बाल अधिकारका क्षेत्रमा क्रियाशील संस्था चाइल्डसेफ नेट र युनिसेफ नेपालको रिपोर्टले भन्छ– ‘डिजिटल ग्रुमिङ’, ‘अनलाइन ब्ल्याकमेलिङ’ र ‘अनलाइन इन्टिमेट पार्टनर भोयलेन्स’ बाट बालबालिकाहरू अनलाइन दुर्व्यवहार खेपिरहेका छन् ।
What you should know
काठमाडौँ — काभ्रेका १५ वर्षे सुमन (नाम परिवर्तन) का लागि विद्यालयका शिक्षक राकेश (नाम परिवर्तन) साथीजस्तै थिए । उनीहरू व्यक्तिगत कुरा खुलस्त ‘सेयर’ गर्थे । विद्यालयमा त उनीहरू आफ्ना कथा साट्थे नै, एकअर्काको घरै पुगेर पनि गफिन्थे । सुमनसँग सामाजिक सञ्जालमा ‘मिम’ र ‘रिल’ पठाएर आत्मीयता बढाउने काम राकेशले गरिरहे, एकअर्काको सम्बन्ध लामै समय निरन्तर चलिरह्यो ।
एक दिन यस्तो भयो– राकेशले सुमनको नग्न तस्बिर माग गरे । सुरुमा सुमनले अस्वीकार गरे । त्यसपछि ? सुमनले ‘सेयर’ गरेका ‘अश्लील मिम’ बारे परिवारलाई बताइदिने धम्की राकेशले दिए । धम्कीपछि सुमनले विवश भएर आफ्नो नग्न तस्बिर राकेशलाई पठाए । तर, राकेश यत्तिमै रोकिएनन्, सुमनकी ११ वर्षे बहिनीको पनि नग्न तस्बिर माग्न थाले ।
जब सुमनले त्यो अस्वीकार गरे, राकेशको धम्की थप क्रूर बन्यो, ‘मसँग तेरो नग्न तस्बिर छ, बहिनीको पठाइनस् भने यो पब्लिक गरिदिन्छु ।’ त्यसपछि सुमन मानसिक रूपमा असाध्यै अताल्लिए । उनले कसैलाई भन्न सकेनन्, राकेशसँग कुरा गर्न र विद्यालय जान पनि छाडे । तर, शिक्षकले विद्यार्थीलाई निरन्तर म्यासेज पठाएर हैरान पारिरहे ।
...
२०७६ को कोरोना महामारी र देशव्यापी लकडाउनको समयमा १६ वर्षे सुनिता (नाम परिवर्तन) को पनि धेरैजसो समय मोबाइल र इन्टरनेटमै बित्यो । अनलाइन कक्षाहरूका कारण उनको ध्यान मोबाइलमै हुन्थ्यो । यसैबीच, क्लासमा सँगै पढ्ने श्रीराम भण्डारीको फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो, सुनिताले स्वीकारिन् । फेसबुकबाट सुरु भएको कुराकानी अडियो र भिडियो कलसम्म बाक्लियो । बिस्तारै उनीहरूले एकअर्कालाई प्रेमी–प्रेमिकाका रूपमा स्विकारे । यो प्रेमसम्बन्ध एक वर्षसम्म अघि बढ्यो, २०७७ सालमा श्रीरामले सुनितासँग नग्न तस्बिर मागे । विश्वासमा रहेकी सुनिताले कम्मरदेखि माथिको आफ्नो नग्न तस्बिर म्यासेन्जरमा पठाइन् ।
केही दिनमै श्रीरामले १९ वर्षीय साथी अनिश रिमाललाई ‘नाङ्गो फोटो आएको छ, ल हेर्’ भन्दै देखाए । त्यसको भोलिपल्ट अनिशले सोही तस्बिर आफ्नो ‘फेक आईडी डेबिड राइडर’ नामकबाट सुनितालाई पठाएर ‘ब्ल्याकमेल’ गर्न थाले । अनिशले ‘लेटेस्ट फोटो’ भन्दै ‘कोभिड १९ बोका समूह’ नामक ग्रुपमा सुनिताको नग्न फोटो पोस्ट गरिदिए ।
‘ग्रुप मेम्बर’हरूले तस्बिर एकअर्कालाई पठाउँदै जाँदा सुनिताको फोटो सामाजिक सञ्जालमा फैलिन थाल्यो । धेरै आईडीबाट नराम्रा म्यासेज, कमेन्ट र ‘ब्ल्याकमेलिङ’ हुन थालेपछि सुनिताले यो असह्य पीडाबाट मुक्ति पाउन २०७७ असार १० गते आफ्नै कोठामा आत्महत्या गरिन् । मृत्युअघि उनले साथीलाई म्यासेजमा लेखेकी थिइन्, ‘यदि मलाई केही भयो भइहाल्यो भने श्रीरामलाई नछोड है, त्यसले मसँग ठूलो गेम खेल्यो’ र ‘...यदि म मरें भने त्योसँग बदला लिइदे है ।’
...
