यायको आशामा १५ वर्षको पर्खाइले उनलाई थकाएको छ । ‘कुनै प्रहरी प्रमुख र नेतालाई भन्न बाँकी छैन । सबैले पत्ता लाग्छ भने तर केही लागेन,’ उनी भन्छिन्, ‘अब घटना पुरानो हुँदै गएपछि झन् कसरी पत्ता लाग्ला र खोइ ?’ धितालले लेनदेनको हिसाब राखेको डायरीसमेत घरबाट चोरी भएको उनले बताइन् । ‘कतिपय पहिले घरमा आइरहने मान्छे घटनापछि आउँदै आएका छैनन्,’ उनले भनिन्, ‘यी सबै घटनालाई अध्ययन गर्ने हो भने दोषी पत्ता लाग्न सक्छ । प्रहरीले कतैबाट प्रभावित नभएर निष्पक्ष छानबिन गर्न मात्र बाँकी छ ।’ 

छोराको मृत्युपछि बुबा भीमकान्त मानसिक रूपमा धेरै नै विक्षिप्त भए । मान्छे देख्यो कि डराउने, भाग्ने गर्न थाले । अन्ततः छोराकै चिन्ताले ७६ वर्षको उमेरमा २०७१ माघमा उनको मृत्यु भयो । छोरा र श्रीमान्को मृत्युपछि हेमराजकी ८१ वर्षीया आमा रेवता पनि चिन्ता, आक्रोश र आशा बोकेर बसेकी छन् । अपराधी पत्ता नलाग्दासम्म मनले शान्ति नपाउने उनले बताइन् । ‘जो मान्छे देख्यो कि अपराधी होला जस्तो लाग्छ । यसले मार्‍यो कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘अपराधी पत्ता लागेपछि यो शंका त हट्थ्यो ! सबैलाई अपराधी देख्ने पापबाट बच्न पाउँथ्यौं ।’ रेवतालाई छोराको हत्यामा संलग्नमाथि सही तरिकाले अनुसन्धान नभएकै कारण घटना रहस्यमय बन्दै गएको महसुस भएको छ । भन्छिन्, ‘अपराधी नभेटिने अनुसन्धानको के काम ?’

सुरक्षा अधिकारीले हत्याको अनुसन्धान भइरहेको जानकारी दिन्छन् । यसरी नै १५ वर्ष बितेका छन् । धितालको सम्झना कर्मकाण्डी मात्रै बनेको छ । धितालको हत्याबारे अनुसन्धान गर्न जिल्ला प्रहरीका तत्कालीन डीएसपी लक्ष्मण गिरीको संयोजकत्वमा एक विशेष अनुसन्धान टोली गठन भएको थियो । घटनाबारे अध्ययन गर्न पटक–पटक केन्द्रबाट पनि उच्च प्रहरी अधिकारीहरू आएका थिए । अनुसन्धान टोलीले फाइल खडा गर्नेबाहेक अपराधी नजिक पुग्ने कुनै सूत्र पत्ता लगाउन सकेनन् । 

त्यति बेला धिताल रेडियो तुलसीपुर सञ्चालक समितिका अध्यक्ष थिए । उनी यातायात व्यवसायी र निर्माण व्यवसायी पनि थिए । नेपाली सेनालाई रासन आपूर्तिको काम पनि गर्थे । तत्कालीन अनुसन्धान अधिकृत गिरीले धितालको कारोबार र सम्बन्ध धेरै क्षेत्रमा भएकाले घटनाको खास कारण पत्ता लगाउन कठिन भएको बताए ।

तत्काल सीआईबीको टोली पनि घटनास्थल आएको थियो । ब्युरोका तत्कालीन डीएसपी अंगुर जीसी पनि टोलीमा थिए । उनी अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुख छन् । त्यति बेला अनुसन्धान ब्युरोको टोलीले घटनाका फाइलहरू अध्ययन गरेको र केही तथ्यहरू फेला नपरेपछि फर्केको उनले बताए । ‘हामीले त्यति बेला केही अध्ययन गरेका थियौं तर सोचेजस्तो तथ्यहरू फेला पार्न सकेनौं,’ जीसीले भने, ‘पुरानो घटना भएकाले अहिले धेरै कुरा सम्झन सक्ने अवस्था भएन ।’

घटनालगत्तै तत्कालीन एआईजी किरण गौतमको संयोजकत्वमा अनुसन्धान टोली पनि खटाएको थियो । तर केही प्रगति भएन । घटनाबारेको विस्तृत अनुसन्धान फाइल ब्युरोमा पठाएको र ब्युरोबाटै अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताए । ‘यस्ता घटनाको निरन्तर अनुसन्धान भइरहन्छ । दोषी पत्ता नलागेसम्म फाइल खुला नै हुन्छ,’ उनले भने, ‘घटनाबारे अहिले पनि अनुसन्धान भइरहेकै छ । कुनै भरपर्दो तथ्य फेला पर्न नसक्दा मुद्दा लम्बिएको हो । कुनै न कुनै दिन दोषी पत्ता लागेरै छाड्छ ।’

२०७४ माघदेखि केन्द्रीय अनुसन्धान ब्युरोले फाइल लिएर अनुसन्धान गरिरहेको छ । धिताल हत्याका विषयमा अहिले पनि गम्भीरतापूर्वक अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्युरोका सहप्रवक्ता एवं सूचना अधिकारी एसपी निरञ्जनदत्त भट्टले बताए । 

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully