साथीकहाँ पुगेर आउँछु भनेर हिँडेकी जैसीदेवलकी छोरीमैयाँ महर्जन १४ वर्षदेखि बेपत्ता छिन् । बेलाबेला सामाजिक सञ्जालमा उनको खोजी गर्दै ‘ट्रेन्ड’ चलिरहन्छ, ‘खै छोरीमैयाँ ?’
What you should know
काठमाडौँ — १६ फागुन २०६८ मा घरबाट निस्किँदा ५१ वर्षीय छोरीमैयाँ महर्जनले परिवारलाई बानेश्वरबाट सामान लिएर आउने जानकारी गराएकी थिइन् । घरमा बिहानै आइपुगेका श्यामकाजी श्रेष्ठको मोटरसाइकलमा चढेर छोरीमैयाँ निस्किइन् । जैसीदेवलमा रहेको घरमै सिलाइ व्यवसाय गरिरहेकी उनलाई आफूले टेकुमा छाडिदिएको श्रेष्ठको बयान छ ।
पछि सवा ९ बजेतिर छोरीमैयाँले छोरी सुधालाई फोन गरेर साथी निक्की (सुरक्षा सिंह) बानेश्वरस्थित घरमा पुगेर आउने सुनाइन् । ‘आन्टी हुनुहुन्छ कि हुनुहुन्न, एकपटक बुझिदेऊ न भन्नुभएको थियो,’ सुधा भन्छिन्, ‘उहाँ ममीको क्लोज साथी हुनुहुन्थ्यो, मैले फोन गरेर सोधिदिएको थिएँ ।’ त्यसबेला निक्कीले हतारमा जवाफ दिएको र आफैं छोरीमैयाँलाई फोन गर्ने बताएको सुधाको भनाइ छ ।
छोरीमैयाँलाई राम्रोसँग मोबाइल चलाउन आउँदैनथ्यो, त्यसैले उनले घरमा सम्पर्क गरेर सोधिदिन भनेकी थिइन् । सधैं त्यसरी निस्किँदा १२ बजेसम्ममा उनी फर्किसकेकी हुन्थिन् । आमा नआएपछि सुधाले फोन गरिन्, उठेन । धेरै पटक प्रयास गरिरहँदा एक पटक उठ्यो, आवाज आउँदै आएन । खासमा दुई दिनअघि फोन खसेकाले मोबाइलमा समस्या पनि थियो । उनीहरूले सामान्य नै ठाने । राति ८ बजेतिर एक्कासि छोरीमैयाँको नम्बरबाट एउटा म्यासेज आयो । त्यसमा लेखिएको थियो, ‘म मनकामनामा छु, पर्सि आउँछु ।’
राम्रोसँग मोबाइल चलाउन नजान्ने छोरीमैयाँले कसरी त्यो सन्देश लेखिन् भन्ने परिवारलाई सन्देह छ । त्यसबेला मोबाइलको डिस्प्लेसमेत बिग्रिएको अवस्थामा कसैले त्यो सन्देश पठाइदियो कि भन्ने परिवारलाई शंका छ । त्यो सन्देश आएको मोबाइलको आईएमईआई नम्बरचाहिँ प्रहरीले निकालेको देखिँदैन । त्यसबेला त्यो हेर्ने प्रविधि आइसकेको थियो । अनुसन्धान अधिकृतहरूले सुरुमा त्यतातिर ध्यान दिएनन्, पछि लामो समय भइसकेकाले विवरण नभएको जवाफ नेपाल टेलिकमले दियो ।
परिवार छोरीमैयाँलाई कुरेर बस्यो, तर केही खबर आएन । छोरीमैयाँका श्रीमान् शिवकृष्णले प्रहरीलाई दिएको जोहरीमा उल्लेख भएअनुसार, निक्कीले चाहिँ आफ्नो भनाइ फेरबदल गरिरहिन् । ‘एक/दुई दिन हेर आइहाल्छ, प्रहरीमा खबर नगर भनेकी थिइन्,’ जाहेरीमा लेखिएको छ, ‘पहिले कागज नगरी ठूलो रकम लगेर फिर्ता गर्नुको सट्टा पटकपटक विभिन्न बहाना गरेर टार्ने र वादविवाद गर्ने गरेकी थिइन् ।’ प्रहरीलाई दिएको बयानमा निक्कीले दिउँसो सुधाको दिदीले समेत फोन गरेपछि आफूले अहिलेसम्म छोरीमैयाँ नआएको भनेको बताएकी छन् ।
‘तिम्रो बहिनीले पनि फोन गरी मेरो घरमा आउन लागेको भनेकी थिइन्, त्यसपछि अहिलेसम्म आएकी छैनन् भनेको थिएँ,’ उनले बयानमा भनेकी छन्, ‘राति ८ बजेतिर सुधाले मलाई ममी अहिलेसम्म आउनु भएन, कहाँ जानुभएको होला भनी रुँदै फोन गरेकी थिइन् ।’ त्यसबेला आफूले सुधालाई सम्झाउँदै ‘मेरो माइजू पनि केही वर्ष अगाडि घरबाट हिँडेकोमा ३ दिनपछि मात्र पत्ता लागेको र दुर्घटना भएपछि प्रहरी अस्पतालमा फेला पारेको’ भनेको उनले उल्लेख गरेकी छन् । विभिन्न अस्पतालमा फोन गरेर बुझ्दै गर्न र आफूले पनि बुझ्ने भनेको उनको बयान छ ।