एकातर्फ शिक्षकको ‘ग्रुमिङ’ मार्फत विद्यार्थी र बहिनीको सुरक्षामाथि गरेको आपराधिक धम्की, अर्कोतर्फ प्रेमको नाममा खिचिएको निजी तस्बिरको दुरुपयोग र त्यसले निम्त्याएको आत्महत्या । यी दुई प्रतिनिधि घटनाले नेपालमा भइरहेको अनलाइन बाल दुर्व्यवहारको चित्र देखाउँछ । बाल अधिकारका क्षेत्रमा क्रियाशील संस्था चाइल्डसेफ नेट र युनिसेफ नेपालको सहकार्यमा २०२४, डिसेम्बरमा तयार पारिएको अध्ययनमा पनि बालबालिकाहरू अनलाइन दुर्व्यवहारको सिकारमा परेको देखिन्छ । अध्ययनले पछिल्लो समय ‘डिजिटल ग्रुमिङ’, ‘अनलाइन ब्ल्याकमेलिङ’ र ‘अनलाइन इन्टिमेट पार्टनर भोइलेन्स’ का घटनाहरू बढेको देखिन्छ ।
त्यस्तै ‘चाइल्डसेफ नेट र सेक्सुअल भायलेन्स रिसर्च इनिटियटिभ’ले गरेको ‘रोमान्स टु रिस्क’ नामक अध्ययनले पनि प्रत्येक ४ जनामध्ये १ जना किशोर–किशोरी अनलाइन दुर्व्यवहारको सिकारमा पर्ने गरेको देखाउँछ । पहिलेका अनुसन्धानले बाल दुर्व्यवहारमा महिला/बालिका बढी पीडित हुने देखाए पनि चाइल्डसेफ नेटको यस अनुसन्धानले अनलाइन हिंसामा केटी, पुरुष र बालक पीडित देखिन्छन् । अध्ययनमा हिंसा भोगेका किशोर–किशोरीमा २७ प्रतिशत पीडित केटा छन् भने केटीको संख्या २१ प्रतिशत छन् ।
यस अध्ययनका अनुसन्धाता तथा चाइल्डसेफ नेटका अध्यक्ष अनिल रघुवंशीका अनुसार, पछिल्लो समय बालबालिकामाथि हुने दुर्व्यवहारका घटना प्रविधिको विकाससँगै बढेको छ । उनका अनुसार, इन्टरनेटमा ‘स्टकिङ’, ‘कन्ट्रोलिङ’, ‘बुलिङ’ गरेर बालबालिकालाई यतना दिएका घटना पछिल्ला दिन झन् बढ्दै गएको छ ।
रघुवंशीका अनुसार, पछिल्लो समय केही समूहले ‘कल सेन्टर’ शैलीमा १० देखि १५ जनाको समूह राखेरै संगठित रूपमा बालबालिकामाथि दुर्व्यवहार गरिरहेका छन् । उनीहरूले पीडितको प्रोफाइल हेरेर फेक अकाउन्ट वा ह्वाट्सएपमार्फत सम्पर्क गरी बालबालिकालाई ‘ग्रुमिङ’ गरेर नग्न तस्बिर माग्छन् अनि ‘फ्ल्यास’ गर्ने धम्की दिएर ‘एक्सटोर्सन’ गर्छन् । ‘यस्ता संगठित समूहले पैसाका लागि यस्तो गर्छन्, जसका लागि उनीहरूले सेक्सुअल इमेज वा भिडियोलाई माध्यम बनाउँछन्,’ रघुवंशी भन्छन्, ‘उनीहरूले भिडियो कल गर्नेबित्तिकै आफैं नग्न भएर, पीडितलाई पनि नग्न हुन वा पोर्नोग्राफी हेर्न प्रेरित गरी त्यसको रेकर्ड लिन्छन् र पैसाका लागि ब्ल्याकमेल गर्छन् ।’
रघुवंशीका अनुसार, यसरी हिंसामा परेका बालबालिकाले अभिभावकलाई पनि सुनाउन सक्दैनन् । ‘आपराधिक मानसिकता भएकाहरूले व्यक्तिगत स्वार्थ पूरा गर्छन्, अनि बालबालिकाहरू मानसिक रूपमा विक्षिप्त हुन्छन्,’ रघुवंशी भन्छन्, ‘बालबालिकाले कतै पनि रिपोर्ट नै गर्दैनन् । घरमा पनि भन्दैनन् । पुलिसमा जाने त कुरै छोडिदिऊँ । धेरै आमाबुबाले पनि बुझ्दैन् । साथीभाइलाई कसलाई भन्ने, अनि भित्रभित्रै गुम्सिएर बस्छन् ।’
