तीन नाबालिगको त्यो ‘शंकास्पद हत्या’

भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीका ३ बालबालिका १० असार २०७४ मा घरबाट निस्किएका थिए, साँझसम्म पनि फर्किएनन् । रातभर र भोलिपल्ट खोजतलास चल्यो । दुई दिनपछि सय मिटर पर पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परे । 

मंसिर ६, २०८२

विद्या राई

The 'suspicious murder' of three minors

What you should know

काठमाडौँ — भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीका चेतनाथ फुयाँलको परिवारले असार २०७४ मा अकल्पनीय बज्रपातको सामना गर्नुपर्‍यो । चेतनाथका तीनमध्ये दुई सन्तान र छिमेकी रवीन्द्र सापकोटाका छोराको रहस्यमय मृत्युपछि चेतनाथको परिवारले बसाइँ नै सर्नुपर्‍यो । 

चेतनाथले पाक्न लागेका बालीनाली खेतबारीमै छोडे । आफ्नो फेन्सी पसल बेचे । घरमा ताला लाए । ९ असोज २०७४ मा परिवारसहित गाउँ छोडे । ‘१४ वर्षकी छोरी र ८ वर्षे छोरोको मृत्युपछि गाउँ बस्नै सकिएन,’ चेतनाथ भन्छन् । उनको परिवार अहिले इटहरीको हलगडामा बस्छ । नयाँ ठाउँ र परिवेशमा शून्यबाट गुजारा थाल्न चेतनाथले दुःखका अनेकन भारी उठाए ।  

४५ वर्षीय उनी ६ वर्षयता इटहरीमै एक हार्डवेयर पसलमा काम गरिरहेका छन् । घटना भएदेखि उनकी श्रीमती मानसिक स्वास्थ्य समस्यामा छिन् । ‘उतिखेर सबै राम्रो थियो, गाउँमा आफ्नै व्यापार व्यवसाय गरेर घरपरिवार र जीवन ठिकठाक चलिरहेको थियो, कहाँबाट यो बज्रपात मैमाथि आइलाग्यो,’ उनले भने । 

के थियो घटना ?

चेतनाथकी छोरी सुष्मा र छोरा प्रदीप तथा छिमेकी रवीन्द्रका १४ वर्षे छोरा रञ्जीव १० असार २०७४ मा खेल्न घरबाट निस्किएका थिए । तर उनीहरू साँझसम्म फर्किएनन् । परिवार र गाउँलेले राति र भोलिपल्ट खोलाखोल्सी, पोखरी, झाडी, भीरपाखा सबैतिर खोजे तर भेटिएनन् । दुई दिनपछि मरेङडाँडास्थित तोरन कार्कीको पोखरीमा तीनै जना डुबेको अवस्थामा भेटिए ।

सुष्माको खुट्टामा चप्पल थिएन । पोखरी चेतनाथको घरदेखि करिब सय मिटर पर पर्छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक रिपोर्टमा प्रदीपको घाँटीको नलीमा खानेकुरा, सुष्मा र रञ्जीवको घाँटीमा चुइगम फेला परेको उल्लेख थियो । उनीहरूमा कुनै चोटपटक, दाग र विषादी फेला नपरेको रिपोर्टमा भनिएको छ । 

घटना भएको आठ वर्ष पाँच महिना बितिसक्दा पनि ती बालबालिकाको मृत्युको कारण र दोषी पत्ता लागेको छैन । स्थानीय प्रहरी, क्षेत्रीय प्रहरी, प्रहरीको केन्द्रीय कार्यालय र अपराध अनुसन्धान विभागबाट पटक–पटक टोली पुगेर अनुसन्धान गरे पनि निचोडमा पुगेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन प्रमुख पुष्कर कार्की भन्छन्, ‘त्यतिखेर परीक्षण गर्दा त्यस्तो केही खुल्न सकेको थिएन, थप केही प्रमाण भेटियो भने अनुसन्धान अघि बढ्ने भनिएको थियो ।’ 

