डिजिटल हिंसामा परे पनि यौनिक पहिचान खुल्ने र झन् दुर्व्यवहारमा पर्ने डरले यो समुदायका व्यक्ति पीडकविरुद्ध उजुरी लिएर प्रहरीकहाँ जानै डराउँछन्।
What you should know
काठमाडौँ — रमाइलो छ’ कार्यक्रमका प्रस्तोता एवं रंग पत्रकार उत्सव रसाइलीले केही दिनअघि ‘मंसिर लाग्यो है’ भन्दै फेसबुकमा तस्बिर राखे । कमेन्टमा कसैले लेखे, ‘तिमीलाई त केटी हुँदैन, केटासँगै बिहे गर्नुपर्ने होला ।’ अर्को कमेन्ट थियो, ‘तिमीलाई त नेपालमा कहाँ पाउनु, विदेशमै खोज्न जानुपर्ने होला ?’ सुरुवाती दिनमा यस्ता कमेन्ट देख्दा चित्त दुखे पनि अहिले उत्सवलाई हाँसो लाग्छ ।
‘यो भाइ कि बहिनी हो ?’ उत्सवले लिएको अन्तर्वार्ता होस् या उनले सार्वजनिक गरेका तस्बिर, त्यसमा यसरी कमेन्ट लेख्नेहरूको कमी हुन्न । ‘भाइ देखिन्छ तर बहिनी हो’ भनेर लेख्ने त थुप्रै छन् । उत्सवका अन्तर्वार्ता चित्त नबुझे वा गलत देखाउनु परिहाले सोझै उनको यौनिक पहिचान जोडिदिन्छन् । यस्ता दुर्व्यवहारलाई बेवास्ता गर्दै अगाडि बढिरहेका उत्सवलाई लाग्छ, ‘मान्छेहरू अझै कस्तो कुरामा अल्झिरहेका छन् ।’
...
जगन (परिवर्तित नाम) ले केही समयअघि डेटिङ एप ‘ग्राइन्डर’ मा एकाउन्ट खोले । उनलाई थाहा थियो, यो एपमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि ‘पार्टनर’ खोजिन्छ । ग्राइन्डरबाटै एक जनासँग चिनजान भयो । उक्त व्यक्तिले वास्तविक तस्बिर उनलाई पठाएनन्, प्रोफाइलमा फूलको तस्बिर थियो । तर, दुईबीच कुराकानी बढ्दै गयो ।
उनीहरूबीच उमेर, ‘रोल’ लगायत विषयमा कुराकानीपछि भेट्ने तय भयो । भेट्ने दिन उक्त व्यक्तिले आफू नगरकोटमा रहेको भन्दै काठमाडौंसम्म आउने पठाओ खर्च मागे, होटल बुक गर्न भने । उनले भनेजस्तै जगनले गरे । तर, विभिन्न बहाना बनाएर ती व्यक्ति आएनन् । बरु जगनलाई भोलिपल्ट पनि त्यसैगरी पैसा पठाइदिन आग्रह गरे । जगनलाई शंका लाग्यो, उनले पैसा नपठाउने बताए ।
उक्त व्यक्तिले जगनलाई आमाबुबाको तस्बिर पठाउँदै धम्क्याए, ‘तेरो बुबा फलानो होइन, भने जति पैसा पठाउने भए पठा, नत्र छोरा यस्तो हो भनिदिन्छु ।’ परिवार र समाजसँग आफ्नो यौनिक पहिचान लुकाउँदै आएका जगनलाई उक्त व्यक्तिले करिब एक महिना यसरी नै दुःख दिइरहे । तत्काल ग्राइन्डरमा ब्लक गरेर एप डिलिट गरे पनि जगनलाई अझै त्यो घटनाले पिरोलिरहन्छ । कतै त्यो व्यक्तिले परिवारसामु आफ्नो यौनिक पहिचान खुलाइदिने त होइन भन्ने पीरले जगनलाई झस्काइरहन्छ, मानसिक पीडा दिइरहन्छ ।
...