यसरी आफूमाथि भएको हिंसा गुम्स्याएर बस्दा उनीहरूमा मानसिक समस्या देखिने बाल मनोचिकित्सक हर्सना श्रेष्ठले बताइन् । श्रेष्ठले भनिन्, ‘धेरै बालबालिकाहरू अनलाइन ह्यारेसमेन्टमा परेका छन् । समयमै आफ्नो कुरा खुलेर सेयर गर्न नपाउँदा उनीहरू मानसिक समस्याबाट गुज्रिन बाध्य छन् । यस्ता धेरै केसहरू मैले हेरेको छु ।’
चाइल्ड वर्कर्स इन नेपाल कर्नसन्ड सेन्टर र गुड सेफर्ड इन्टरनेसनल फाउन्डेसन नेपालले सन् २०२०, जुलाईमा गरेको एक अध्ययनले पनि अनलाइन दुर्व्यवहारबाट प्रताडित बालबालिकाको मानसिक स्वास्थ्यमा समस्या परेको देखाउँछ । अनलाइन दुर्व्यवहारमा परेका बालबालिकामा निराशापन, आत्मसम्मानमा कमी र अत्यधिक तनाव जस्ता समस्या देखिने बाल मनोचिकित्सक श्रेष्ठ बताउँछिन् । ‘प्रायः केसहरू मानसिक समस्या ‘फिजिकल सिम्टम्स’ देखिएपछि मात्रै आएका पनि छन् । त्यतिबेला निकै ढिला भइसक्छ,’ उनले भनिन् ।
अभिभावक–सन्तानबीच 'ट्रस्ट इस्यु’
बालमनोचिकित्सक श्रेष्ठको अध्ययनमा पछिल्लो समय बालबालिकाले अभिभावकमाथिको विश्वास गुमाउँदै गएका कारण अवस्था थप जोखिमपूर्ण बन्दै गएको छ । श्रेष्ठ भन्छिन्, ‘चाइल्ड र प्यारेन्टबीच ट्रस्ट इस्यु छ । केही भन्यो भने गाली गरिहाल्छन् भन्ने पर्छ ।’
बालमनोचिकित्सक गंगा पाठकले पनि बालबालिका र अभिभावकबीच ‘फ्रेन्ड्ली इन्भाइरोन्मेन्ट’ नभएका कारण यस्ता घटना बढ्दै गएको बताइन् । ‘यो डिजिटल युग हो । बालबालिकाको बढी समय इन्टरनेट र फोनमा हुन्छ । यस्तो समयमा अभिभावकले उनीहरूसँग खासै समय बिताएका हुँदैनन्,’ पाठक भन्छिन्, ‘जसले गर्दा अनहेल्दी ‘प्यारेन्ट–चाइल्ड रिलेसन’ बन्न जान्छ । यस्तो अवस्थामा बालबालिकाले अभिभावकसँग कुराकानी नै गर्दैनन् ।’
अनुसन्धाता रघुवंशीले पनि यही विषयमा जोड दिए । ‘आमाबुबालाई भन्दा उल्टै ती ‘नचिनेको मान्छेसँग किन बोलिस् ?’, ‘किन फोटो दिएको ?’ भन्दै गाली गर्छन् । त्यसैले उनीहरू मौन बस्न रुचाउँछन्,’ रघुवंशीले भने, ‘धेरै अभिभावकले सुरक्षाको सट्टा बालबालिकाको स्वतन्त्रता (फोन खोसेर लिने) खोस्ने गर्छन् । त्यसले उनीहरू थप त्रासमा जान्छन् ।’
अभिभावकको त्रास, सामाजिक डर