सुधाले केही दिनसम्म निक्कीलाई फोन गर्न छाडिनन् । त्यसबेला निक्की उनलाई ‘किन आत्तिन्छौं, भोलि पर्सि आइहाल्नुहुन्छ नि’ भन्थिन् । तर, दिन बित्दै गयो, छोरीमैयाँ फर्किइनन् । उनीहरूले प्रहरी प्रभाग, जनसेवामा खोजतलासका लागि निवेदन दिए । अर्को दिन जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिए । पछि परिवारले निक्कीविरुद्ध किटानी जाहेरी दिन खोज्यो । सुरुमा प्रहरीले दर्ता गर्न मानेन । पछि घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र छोरीमैयाँको खोजी हुनुपर्ने माग गर्दै दिनहुँ प्रदर्शन हुन थालेपछि प्रहरीले जाहेरी लियो । अनुसन्धान अधिकृतहरूका अनुसार, सुरुमा पर्याप्त प्रमाण भेटिइनसकेकाले जाहेरी लिइएको थिएन । तर, पछि अनुसन्धान निक्कीबाट अन्यत्र नमोडिएपछि उनलाई २१ वैशाख २०६९ मा नियन्त्रणमा लिइएको थियो ।
जैसीदेवलस्थित घरबाट नजिकै छोरीमैयाँको माइती थियो । त्यहीं छँदैबाट निक्कीसँग उनको चिनजान भएको थियो । प्रहरीका अनुसार, छोरीमैयाँले तयार गरेको कपडासमेत उनले बिक्री गर्न सहयोग गरिदिन्थिन् । निक्कीले चाहिँ ढुकुटी खेलाउने काम गर्थिन्, कहिलेकाहीं छोरीमैयाँले उनलाई सापटी पनि दिन्थिन् । परिवारका अनुसार, छोरीमैयाँको डायरीमा उनलाई ५० लाख रुपैयाँ सापटी दिएको उल्लेख थियो ।
छोरीमैयाँका श्रीमान् शिवकृष्णले नेपाल राष्ट्र बैंकबाट अवकाश पाउँदा ४३ लाख रुपैयाँ जम्मा भएको थियो । उनले व्यवसायबाट जम्मा गरेको ७ लाखसमेत गरेर ५० लाख रुपैयाँ निक्कीलाई दिइएको महर्जन परिवारको दाबी छ । त्यो पैसा निकै ताकेता गर्दासमेत फिर्ता नगरेको उनीहरूको दाबी छ । फिर्ता माग्ने क्रम चलिरहेका बेला घरबाट निस्किएकी उनी निक्कीलाई भेट्न भनेर बानेश्वर पुगेपछि फर्किइनन् । निक्कीले चाहिँ आफूले ५ लाख रुपैयाँ मात्र फिर्ता गर्न बाँकी रहेको दाबी गर्दैर् आएकी छन् ।
प्रहरीले निक्कीलाई नियन्त्रणमा लिएपछि उनको घरमा खानतलासी गरेको थियो । प्रहरीले रविभनवस्थित गोदारगाउँमा रहेको निक्कीका ससुरा त्रिभुवनमान सिंहको घरमा समेत खानतलासी गर्यो । तर प्रहरीले केही फेला पारेन । पछि परिस्थितिजन्य प्रमाण, छोरीमैयाँको बानेश्वरमा लोकेसन देखिएको विवरण, जाहेरीलगायतलाई आधार बनाउँदै २१ वैशाख २०६९ मा अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गरियो । त्यसबेला धरौटीमा छुटेकी सिंहले पछि १९ जेठ २०७१ मा जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाइन् । त्यो आदेशविरुद्ध उच्च अदालत पाटनमा पनि पुनरावेदनको निवेदन पर्यो । तर, जिल्लाकै आदेश सदर भयो ।
‘अपहरण तथा व्यक्ति बन्धक जस्तो जघन्य फौजदारी कसुर अभियोग शंकारहित र विश्वसनीय प्रमाणले समर्थित हुनुपर्ने र अनुमान तथा आशंकारहित तवरबाट कसुर स्थापित हुनुपर्छ,’ आदेशमा भनिएको छ, ‘टेकुसम्म पुगेको अवस्था भए पनि छोरीमैयाँ प्रतिवादीको घरमा पुगे, नपुगेको, सोही दिन मनकामना आएको छु भनी गरेको एसएमएस कसले गरेको, कोसँग उनी त्यहाँ पुगेकी थिइन् भन्ने तथ्यलाई अभियोजन पक्षले यकिनसाथ स्थापित गर्न सकेको पाइँदैन ।’
अदालतले एक महिला राजधानीबाट बेपत्ता भएर हालसम्म अवस्था ज्ञात नहुनु दुःखद भए पनि अपराध तथा शरीर बन्धक जस्तो संगठित रूपमा बल प्रयोग गरी गरिने अपराधबारे आशंकामा अनुसन्धान केन्द्रित हुँदा कुनै निष्कर्ष निस्किन नसकेको भनेको छ । सर्वोच्चले समेत शंकित निक्कीलाई सफाइ दिएको छ, तर छोरीमैयाँको परिवारले न्याय पाएको छैन ।
कतिपय अनुसन्धान अधिकृतहरू प्रहरीको त्यसबेला प्राविधिक पक्षको अनुसन्धानमा कमजोरी भएको बताउँछन् भने कतिपयले यो घटनामा निरन्तर अनुसन्धान जारी राख्नुपर्ने बताउँछन् । छोरीमैयाँको अहिलेसम्म पत्तो छैन । बेलाबेलामा सामाजिक सञ्जालमा उनको खोजी गर्दै ‘ट्रेन्ड’ चलिरहन्छ, ‘खै छोरीमैयाँ ?’, ‘जस्टिस फर छोरीमैयाँ महर्जन’ ।