बाबुदुमी राईले १४ वर्षको उमेरमै आफ्नो यौनिक पहिचान खुलाइन् । नन बाइनरी ट्रान्स– उनको यौनिक पहिचान हो । उनी परिवार र समाजसामु मात्रै होइन, डिजिटल समाजमा पनि पहिचानसहित आइन् । सञ्जालबाटै उनी आफ्नो उमेरभन्दा निकै पाको व्यक्तिसँग सम्बन्धमा परिन् । त्यतिबेलै उक्त ‘पार्टनर’ ले उनीमाथि यौनजन्य दुर्व्यवहार गरेका थिए । तर, उमेरजन्य अपरिपक्वताका कारण बाबुलाई त्यो गलत हो भन्ने लागेन । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायभित्रकै व्यक्तिबाट पनि यस्तो दुर्व्यवहार होला भन्ने बाबुले सोचेकी पनि थिइनन् । यस्ता घटना यो समुदायभित्र अझै रहेको उनी बताउँछिन् ।
...
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिले भौतिक रूपले जति डरलाग्दो हिंसा भोग्नुपर्छ, त्योभन्दा भयानक छ डिजिटल हिंसाको शृंखला । यसैको एउटा उदाहरण हो, एक विवाहित समलिंगी पुरुषलाई उनको यौनिक पहिचान खुलाइदिने धम्की दिई करिब ३ वर्षदेखि ‘ब्ल्याकमेल’ गरेको घटना ।
‘मायाको पहिचान नेपाल’ संस्थामा आएको यो घटनामा अहिले दुवै पक्षसँग वार्ता र मेलमिलापको कार्य गरिरहेको संस्थाका निर्देशक सुनीलबाबु पन्तले बताए । पीडकले परिवारलाई सुनाइदिने भन्दै पीडितबाट कहिले मोटरसाइकल फिरौती त कहिले रकम लिने गरेको पीडितको आरोप छ । निर्देशक पन्तले यो विषयमा संस्थाले दुवै पक्षको कुरा सुन्ने र आवश्यक परे प्रहरीसमक्ष पठाउने बताए ।
...
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका धेरैजसो व्यक्तिको सम्बन्ध सामाजिक सञ्जालबाट सुरु हुने गरेको छ । यसमध्ये केही सम्बन्ध हिंसामा परिणत हुने गरेको छ भने केही डिजिटल प्लाटफर्ममै दुर्व्यवहारको सिकार भइरहेका छन् । क्वयर नेपालका अध्यक्ष विवेक मगर डिजिटल प्लाटफर्मबाट यो समुदायले ‘इन्टिमेट पार्टनर भ्वाइलेन्स’ देखि बाल यौन दुर्व्यवहार र गाली गलौजजन्य हिंसा भोग्दै आएको धारणा राख्छन् ।
लैंगिक तथा यौनिक अल्पसंख्यकलाई बिहानदेखि रातिसम्म गाली गलौजका शब्द सामाजिक सञ्जालमा प्रहार गरिने उनी बताउँछन् । ‘हाम्रो समुदायलाई धेरै नै हेट स्पिच दिइने गरिन्छ । अहिले फेसबुक र टिकटकमा हाम्रो समुदायलाई सिधै गाली गर्ने, धम्क्याउने गरेको कन्टेन्ट थुप्रै देख्छु,’ विवेक भन्छन् ।
सन् २०१४ देखि यो समुदायको अभियन्ताका रूपमा काम गर्दै आएका विवेकले हालै फेसबुकमा ‘कुशाल सेज’ शीर्षकको एउटा कन्टेन्ट भेटे । जहाँ यो समुदायका व्यक्तिलाई पशुसँग दाँजिएको थियो र धम्क्याइएको पनि थियो । पितृसत्तात्मक समाजकै कारण युवाले पनि यो समुदायलाई बुझ्न नसकेको विवेक बताउँछन् ।