सबै बालबालिकाले अभिभावकसँग लुकाउँछन् भन्ने होइन । केहीले अभिभावकसँग ‘सेयर’ गरेका हुन्छन् । र, ‘सेयर’ गरे पनि ती अभिभावकले ‘एक्सन’ लिँदैनन् । सामाजिक डरले ‘एक्सन’ लिन नसकेका अभिभावकलाई ट्रेनिङ दिँदै आएको बताउँछिन् ‘स्मार्ट प्यारेन्टिङ नेपाल’ की ट्रेनर प्रतिमा लामा । उनका अनुसार सामाजिक त्रास, प्रहरीले घटनालाई गम्भीरताका साथ नलिनु र प्रशासनिक झन्झटिलो हुने भएकाले अभिभावकहरू ‘एक्सन’ लिन डराउँछन् ।
‘धेरैले नभने पनि केही बालबालिकाले आफू हिंसामा परेको कुरा अभिभावकलाई सुनाउँछन् । तर, परिवार पनि सामाजिक संरचनाको त्रासले खुलेर एक्सन लिन डराउँछन्,’ लामा भन्छिन् । त्यस्तै बालमनोविद् हर्सना श्रेष्ठले पनि सामाजिक संरचनाले गर्दा अभिभावकहरू खुलेर आउन नसकेको बताइन् । ‘हाम्रो सामाजिक संरचना नै त्यस्तै छ । बालबालिकालाई नै ब्लेम गर्ने सोसाइटी छ । त्यसैले गर्दा पनि प्यारेन्टहरू एक्सन लिन हत्तारिँदैनन् । यसले ठूलो असर गरेपछि मात्रै उनीहरू झस्किन्छन्,’ उनी भन्छिन् ।
सामाजिक संरचनासँगै प्रहरीले गाम्भीर्य बुझ्न नसक्दा र प्रशासनिक झन्झटले गर्दा अभिभावकले घटना गुपचुप राख्ने गरेको ‘स्मार्ट प्यारेन्टिङ’ का ट्रेनर लामा बताउँछिन् । ‘सबै त्यस्ता छैनन् तर धेरैको हकमा बालबालिकालाई कराएर घरैभित्र घटना गुपचुप राख्न खोजिन्छ,’ उनले भनिन्, ‘प्रहरीमा जाँदा थप झन्झट हुने, समय खर्च हुने र न्याय नपाइने भन्ने महसुस धेरैमा छ ।’
अभिभावकको भूमिका के ?
प्रविधिको विकाससँगै बढ्दै गएको चुनौती घटाउन अभिभावक–सन्तानबीचको दूरी कम गर्नुपर्ने बाल मनोचिकित्सकहरू बताउँछन् । पछिल्लो समय बढ्दै गएको ‘अनहेल्दी प्यारेन्टिङ’ लाई ‘हेल्दी’ बनाउनुपर्ने बाल मनोचिकित्सक पाठकको विचार छ । ‘अभिभावक–सन्तानबीच दूरी बढेको छ । यसलाई घटनाउनुपर्छ । अब बालबालिकालाई परिवर्तन गर्नेभन्दा पनि अभिभावकको प्यारेन्टिङ परिवर्तन गर्नुपर्छ,’ पाठकले भनिन्, ‘उनीहरूको कुरामा सहमति जनाउँदै फकाएर सिकाउनुपर्छ । सिधै ‘यो भएन, त्यो भएन’ भन्ने होइन ।’
त्यस्तै ट्रेनर लामा पनि अभिभावकहरू ‘अपग्रेड’ हुनुपर्ने बताउँछिन् । लामाका अनुसार, ‘प्यारेन्टिङ कन्ट्रोल’ घटाएर उनीहरूको गतिविधि ‘अब्जर्भेसन’ गर्नुपर्छ । लामाले भनिन्, ‘उनीहरूसँग साथीजस्तो बनेर व्यवहार अवलोकन गर्नुपर्छ ।’
बाल मनोचिकित्सक हर्सना श्रेष्ठ ‘प्यारेन्टिङ’मा सुधारसँगै अभिभावकले सन्तानलाई इन्टरनेटको सकारात्मक र नकारात्मक दुवै पक्ष भन्नुपर्ने बताउँछिन् । अभिभावकले बच्चाको ‘प्रिओरेन्टियसन’ र ‘प्रिएजुकेसन’ मा ध्यान दिनुपर्नेमा उनी जोड दिन्छिन् । ‘धेरै बालबालिकालाई यो कसरी हुन्छ भन्ने जानकारी नै छैन । त्यसैले उनीहरूलाई सिकाउने अभिभावकको पहिलो दायित्व हो,’ श्रेष्ठले भनिन् ।