कान्तिपुरले मंसिर २०७६ मा फलोअप गर्दा जिल्ला प्रहरी कार्यालय भोजपुरका तत्कालीन डीएसपी नरबहादुर सलामीले आफू आउनुअघि नै तत्कालीन क्षेत्रीय अनुसन्धान ब्युरोले ‘डाइटम टेस्ट’ गर्न प्रमाण नष्ट भइसकेको पत्राचार गरेको खुलाएका थिए । शव पोस्टमार्टम गरिएको अस्पताल बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले ‘डाइटम टेस्ट’ गर्ने प्रविधि नहुँदा अनुसन्धान जटिल बनेको जनाएको थियो । प्रहरीको अनुसन्धान टोलीले उक्त टेस्ट भारतमा सम्भव हुने पत्ता लगाएपछि भोजपुर प्रहरीले क्षेत्रीय अनुसन्धान ब्युरोलाई पत्र पठाएको थियो । तर ब्युरोले भोजपुर प्रहरीलाई ‘भिसेरा टेस्टका प्रमाण तीन महिनापश्चात् स्वतः नष्ट हुने भएकाले डाइटम टेस्ट गर्न नसकिने’ जवाफ दिएको थियो । 

फरेन्सिक चिकित्साशास्त्रअनुसार पोखरी, तलाउ, खोलाखोल्सी, कुलो, नहरको पानीमा ‘डाइटम’ नामक तत्त्व पाइन्छ । कोही अचानक डुबेको खण्डमा नाक र मुखबाट एकैचोटि फोक्सोमा पानी पुगी रक्तसञ्चार रोकिएर मृत्यु हुन सक्छ । यस क्रममा पोखरीको पानीको ‘डाइटम’ मृतकको शरीरमा पुगेको हुन्छ । मृतकको शरीरमा त्यही पोखरीको पानीमा पाइने ‘डाइटम’ फेला नपरे हत्या गरेर फालिएको सम्भावना बलियो हुन्छ ।

घटनालाई प्रहरी, प्रशासन तथा अनुसन्धानमा संलग्न अधिकारीहरूले सुरुदेखि नै गम्भीरतासाथ नलिएकाले निष्कर्षविहीन बनेको पीडित परिवारको गुनासो छ । स्थानीय तहको चुनावको मुखैमा घटना भएकाले राजनीतिक दलका नेता र गाउँका अगुवाहरूले आफूहरूलाई ललाइफकाइ मुचुल्का उठाएर सद्गत गर्न लगाएको चेतनाथको भनाइ छ । घटना भएको एक वर्षपछि पोखरी पुरेर बारी बनाइएको छ । 

पीडित पक्षले घटनाको कारण र दोषी पत्ता लगाउन माग गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, प्रदेश १ (हाल कोशी प्रदेश) का मुख्यमन्त्री शेरधन राई, सुरक्षा प्रमुख तथा सरोकारवालालाई भेटेर याचना गरेको थियो । प्याउलीमा संघर्ष समिति नै गठन गरेर चरणबद्ध आन्दोलन गरिएको थियो ।  पीडित परिवारले पोस्टमार्टम तथा अन्य रिपोर्टको लिखित जानकारी केही पाएको छैन । ‘पोस्टमार्टम रिपोर्टसमेत पाइएन, सोधखोज गर्दा चुइगम, खानेकुरा घाँटीमा अड्केर मरेका हुन् भने । पत्याउने कसरी ?’ चेतनाथ भन्छन्, ‘अघिल्लो दिनसम्म पोखरी र वरिपरि केही भेटिएन, भोलिपल्ट एक्कासि शव भेटिए, बच्चाको घडीमा पानी परेको थिएन, पेटमा पानी थिएन । घोप्टो डुबेका थिए, पछाडिको केश भिजेको थिएन ।’ 