‘कति युवाले नबुझी हामीमाथि प्रहार गरेर कन्टेन्ट बनाउँदै आएका छन् । उनीहरूले सिधै धम्क्याउने आँट कसरी राख्छन् ? पक्कै यो हाम्रो सामाजिक संरचनासँग ठोक्किन्छ,’ उनी भन्छन्, ‘सामाजिक संरचनाले निर्माण गरिदिएको त्यही अभिव्यक्ति अहिले डिजिटल प्लाटफर्ममा पोखिएको छ ।’ पितृसत्तात्मक समाजमा अझै पनि लैंगिक तथा यौनिक अल्पसंख्यक सुरक्षित नभएको विवेक सुनाउँछन् ।
विवेकका अनुसार डेटिङ एपमार्फत बालबालिका यौन हिंसामा पर्दै आएका छन् । ‘पाको उमेरकाहरूले बालबालिकालाई यौनका लागि विभिन्न प्रलोभन देखाएर ग्रुमिङ गर्ने गरेको पाइन्छ,’ उनी भन्छन्, ‘कतिलाई त अश्लील भिडियो/फोटो पठाएर पैसा दिन्छु भन्दै भिडियो सेक्सका लागि बाध्य बनाइन्छ । अनि त्यही भिडियो खिचेर उनीहरूमाथि ‘ब्ल्याकमेल’ समेत हुन्छ ।’
हालै खुलेको समावेशी समाजवादी पार्टीको उपाध्यक्षसमेत रहेकी बाबुदुमी राई सामाजिक सञ्जालदेखि यस्ता डेटिङ एपमा हिंसा हुने गरेको बताउँछिन् । ‘कति त हाम्रै समुदायका व्यक्तिले पनि दुर्व्यवहार गरिरहेका हुन्छन्,’ उनले सुनाइन्, ‘आफ्नो यौनिक पहिचान खोजिरहँदा हाम्रा समुदायका व्यक्ति ग्राइन्डर, ब्लुड, ट्यानट्यान, बम्बल, प्लानेट रोमियोदेखि हिसे भन्ने एपमा पुग्छन् । अनि त्यहीँबाट यौन दुर्व्यवहारमा पर्छन् । त्यसको सोझै असर स्वास्थ्यमा पर्छ । एचआईभीदेखि एसटीआईजस्ता रोगको सिकार भइरहेका हुन्छन् ।’
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिले यौनिक पहिचान खुलाएदेखि नै प्रत्यक्ष र डिजिटल हिंसाको सिकार हुनुपरेको भन्दै राईले यसबाट करिअरमा पनि असर परिरहेको बताइन् । सामाजिक सञ्जालका म्यासेज बक्सदेखि फोनबाटै पनि यो समुदायले हिंसा र दुर्व्यवहार भोग्नुपरेको उनको भनाइ छ । ‘डिजिटल हिंसा हाम्रो जीवनमा दैनिक भोगिरहनुपर्ने विषय बनेको छ । यस्ता हिंसा हामीमाथि हुन्छन् र यसलाई सहनुपर्छ भन्ने मानसिकतामा हुन्छौं । सामान्यीकरण गरिसक्यौं भनौं न,’ उनले भनिन् । यसले आफूलाई असुरक्षित ठान्ने र आफू यो समाजकै लागि योग्य होइन कि भन्ने ग्लानिबोध गराउने अनुभव धेरैको रहेको उनले बताइन् ।
यो समुदायलाई नबुझ्दा परिवार, साथीभाइ र आफन्तबाटै हिंसा भइरहेको रंग पत्रकार उत्सव सुनाउँछन् । ‘मान्छेले अझै पनि यो समुदाय भन्नेबित्तिकै ट्रान्स मात्रै भनेर बुझ्छन् । मान्छेले सुन्न चाहेजस्तै कुरा मैले भनिदिएन भने विभिन्न शब्दहरूको प्रहार हुन्छ, मनमा चसक्क हुन्छ,’ उत्सवले भने ।
डेटिङ एप र डिजिटल माध्यममार्फत गम्भीर किसिमका हिंसा अहिले यो समुदायले भोग्नुपरेको अभियन्ता सुनीलबाबु पन्त सुनाउँछन् । आपराधिक मानसिकता भएका व्यक्तिले विभिन्न एपमार्फत यो समुदायका व्यक्तिबाट फाइदा उठाउने गरेको पूर्वसभासदसमेत रहेका सुनीलले बताए । ‘विशेष त विवाहित पुरुष जो आर्थिक रूपले सम्पन्न छन्, उनीहरूलाई फसाउने गरिएको छ,’ उनले भने ।
...
लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि डिजिटल हिंसाको समाधानको बाटो पनि सहज छैन । यौनिक पहिचान र प्रहरीले गर्ने व्यवहारकै कारण पनि डिजिटल हिंसाको मुद्दा बोकेर उनीहरू प्रहरीकहाँ जान हिचकिचाउँछन् । अभियन्ता सुनीलका अनुसार यौनिकता नखुलेकाहरू अझै पनि उनीहरूजस्ता अभियन्ताकहाँ आउनै डराउँछन् ।
परिवार, समाजको डरले आफ्नो यौनिकता लुकाएर बाँचिरहेकाहरूले प्रहरीमा उजुरी दिने त झन् परको कुरा । ‘सुरुमा त हामीकहाँ खुल्न, विश्वास गर्न डराउँछन् । अब उनीहरू कसरी प्रहरीकहाँ जाऊन् ?’ सुनील सुनाउँछन्, ‘डिजिटल हिंसाका लागि साइबर ब्युरोमा उजुरी दिनुपर्यो । पीडितहरू जो विवाहित छन्, जो खुलेर आएका छैनन्, उनीहरू साइबर ब्युरोसम्म जानै सक्दैनन् । त्यसैले यो समुदायको उजुरी नगरिएका कति डिजिटल हिंसा त्यत्तिकै छन् ।’
कतिपय प्रहरीकहाँ जाँदा आफ्नो यौनिकता बाहिरिने डरले साइबर ब्युरो पुग्ने गरेका छैनन् । त्यसैले आफूकहाँ आइपुगेको मुद्दालाई सुनीलको समूहले समाधानको बाटो खोजिरहेको हुन्छ । न्याय पाउन लामो अनि झन्झटिलो प्रक्रियाका कारण पनि डिजिटल हिंसाको मुद्दा बोकेर साइबर ब्युरो धाउने कमै रहेको सुनील सुनाउँछन् । प्रहरीले यो समुदायको संवेदनशीलता बुझ्ने निश्चित व्यक्तिलाई खटाउनुपर्ने उनी माग राख्छन् । डिजिटल हिंसामा परेकाहरूका लागि परामर्शको पनि आवश्यकता देख्छन्, सुनील । ‘डिजिटल हिंसाले उहाँहरूको मानसिक स्वास्थ्यमा असर गरेको हुन्छ । त्यसैले ट्रमामा भएकाहरूलाई परामर्शको व्यवस्था हुनुपर्छ,’ उनले भने ।
नेपालमा पहिलो पटक तेस्रोलिंगी नागरिकता लिएका ‘ट्रान्स–म्यान’ बद्री पुन अझै प्रहरीमा उजुरी दिन सहज वातावरण नभएको बताउँछन् । ‘प्रहरीले अझै हामीलाई बुझेका छैनन् । उहाँहरूले साइबर अपराधमै पनि जसरी अरूलाई न्याय दिनुहुन्छ, त्यसरी हामीलाई दिनु हुन्न,’ समावेशी मञ्च नेपालको निवर्तमान अध्यक्षसमेत रहेका पुन भन्छन्, ‘न्याय दिने ठाउँमै हामीलाई तिमीहरू किन यसरी हिँड्छौ भनेर प्रश्न गर्छन्, दुर्व्यवहार गर्छन् । राज्यले लैंगिक हिंसाविरुद्धको अभियानलाई नारामा मात्रै सीमित गराइदिएको छ । सबैलाई समान व्यवहार हुँदैन । हामीलाई पनि अरूलाई झैं न्याय दिनुपर्छ ।’
बाबुदुमी राई यस किसिमको डिजिटल हिंसाबाट यो समुदायलाई जोगाउन सरकारले नीतिगत तहमै काम गर्नुपर्ने आवश्यकता देख्छिन् । ‘सरकारतर्फबाट नै डिजिटल हिंसा रोक्न त्यस किसिमको प्लाटफर्मलाई कसरी चलाउने भन्ने नीति बनाउनुपर्छ । डिजिटल प्लाटफर्मबाटै हुने हिंसाका विषयमा जागरुकता फैलाउनुपर्छ,’ उनले भनिन् ।
उत्सव आफ्नो समुदायका मानिसलाई डिजिटल प्लाटफर्ममा कम सक्रिय बन्न आग्रह गर्छन् । ‘अरूको कुराले आफूलाई परिभाषित गर्न दिनु भएन । आफूमाथि भएको हिंसाबारे आफन्त, साथीभाइलाई सुनाउनुपर्यो । कुनै प्लाटफर्मबाट त्यसबारे बोलिदिँदा पनि हुन्छ,’ उत्सवले भने, ‘अरूले भनेको कुराले आफूलाई मापन गर्ने होइन । आफ्नो काम र प्रतिभाले आफू चिनिनुपर्छ ।’