स्थानीय तहको निर्वाचन मतदान १४ असार २०७४ लाई तोकिएको थियो । गाउँपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्रसमेत भएकाले प्याउलीमा त्यति बेला निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । स्थानीय निर्वाचन सुरक्षाका लागि प्याउलीको रेडक्रस भवनमा सेनाको अस्थायी ब्यारेक राखिएको थियो । स्थानीयका अनुसार प्रदीप र रञ्जीव अन्तिम पटक ब्यारेक नजिकै देखिएका थिए । 

भोजपुरबाट निर्वाचित पूर्वसांसद कुमारीलक्ष्मी राईले अनुसन्धानमा लगिएको कुकुर सेनाको ब्यारेकतिर छिर्न लागेपछि तानिएको अभिव्यक्ति दिएकी थिइन् । घटना भएको एक वर्षसम्म अनुसन्धान बाहिर नआएपछि असार २०७५ मा तत्कालीन सांसद सुदन किरातीले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका थिए । पीडित र स्थानीयले नियोजित ‘हत्या’ भएको दाबी गर्दै निष्पक्ष छानबिन हुनुपर्ने र परिवारले राहत पाउनुपर्ने माग गरेका थिए । तर अनुसन्धान गर्ने निकायले बेवास्ता गरेको पीडित परिवारको भनाइ छ । ‘के कारणले डुबेर मरे भन्ने मात्रै थाहा पाउन पाए आत्मालाई शान्ति मिल्थ्यो,’ चेतनाथ भन्छन्, ‘तर लेखेर दिइयोस् ।’ 

घटनाको वास्तविक कारण थाहा पाउने आशामा शव पोस्टमार्टमका लागि धरान लैजाँदा, सद्गत गरेर फर्कंदा, संघर्ष समितिमार्फत दबाबका लागि आन्दोलन गर्दा, निष्पक्ष छानबिनको माग गर्दै भोजपुर सदरमुकाम, विराटनगर र काठमाडौं धाउँदा लागेको ऋण चेतनाथले अझै तिरिसकेका छैनन् । ‘जम्मै गरेर ५/६ लाख खर्च भएको थियो, अझै कति त तिरिसकेको छैन,’ उनले भने । 

रवीन्द्र सापकोटा पनि छोराको मृत्युको कारण र दोषी पत्ता लगाइनुपर्ने बताउँछन् । उनी अरुण गाउँपालिकामा कृषि प्रसार अधिकृत छन् । घरमा श्रीमती र उनी बस्छन् । एक छोरा र एक छोरीको विवाह भइसकेको छ । डेढ वर्षअघि मात्रै आफूलाई जिल्ला प्रहरी कार्यालयले अचानक बोलाएको रवीन्द्रले सुनाए ।

‘असार–साउनतिर थियो, पुराना फाइलहरू खोतल्दा हाम्रो पनि भेटिएको भनेर बोलावट भएको रहेछ, मुद्दा शाखाका सइले फाइलहरू सरर्र हेरे अनि रिपोर्टमा डुबेरै मरेको लेखिएको छ भने,’ उनले भने, ‘अघिल्लो दिन त्यही ठाउँ (पोखरी) मा खोज्दा केही नभेटिनु, भोलिपल्ट बिहान अचानक भेटिनु, पछाडिको कपाल नभिजेको भेटिनुले कर्तव्य गरेर घटना गराइएको हो भनेर फर्किएँ ।’ त्यसपछि प्रहरी प्रशासन र सरोकारवाला कसैले पनि चासो लिएका छैनन् । ‘आशा त मार्नु भएन, सबैले घचघच्याइदिए हुन्थ्यो,’ रवीन्द्रले थपे । 

चेतनाथले भने गाउँबाट विस्थापित भएदेखि प्रहरी प्रशासनले खोजखबरसमेत नगरेको दुखेसो पोखे ।

विद्या विद्या राई कान्तिपुरकी संवाददाता हुन् । उनी जलवायु र लैगिंकता, मानवअधिकारलगायत सामाजिक मामिला सम्बन्धी विषयमा समाचार तथा लेख लेख्छिन् ।

Link copied successfully